कसले हाल्यो सशस्त्र समूहलाई झुकाउने जग ?

२१ चैत्र २०६९, बुधबार ०९:११ मा प्रकाशित

काठमाडौं, २१ चैत । नयाँ सरकार गठन भई मुलुकमा चुनावी माहोल बन्न थालेको अनुभूति गरिएको छ । चुनावको माहोल बनेसँगै तराईका विभिन्न जिल्लामा आपराधिक गतिविधि सञ्चालन गर्दै आएका अनेक नामधारी सशस्त्र भूमिगत सङ्गठनहरूले प्रशासनसमक्ष हतियार बुझाउने क्रम पनि बढेको छ । सरकारले अवैध हतियार बुझाउन जारी गरेको सूचनाअनुसार उत्साहजनक परिणाम प्राप्त भएको भन्दै सरकारले अवैध हतियार बुझाउने म्याद अर्को एक महिना थपेको छ । यसक्रममा बाँके, बर्दियालगायत पश्चिम तराई क्षेत्रमा आतङ्क मच्चाइरहेका सशस्त्र समूहहरूले चुनावको माहोल निर्माण गरिदिने भन्दै हतियार बुझाएर आत्मसमर्पण गरेपछि तराई–मधेसका अन्य जिल्लामा पनि हतियार बुझाउने लहर नै चलेको छ । यसरी सशस्त्र भूमिगत समूहले आत्मसमर्पण गर्ने लहर कसरी आयो होला, यसको जड भने बेग्लै छ । 
५–६ वर्षअघिको बाँकेलगायत पश्चिम तराईका जिल्लाहरूको कल्पना गर्ने हो भने देख्ने–भोग्नेहरूको आँखामा अहिले पनि कहालीलाग्दो चित्र छाउँछ । व्यापारी, उद्योगपतिहरू नचिनेका नम्बरबाट आएका टेलिफोन रिसिभ गर्न डराउँथे । चन्दा दिनुपर्ने हो कि अपहरणमै परिने हो भन्ने त्रासले उनीहरूको पसिना छुट्थ्यो । अभिभावकहरू आफ्ना बालबालिकालाई स्कुल पठाउँथे तर फर्केर आउने हुन् कि होइनन् भनी दिनभर चिन्तामा डुब्थे । अपहरण, फिरौती असुली र हत्याजस्ता घटना व्याप्त थियो । अनेक नामधारी सशस्त्र समूहहरूको बिगबिगी त्यत्तिकै बढेको थियो । चोरी–डकैती, तस्करीजस्ता असामाजिक क्रियाकलापका कारण सामाजिक शान्ति–सुव्यवस्था खल्बलिन पुगेको थियो । राजनीतिक कार्यकर्ताहरूसमेत खुलेर पार्टी सङ्गठनका काममा हिँडडुल गर्न सक्दैनथे । व्यापारिक प्रतिष्ठान, सार्वजनिक सङ्घ–संस्था, व्यक्तिका घर–आँगनदेखि राजनीतिक दलका कार्यालयमा समेत बम विस्फोट हुन्थ्यो । एकप्रकारले उक्त क्षेत्रको सिङ्गो जनजीवन नै घोर त्रासको छायामा परेको थियो । सशस्त्र समूहहरूले मच्चाएको आतङ्कका कारण सिङ्गो मुलुक नै त्राहीमाम र बदनाम बन्न पुगेको थियो । विशेषगरी बाँके र आसपासका क्षेत्रमा भगतसिंह समूह नामक भूमिगत सङ्गठनको दबदबा निकै बढेको थियो, जो स्थानीय प्रहरी र प्रशासनका लागि मात्र नभई राज्यकै लागि टाउकोदुखाइको विषय बनेको थियो । त्यस्तो परिस्थितिमा बाँके जिल्ला प्रमुखका रूपमा खटाइए– एसपी विक्रमसिंह थापा । सामाजिक विसङ्गतिका प्रबल शत्रुको छवि बनाएका एसपी थापालाई त्यहाँ खटाइनुको तात्पर्य थियो– सशस्त्र समूहले मच्चाएको आतङ्कको छायाबाट जनमानसलाई मुक्त तुल्याउनु । सुरुमा कसैले विश्वास गर्नै सकिरहेका थिएनन् कि असम्भवतुल्य ठानिएको काम एउटा एसपीले सहज किसिमले पार लगाउलान् भनेर । तर, ‘कि भगतसिंह छैन कि विक्रमसिंह’ भन्दै जिल्लाको कमाण्ड सम्हालेका एसपी विक्रमसिंहले भगतसिंहलगायतका सशस्त्र समूहलाई आत्मसमर्पण गराउन समय लगाएनन् । जब खुंखार भगतसिंह विक्रमसिंहसमक्ष आत्मसमर्पण गर्न पुगे, अन्य छोटामोटा समूहहरूले पनि आत्मसमर्पणको उपक्रम सुरु गरे ।
बाँकेको प्रहरी–कमाण्ड एसपी थापाले सम्हालेको छोटो अवधिमै नेपालगञ्जको चित्र फेरिएको थियो । अल्पसमयमै एसपी थापाले विकृति–विसङ्गति, सामाजिक अव्यवस्था, तस्करी, कालाबजारी र अराजकताविरुद्ध हासिल गरेको सफलता यतिबेला राज्यकै लागि अमूल्य उपहारसरह बन्न पुगेको छ भन्न कन्जुस्याइँ गरिरहनु पर्दैन । ०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी जिल्लाको सुरक्षा कमाण्ड सम्हालेका एसपी विक्रमसिंह थापाले त्यो जिल्लाको इतिहासमा पहिलोपटक एकैचरणमा निर्वाचन सम्पन्न गराउने सुरक्षा वातावरण मिलाएर प्रशंसा बटुलेका थिए । त्यसबेला मधेसवादी नेता जेपी गुप्ताले विक्रमसिंहको कामको मुक्तकण्ठले प्रशंसा गर्दै ‘विक्रमसिंहले सप्तरीमा सुरक्षाको मामलामा दैवीशक्ति प्रदर्शन गरेको’ भन्ने अभिव्यक्ति नै दिएका थिए । थापाको कार्यशैलीको मूल्याङ्कन गर्दै प्रहरी सङ्गठनले उनलाई कपिलवस्तुजस्तो अत्यन्तै संवेदनशील जिल्लामा खटाएको थियो । उनी जहाँ–जहाँ खटाइए ती स्थानमा हुने अपहरणलगायतका अपराधजन्य घटनामा चामत्कारिक कमी आएको रेकर्ड छ ।
यसरी एसपी विक्रमसिंह थापाले राखेको जगमा यतिबेला पर्खाल उठ्ने क्रम सुरु भएको छ । मुलुकभरका सशस्त्र समूहहरूले हतियार बिसाउने हो भने शान्तिसुरक्षा निर्माण भई राजनीतिक स्थिरता, विकास र समृद्धिको रूपरेखा खिच्ने काममा पनि द्रुत गति आउने विश्वास लिन सकिन्छ । सशस्त्र हतियारधारी आपराधिक समूहहरूले धमाधम हतियार बिसाउन थालेको यतिबेलाको परिवेशमा राज्यले विक्रमसिंहको कामको मूल्याङ्कन कसरी गरिरहेको होला– योचाहिँ सम्बद्ध क्षेत्रमा जिज्ञासाकै विषय बनेर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक