राजनेताको प्रतीक्षा -गुरुराज घिमिरे

२१ चैत्र २०६८, मंगलवार ०३:३० मा प्रकाशित

अब फेरि संविधानसभाको म्याद नथपिने पक्का भएको छ। सर्वोच्च अदालतको पछिल्लो निर्णयले आगामी जेठ १४ गते पुनः संविधानसभाको म्याद थपिने सम्भावनालाई पूर्ण रूपले समाप्त गरेको छ। र, मुलुक अन्योलपूर्ण स्थितिबाट निर्णायक चरणमा प्रवेश पनि गरेको छ। यो विकासक्रमलाई नेपालका राजनीतिक दलहरूले कसरी बुझेका छन्, त्यो हेर्न बाँकी नै छ तर नेपाली जनताका लागि भने यो सान्त्वनाको उपहार भएको छ। केवल दुई वर्षका लागि आफूले दिएको समर्थनलाई अतिरञ्जनापूर्ण ढंगले दुरुपयोग गरिरहेका दलहरूलाई जिम्मेवारीमा फर्काउने र मुलुकमा व्याप्त अन्योललाई अन्त्य गर्ने दिशामा न्यायालयको यो फैसला कोसेढुंगा सावित हुने नै छ। अब के गर्छन् त दलहरू? खासगरी एकीकृत नेकपा (माओवादी) को आगामी कदम के हुन्छ? संवैधानिक समितिमा विवादित रूपमा रहेका मुद्दाहरूमा अरू दलहरूको अडान के हुन्छ? शासकीय स्वरूप, न्यायप्रणाली, निर्वाचन प्रणाली र संघीयताजस्ता मुद्दाहरूमा दलहरूबीच कसरी र कस्तो सहमति बन्छ? अबका दुई महिनाभित्र शान्तिप्रक्रिया टुंगिएर संविधान आउछ कि आउँदैन? यदि संविधान बनेन भने मुलुकको परिस्थिति के हुन्छ? यी र यस्ता अनगिन्ती प्रश्नहरूको जवाफ खोजिरहेको छ नेपाली समाजले। सायद नेपालको इतिहासमा राष्ट्रका सामु योभन्दा ठूलो संकट कहिल्यै आएको थिएन। साँच्चै भन्ने हो भने हामी सबै यतिखेर गम्भीर ऐतिहासिक मोडमा उभिएका छौ। कुनै पनि राष्ट्रका जीवनमा यस्ता संकटका घडीहरू विरलै आउँछन्। कुशल राजनेताले मात्र राष्ट्र र जनतालाई जस्तोसुकै संकटबाट पनि उन्मुक्ति दिने सामर्थ्य राख्दछ। र यस्तो संकटपूर्ण घडीमा नै नयाँ राजनेताको उदय पनि हुनसक्छ। हाम्रो देशलाई कुनै बाहिरियाले आएर खतरामुक्त तुल्याइदिने होइन। हामीले आफूभित्रैबाट नेतृत्व र सामर्थ्यको खोजी गर्नुपर्ने हुन्छ। हाम्रा राजनीतिक दलहरूका नेता र तीनको सामर्थ्यमै भर पर्नुपर्ने हुन्छ। यस सन्दर्भमा यहाँका मुख्य राजनीतिक दल र तिनको नेतृत्वका विषयमा चर्चा गर्नु उपयुक्त र प्रासंगिक हुन जान्छ।

एकीकृत नेकपा (माओवादी)
हतियारको बलमा शासन सत्तामा नियन्त्रण कायम गर्न स्थापना भएको कम्युनिस्ट पार्टी र त्यसको एउटा भँगालोको रूपमा क्रियाशील माओवादी पार्टी वर्तमान नेपालको सबैभन्दा ठूलो पार्टी हो। यस पार्टीले आफ्नो ऐतिहासिक विकास क्रममा हतियारको प्रयोगलाई दुई वर्षमा पुर्‍याएर नै आफ्नो हैसियत निर्माण गरेको हो। पछिल्लो तथ्यांकअनुसार झन्डै १७ हजार नेपाली जनताको वलिदान उसैको हिंस्रक क्रियाकलापको परिणाम थियो। अन्ततः हिंसालाई बिसर्जन गरेर शान्तिसम्झौतामार्फत राष्ट्रिय राजनीतिको मूल प्रवाहमा प्रवेश गरेको यो पार्टी यतिबेला स्वयं ठूलो संकट झेलिरहेको छ। एकातिर उसको कँाधमा शान्ति र संविधानको ऐतिहासिक अभिभारा छ भने अर्कोतिर पार्टीभित्रको आन्तरिक अव्यवस्था र संघर्ष चरम उत्कर्षमा पुगेको छ। एक समय नेपालमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनकै लागि उदाहरणीय र अनुकरणीय ठानिएका माओवादी अध्यक्ष प्रचण्ड यतिबेला संशोधनवादी, क्रान्तिविरोधी र विदेशी दलालको कोटीमा पुगेका छन् भने यही पार्टीका अग्रज, श्रद्धेय, पूजनीय र गुरु ठानिएका नेता मोहन वैद्य ‘किरण’ जडसूत्रवादी, विसर्जनवादी, अराजकतावादी, अधैर्य र निम्नपुँजीवादी भएका छन्। पार्टीभित्र आरोप र प्रत्यारोपको बाढी लागेको छ र अब एकले अर्कालाई भन्न बाँकी केही छैन। यस्तो स्थितिमा यस पार्टीबाट राष्ट्रले के अपेक्षा गर्ने भन्ने प्रश्न उठ्न थालेको छ। आफ्नो ऐतिहासिक दायित्वबाट विमुख भएर आपसी द्वन्द्वमा मग्न माओवादी पार्टीको यो झगडा एउटा गरिब परिवारले ठूलो चिट्ठा परेपछि गरेको भागबन्डाको झगडाजस्तै देखिएको छ। यस्तो परिस्थितिमा माओवादी अध्यक्ष प्रचण्ड वा प्रधानमन्त्री बाबुराम भट्टराईबाट मुलुकले गरेको आशा कति सार्थक होला? उनीहरूबाट राजनेताको भूमिका निर्वाह होला त? निश्चितरूपमै यो विषय शंकाको घेरामा छ। तसर्थ यतिबेला माओवादी पार्टीले आफ्नो दलभित्रको कचिंगल बन्द गरेर शान्ति र संविधानको दायित्व पूरा गर्ला भन्ने आशा कम हुँदै गएको छ र त्यहाँबाट कुनै राजनेताको उदय होला भन्ने सम्भावना ज्यादै न्यून छ। तथापि जनताले अझसम्म आश मारेका छैनन्।
नेपाली कांग्रेस
सायद नेपालको इतिहासमै आफ्नो सम्पूर्ण जीवन राष्ट्र र लोकतन्त्रका लागि समर्पण गरेका व्यक्तिको नेतृत्वमा यतिबेला नेपाली कांग्रेस चलिरहेको छ। झन्डै साढे ६ दशकको संघर्षपूर्ण इतिहास भएको यो पार्टी नेपाली क्रान्तिको अन्वेषक हो र परिवर्तनको पर्याय पनि। यसका सबैजसो नेता अन्तर्राष्ट्रिय रूपमै प्रख्यात भए र नेपाली माटोमा प्रिय। युग परिवर्तनका अगुवा, लोकतन्त्र र गणतन्त्रका प्रवर्तकसमेत भए। नेपालको पछिल्लो जनक्रान्तिको सूत्रधार यो पार्टीले वर्तमानको संकटबाट मुलुकलाई पार लगाउन सक्ला त? यस पार्टीभित्रबाटै राजनेताको उदय होला त? औसत बुद्धिको नेताले भन्दा ज्यादा विवेक प्रयोग होला त कसैबाट? यी विषय जनमानसको अन्तरमनमा खेलिरहेका विषयहरू हुन्। नेतात्रयको परम्परागत अवधारणाको निरन्तरताजस्तै नियतिले भनौ वा संयोगले यतिबेला कांग्रेसभित्र तीनजना नेता नै शीर्ष स्थानमा छन्। सामान्य आन्तरिक द्वन्द्व देखिए पनि चर्को मनोमालिन्य छैन। तथापि राष्ट्रका निम्ति यी तिनै नेतामा अझ कसिलो एकताको खाँचो छ यतिबेला। सिंगो बीपी गणेशमान या गिरिजाबाबु झैं एक्लै दौडने व्यक्तित्व निर्माण भइसकेको छैन। तसर्थ पनि सिंगो कांग्रेस र नेतात्रयको अठोट मुलुकका लागि वरदान सावित हुन सक्छ। सत्ताप्रति सदैव निरपेक्ष रहेका सभापति सुशील कोइरालाले शािन्तप्रक्रिया र संविधान लेखनप्रति पार्टीको तर्फबाट राखेको दृष्टिकोण र अडान अहिले सर्वत्र प्रशंशित पनि छ। यसैगरी वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेलले संघीयता तथा लोकतान्त्रिक मूल्य, मान्यताप्रति राखेका अविचलित अडानले गैरलोकतान्त्रिक शक्तिहरू तिलमिलाएका छन्। यही भावना र दृष्टिकोणले नै लोकतन्त्र, मुलुक र जनतालाई बचाउन सक्छ। र शान्ति तथा संविधानको कार्यभार पूरा हुन सक्छ।
नेकपा एमाले
उग्रवापन्थी मान्यताका आधारमा संगठित र स्थापित भएको पार्टी नेकपा एमाले यतिबेला शान्ति र संविधानको प्रश्नमा अलोकतान्त्रिक विचार र बाटोको विपक्षमा स्पष्ट रूपमा उभिएको छ। सरकारमा हुँदा जतिसुकै यी चिप्लिए पनि र माओवादीपरस्तको आरोप लागे पनि यतिखेर झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओलीका विचारहरूमा एकरूपता देखिन्छ। यो कुरा लोकतन्त्रको रक्षा र सुदृढीकरणको निम्ति साँच्चै नै उत्साजनक छ। सधैंभरि सत्तालोलुपको आरोप लागेको यो पार्टीमा समयक्रममा पलाएको चेत, सुझबुझ र परिपक्वताले वर्तमान राजनीतिक परिस्थितिमा सकारात्मक योगदान गरिरहेको छ। तथापि पनि यति लामो समयसम्म लोकतान्त्रिक अभ्यासमा सरिक भइसकेको पार्टीभित्र लोकतान्त्रिक र गैरलोकतान्त्रिक शक्तिलाई हेर्ने दृष्टिकोणमा विरोधाभास देखिन्छ। नेतृत्वको केही हिस्सा अझै पनि उग्रवामपन्थी ह्याङओभरबाट मुक्त देखिँदैन र अस्वाभाविक रूपमा माओवादीतर्फ लहसिएको छ। यो प्रकृतिले एमालेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भरोसालायक शक्ति र पार्टीको रूपमा स्थापित गर्न मद्दत पुर्‍याउँदैन। अबको दुनियाँ लोकतन्त्रको विकल्पमा जान सक्दैन र उग्रवादलाई नेपाली जनताले वरण गर्न सक्दैनन्। यो हेक्का एमालेभित्र उग्रचिन्तन राख्ने नेतृत्व पंक्तिले बुझ्न अनिवार्य छ।
अन्य दलहरू
निकै लामो समयसम्म राजाको सक्रिय नेतृत्वमा काम गरेका पूर्वपञ्चहरूका दलहरू र तराईलाई आधार क्षेत्र बनाएर क्रियाशील रहेका दलहरू शान्ति र संविधानको मुद्दामा निर्णायक हैसियत राख्दैनन्। तथापि यिनीहरूको भूमिका उत्प्रेरकको रूपमा महत्वपूर्ण हुन सक्छ। राजनीतिलाई पद प्रतिष्ठा र पैसाको रूपमा बुझेका तराईका दल र नेताहरूको चरित्र एवं प्रवृत्ति कहिल्यै पनि जनउत्तरदायी हुन सकेको छैन। हतियारको यस्तो जटिलतम् घडीमा उनीहरूबाट केही सकारात्मक भूमिकाको अपेक्षामात्र गरेको छ राष्ट्रले। त्यहाँभित्रबाट कुनै ठूलो अपेक्षा या उदाहरणीय नेताको उदयको सम्भावना कम्तीमा अहिलेलाई छैन। आफ्ना क्षुद्र स्वार्थमा लिप्त नेतृत्वबाट राष्ट्र र जनताले के आश गर्ने? अपवाद बाहेकका पूर्वपञ्चहरूले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गरिसकेका छन्। कमल थापाको विचारहरू केवल अरख्यरोदन मात्र हुन्।
नेपालको राजनीतिमा विकास भएको पछिल्लो घटनाक्रमले निकै ठूलो दबाब सिर्जना गरेको छ। शान्तिस्थापना र नयाँ लोकतान्त्रिक संविधान निर्माणका सन्दर्भमा दलहरू एकै थलोमा नआइकन अब सुख छैन। तसर्थ पनि इतिहासले प्रदान गरेको यो अवसर र प्राप्त अभिभारालाई पूरा गरेर नेपाली जनताको अपार माया, सम्मान र श्रद्धा पाउन कुनै नेतायुक्त हुँदैन। जसले सर्वश्रेष्ठ भूमिका निर्वाह गर्न सक्यो आखिर जनताले राजनेता त्यसैलाई ठान्ने हो। गिरिजाबाबुको भौतिक अवसानपश्चात जनताले यो भूमिकाको अपेक्षा प्रचण्डबाट गरेका थिए। तर उनी यसमा खरो रूपमा उत्रन सकेनन्। नेपालको राजनीतिमै उदाहरणीय ठानिएका सुशील कोइरालाका निम्ति समेत यो ऐतिहासिक अवसर छ र एमालेका नेताहरूका निम्ति पनि। जनता रुवाएर कुनै पनि पार्टीमा नेता जनताकै बीचमा प्रिय हुन सक्तैन। अहिले जनताको त्यही नियति छ। उनीहरूले यसबाट उन्मुक्ति खोजिरहेका छन् र आफ्ना सन्ततिहरूको सुखद भविष्य कल्पिरहेका छन्। यसमा जो सहायक हुन सक्छ, उसैले जनताको फूलको माला पाउने हो। अन्यथा इतिहासको गर्वमा बिलाउने हो। वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले भनेजस्तै ‘मेरो गोरुको बाह्रै टक्का’ नभनी सम्झौता गर्नुपर्छ। तर यसको मतलव लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने ढंगले हुने सम्झौता भने नेपाली जनतालाई मान्य हुने छैन। यदि त्यसो भयो भने जनताको प्रतिवाद अथवा जनताले गर्ने विद्रोहको सामना गर्न सम्बन्धित सबै तयार रहनुको विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।