प्रजातन्त्र र साम्यवादबीचका तेह्र आधारभूत अन्तरहरू

३१ चैत्र २०६९, शनिबार ०३:४७ मा प्रकाशित

देवप्रकाश त्रिपाठी, काठमाडौं ::
नेपाली काङ्गे्रस मूलतः मध्यमार्गी आन्दोलन हो। मध्यमार्गी भन्नेबित्तिकै यसका दायाँ र बायाँ दुईतिर कुनै शक्ति छन् भन्ने स्पष्ट हुन्छ। अर्थात्, दक्षिणपन्थी र वामपन्थीका बीचको यथार्थवादी प्रजातान्त्रिक शक्ति नै नेपाली काङ्गे्रस हो। यसर्थमा काङ्गे्रसको प्रतिपक्षमा सधैँ दक्षिणपन्थी र अति वामपन्थीहरू रहँदै आएका छन्। तर, दक्षिणपन्थीहरूमा काङ्ग्रेससँग सीधै लड्न सक्ने सामर्थ्य नभएकाले उनीहरूले अति वामपन्थीहरूलाई अघि सारेर नेपथ्यबाट काङ्ग्रेसमाथि प्रहार गर्ने गर्दै आएका छन्। दक्षिणपन्थीहरू परास्त र ज्यादै कमजोर भइसकेको हुनाले अति वामपन्थीहरू नै काङ्ग्रेसको मूल चुनौतीका रूपमा प्रकट भएका छन् भन्न सकिन्छ। देशमा उत्पन्न वर्तमान राजनीतिक परिस्थितिमाथि दृष्टिगोचर गर्दा तत्कालका लागि दक्षिणपन्थीहरूसँग काङ्ग्रेसको लडाइँ समाप्तप्रायः भएको देखिँदै छ र अतिवादी कम्युनिस्टहरूसँगको अन्तरविरोध नै प्रधान भएको छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।
माओवादीको आवरणमा रहेका अतिवादीहरू काङ्ग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनको मुख्य चुनौती बनेर सतहमा आएको यथार्थलाई हामीले आत्मसात् गर्नुपर्ने हुन्छ। त्यसैले यहाँ अतिवादी वामपन्थी कम्युनिस्ट र नेपाली काङ्ग्रेस अर्थात् प्रजातान्त्रिक आन्दोलनबीचको आधारभूत अन्तरबारे स्पष्ट हुनुपर्ने अपरिहार्यता महसुस गरिएको छ।
नेपालमा प्रजातन्त्रवादी र साम्यवादी दुई विचारधु्रवीय राजनीति विद्यमान रहेको, प्रजातन्त्रवादको नेतृत्व नेपाली काङ्ग्रेसले र साम्यवादी आन्दोलनको अगुवाइ माओवादीले गरिरहेको सन्दर्भमा दुई पक्षबीचको आधारभूत केही भिन्नताबारे यहाँ सङ्क्षिप्त विवरण प्रस्तुत गरिएको छ।

प्रजातन्त्रवाद
(क) सृष्टिका आधारबारे स्वतन्त्र दृष्टिकोण प्रजातन्त्रवादले सृष्टिको आधारबारे स्वतन्त्र दृष्टिकोण राख्दछ। मानिसहरू वर्तमान जगत् ईश्वरद्वारा सिर्जित हो भन्नेमा पनि विश्वास गर्न सक्छन् र पदार्थबाट नै सृष्टि भएको हो भन्ने कुरालाई पनि आफ्नो जीवन दृष्टिकोण बनाउन सक्छन्। दुबै नभएर यो अध्ययनको विषय भएको कसैले ठान्छन् भने त्यसलाई पनि प्रजातन्त्रवादले स्वीकार गर्दछ। उल्लिखित तीनमध्ये कुनै पनि विचार धारणा अवलम्बन गर्न प्रजातन्त्रवादले अवरोध गर्दैन।
(ख) देशको अस्तित्व आवश्यकता र औचित्यप्रति अटल विश्वास संसारमा देशहरू अस्तित्वमा छन् र सानो या ठूलो आकारमा जस्तो भए पनि तिनको समान हैसियत छ भन्ने प्रजातन्त्रवादको मान्यता छ। हरेक देशको सार्वभौमिक स्वतन्त्रताको रक्षा, विकास र सम्मान गर्ने विचार–तत्त्व प्रजातन्त्रवादको हुन्छ। राज्यलाई अपरिहार्य तत्त्वको रूपमा स्वीकार गर्दै राज्यमार्फत नै जनताको कल्याण गर्ने मान्यता प्रजातन्त्रवादमा रहन्छ। यसर्थमा कुनै पनि प्रजातन्त्रवादी स्वाभाविक रूपले राष्ट्रवादी हुन्छन् भन्न सकिन्छ।
(ग) सांस्कृतिक र पारम्पारिक स्वतन्त्रता संसारमा मानव सभ्यताको विकाससँगै विविध संस्कृति र परम्पराहरू स्थापित र प्रचलित हुन पुगेका छन् प्रजातन्त्रवादले विश्वमा स्थापित सबैखाले संस्कृति र परम्पराको रक्षा र विकासमा विश्वास गर्दछ। मानवसिर्जित विविध संस्कृति र परम्पराप्रति प्रजातन्त्रवादीहरू सदा सकारात्मक रहन्छन्। हरेक समुदायको संस्कृति र परम्पराको सम्मान, रक्षा र विकास गर्नुलाई प्रजातन्त्रवादले अपरिहार्य ठान्दछ।
(घ) धार्मिक स्वतन्त्रता प्रजातन्त्रवादले विश्वमा प्रचलित सबै धर्मप्रति समभाव र सम्मानभाव राख्दछ। व्यक्तिको कुनै धर्म मान्न पाउने अधिकारलाई प्रजातन्त्रवादले रक्षा गर्दछ। कोही कुनै पनि धर्म मान्न चाहँदैन भने त्यसको रक्षा पनि प्रजातन्त्रवादले नै गर्दछ। धर्म वैयक्तिक अधिकारको कुरा भएकाले त्यस्तो अधिकारको संरक्षण गर्नुलाई प्रजातन्त्रवादले अनिवार्य कर्तव्य ठान्दछ।
(ङ) संविधान र कानुनी राजमा विश्वास प्रजातन्त्रवादले कुनै पनि मुलुक निश्चित विधिबाट चल्नुपर्छ भन्ने विश्वास गर्दछ। संविधान र कानुनको सर्वोच्चतालाई अनिवार्य रूपमा स्वीकार गर्दै व्यक्तिको स्वतन्त्रताको रक्षा र विकास गर्ने तथा निश्चित प्रणालीबाट समृद्ध समाज र देशको विकास गर्ने अभीष्ट प्रजातन्त्रवादले राखेको हुन्छ।
(च) बहुलवादमा आधारित प्रजातन्त्रमा विश्वास प्रजातन्त्रवादले बहुलवादमा विश्वास राख्दछ। समाजमा विभिन्न विचारको प्रादुर्भाव र अस्तित्व हुन्छ, विचारको विविधताका आधारमा दलहरू निर्माण र विकास हुन्छन्, जनतामध्येको ठूलो हिस्साले विश्वास गरेको दलले राज्य सञ्चालन गर्ने र अन्यले प्रतिपक्षको भूमिका निर्वाह गर्ने पद्धतिले जनहितको संरक्षण र देशको विकास गर्ने अवधारणा प्रजातन्त्रवादको हुन्छ। प्रतिपक्षीबिनाको राजनीतिक प्रणालीमा प्रजातन्त्रवादले विश्वास गर्दैन। भिन्न विचारलाई सम्मान गर्ने अवधारणा प्रजातन्त्रवादले राख्दछ।
(छ) जनप्रतिनिधिमूलक निकायमा आस्था र विश्वास प्रजातन्त्रमा जनप्रतिनिधिमूलक निकाय हुन्छन् र ती निकायमा जनताबाट विधिवत निर्वाचित प्रतिनिधिमूलक निकायद्वारा गरिने निर्णयलाई प्रजातन्त्रवादले सदा सम्मान र स्वीकार गर्दछ। आवधिक निर्वाचनका आधारमा जनताले आफ्ना प्रतिनिधि चयन गर्ने र प्रतिनिधिले जनता र देशका पक्षमा कानुन निर्माण गरी सोहीबमोजिम राज्य सञ्चालन गर्ने पद्धतिलाई प्रजातन्त्रवादीले आफ्नो जीवनशैली बनाएका हुन्छन्। प्रतिनिधिमूलक निकायले उत्तराधिकारवादलाई निरुत्साहन गर्ने गर्दछ।
(ज) सत्तारुढ अवस्थामा राष्ट्रहित र सर्वसंरक्षणमा केन्द्रित जनुसुकै विचारमा आधारित राजनीतिक दल सत्तासीन भए पनि त्यसले राज्यसत्तालाई देश र सम्पूर्ण देशवासीको हितकेन्द्रित भई निष्पक्ष एवम् कानुनसम्मत व्यवहार गरिनुपर्छ भन्ने मान्यता प्रजातन्त्रवादले राख्दछ। विचारगत एवम् दलगत सीमाभन्दा माथि उठेर व्यवहार गर्न प्रजातन्त्रवादले दल तथा व्यक्तिलाई पे्ररित र बाध्य बनाउँछ। जसका कारण सरकार जुनसुकै दलको भए पनि नागरिकले कानुनी शासनको अनुभूति गर्न पाउँछन्। देश र जनताको सर्वोपरी हितबाहेक अन्य कुनै आकाङ्क्षा दलविशेषको सरकारले राख्नुलाई प्रजातन्त्रवादले वर्जित गरेको छ।
(झ) वैयक्तिक स्वतन्त्रतालाई उच्च प्राथमिकता प्रजातन्त्र भन्नु नै नागरिकहरूको शासन हो। प्रजातन्त्रवादले व्यक्तिको स्वतन्त्रतालाई हरतरहले रक्षा गर्ने सुनिश्चितता गर्दछ। आफूले चाहेको पेसा अपनाउन पाउने, चाहेको पोसाक पहिरिने, आफ्नो विश्वासको धर्म, संस्कृति र परम्परा मान्ने, चाहेको विषय अध्ययन गर्ने, चाहेको ठाउँमा चाहेजस्तै घरमा बस्न पाउनेलगायतको स्वतन्त्रता प्रजातन्त्रवादले नागरिकलाई सुनिश्चित गर्दछ। त्यसैले प्रजातन्त्रमा नागरिक बलवान हुन्छन्।
(ञ) आर्थिक स्वतन्त्रताको सुनिश्चितता प्रजातन्त्रवादले नागरिकलाई आर्थिक स्वतन्त्रता प्रदान गर्दछ। निजी सम्पत्ति राख्न पाउनु, चाहेको व्यवसाय गर्न व्यक्ति स्वतन्त्र रहनु, उत्पादनका साधनहरूमाथि निजी क्षेत्रको स्वामित्व हुनु र प्रतिस्पर्धात्मक खुला बजार नीति अवलम्बन गर्न पाउनु प्रजातन्त्रवादको विशेषता हो। खुला अर्थनीतिअन्तर्गत समाजवादी कार्यक्रम लागू गर्न पनि प्रजातन्त्रवादले अड्चन पैदा गर्दैन।
(ट) मानवअधिकारको सुनिश्चितता मानवअधिकारको सुनिश्चितता प्रजातन्त्रवादको सुन्दर विशेषता हो। व्यक्तिको बाँच्न पाउने र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार प्रजातन्त्रले अनिवार्य रूपमा प्रवाहित गर्दछ। मानवअधिकारको अवधारणाले व्यक्तिको सर्वाङ्गीण हित र स्वतन्त्रता सुनिश्चित गर्ने हुनाले विचार, राजनीति, पेसा, धर्म, संस्कृति, परम्परा, व्यवसाय, शान्ति, सुरक्षा र गोपनीयतालगायत यावत् पक्षमा आत्मनिर्णय गर्ने क्षमता र शक्ति नागरिकमा रहन्छ।
(ठ) पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतालाई प्रजातन्त्रवादले उच्च महत्त्व दिएको छ। व्यक्तिलाई लागेका कुराहरू बोल्न पाइने, बोलेबापत सजायको भागीदार हुनु नपर्ने, साहित्य सिर्जना गर्ने, सञ्चारमाध्यमहरू सञ्चालन गर्नेलगायतका स्वतन्त्रताको रक्षा प्रजातन्त्रले गर्दछ। पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइन्छ र सञ्चारमाध्यमहरू सही–सत्य समाचार सामग्री प्रकाशन/प्रसारण गर्न स्वतन्त्र रहन्छन्। सञ्चारमाध्यमहरूको सम्पादकीय स्वतन्त्रतालाई संविधानले नै संरक्षण गरेको हुन्छ। प्रजातन्त्रमा पे्रसले सचेतक र संवाहकको भूमिका निर्वाह गर्ने हुनाले राज्यका व्यवहार र निर्णयलाई पारदर्शी तुल्याउने कार्यमा सञ्चार क्षेत्रको भूमिका सर्वाधिक महत्त्वपूर्ण हुन जान्छ। प्रजातन्त्र भन्नु नै पारदर्शी र खुला अवधारणा भएकाले सूचनाप्राप्तिको हकलाई समेत प्रजातन्त्रवादले संरक्षण गरेको छ।
(ड) प्रजातान्त्रिक समाजवाद समाजवाद भनेको नीति या सिद्धान्तसँग सम्बन्धित नभई कार्यक्रमसँग सम्बन्धित विषय हो, जसले सामाजिक सुरक्षाको सुनिश्चितता गर्दछ। नागरिकलाई समान अवसर प्रजातन्त्रले उपलब्ध गराए पनि सबैमा बराबरी उपयोग गर्न पाउने स्थिति विभिन्न कारणवश रहन्न। आर्थिक रूपमा विपन्न, शिक्षाबाट वञ्चित, भौगोलिक रूपमा विकट, शारीरिक रूपमा अशक्त र समग्रमा कारणवश पिछडिएका समुदाय या व्यक्तिलाई अगाडि बढाउने विशेष योजनासहितको कार्यक्रम नै समाजवाद हो। प्रजातन्त्रवादले पिछडिएका समुदायको उत्थानमा विशेष ध्यान पुर्यानउनुपर्ने कुरालाई अति प्राथमिकता दिएको छ। तर, समाजवादी कार्यक्रम लागू भइरहँदा पनि आधारभूत राजनीतिक एवम् आर्थिक नीतिमा परिवर्तन हुँदैन। प्रजातन्त्रसहितको समाजवादलाई प्रजातान्त्रिक समाजवाद भनिन्छ।

साम्यवाद
(क) पदार्थ नै सृष्टिको आधार कुनै पनि व्यक्ति कम्युनिस्ट बन्न ऊ भौतिकवादी हुनैपर्छ। साम्यवादले ईश्वर या कुनै पनि चेतन तत्वलाई सृष्टिको कारणका रूपमा स्वीकार गर्दैन। चेतनालाई पदार्थको परिणामका रूपमा विश्वास गर्ने र द्वन्द्वात्मक भौतिकवादलाई अन्तिम सत्य मान्ने व्यक्ति मात्र कम्युनिस्ट बन्न सक्छ। सृष्टिको आधारबारे बहस, छलफल या अध्ययनको विषय बनाउन पनि साम्यवाद आवश्यक ठान्दैन, मानौँ उनीहरूले सृष्टिका सारा रहस्य बुझिसकेका छन्।
(ख) राज्य विलोपको सिद्धान्तमा विश्वास साम्यवादीहरू राष्ट्रवादमा नभई अन्तर्राष्ट्रियवादमा विश्वास गर्छन्। साम्यवादले देशहरूको अस्तित्व, औचित्य र आवश्यकतालाई अस्वीकार गर्दछ। संसारबाट देशहरूको अस्तित्व नामेट तुल्याउनु साम्यवादको लक्ष्य हो। साम्यवादी नेता लेनिनले राज्य विलोपबारे अनेक ग्रन्थ तयार गरेका छन् र उनले राज्यहरू अस्तित्वमा रहिन्जेल साम्यवाद स्थापना हुन नसक्ने भन्दै देश विघटन गराउनका लागि मात्रै कम्युनिस्टहरूले राज्य सत्ता कब्जा गर्नुपर्ने विचार स्पष्ट रूपले आफ्ना ग्रन्थहरूमा उल्लेख गरेका छन्। त्यसैले कुनै पनि व्यक्ति एकैपटकमा सच्चा कम्युनिस्ट र देशभक्त बन्न सक्दैनन्। यदि कोही सच्चा कम्युनिस्ट हो भने ऊ देशभक्त हुनै सक्दैन। जसले देश विघटन अर्थात् राज्य विलोपको सिद्धान्तमा विश्वास गर्छ उसलाई कदापि राष्ट्रवादी या देशभक्त मान्न सकिँदैन।
(ग) साम्यवादी संस्कृतिमा विश्वास र प्रचलित संस्कृति एवम् परम्परामा नियन्त्रण साम्यवादीहरू विश्वमा प्रचलित कुनै पनि संस्कृति र परम्पराको अन्त्य चाहन्छन्। स्थापित र प्रचलित संस्कृति र परम्परा समाप्त गरी नयाँ संस्कृति एवम् परम्परा बसाउने नाममा साम्यवादीहरू कम्युनिस्ट संस्कृतिको स्थापना र विकास चाहन्छन्। माओ त्से तुङले चीनमा स्थापित परम्परा र संस्कृति मेटी नयाँ संस्कृति विकास गर्ने भन्दै सांस्कृतिक क्रान्ति गरेको र दश वर्षसम्म चलाइएको कथित सांस्कृतिक क्रान्तिका क्रममा ६ करोडभन्दा बढी निहत्था चिनियाँ जनताले ज्यान गुमाउनुपरेको थियो। मार्क्सवाद र लेनिनवादलाई संस्कृतिको स्रोत मान्ने साम्यवादले अनादिकालदेखि रहिआएको परम्परालाई निषेध गर्न चाहन्छ भन्ने कुराको एउटा दृष्टान्त चीनको सांस्कृतिक क्रान्ति भए पनि सबै साम्यवादी मुलुकले भिन्न–भिन्न रूपमा त्यस्तो अभियान चलाएको इतिहासमा पढ्न पाइन्छ।
(घ) धर्मनिषेधित समाज साम्यवादले कुनै पनि धर्ममा विश्वास राख्दैन। साम्यवादका प्रवर्तक मार्क्सले धर्मलाई अफिमको संज्ञा दिएका छन्। प्रचलित कुनै पनि धर्मलाई विस्थापित नगरेसम्म साम्यवाद स्थापना हुन सक्दैन भन्ने निष्कर्षका आधारमा कम्युनिस्टहरूले आफूलाई धर्मविरोधीका रूपमा स्थापित गरेका छन्। कम्युनिस्ट राज्यमा धार्मिक स्वतन्त्रता वर्जित हुन्छ, साम्यवाद प्रचलित कुनै पनि धर्मलाई विस्थापित गर्नुपर्ने ठान्दछ।
(ङ) पार्टी शासनमा विश्वास साम्यवादले देशको अस्तित्वमै विश्वास नराख्ने हुनाले देश सञ्चालनका लागि संविधान र कानुनको सर्वोच्चतालाई स्वीकार गर्ने सवाल नै उठ्दैन। बरु पार्टीद्वारा देश सञ्चालन गर्ने हुनाले साम्यवादी देशमा कम्युनिस्ट पार्टीको इच्छा र निर्णय नै सर्वाेच्च र सर्वव्यापी हुन्छ। सर्वहाराको नाममा कम्युनिस्ट पार्टीको र कम्युनिस्ट पार्टीको नाममा व्यक्तिविशेषको सर्वोच्चता हुने हुनाले कम्युनिस्टहरू सदैव संवैधानिक एवम् कानुनी राजको विरुद्धमा हुन्छन्। यसर्थमा संविधानसभामार्फत संविधान निर्माण गर्ने उनीहरूको भनाइ पनि एउटा स्वाङ या छलकपटबाहेक केही होइन भन्ने स्पष्ट बुझ्न सकिन्छ।
(च) साम्यवादमा आधारित एकदलीय शासन व्यवस्थाको पक्षपाती साम्यवादले बहुलवादमा विश्वास गर्दैन। देश र राज्यप्रणालीमा आस्था र विश्वास नभए पनि साम्यवाद स्थापना नहुन्जेलका लागि कम्युनिस्ट पार्टीको हातमा राज्यसत्ता रहनुपर्ने साम्यवादी अवधारणा हो। त्यसैले साम्यवादीहरू सधैँ एकदलीय अधिनायकवादको पक्षपोषण गर्ने गर्दछन्। भिन्न विचारप्रति साम्यवाद असहिष्णु मात्र हुँदैन, भिन्न विचारलाई त्यसले स्वीकार पनि गर्दैन। यसर्थमा कम्युनिस्टहरू सधैँ बहुलवादमा आधारित बहुदलीय प्रजातन्त्रविरोधी हुन्, उनीहरूले प्रजातन्त्र र जनताको कुरा गर्नु भनेको बाघले अहिंसाको अर्ती–उपदेश गर्नुजस्तै हो।
(छ) उत्तराधिकारी प्रणालीको पक्षपाती साम्यवादले जनप्रतिनिधिमूलक निकायको कल्पना गरेको छैन। बरु त्यसले एकदलीय शासन व्यवस्था टिकाउनका लागि उत्तराधिकारवादमा विश्वास गर्दछ। कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुगेको व्यक्ति राज्यको पनि प्रमुख हुने र ती प्रमुखले तोकेका व्यक्ति नै त्यसपछिको शासक बन्ने परम्परा साम्यवादीले स्थापित गरेका छन्। रसियामा लेनिनले स्टालिनलाई र स्टालिनले खु्रस्चेवलाई, चीनमा माओले ह्वाको फङलाई, उत्तर कोरियामा किम इल सुङले किम जोङ इललाई र किम जोङले किम उनलाई, क्युवामा फिडेल क्यास्त्रोले राहुल क्यास्त्रोलाई उत्तराधिकारी तोकेर सोहीबमोजिम शासन सञ्चालन गरेको घटनालाई उदाहरणका रूपमा लिन सकिन्छ। यस्तै उत्तराधिकारीहरूको इच्छाबमोजिम कम्युनिस्ट शासन चलिरहेको हुन्छ। उत्तराधिकारवादले जनप्रतिनिधिमूलक निकायलाई सदैव अस्वीकार गर्दछ।
(ज) सत्तामा पुगेपछि पनि कथित क्रान्तिप्रक्रियाको निरन्तरता साम्यवादले राज्यसत्तालाई क्रान्ति सम्पन्न गर्ने एउटा साधनका रूपमा लिएको छ। त्यसैले कम्युनिस्टहरू सत्तामा पुगेपछि पनि क्रान्तिका कुरा गर्न छाड्दैनन्। विपक्षीहरूको उन्मूलन गर्ने र कथित क्रान्ति मार्गका अवरोधहरूलाई पन्छाउने कार्यमा साम्यवादी सरकार केन्द्रित रहेको हुन्छ। सत्तारुढ भइसकेपछि स्टालिनले आफ्ना लाखौँ विरोधीको हत्या गर्नुको कारण क्रान्तिमार्गलाई सुचारु गर्नका निम्ति भन्ने दाबी गरेका थिए। उनले पार्टीबाहिरका विपक्षीको कति सङ्ख्यामा हत्या गरे त्यसको यकिन तथ्याङ्क छैन, तर पार्टीभित्र आफूसँग असहमत ठानिएका पन्चानब्बे हजार कार्यकर्ताको उनले हत्या गरेका थिए। माओको सांस्कृतिक क्रान्ति पनि कथित क्रान्ति प्रक्रिया जारी राख्नकै निम्ति रचिएको थियो। त्यसैले कम्युनिस्ट सरकारले विपक्ष र विपक्षी विचारको कहिल्यै रक्षा गर्दैन भन्ने तथ्यलाई घटनाक्रमहरूले पनि पुष्टि गरेका छन्।
(झ) वैयक्तिक स्वतन्त्रतामा पूर्ण नियन्त्रण साम्यवाद वैयक्तिक स्वतन्त्रताविरुद्धको विचार दर्शन भएको हुँदा व्यक्तिको इच्छा कम्युनिस्ट शासनमा नियन्त्रित हुन्छ। राज्यका नाममा कम्युनिस्ट पार्टीले निर्धारण गरेको जीवनशैली अपनाउन हरेकलाई बाध्य पारिन्छ। साम्यवादमा नागरिकको वैयक्तिक इच्छा आकाङ्क्षालाई निरुत्साहित गरिन्छ र राज्यले तोकेको काम गर्ने, निर्दिष्ट स्थानमा बस्ने, चाहेको नभई दिएको खाने र समग्रमा राज्यको निर्देशनअनुसार चल्नुपर्ने अवस्था या व्यवस्था हुन्छ। त्यसैले साम्यवादी शासनमा व्यक्ति कमजोर र राज्यसत्ता बलियो हुने गर्दछ।
(ञ) राज्यनियन्त्रित अर्थ–व्यवस्था साम्यवादी शासनमा राज्यनियन्त्रित अर्थ–व्यवस्था हुने हुनाले व्यक्ति स्वतन्त्र आर्थिक गतिविधि गर्नबाट वञ्चित रहन्छन्। उत्पादनका सम्पूर्ण साधनमाथि राज्यको नियन्त्रण सुनिश्चित गरिएको हुन्छ। नागरिकले आफूले चाहेको व्यापार–व्यवसाय गर्ने, लगानी गर्ने हैसियत राख्दैनन्। कम्युनिस्ट पार्टीका नेता या अगुवा कार्यकर्ताबाहेक सबै नागरिकले श्रमिकको भूमिका मात्र निर्वाह गर्नुपर्ने अवस्था कम्युनिस्ट शासनमा हुन्छ।
(घ) मानवअधिकार वर्जित साम्यवाद नागरिकको हित–रक्षाविपरीत ‘दर्शन’ भएकाले मानवअधिकार कहिल्यै त्यसको प्राथमिकतामा पर्दैन। राज्य, सरकार र जनताका नाममा कम्युनिस्ट सरकार र जनताका नाममा कम्युनिस्ट पार्टीले नै सबै अधिकारको प्रयोग र उपयोग गर्ने भएकाले साम्यवादमा मानवअधिकारको गुञ्जाइस रहन्न। कुनै पनि साम्यवादी मुलुकमा मानवअधिकारको स्थिति अत्यन्त रुग्ण र दुर्बल देखिनुले पनि कम्युनिस्टहरूको मानवाधिकारसँग कुनै साइनो नरहेको स्पष्ट गर्दछ।
(ठ) पे्रस तथा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज साम्यवादमा पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता निषेधित हुन्छ। कम्युनिस्ट पार्टी, पार्टीनियन्त्रित राज्यसत्ता, कम्युनिस्ट नेता र कम्युनिस्ट विचारको प्रतिकूल अभिव्यक्ति दिने छुट कुनै पनि नागरिकलाई हुँदैन। केवल कम्युनिस्ट पार्टी र तिनका नेताहरूको प्रशस्ति (गुणगान) गाउने स्वतन्त्रतालाई नै नागरिकले आफ्नो ‘अभिव्यक्ति स्वतन्त्रताको उपभोग’ ठान्नुपर्ने अवस्था साम्यवादी शासनमा हुन्छ। कम्युनिस्ट शासनमा निजी क्षेत्रलाई सञ्चारमाध्यम सञ्चालन गर्ने अधिकार रहँदैन। राज्यले मात्र पत्रपत्रिका, रेडियो र टेलिभिजन सञ्चालन गरेको हुन्छ। सञ्चारमाध्यम नै राज्यद्वारा सञ्चालित हुन्छन् भने त्यहाँ पे्रस स्वतन्त्रताको कल्पना पनि गर्न सकिन्न। साम्यवादी दर्शन पे्रस स्वतन्त्रताको पूर्ण विरुद्ध छ, त्यसैले खुला अर्थनीति अवलम्बन गरेको दाबी गर्ने चाइनामा समेत सञ्चारमाध्यम सञ्चालन गर्ने अधिकार निजी क्षेत्रलाई दिइएको छैन।
(ड) अधिनायकवादी समाजवाद साम्यवादी दृष्टिकोणअनुसार समाजवाद भनेको साम्यवादमा पुग्ने एउटा साधन मात्र हो। सर्वहारा वर्गका नाममा कम्युनिस्ट पार्टीको नेतृत्वमा एकलौटी शासन व्यवस्था हुने र अर्थतन्त्र पनि सम्पूर्ण रूपले राज्य नियन्त्रित हुने, नागरिकलाई आर्थिक अधिकार शतप्रतिशत नरहने भएकाले साम्यवादी समाजवादलाई अधिकनायकवादी समाजवाद भनिन्छ। राज्यले दिएको खाने र अह्राएको गर्ने अनिवार्य अवस्था–व्यवस्था साम्यवादी समाजवादमा हुन्छ। समग्रमा नागरिकको राजनीतिक, आर्थिक र सांस्कृतिकलगायतका अधिकार शून्य तुल्याई सम्पूर्ण अधिकार राज्यसत्तामा केन्द्रित गर्नु नै साम्यवादी समाजवाद हो।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय