छाँगा____खगेन्द्र पन्धाक लिम्बू

२० चैत्र २०६९, मंगलवार ०४:०० मा प्रकाशित

बर्षौंदेखि नदीले खियाएको गहिरो चोट त तिनै चट्टानलाई मात्र थाहा थियो, जो युगौंदेखि चुपचाप त्यो नदीलाई प्रेम गरेर बसेको थियो । हुन पनि मायालाई हल्ला गरेर अभिब्यक्त गरिरहनुपर्छ भन्ने मान्यता राख्दैनथ्यो त्यो शान्त ढुङ्गे पहराले ।
कहिले बर्खेभेलको निहूँमा त कहिले आफ्नो बेगवान बहावको अहममा जब नदी गड्गडाउँथिन, ती सबै हल्लाहरुलाई त्यो चट्टानले आफ्नो छातीमा गीत बनाएर सुनिरहन्थ्यो । नदी तल बग्थिन्-माथि ढुङ्गेपहराको बक्षस्थलमा नदीको गडगडाहटको प्रतिध्वनीलाई चराचुरुङ्गी, पशु-मान्छे,प्राकृतिक सबथोकले सुनिरहेका हुन्थे ।
‘मेरो स्वतन्त्रता र सार्वभौमिकता तैंले हरण गरेकोछस् । युगौंको मेरो माग पूरा नभएकोले अब म तँलाई भत्काएर पनि पृथक भै छोड्छु ।‘ नदीले पुनश्च: नारा उर्दी गरिन् ।

जवाफ दिनै परेकोले ढुङ्गे पहारा बोले –
‘जो, मेरो कर्तब्य थियो,गर्दैछु । नदी गहिराई मै बग्नुपर्छ । मैले थुनिन भने तिमी बाहिर आउँछौ र स्वतन्त्रताको नाममा सबैलाई बगाउँछौ । फैलिएर सुकिजान पनि सक्छौ । नदीको अस्तित्व र सुन्दरता गहिराईमा नै हुन्छ । तेसैले म तिमीलाई यो गहिराई मै निरन्तर बगाउन थुनिरहनेछु ।तिमी यसरी नै शालीन, स्वच्छ र सौम्य बनेर अबिरल बगिरहनू !‘

यो कुरालाई नदीले दबाब र अन्याय सम्झिन् । आफूमाथिको बन्धन र अत्याचार बुझिन् । र, आउँदो बर्खामा पहरालाई भत्काईदिने मनमनै योजना बनाईन् । उनलाई थाहा थियो कि त्यो चट्टान भित्र-भित्र खिएर कमजोर भईसकेकोछ ।

‘यसपल्ट तेरो सबै अभिमानलाई तोडेर छोड्छु ।‘ –नदीले प्रण गरिन ।

चट्टानलाई पनि थाहा थियो कि युगौंदेखि नदीको एकोहोरो आक्रमणबाट ग्रसित भएर भित्र-भित्रै मक्किँदै, खोक्रो हुँदै र कमजोर हुँदै आफू नाजुक स्थितिमा पुगिसकेको अवस्था हो । यसलाई पनि आफ्नो सच्चा प्रेम र दायित्व मानेर ऊ चुपचाप मुस्कुराइरह्यो ।

बर्खा लाग्यो । नदीले आफ्नो कुटनिति तयार गर्दैगईन । बादललाई निरन्त मुसलधारे पानी पारिदिन सयौं विन्ति गरिन् । आफ्ना मुहान र आफूसँग सहपाठी बनेर बगेका साना खोला-खोल्सीलाई पनि बेस्सरी बेगले बग्न अनुरोध गरिन् । भित्ता र पखेराहरुलाई पहिरो गइदिन अनुनय-बिनय गरिन् । सबै पानीका मूलहरु फुटेर मिसिन हार्दिक आग्रह गरिन् । सुन्दरी र सबैले पृय मानेका नदीको बचनलाई सबैले हृदयबाट स्विकार गरे । उनका सबै अनुरोधहरु पूरा हुँदैगए । बेस्सरी मुसलधारे पानी बर्षियो हप्तौं-हप्ता । खोला-खोल्सीहरु पनि बेगवान भनेर बगे । पानीका मूलहरु फुटे । भित्ता र पखेराहरु भत्किएर पहिरो जान थाले । पहाड-जङ्गल सबै बगेर मिसिन थाले । नदी सयौं गुणा ठूलो र शक्तिशाली भएर बग्नथालिन् । आफ्नो योजना पूरा हुने भएकोले नदी सुट्ठीसारो खुशी थिइन् । आफ्नो शक्तिको दुरुपयोग गर्दै कर्कस र त्रासद आवाजसहित जोड-जोडले त्यो मक्किएको चट्टानलाई लगातार धक्का दिन थालिन् । चट्टानले आफ्नो घाईते बदनले सबै पीडा र दर्द सहिरह्यो । सदा झैं त्यो सबै भयङ्कर रुखो आवाजलाई पनि आफ्नो बक्षस्थलमा गुञ्जाएर गीत बनाउँदै सुन्ने प्रयत्न गरिरह्यो । मक्किएको जिर्ण बदनले त्यो भयङ्कारी आक्रमणको सामना गर्न कति नै सम्भव थियो र ! अन्तत: सहनशीलतापछि केहि नचलेर ढल्ने नै भयो,जोडी महिनापछि ढल्यो । बिचरा ! ढल्यो ढुङ्गे पहरा र पुरियो नदी । थुनियो नदी । आफ्नो काँध र शीरमाथि जनम-जनम प्रेमले बोकेका सारा गाउँ, पहरा, जङ्गल सबै-सबै भत्किएर, सोहोरिएर नदीमा खसे । सारा पहाड नै ताछिएर आयो । सबैले किचिएको चोट-पीडालाई पनि सहेर अझै पनि नदीले आफ्नो अहमलाई प्रदर्शन गरिरहिन् । नदी अब प्राकृत नदी जस्तो रहेन । आफ्नो बाटो, रुपरङ्ग र स्वरुप सबै गायब भएकोले नदी बेहोस भइन ।
बेहोसी मै बकबकाईरहिन् ।
-‘तँलाई आज म बाँकि राख्दिन । मेरो स्वतन्त्रता फिर्ता लिएरै छोड्छु ।‘

-‘युगौंको मेरो प्रेमलाई तिमीले कहिल्यै बुझिनौ ! हेर ! आज सबै विध्वंश भयो । तिमीले साह्रै नकाम गर्यौ पृय ! म त तेसै अब खत्तम भएँ-भएँ, तर रिसको आवेगमा तिमी आफैं पनि समाप्त भयौ र यो सुन्दर पहाड, बनजङ्गल, पशुपंक्षी सबै प्रकृतिलाई नै खत्तम र सखाप पार्यौ । प्रेम प्राकृत हुन्छ । मेरो ईमान्दार प्रेमलाई तिमीले दिएको यो सजायँमा म दुखित छु । अब मबाट तिमी मुक्त भयौ, स्वतन्त्र भयौ । बगिरहनू निरन्तर-अबिरल ! मेरो रुमानी कामना !’ चट्टानको रुन्चे स्वर यो भन्दा ज्यादा सुन्ने मौका फेरि आएन ।

क्रमश: बर्षा रोकिँदैगयो । नदीका मुहानहरू सुकेर गए । पहिरोहरू झर्न बन्द भए । पानीका सबै स्रोतहरू सुक्खा भए । खडेरी शरु भयो । यो सबै घटना हेरिरहेको घामको अचाक्ली बढेर गयो । गर्मी बढेर गयो । नदी पानी सुक्दै गयो । जमेका दहहरु पनि सुके । आफूले दिएको सहयोगलाई दुरुपयोग गरेको रिसले सबै पानीका स्रोतहरुले थोया पानी सम्म पनि नदिने घोषणा गरे ।नदी अब बगरमा परिणत हुँदै गइन ।

बल्ल नदीको होस आयो । यतिबेला नदी सानो कलकले धारो जत्रो भईसकेकिथिइन । वरिपरी र आफूलाई नियालिन् । चारैतिर उजाड र भष्म देखिन् । आफूमुनी मृतक चट्टान लम्पसार सुतेको देखिन् । आफू शून्य नभई आफ्नो यथार्थ सतह पनि थाहा हुँदैन –भन्ने बुझिन । पहिले आफूसँग पानीको मात्रा ज्यादा हुँदा आफू मुनी पनि चट्टान थियो भन्ने पनि उनलाई थाहा नै थिएन । चट्टानले आफूलाई बन्धक राखेको मात्र बुझेकी थिइन् ।चट्टानको अन्तिम वाक्यहरुलाई सम्झिँदै आफूलाई यस्तो पानीशून्य भएको दुखेसो मिसाएर कहालिएर आत्मग्लानीले डाँको छोडेर रुनसम्म रोइन, रोइरहिन । तर पहिले जस्तो त्यो आवाज गीत बनेर कहिँ गुञ्जिएन ।
त्यो विध्वंशले अनिष्ट भएर बर्षौं पानी परेन । खडेरीमा आफैं पनि पानीको तृष्णाले छटपटिँदै बाँचिरहिन् । पानी खान नपाएर पशु-पंक्षी र जीवजन्तुहरू आफ्नै आँखा अगाडी भकाभक ढलेको देख्दा उनलाई साह्रै दु:ख लाग्थ्यो । उनको कानमा तिनै चट्टानको बोली दोहोरिन्थ्यो । जसले झनै पीडालाई बल्झाईदिन्थ्यो । चट्टानले छोडेको अन्तिम कामना अनुरुप बग्न चाहेर पनि बग्न सकिनन् । निरस, एक्लो, उदास र ग्लानीले धेरै बाँच्नसक्ने शक्ति रहेन । आँखा चिम्लेर फाल हानेर मर्ने कोशिस गरिन र अली तलको भीरमा फाल हालिन् । तर अलिकति पानी जमेको दहमा परेकोले मरिनन् । यसो माथि हेर्दा चट्टान कै भीर देखिन । त्यो शान्त, मौन, ओजस्वी र अमर आफ्नो भूतपूर्व प्रेमी अँगालोमा आफूलाई निमन्त्रणा गर्दै मुस्कुराईरहेको जीवित चट्टान थियो ।
धेरैबर्षको अन्तरालमा फेरी प्रकृतीले आफूलाई प्रतिनिर्माण गर्दै गइन । नदी बढ्दै र बिशाल हुँदै गइन । पहाडहरु हरियाली र रङ्गिचङ्गी हुँदैगए । नदीले आफ्नो पहिलेकै स्वरुप लिइन । पुन: क्षमा माग्दै चट्टानलाई प्रेम गर्न थालिन । दुबै कसिलो मायामा बाँधिए । नदी आफू फाल हानेर मर्ने भीरमा बेगले अबिरल बग्न थालिन, त्यो चट्टानको छाती थियो । अर्थात छाँगा ! जसको -न पानीबिना कुनै अर्थ छ, न चट्टानबिना कुनै अस्तित्व नै छ ।

जहाँ प्रेम बग्छ । नदी त्यहीँ पुल्पुलिँदै बग्छिन्-बगिरहन्छिन् अबिरल….अबिरल तिमी जस्तै । मेरो छातीमा तिम्रो माया रसाए झैं त्यसैले होला हरेक ढुङ्गे पहरामा पानी रसाईरहन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा