प्रचण्ड किन चल्दैछन् रहस्यमयी चाल ?

१४ चैत्र २०६९, बुधबार ०८:३६ मा प्रकाशित

काठमाडौं, १४ चैत । आगामी असारमा निर्वाचन हुने सम्भावना कम भए पनि एमाओवादी अध्यक्ष प्रचण्डलगायतले असारमै चुनाव हुनुपर्ने भनी गरेको प्रचारलाई रहस्यमयी मानिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने भौतिक सामग्रीमध्ये सुरक्षा निकायलाई आवश्यक पर्ने गाडीहरू भारत सरकारले उपलब्ध गराउने भएको त छ, तर उक्त सहयोगका प्रक्रिया सुरु भई गाडीहरू नेपाल भित्रिन नै करिब तीन महिना लाग्न सक्ने बताइन्छ । नेपाललाई आवश्यक पर्ने करिब चार सय गाडीहरू भारतले सहयोगस्वरूप उपलब्ध गराउने भएको छ, जुन सहयोग प्राप्त गर्ने प्रक्रिया अहिलेसम्म सुरु भएको छैन । त्यस्तै असार–साउनजस्ता महिनालाई कुनै राजनीतिक कार्यका लागि मौसमी दृष्टिले उपयुक्त मानिँदैन । नेपालको इतिहासमै अहिलेसम्म असारमा कहिल्यै निर्वाचन गराइएको पनि छैन । निर्वाचन मात्र होइन असारदेखि असोजसम्म नेपालमा कुनै सङ्घर्षका कार्यक्रम पनि राखिँदैनन् । राजनीतिक क्रियाकलापका लागि कात्तिकदेखि वैशाखसम्मको समय रोज्ने गरिएको भए पनि पुस र माघमा समेत त्यसप्रकारका कार्यक्रमहरूको आयोजना हुने गरेको पाइन्न । २००७ सालदेखि २०१७, २०४६ र २०६३ सम्मका राजनीतिक परिवर्तन पनि पुसदेखि वैशाखसम्मको पाँच महिनाभित्र भएका हुन् । त्यस्तै असारमा चुनाव हुनुपर्छ भन्ने पक्षमा सर्वसाधारण जनता, पार्टी कार्यकर्ता र अधिकांश पार्टीका नेतासमेत देखि“दैनन् । चुनावी सरकार गठनको क्रममा दलहरूले जेठ २२ गते निर्वाचन गराइने मिति निर्धारण गरेका थिए । तर, त्यसमा तत्कालिक प्रधानन्यायाधीश एवम् वर्तमान सरकारप्रमुख खिलराज रेग्मीले ‘रिजर्भेसन’ राख्नुभएको थियो । जेठमा निर्वाचन गराउने सर्त राख्नुलाई सम्भवतः रेग्मीले आफूमाथिको अङ्कुशको रूपमा बुझ्नुभएको थियो र त्यसमा विमति जनाउनुभएको थियो । पछि त्यस किसिमको बाध्यात्मक अंश हटाइएपछि मात्र सरकारको नेतृत्व लिन रेग्मी तयार हुनुभएको थियो । जेठ २२ र असार ४ काबीच केवल १२ दिनको अन्तर छ, त्यसैले जुन कारणले जेठ २२ मा निर्वाचन गराउन असम्भव ठानिएको हो त्यही कारणले असार चार गते निर्वाचन हुन पनि सम्भव मानिँदैन । त्यसमाथि प्रमुख राजनीतिक दलहरूबीच उच्च तहमा आगामी मङ्सिरमा निर्वाचन गराउने अनौपचारिक सहमतिसमेत भइसकेको छ ।
चुनावी सरकार गठनसँगै नेकपा–माओवादी केही दलहरूलाई समेत सामेल गरेर सरकारविरुद्ध सङ्घर्षमा जाने तयारी गर्दै छ । उसले विभिन्न सर्तहरू राख्दै पूरा नभए निर्वाचन बहिस्कार गर्ने स्पष्ट सङ्केतसमेत दिइसकेको छ । ती दलहरूसँग प्रधानमन्त्री खिलराज रेग्मीले संवाद गर्ने र एउटा राजनीतिक सहमतिमा ल्याउने पहल गर्न पनि पाउनुभएको छैन । निर्वाचनमा जानुअघि सबै राजनीतिक दलको विश्वास आर्जन गर्ने र चुनावी वातावरण बनाउने कार्य सरकारप्रमुखका रूपमा रेग्मीले सम्पन्न गर्नुपर्ने हुन्छ । जसको थालनी प्रधानमन्त्री रेग्मीले अहिलेसम्म गर्नुभएको छैन । नेकपा–माओवादीलगायतका दलहरूलाई बाहिरै छोडेर चुनाव घोषणा गर्ने हो भने त्यसरी घोषणा गरिएको निर्वाचन सहज वातावरणमा सम्पन्न हुने आशा गर्न सकिन्न । वास्तविकता यसप्रकारको हुँदाहुँदै पनि प्रचण्ड र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उपे्रतीले किन असारमै निर्वाचन गराउने दोहोरी गाइरहेका हुन्– रहस्यको विषय बनेको छ । एक सूत्रले जनाएअनुसार प्रचण्ड अहिले असारमा निर्वाचन घोषणा गर्ने र त्यसबेला हुन नसके मङ्सिरमा निर्वाचन गराउने घोषणा असारमै गर्ने पक्षमा रहेका छन् ।
प्रचण्डले यसो भन्नुका पछाडि उनको अर्कै नियत रहेको अनुमान विश्लेषकहरूले गरेका छन् । अहिले असारमा निर्वाचनको घोषणा गर्ने र घोषित मितिमा निर्वाचन गराउन नसकेको आरोप लगाउँदै वर्तमान सरकारको राजीनामा माग गर्ने नियत प्रचण्डले राखेको बुझिन्छ । स्मरणीय छ, प्रचण्डकै मुखबाट ‘प्रधानन्यायाधीशलाई सरकारप्रमुख बनाउने’ प्रस्ताव सार्वजनिक भएको भए पनि वास्तवमा उनी आफ्नै प्रस्तावका पक्षमा थिएनन् । हेटौँडा महाधिवेशनमा प्रधानन्यायाधीशलाई चुनावी सरकारको जिम्मेवारी दिन सकिने कुरा सार्वजनिक गरेर काठमाडौं फर्किएपछि उनी आफैँ प्रधानमन्त्री बन्न भित्रभित्रै सक्रिय भएका थिए । त्यति मात्र होइन, जेठमा चुनाव नगराई मङ्सिरमा गराउने हो भने आउँदो भदौमा मात्र बाबुराम नेतृत्वको सरकार विस्थापित गरी रेग्मी नेतृत्वको सरकार स्थापित गर्नु उपयुक्त हुने तर्क पनि प्रचण्डले आफ्ना निकटवर्तीहरूसमक्ष राख्ने गरेका थिए । भदौबाट मङ्सिरसम्मको समयावधि करिब चार महिनाको हुन्छ भने चैतबाट असारसम्मको समयावधि पनि करिब चारै महिनाकै हुन्छ । प्रचण्ड प्रधानमन्त्री बन्नसक्ने सम्भावना पटक्कै थिएन, तर यो यथार्थ बुझ्न उनलाई केही दिन लाग्यो । त्यस्तै, आफ्नै पार्टी नेतृत्वको सरकारलाई भदौसम्म तन्काउन उनले गरेको प्रयास पनि सफल हुन सकेन । त्यसपछि बाध्य भएर मात्र प्रचण्डले खिलराज रेग्मी नेतृत्वमा सरकार गठन गर्न सहमति दिएका थिए । नयाँ सरकार गठन हुनेबित्तिकै उसका हरेक काममा हस्तक्षेप गर्ने तथा नियन्त्रण र निगरानी राख्ने काम प्रचण्डबाट हुँदै आएको छ । असारमै चुनाव गराइनुपर्छ भनी प्रचण्डले एकोहोरो रट लगाइरहनुको अर्को कारणचाहिँ ‘मैले भनेको बेला मानेनौ, अब तिमीहरूले भनेका बेला चुनाव गराउन मैले मान्नुपर्छ भन्ने छैन’ भन्दै निहुँ खोज्नका लागि पो हो कि भन्ने पनि ठानिएको छ । अनुमान र आशङ्काका कुरा जे भए पनि आफूले चुनावमा विजय हासिल गर्ने विश्वास नभएसम्म प्रचण्ड निर्वाचनमा जान तयार नहुने र जहिले चुनाव गराउँदा जितिने ठम्याइ उनको हुन्छ, त्यतिबेला मात्र उनी चुनावमा जान तयार हुनेचाहिँ निश्चित मानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस