‘धन्यवाद सारा !’ :: शरू जोशी श्रेष्ठ

२३ चैत्र २०६९, शुक्रबार ०७:५६ मा प्रकाशित

कसैले राम्रो काम गर्छ भने मलाई बधाई वा धन्यवाद भन्न मन लाग्छ । विदेशमा त धन्यवाद दिने दिन नै तोकिन्छ, आफूलाई सहयोग गर्नेप्रति कृतज्ञता प्रकट गरिन्छ र यसलाई विशेष अवसरको रूपमा मनाइन्छ । हेर्दा सानो शब्द ‘धन्यवाद’, तर यसको महत्व घनीभूत छ । वास्तवमा यो जगत्मा धनी होस् वा गरिब, बुद्धिमान होस् या ख्यातिवान सबैसँग विचार र शब्दको सम्पति हुन्छ । यो सम्पतिको प्रयोग कतिले गर्छन्, कतिले गर्दैनन् । यी न्यूनतम शिष्टाचारका शब्दको प्रयोग गर्नु भनेको सभ्य देखिनु पनि हो । कहिले त यी शब्दले जादुकै जस्तो असर गर्दछ । गहिरिएर सोच्दा बोलीमा लगानी गर्नेले अरूबाट पनि सकारात्मक व्यवहारको उपहार पाएको हुन्छ । वास्तवमा मीठो बोली खर्चिनु जिन्दगाी जिउने कला हो, सीप हो । दुर्भाग्य, कतिले धन्यवाद भनेर अर्कालाई आभार प्रकट गर्दा तल परिएला कि, आफ्नो हाइट पो घट्ला कि भनेर पनि सोच्छन् । धन्यवाद नभनेर कति आफैं गजक्क पर्छन्, तर त्यस्ता व्यक्तिले थाहै नपाई आफैंलाई एक्स्पोज गरिराख्या हुँदारहेछन् । अरूलाई खिस्रिक्क बनाउँदा प्राकृतिक नियमअनुसार करेला रोप्दा सुन्तला त किन पो फल्थ्यो र ? परिणाम, एकपल्ट आभार प्रकट गर्न चुकेको साँवाको ब्याज जिन्दगीभरि नै पाकिरहँदो रहेछ ।

हुन त हाम्रो समाजमा यस्ता औपचारिक र खुला संवाद गर्ने संस्कार बलियो पनि छैन, कतिलाई यस्तो शब्दको प्रयोग असहज पनि लाग्छ । तर, हामीकहाँ ठूलाबडालाई, अझ विदेशीलाई चाहिनेभन्दा बढी प्रशंसा गरी आफूभन्दा तल्लो ओहोदाको, अर्को संस्था, पार्टीे, जात र पेसाकालाई आभार वा सम्मान नगर्ने प्रवृत्ति पनि देखिन्छ । यस्ता अपरच्युनिस्ट न हत्तपत्त कसैको बन्न सक्छन् न कर नपरेसम्म समाजका लागि नै केही सिन्को भाँच्न सक्छन् । यस्ता प्रवृत्तिका व्यक्तिको मृत्यु हुँदा लासवरिपरि बसेकाहरूले उनको समीक्षा कसरी गर्दा हुन्, भन्ने पनि मनमा सोच आउँछ । कसै न कसैकसैले मनमनमा के गर्नु, जत्ति धनी भए पनि यो मान्छे अर्थात् लास असाध्यै लोभी, समाजका लागि सुको खर्च नगर्ने, चिसो भन्ने विशेषणहरू प्रयोग गर्छन् होला जस्तो लाग्छ । हामी सबैलाई थाहा छ, हाम्रो मृत्यु अवस्यंभावी छ, तर जीवनको भागदौडमा हामीमध्ये कतिले मर्ने बेला आफनो लासको यस्तो समीक्षा होला भनेर सोचेका हौँला र ! अङ्ग्रेजीमा भन्छन् नि, ‘हु विल क्राइ, हवेन यु डाई’, अर्थात् जब तिमी मर्छौ, तिम्रो मृत्युमा रुनेहरू को–को हुन्छन् ?
एकताका ट्याक्सी चढेर एक मिटिङमा गएका थियौँ । चाँदनी जोशी, मेरो तत्कालीन हाकिमले ओर्लने बेला ट्याक्सीड्राइभरलाई धन्यवाद भाइ भन्नुभयो । अक्सर ट्याक्सीड्राइभरहरूलाई आदर गर्ने चलन छैन । हामीकहाँ सम्बोधनको पनि जमिनदारीकरण छ, हजुर, तपाईं, तिमी र तँ । सम्बोधनको वर्गीकरणबमोजिम ड्राइभरलाई सीधै ‘तिमी’ श्रेणीमा झारिन्छ । यस परिवेशमा चाँदनी जोशीको व्यवहार देखेर म दङ्ग परेँ । मेरो मनोभाव बुझी चाँदनी जोशीले भन्नुभयो– हुन त ट्याक्सी चढेको बदला पैसा हामीले ति¥यौँ तर समयमा नपुगेको भए हाम्रो मिटिङ छुट्थ्यो, ढिला पुगेको भए राम्रो देखिने थिएन । यसैले समयमा पुराइदिएकोमा हामीले ड्राइभर भाइप्रति धन्यवाद भनेर आभार प्रकट त गर्नैपर्छ । त्यसबेला चाँदनी जोशीज्यूको धन्यवादको सरल र सभ्य प्रयोग अझै आलै छ मेरो मानसपटलमा । धन्यवादको कोसेलीले त्यो ड्राइभर भाइको मुहारमा आएकोे खुसी र आँखामा चमक देख्दा शब्दकोे जादुमय असर मैले प्रत्यक्ष देखेँ । मनले आहा यो पो हो समावेशी कुरा भन्यो । यस्ता अनुभवहरूले मलाई सावधानीका साथ ओझेलमा पर्नेहरूप्रति गुनिलो शब्दहरू प्रयोग गर्न सिकायो ।
यो लेख लेखिरहँदा मैले शब्दको लगानी गरेको पात्र ढिकुरपोखरी गाविसको राधा कुँवर सम्झिरहेको छु । कास्कीको एक कार्यक्रममा राधा कुँवर भेटेँ । होचो कदकी राधाको बोली सुन्न हामीले झुकेर हेर्नुपथ्र्यो । उनी भनिरहेकी थिइन्– सबै यो भएन त्यो भएन भनेर गुनासो गर्छन् । शरीरको होचोपनाले गर्दा मलाई बस चढ्न पनि गाह्रो छ, बिजुलीको पैसा कुर्सी चढेर तिर्नुपर्छ । शौचालयमा छिड्कनी लगाउन सक्तिनँ, अरूका एक पाइला चल्दा मैले तीन पाइला चाल्नुपर्छ । बाटो हिँड्दा मान्छे हाँस्छन् तर गाविसमा बसेर मैले आपm्नै हिसाबले काम गरिरहेकै छु भन्दै केही उदाहरण दिइन् । कसैलाई नबिझाई तर सबैलाई भारी पुग्नेगरी बोलेको देखेर म राधाजीसँग बहुतै प्रभावित भएँ । मलाई उहाँ गुरुमा थाप्नुपर्ने व्यक्तिजस्तो लाग्यो । मैले राधाजीलाई उहाँ कति महत्वपूर्ण व्यक्ति हुनुहुन्छ, कदको होचो तर सगरमाथा छुने काम भनेर प्रशंसा गर्दा उहाँले गहभरि आँसु पारेर, शरूजी तपाईंको कुरा सुन्दा मन बलियो हुन्छ, आफू पनि साँच्चै ठूलै मान्छे पो रहेछु कि जस्तो लाग्छ । जुरुक्कै उठेर केही राम्रो काममा हिँडी पो हालौँ कि जस्तो हुन्छ भन्नुभयो । राधाजी हरेक पन्ध्र–बीस दिनमा फोन गरेर ‘शरुजी तपाईंसँग कुरा गरेपछि हप्ताभरिलाई खुराक पुगेजस्तो ऊर्जा आउँछ,’ भन्नुहुन्छ । अर्थात् समयमा गुणिलो शब्दको लगानीले कतिलाई भिटामिनको काम गर्दोरहेछ ।
तर समयमा ती दुई शब्द नबोलिदिँदा कतिको मन अमिलिँदा हुन्, कति हतोत्साही हुँदा हुन् । जीवनकालमा यस्ता शब्दको प्रयोग गर्न चुकेको नरमाइला क्षणहरूले कतिलाई बिझिरहेका होलान् । कति ओइलाउँदै जाँदा डिप्रेसनमा पुगे होलान् । यस्तै केही सोचमा मनै रसाउने एउटा सुखद अनुभव रह्यो । म मेरो परिवार, दुईजना बहिनीज्वाइँहरूसँग धरानबाट मोटरमा काठमाडौँ फर्कंदै थिएँ । मेरी बहिनी सविनाले कसलाई पानी, कसलाई औषधि, खानेकुरा चाहियो हेरविचार गरिरहेकी थिइन् । हाम्रा तीनजना छोरी अभिश्री, समृद्धि र सारा सजिलोसँग बीचको सिटमा बसुन् भनेर म मोटरको पछिल्लो सिटमा साँगुरो गरी बसेकी थिएँ । बाटोमा रिभरसाइड होटलमा चिया खान मोटर रोक्यौँ । होटलमा ‘विसिङ्ग वेल’ अर्थात् मनोकामना पूरा हुन्छ भन्ने सानो इनार रहेछ, बच्चाहरूले आँखा चिम्लिएर आ–आफ्नो इच्छा पूरा होस् भनेर चानचनु सिक्का खसाएर रमाइलो गरे । त्यहाँबाट हिँड्दा साँझ परेकाले मेरो श्रीमान्ले सबैलाई हाम्रो घरमा खाना खाएर छुट्टिने कुरा गर्नुभयो । एवम् रितले काठमाडांै पुगेर घरमा खाना खाएर बिदा हुने बेला मेरो बहिनी सरिताले उनको चार वर्षीया छोरी सारालाई अब जाने बेला भयो सबैलाइ थ्यान्क्यू भन भनिन् । साराले मेरो श्रीमना्लाइ ठूलो बुबा डिनर खान बोलाउनुभएकोमा थ्यान्क्यु भनी । त्यस्तै मेरो ज्वाइँ बरुण जसले मोटर चलाउनुभएको थियो, उहाँलाई रिभरसाइट होटलमा लगेर ‘विसिङ्ग वेल’ देखाएकोमा धन्यवाद भनी । त्यसपछि सविनालाई हामी सबैको टेककेयर गर्नुभएकोमा थ्यान्क्यु माइलीमा भनी । अन्तमा मलाई आएर ‘पछाडिको सिटमा बस्नुभएकोमा थ्यान्क्यु ठूलोमा, हजुरले गर्दा म दिदीहरूसँग बीचको सिटमा बस्न पाएँ’ भनी । चार वर्षको बच्चीले त्यस्तो सुझबुझका साथ व्यक्तिविशेषको भूमिकालाई जस्ताको तस्तै सम्झँदै धन्यवाद भनेको सुन्दा हामी सबको आँखा तन्कियो, हामी छक्क प¥यौँ । त्यो अबोध बच्चाले कसरी कहाँ त्यस्तो पर्सनल टचका साथ आभार प्रकट गर्ने सभ्यता सिेकी भनेर मन गद्गद् भयो । साराको स्कुल ‘केटाकेटीको बारी’ तथा उसको आमा, बुबा सरिता र सुरेशलाई धन्यवाद भन्नै मन लाग्यो । तर, उमेरको हदको सीमाभन्दा माथि उठेर हृदय रसाउने गरी सबैको छुट्टाछुट्टै भूमिकाप्रति आभार व्यक्त गरेको, गुनिलो शब्दको प्रयोग गरेको देख्दा लेखै लेखेर भन्न मन लाग्यो– ‘धन्यवाद सारा !’

[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा