जिल्ला अस्पतालमा अख्तियारको आँखा पुग्नु जरुरी

१४ चैत्र २०६९, बुधबार ०८:१८ मा प्रकाशित

मुक्तिनाथ भुसाल, अर्घाखाँची, १४ चैत । अर्घाखाँची जिल्ला जनस्वास्थ्य र अस्पतालप्रमुखहरूको अक्षमता र लापरबाहीका कारण जिल्ला अस्पताल सन्धिखर्कभित्र भाँडभैलो मच्चिएको छ । अस्पतालभित्रका विकृतिबारे समाचार सार्वजनिक भएपछि सुधारको आशा गरिए पनि पूर्ण रूपमा सुधार हुने सम्भावना देखिएको छैन । अस्पतालका प्रमुख डाक्टर यमबहादुर बस्नेत र जनस्वास्थ्यका प्रमुख लीला गौतम कमजोरी सुधारेर अस्पताललाई चुस्तदुरुस्त तुल्याउनेतिर लाग्नुको साटो विकृति ढाकछोप गर्नेतिर लागेको अस्पताल स्रोतको कथन छ ।
आफ्ना नजिकका मान्छेलाई काखी च्याप्ने र चम्चागिरी गर्न नजान्नेलाई पर राखी ब्रह्मलुट मच्चाउनमा यी दुवैको मिलेमतो रहेको बुझिन्छ । तर, जिल्लाको प्रशासन, राजनीतिक दललगायतका सरोकारवालाहरूसमेत यसप्रति मौन रहनु आश्चर्यको विषय बनेको छ । जसबाट गरिब जनताको एक मात्र सहारा सरकारी अस्पताल अस्तव्यस्त बनाउनमा सबैको मिलेमतो त छैन ? आशङ्का पैदा भएको छ । अस्पतालभित्रको जनशक्तिलाई राम्रोसँग परिचालन गर्ने हो भने हालको १५ शैयाको अस्पताललाई ५० शैयामा पु¥याउन सक्ने स्थिति देखिन्छ । यी दुवैजना प्रमुख रहेसम्म अब सकारात्मक अवस्थाको कल्पना गर्न नसकिने भुक्तभोगीहरूले गुनासो गर्न थालेका छन् ।
कसैलाई सुविधा कसैलाई असुविधाको वातावरण सिर्जना गर्ने क्रममा एकजना व्यक्तिलाई तीनवटासम्म कमाई हुने जिम्मेवारी दिएपछि कर्मचारीभित्र एकता आउने कुरै भएन । संयुक्त ट्रेड युनियनका प्रवक्ता ताराप्रसाद खनालको कार्यकक्षमा र जिल्लाका करिब आधा दर्जन क्रियाशील पत्रकारको उपस्थितिमा अस्पतालभित्र काम गर्ने डाक्टरलगायतका स्टाफहरूले नाम गोप्य राख्ने सर्तमा आ–आफ्ना पीडा खुलेर यसरी बताएका थिए । प्रमुखहरूको पक्षपाती रवैयाका कारण बढेको गुटबन्दीले गर्दा अस्पतालमा काम गर्ने कर्मचारीहरूमा आपसी सम्बन्ध राम्रो छैन । सामान्य मात्र पढेलेखेका र विषयवस्तुको ज्ञान नभएकाहरूले बढुवाको आधारमा राम्रो जिम्मेवारी ओगटेका छन् । चाकडी गर्न नजान्नेहरू काममा पेलिनुपर्ने बाध्यता रहनुका साथै कतिपय स्टाफ तालिमैतालिममा सहभागी हुन पाउने र कतिपयचाहिँ काममा मात्रै जोतिने परिस्थितिका कर्मचारीमा गुनासो बढेको कर्मचारी सूत्रको कथन छ ।
अस्पतालप्रमुखबाहेक पाँचजना डाक्टर भए पनि औसतमा दुईजना डाक्टर तालिम वा बिदामा बस्ने कारण एकपटकको ड्युटीमा एकजना मात्र डाक्टर हुने र ड्युटी १५–१५ दिनमा बदलिने कारण आफूहरूले चाहेर पनि राम्रो गर्न नसकेको गुनासो उनीहरूले व्यक्त गरे । कुराकानीको क्रममा ‘आफूहरू खाली भएको समयमा अस्पतालले ड्युटी नदिएपछि हामीले के गर्ने ? बिरामीहरूलाई अहेवले जाँच गर्दछन्, हाम्रा लागि दुःखद् कुरा हो । जिल्लामा रहेका उपभोक्ता मञ्च, मानवअधिकारवादी र दलका प्रतिनिधिले पनि त यहाँको निगरानी राख्नुपर्ने होइन र ?’ उनीहरूले उल्टो प्रश्न राखेका थिए ।
‘हामीसँग दक्ष जनशक्ति छ, जब यहाँको प्रशासनले हामीलाई भेदभाव गरेपछि हामीले के गर्ने, अनि भिडियो एक्स–रे छ तर चलाउने मानिस छैन । अस्पतालभित्रका गाडीमा तेल हाल्न व्यवस्थापनसँग पैसा छ तर अस्पतालभित्र अपरिहार्य जेनेरेटर तेलको अभावमा प्रयोगमा आउँदैन । लाइट गएको अवस्थामा बिरामीलाई अक्सिजन कसरी दिने ?’ पीडित कर्मचारीले प्रश्न गरे ।
अस्पताल व्यवस्थापनले औषधि किन्दा मनोमानी ढङ्गले किन्छ, सम्बन्धित विभागीय कर्मचारीको परामर्श लिँदैन, डेट एक्स्पायर भएका औषधि प्रयोगमा ल्याइन्छ, अनि कसरी बिरामीलाई निको बनाउने ? उनीहरूमा गुनासो रहेको छ । इमर्जेन्सीमा रहेको औषधिहरूको साँचो ह्यान्डओवर नगरी इन्चार्जको जिम्मामा रहन्छ । इन्चार्ज चाहेको समयमा भेटिँदैन । उता ल्याबतर्फ खरिद गरिने केमिकल पनि ल्याब इन्चार्जलाई थाहा नदिईकन कमसलखाले खरिद गरिएको बुझिएको छ । समस्या खोतल्दै हिँड्ने क्रममा १० वर्ष निरन्तर सेवा गरेका अस्पतालका कर्मचारीलाई अस्पतालप्रमुखले चिन्न नसकेकोसमेत बुझिएको छ ।
सञ्चारकर्मीहरूको टोली अस्पताल पुग्दा मुख्य दुवैजनालाई भेट्न सकिएन । उता ओपीडीजस्तो जिम्मेवार ठाउँमा अहेवले बिरामी जाँचिरहेका थिए भने डाक्टरहरू ‘मेरो ड्युटी छैन’ भन्दै बाहिर घुमिरहेका थिए । अस्पताललाई सुधारमा ल्याउन ६ जना डाक्टरलाई हप्ताको एक दिन ओपीडीमा राख्नु आवश्यक देखिए पनि अहिलेको प्रशासन यसो गर्नेवाला छैन । यस वास्तविकताको अध्ययन र छानबिन गरी आवश्यक कारबाही अघि बढाउन ढिलो भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक