यसरी देशको बेइज्जत गर्दैछन् परराष्ट्रका उच्चाधिकारी

१४ चैत्र २०६९, बुधबार ११:३९ मा प्रकाशित

काठमाडौं, १४ चैत । परराष्ट्र सेवामा रहेका कतिपय ‘जिम्मेवार’ कर्मचारीको व्यवहारका कारण कूटनीतिक सेवामा कस्ता मानिसको चयन गर्ने भन्ने प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने भएको छ । यसअघि कूटनीतिक नियोगको जिम्मेवारी पाएका मुरारी शर्मा, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्यजस्ता ‘हस्ती’हरूले समेत देशकेन्द्रित नभई आत्मकेन्द्रित व्यवहार दर्शाएपछि त्यसरी गम्भीर प्रश्न उठ्ने स्थिति बनेको हो । परराष्ट्रसचिवमा डेढ वर्ष कार्यकाल बाँकी रहँदै मुरारी शर्मा न्युयोर्कस्थित नियोगमा राजदूत भई गएका थिए । त्यसपछि संयुक्त राष्ट्रसङ्घमा जागिर पाउने मौका आएपछि राजदूत पदबाट शर्माले राजीनामा दिए । शर्माको मौकाको खोजी यतिमै रोकिएन, अमेरिका बसेर बेलायतका लागि नेपाली राजदूत बन्ने कसरत उनले गरे र त्यसमा सफलता पनि पाए । बेलायतमा राजदूत रहँदा मुरारी शर्मा पटक–पटक विवादमा परेका कारण सरकारले उनलाई फिर्ता बोलाएको थियो । तर, सरकारले फिर्ता बोलाएपछि उनी नेपाल फर्किएनन्, बरु बेलायतमा शरणार्थी बनेर बस्नुमै आफ्नो कल्याण देखे र शर्मा यतिबेला शरणार्थी बनेर बेलायतमै आफ्नो जीवन गुजारा गरिरहेका छन् । यसरी आत्मकेन्द्रित एवम् गैरकूटनीतिक व्यवहार गर्ने मुरारी मात्र होइनन्, ज्ञानचन्द्र आचार्यले पनि सोही कोटिको चरित्र देखाएका छन् । जेनेभामा राजदूत भई बसेका ज्ञानचन्द्र आचार्य परराष्ट्रसचिवको पद रिक्त हुने भएपछि बीचमै छोडेर सचिव पद पड्काउन सफल भए । सचिव पदको अवधि डेढ वर्ष बाँकी रहँदै उनी न्युयोर्कस्थित मिसनमा राजदूत भई गए । ज्ञानचन्द्रले न्युयोर्क मिसनमा रहँदा नेपालको हितमा भन्दा यूएनका उच्चाधिकारीहरूलाई रिझाएर जागिरको खोजीमा आफूलाई केन्द्रित गरे । त्यसपछि अल्पविकसित राष्ट्रहरूका लागि छुट्याइएको एएसजी तहको पद (जुन नेपालले निश्चित रूपमा प्राप्त गर्दै थियो) राजदूतका हैसियतले उनले अर्को कुनै योग्य नेपालीलाई नियुक्ति दिलाउन लागिपर्नुपर्नेमा राजदूत पदको लामो अवधि बाँकी रहँदारहँदै आफैँ उक्त पदको दाबेदार बन्न पुगे । ज्ञानचन्द्रले उक्त पदमा आफू नगए अरू कोही नेपालीले प्राप्त गर्न नसक्ने भ्रम सिर्जना गरी यूएन मिसनको राजदूत पद छोडेपछि अहिले यूएन मिसन रिक्तप्रायः भएको छ । सुकिलो कपडामा सजिएर चटक–भटक गरे पनि ज्ञानचन्द्रले अहिलेसम्म नेपालका पक्षमा कुनै उपलब्धिमूलक कार्य सम्पन्न गर्न सकेका छैनन् । त्यस्तै मधुरमण आचार्य पनि परराष्ट्रसचिव हुनुअघि बंलादेशका राजदूत थिए । उनले बंगलादेशमा राजदूतका रूपमा रहँदा कुनै उपलब्धि हासिल गर्न सकेका थिएनन् । सचिव रहँदै उनी पनि यूएन मिसनमा राजदूत भएर गए । तर, यी आचार्यले पनि त्यहाँ कुनै ठोस काम गर्न सकेनन्, उनले यूएनको प्रतिनिधिजस्तै भएर दैनिकी गुजार्ने गरेका हुन् । मुरारी शर्माले जस्तो ‘गाईजात्रा’ नदेखाए पनि आचार्यको प्रवृत्ति पनि मुरारीको भन्दा भिन्न देखिएन । त्यसैगरी परराष्ट्रसचिव रहेका मदनकुमार भट्टराई हाल नेपालका लागि जापानका राजदूत छन् । उनले पनि अहिलेसम्म कुनै विशेष क्षमता देखाउन सकेका छैनन् ।
यसरी पराराष्ट्र सेवामा रहेका अधिकांश नेपाली अधिकारीहरूमा देशकेन्द्रित व्यवहार र भावना नहुँदा नेपालले कूटनीतिक क्षेत्रबाट कुनै ठोस लाभ हासिल गर्न सकेको छैन । बरु उनीहरूको व्यवहारका कारण दिनप्रतिदिन नेपालको साख गिर्दै गएको महसुस गरिएको छ । त्यसैले कूटनीतिक नियुक्ति गर्दा सरकारले सम्बन्धित व्यक्तिबाट निश्चित कार्ययोजनासहित देशहितप्रतिको ठोस प्रतिबद्धता जाहेर गर्नुपर्ने व्यवस्था गर्न आवश्यक देखिएको छ । व्यक्ति जतिसुकै योग्य भए पनि उसमा आत्मकेन्द्रित सोच रहिन्जेल राष्ट्रले कुनै उपलब्ध हासिल गर्न नसक्ने तथ्यहरूले पुष्टि गरिसकेको सन्दर्भमा सरकारले कूटनीतिक सेवामा जान चाहनेहरूको निम्ति उपयुक्त सर्त–बन्देज पालना गर्ने व्यवस्था गर्न वाञ्छनीय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम