‘आमा ! जानुहोस्’ :: माया ठकुरी

३१ चैत्र २०६९, शनिबार २०:२८ मा प्रकाशित

छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा–नचाहँदै पनि म आमातिर हेरेर भन्दछु— ‘आमा जानुहोस्, कोठामा गएर सुत्नुहोस् ।’ मेरो कुरो टुङ्गिनासाथ मानवी कुरो थप्दै भन्छिन्— ‘हो त नि ! यहाँ यी भुराभुरीहरूसँग बसेर के गर्नु ? बरु कोठामा गएर आरामसँग सुत्नुहोस् ।’
हाम्रो कुरो सुनेपछि आमा केही नबोलीकन एकटक लाएर मतिर मात्रै हेरिरहरनुहुन्छ । त्यो क्षण आमाका ती विषादपूर्ण दृष्टिमा निहित असङ्ख्य गुनासाहरूले मलाई भित्रभित्रै मर्माहत तुल्याउँछन्, तर म मौन रहन्छु । आमा शिथिल गतिमा आफ्नो कोठातिर लाग्नुहुन्छ ।
मलाई थाहा छ, आमालाई पनि हामीहरूसँग बसेर कुरा सुन्न मन लाग्दछ, टिभी हेर्न मन लाग्दछ र उहाँ परिवारको न्यानो स्पर्शलाई अनुभूत गर्न चाहनुहुन्छ । तर वर्ष दिन पुगिसक्यो, आमाले चाहेको जस्तो यहाँ केही पनि भएको छैन ।
आमाको दयनीय अवस्था देख्दा मेरो मन वेदनाले फाटेर आउँछ तर म विवश छु । मैले चाहेर पनि मेरी जन्मदात्री आमालाई खुसी दिन सकेको छैन । कहिलेकाहीँ त आफैँलाई धिक्कार्न मन लाग्दछ ।
मलाई यो पनि थाहा छ कि म टुहुरोलाई हुर्काउन, बढाउन र शिक्षा दिलाउनमा मेरी आमाले मानसिक पीडामात्र होइन, शारीरिक श्रम पनि खेप्नुपरेको थियो । त्यति मात्र नभएर उहाँले मेरो घरगृहस्थी सम्हाल्न र मेरा नाबालक छोराछोरीहरू हुर्काउनमा समेत ठूलो सहयोग पु¥याउनुभएको थियो ।
काठमाडौँजस्तो महँगो ठाउँमा डेरामै बस्ने गरेको भए तापनि हामी दुवै पतिपत्नी जागिरे भएका हुनाले बागबजारको एउटा गल्लीभित्र चारओटा ससाना कोठा भएको डेरामा बसेर छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन सक्षम भएका थियौँ । तर अहिले वर्षदिन जति हुन लाग्यो, मानवीले जागिर छोडेर आमाको स्याहार गरेर घर बस्न थालेको । भन्न त मेरा मित्रहरू भन्ने गर्दछन्, “गोकुलजी ! तपाईं बडो भाग्यमानी हुनुहुँदो रहेछ, वृद्धा भइसकेकी अशक्त आमाको सेवा गरेर बस्नुभएको छ । के गर्नु ! हामीले चाहेर पनि आफ्ना मातापिताप्रति आफ्नो कर्तव्य निर्वाह गर्न सकिरहेका छैनौँ ।”
आफ्नो प्रशंसा सुन्दा कसलाई राम्रो नलाग्ला र ? तर, आमालाई आफूसँग राख्दा बेहोर्नुपरेको भोगाइको मर्मलाई मैले मात्र होइन, मेरो परिवारले समेत कसरी खेप्नुपरेको छ, त्यो मैले मात्र अनुभूत गर्न सकेको छु ।
कहिलेकाहीँ म आफूलाई आफ्नै विगतको चौतारीमा पु¥याएर हेर्ने गर्दछु, जहाँ मेरो बाल्यकालका समस्त क्रियाकलाप मेरी आमासँग गाँसिएका हुन्थे ।
भरभराउँदो बैँसको बेला अचानक वैधव्यको मार सहन बाध्य भएकी मेरी आमाले कसरी आफ्नो इच्छाआकाङ्क्षालाई वशमा पारेर जीवनभरि सङ्खर्ष गर्नुभयो होला ! ती कुराहरू सोच्दासोच्दै म भित्रभित्रै भुटभुटिन्छु, आहत हुन्छु ।
जुन आमाले दस नङ्ग्रा खियाएर अर्काको कुटोकोदालो गरेर मलाई हुर्काउनुभयो, जुन आमाले आफ्नै जेठाजुदेवरहरूबाट अनेकौँ लाञ्छना, अपहेलना सहेर आफ्नो लक्ष्यप्राप्तिको निम्ति अडिग भई मलाई शिक्षाको बाटोतिर अग्रसर हुने वातावरण सिर्जना गर्नुभयो, आज उनै संघर्षशील मेरी आमा अर्धपक्षघातको सिकार भएर मबाट समेत टाढिनुपरेकोमा लज्जाबोधले म भित्रभित्रै गलिसकेको छु । तर पनि मेरी आमा मेरो परिवारमा अटाउन सक्नुभएको छैन । यो कुरालाई म सहर्ष स्विकार्न बाध्य भएको छु । करिब चौध महिनाअघिको कुरो हो । बिहान ओछ्यानबाट उठ्नेबित्तिकै आमा ढल्नुभएको थियो । उहाँ ढलेको आवाज सुनेर मानवी दगुर्दै आमा सुत्ने कोठामा पुगेकी थिइन् । मानवीसँगसँगै म पनि हत्तपत्त आमाको कोठामा पुगेको थिएँ । ‘आमालाई के भएको होला, उठ्नै सक्नुहुन्न’ मानवीले आमाको पाखुरा समातेर उठाउने उपक्रम गर्दै भनेकी थिइन् । ‘के भो आमा ? के भो आमा ?’ भन्दै म पनि अत्तालिँदै आमालाई उठाउन पुगेको थिएँ । तर मेरो प्रयास पनि निरर्थक भएको थियो । त्यसपछि आमालाई तुरुन्तै अस्पताल लगेर जँचाइयो । अस्पतालका डाक्टरहरूले आमालाई जाँचेपछि उहाँ पक्षघातको सिकार भएको ठहर गरे ।
दुई महिनासम्म आमा अस्पतालमा बसेर घर फर्कंदा उहाँको दाहिने हात र खुट्टामा त्यति भर नहुने भएको भए तापनि उहाँ बिस्तारै पाइला चालेर हिँडडुल गर्न सक्नेसम्म हुनुभएको थियो ।
आमा स्वस्थ भएर घर आउनुभएकोमा म असाध्यै खुसी भएको थिएँ । तर मेरो परिवारमा भने आमाको शारीरिक समस्याले गर्दा अनेकौँ प्रकारका समस्या सिर्जना हुन थालेका थिए ।
दाहिने हात प्रयोग गरेर आमा खानै सक्नुहुन्नथ्यो । कि मानवीले कि त मैले आमालाई खाना खुवाउनुपर्दथ्यो । तर खास गम्भीर समस्याचाहिँँ के थियो भने आमासँग सम्बन्धित कतिपय क्रियाकलापहरू आमाका नियन्त्रणमा थिएनन् । उहाँ कहिले ओछ्यानमा त कहिले कोठामा जहाँतहीँ मलमूत्र त्याग गर्न लाग्नुभएको थियो । आमाले जताततै मलमूत्र चुहाउँदै हिँड्ने गरेकाले सारा घर डुङ्डुङ्ती गन्हाउन थालेको थियो ।
आमाले फोहोर पारेका लत्ताकपडा धुनका लागि मान्छे राख्न खोज्यौँ तर ‘त्यस्तो फोहोरी काम गर्नुभन्दा त बरु भोकै बस्छौँ’ भन्ने जवाफ पाइयो ।
मानवी र म भएर आमाका फोहोर लत्ताकपडा सफा गथ्र्यौं । घर सफा गथ्र्यौं । तर, पनि घर उस्ताको उस्तै फोहोरी र गन्हाउने हुन्थ्यो । आमालाई नुहाइदिने र कपडा धुने क्रममा कैयौँपटक हामीले बान्तासमेत गरेका थियौँ तर पछिपछि बानी परेर होला, जति नै घिन लागे पनि बान्ताचाहिँ हुन छाड्यो । मेरा छोराछोरीको हाल पनि बेहाल भएको थियो । उनीहरूले त राम्ररी खान पनि छोडिसकेका थिए ।
‘यस्तै हो भने त यिनीहरूको पढाइलेखाइ पनि खत्तम हुने भयो । मेरो त बिदा पनि सिद्धियो । अब उही बेतलबी बिदामा बस्नुपर्छ । पैसाले कसरी पु¥याउने हो ? घर कसरी धान्ने ?’ मानवी बिरक्तिएर भन्ने गर्दथिन् । सत्य भन्ने हो भने म मेरी आमाको अवस्थाले गर्दा हरबखत मानसिक तनाव झेलिरहेको थिएँ । तर विवश थिएँ, म केही गर्न सक्दिनथेँ ।
कहिलेकाहीँ त मैले आमालाई बेस्सरी झपार्ने पनि गर्न थालेको थिएँ । तर बिचरी मेरी आमा ! मैले उहाँलाई हकार्दा उहाँ सानी बच्चीझैँ निधार खुम्च्याएर आँखाबाट आँसु छचल्काउँदै विवश दृष्टिले मतिर हेर्नुहुन्थ्यो । त्यो निर्दोष घात सहन नसकेर मेरो आँखाबाट स्वतः आँसुका धारा बग्दथे ।
पछिपछि भने हामीले आमालाई उहाँको कोठाबाट निस्केर अन्य कोठातिर आउनजानलाई प्रायः निषेध गरिदिएको झैँ भएको थियो । उहाँलाई दिइएको कोठाबाहेक अन्य कोठामा उहाँले पाइला राख्नासाथ हामी भन्ने गर्दथ्यौँ— ‘आमा ! जानुहोस्, आफ्नो कोठामा गएर सुत्नुहोस् ।’
हाम्रो आदेश सुनेपछि आमा केही बोल्नुहुन्नथ्यो । तर, उहाँको आहत दृष्टिले मलाई धेरै कुरा भनिरहेको हुन्थ्यो ।
हाल प्रायः दुई महिनाजति भएको छ, आमाले एउटा नौलो चाला देखाउन लाग्नुभएको छ । त्यो के भने, हिजोआज आमा हाम्रो आँखा छलेर सुटुक्क घरदेखि बाहिरिनुहुन्छ । कैयौँपटक आमालाई कोठामा नपाएर हामीहरू अत्तालिँदै टोलछिमेक र बाटाघाटा चहार्दै हिँड्छौँ । अनि कहिले उहाँलाई कुनै रूखको छहारीमा बसेको भेट्छौँ त कहिले दायाँ खुट्टो लतार्दै बाटामा हिँडिरहेको भेट्छौँ ।
‘आमा ! तपाईं किन यसरी हामीलाई दुःख दिनुहुन्छ ? तपाईंको स्याहार–सुसार गर्नुपरेको हुनाले मैले जागिरसमेत छोड्नुपर्ने भएको छ । काठमाडौँजस्तो ठाउँमा एउटाको कमाइले घर धान्नु र तपाईंलाई औषधिउपचार गर्नु कस्तो गाहारो हुन्छ, त्यो तपाईंले बुझ्न सक्नुहुन्न । भएन, यसरी जति बेला मन लाग्यो त्यति बेला आफूखुसी उठेर हिँडिदिने ! अब त साह्रै दिक्क लागिसक्यो ।’ प्रायजसो आमाको अघि आफ्नो मनमा उठेको गुनासो यसरी नै पोख्ने गर्दछिन् मानवी ।
आमाको सारा क्रियाकलाप हेर्दा उहाँ बिस्तारै आफ्नो सुर हराउँदै हुनुहुन्थ्यो, नत्र मेरी आमा आफ्ना कारणले अरूले दुःख पाएको हेर्नै नसक्ने मान्छे हो, त्यो मलाई थाहा छ ।
‘हेर्नुहोस्, अब मैले जागिर नगर्ने हो भने घर चलाउन र बच्चाहरू पढाउन सकिँदैन । अति भयो । अब कुनै न कुनै उपाय त गर्नै पर्छ ।’ मानवीले प्रायजसो मसँग भन्न थालेकी छिन् । म के गरूँ ? जतिजति आमाको अनौठो र अप्रिय क्रियाकलाप बढ्दै छ, त्यतित्यति मानवी र मेरो माझमा वैमनस्य बढ्दै छ ।
भएन, हिजोआज त आमा लाएको लुगासमेत फुकालेर नाङ्गै बस्ने र मौका पाउनासाथ फुत्त कोठाबाट बाहिरिएर सडकमा पुग्ने गर्न लाग्नुभएको छ ।
कहिलेकाहीँ त आमालाई खोज्नको निम्ति सारा दिन भौँतारिँदा पनि कुनै सीप नलागी प्रहरीचौकीमा गएर खबर गर्नुपर्ने अवस्थासम्म आएको छ । एकातिर मेरी जन्मदात्री आमाको यस्तो दयनीय अवस्था, अर्कोतिर पत्नी र छोराछोरीको गनगन अनि दिनदिनको बढ्दो महँगीको कारणले घरको खस्किँदो आर्थिक अवस्था, यी यावत् कुराले गर्दा म आफू नै विक्षिप्तजस्तै भइसकेको छु ।
‘हरे ! वृद्धावस्थामा असाध्यै रोगले ग्रसित भएर सुर हराएपछि मानिसको अवस्था कति दीनहीन र कति टिठलाग्दो हुँदो रहेछ । यसरी अर्काको दयाको पात्र भएर जिउनुभन्दा त बरु मृत्यु नै सुखदायी होला ।’
आमाको दयनीय अवस्था देख्दा म बारम्बार मनमनै यसरी नै सोच्ने गर्दथेँ । अब मेरो मनले पनि साँच्चै नै हरेस खाएको जस्तो भएको छ । अस्ति त हामीले आमालाई कुनै वृद्धाश्रममा राखिदिनुपर्छ कि भनेर घरसल्लाह पनि गरेका थियौँ । तर हामी छोराबुहारी हुँदाहुँदै पनि आमालाई वृद्धाश्रममा राखिदिँदा समाजले के भन्ला ? जोरीपारी कति हाँस्लान् ? भन्ने लाग्यो ।
अर्को कुरो, मेरी आमाको अवस्था देखेर कुनचाहिँ वृद्धाश्रमले उहाँलाई आश्रय देला र ?
कहिलेकाहीँ त म निकै पहिले कसैले मलाई सुनाएको एउटा हृदयविदारक घटना सम्झेर निकै बेरसम्म घोरिने गर्न पनि थालेको छु । त्यो घटना यसप्रकारको थियो—
एक दिन करिब सय वर्षकी जस्ती देखिने एउटी कुप्री वृद्धा पशुपति मन्दिरको नजिकै बसेर रोइरहेकी थिइन् अरे । ती वृद्धालाई देख्दा उनी निकै सम्पन्न घरकी जस्ती देखिन्थिन् अरे । उनलाई त्यसरी रोएको देखेर वरपर भएका मानिसहरूले कौतूहलतावश उनीसँग सोधपुछ गरेछन् । तर उनले आफ्नो भाषामा के उत्तर दिइछन् कुन्नि, त्यो कसैले पनि बुझेनछन् । जे होस्, रात पर्न लागेपछि उनलाई वृद्धाश्रममा पु¥याइएछ ।
धेरै महिनासम्म वृद्धाश्रममा बसेपछि उनीबाट के कुरो थाहा पाइयो रे भने उनलाई आफ्नै छोराबुहारीले एकछिन यहीँ बस्दै गर्नू है, हामी आउँछौँ भनेर झुक्याएर छोडेका रहेछन् ।
त्यो घटना सुनेपछि मैले उनका निर्दयी छोरालाई धिक्कार्नुसम्म धिक्कारेको थिएँ । तर, आज जब म आफ्नो अवस्थाबारे सोच्दछु, तब मेरो हृदयमा कताकति त्यो छोराप्रति पनि दया जागेर आउँछ ।
आफ्नी जन्मदात्री अशक्त वृद्धा आमालाई त्यसरी बिरानो देशमा अलपत्र पारेर एक्लै छोडेर जानुपर्दा उसको आत्मामा कति चिरा प¥यो होला ? कति धिक्का¥यो होला उसले आफूलाई ? कति कल्पन्थ्यो होला ऊ आफ्नो कुकृत्य सम्झेर ? आफूले गरेको दुष्कर्मका लागि पश्चात्ताप गर्दै ऊ फेरि त्यस ठाउँमा आएर आफ्नी आमाको खोजी ग¥यो होला त ? यस्तै यस्तै प्रश्नहरूले मेरो मथिङ्कललाई झक्झक्याइरहन्छन् ।
के म आफ्नी आमालाई त्यसरी नै बिरानो देशमा निराश्रय छोडेर आएपछि शान्तिको जीवन बिताउन सकुँला ? एउटी अबोध सानी बालिकाजस्तै भइसकेकी मेरी आमालाई म के गरेर पहिलेको जस्तै स्वस्थ अवस्थामा ल्याऊँ ? के गरेर उनलाई सद्दे पारूँ ? हरे … ! म के गरूँ … ? मेरो हृदयमा यस्तै प्रकारका अनेक थरी कुराहरू खेल्दछन् । “होइन, म कति दिनसम्म यसरी आफ्नी आमाको र मेरा परिवारको दुर्गति सहेर बस्न सकुँला र ? अस्ति घरबेटीले समेत त्यस्तो फोहोरी मान्छेलाई हामी राख्दैनौँ, अन्तै डेरा खोजेर सर्नू” भनिसकेको छ ।
आमाको अकल्पनीय दुरवस्थाले गर्दा मेरो जीवनपद्धतिमा समेत कत्रो नकारात्मक असर परिसकेको छ । तर मेरी आमा भने आफ्नै संसारमा मग्न भएर एक्लै आफैँसँग बात मार्नुहुन्छ, हाँस्नुहुन्छ र आफूलाई मन नलागेको क्रियाकलाप गरेर रमाउनुहुन्छ । अघि भरखरै पनि मेरी आमा मेरो कोठामा पस्नुभएको थियो । “आमा ! जानुहोस्, आफ्नो कोठामा गएर बस्नुहोस् ।” मैले भनेको थिएँ ।
आमा सदाझैँ केही पनि उत्तर नदिएर केही बेरसम्म मतिर हेरिरहनुभएको थियो । “आमा जानुस् न भन्या, … कोठा गन्हाइसक्यो !” मैले केही आजित भएर ठूलो स्वरमा भनेको थिएँ ।
मेरो कुरो सुनेपछि अनुहारमा अझ बढी मुजा पार्दै मेरी आमा मुसुक्क हाँस्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत

सिओल । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक सङ्ग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई