एनआरएन क्यानडाद्वारा क्यानडा सरकारलाई ज्ञापन-पत्र

२८ चैत्र २०६९, बुधबार ०१:३९ मा प्रकाशित

ऋषि बस्ताकोटी, क्यानडा । गैह्रआवासीय संघ-राष्ट्रिय समन्वय परिषद एनआरएन क्यानडाको प्रतिनिधि मण्डलले क्यानडा सरकारको परराष्ट्र मामिला सम्बन्धि मन्त्रीका संसदीय सचिव तथा क्याल्गरी पूर्वी क्षेत्रका माननीय सांसद श्री दीपक ओब्राईलाई उहाकै कार्यकक्ष रेडिसन सेन्टर क्याल्गरीमा भेटी नेपाल-क्यानडा द्विपक्षीय सम्बन्धका बारेमा एक ज्ञापन-पत्र बुझाएको छ । गैह्रआवासीय संघ-राष्ट्रिय समन्वय परिषद क्यानडा एनआरएन क्यानडाद्वारा क्यानडा स्थित १० वटा नेपाली मूलका सामुदायिक संगठनहरूसमेतको समर्थनमा प्रधानमंत्री स्टेफेन हार्परलाइ सम्बोधन गरिएको पत्रमा विगतमा झैँ क्यानडा सरकारलाई नेपालको विकासको लागि सहयोग निरन्तर गर्न अनुरोध गरिएको छ ।

गैह्रआवासीय संघ-राष्ट्रिय समन्वय परिषद क्यानडा एनआरएन क्यानडाका अध्यक्ष डा. बिनोद केसीको नेतृत्वमा डा. नगेन्द्र शर्मा, भारतका लागि नेपालका पुर्व राजदूत प्रा. हर्षनारायण धौभडेल, बिष्णु सुब्बा, ऋषि बस्ताकोटी, मेदिनी प्रसाई र कल्पना उपाध्याय सहितको विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित टोलीले नेपाल-क्यानडा द्विपक्षीय सम्बन्ध, नेपालको आर्थिक-सामाजिक विकास र शान्ति स्थापनामा क्यानडा सरकारको योगदानको प्रसंशा गर्दै राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संरचना स्थापनाको संक्रमणकालमा नेपालमा राजनैतिक स्थिरता र विकासको लागि क्यानाडाको सहयोग र संघियता सम्बन्धि अनुभव महत्वपूर्ण हुने हुनाले सहयोगलाई निरन्तरता दिन र अझ बढाउन अनुरोध गरेको थियो।

प्रतिउत्तरमा क्यानडा सरकारको परराष्ट्र मामला सम्बन्धि मन्त्रीका संसदीय सचिव तथा माननीय सांसद श्री दीपक ओब्राईले क्यानडा सरकारले नेपालको पछिल्लो परिवर्तित राजनीतिक विकासलाई उत्सुकतापुर्वक हेरिरहेको र भविस्यमा पनि नेपालको विकासमा सक्रियतापुर्वक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले क्यानडा सरकारले विगतदेखि विकासशील राष्ट्रलाई गर्दै आएको सहयोगको प्रभावकारिताको पुनरावलोकन गरी द्विपक्षीय सहयोग मोडेलभन्दा बहुपक्षीय मोडेल बढी प्रभावकारी भएकोले हाल विश्वबैंक, संयुक्त राष्ट्रसंघ लगायतका बहुराष्ट्रिय संस्थाहरूमार्फत सहयोग प्रबाह गरेको जानकारी दिनुभयो । क्यानेडियन अन्तर-राष्ट्रिय सहयोग नियोग सिड़ालाइ परराष्ट्र मामिला सम्बन्धि मन्त्रालयमा गाभेपछी सिडामार्फत हुँदै आएको सहयोग कमी हुन्छ कि भन्ने जिज्ञासाको उत्तरमा माननीय श्री ओब्राइले क्यानडा सरकारले नेपाललाई गर्दै आएको सहयोगमा कुनै कमी नहुने तर सहयोगको मोडेलमात्रै फरक हुने बताउनुभयो । साथै आफु नेपाली दुतावाससंग व्यक्तिगत रुपमा पनि दोहोरो सम्पर्कमै रहेको जानकारी दिनुभयो ।

आगामी दिनमा क्यानडासंगको व्यापार र वाणिज्यवाट नेपालले लाभ लिन सक्ने र जल-विद्युत, पर्यटन लगायत नया लगानीका क्षेत्रहरूमा लगानीको अवसर सिर्जना गरी क्यानाडियन निजि कम्पनि र लगानीकर्तालाई आकर्षित गर्न नेपाल सरकार र नेपाली डायास्पोराको महत्वपूर्ण भूमिका हुन सक्ने कुरा श्री ओब्रईले गैह्रआवासीय संघ-राष्ट्रिय समन्वय परिषद क्यानडा का प्रतिनिधिलाइ बताउनुभयो । श्री ओब्राईले क्यानडा सरकारको तर्फबाट नेपालमा वाणिज्य प्रतिनिधि नियुक्त गर्ने प्रक्रिया शुरु गर्न लागेको जानकारी पनि दिनुभयो। नेपालमा क्यानाडियन दुतावास स्थापनाको योजना सम्बन्धि जिज्ञासाको उत्तरमा उहाले हाललाई आर्थिक व्ययभार र प्रभावकारिताको हिसावले नेपालमा दुतावास खोल्ने योजना नरहेको तर दिल्ली दुतावासबाट भारत, नेपाल, पाकिस्तान र अफगानिस्तानमा सम्पूर्ण काम हुने गरेको जानकारी दिनुभयो । यसका अतिरिक्त नेपालसंगको द्विपक्षीय सम्बन्ध र सहयोगलाई प्रभावकारी बनाउने थप प्रयास स्वरुप क्यानडा सरकारले नेपालमा अवैतनिक बाणिज्य दुत भने नियुक्त गर्न लागेको खुलासा गर्नुभयो।

अन्त्यमा प्रतिनिधिमण्डलकातर्फबाट गैह्रआवासीय संघ -राष्ट्रिय समन्वय परिषद क्यानडाका अध्यक्ष डा. बिनोद केसीले क्यानडा सरकारले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद दिंदै आगामी दिनमा पनि यो सहयोग द्विपक्षीय सम्बन्धका आधारमा निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो । साथै प्रतिनिधिमण्डलले नेपालमा निकट भविष्यमा हुन गैरहेको संबिधानसभाको नया निर्वाचनमा पनि सहयोग गर्न अनुरोध गर्यो । प्रतिउत्तरमा माननीय श्री ओब्रईले कार्टर सेन्टर लगायतका संस्था मार्फत क्यानडा सरकारले नेपालको निर्वाचनलाई सघाएको र नेपाल सरकारबाट थप सहयोगको माग भइ आएको खण्डमा क्यानडा सरकार त्यसको लागि समेत सकारात्मक रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको