चमत्कार देखाउँदै ‘चमत्कारी’ ! :: देवप्रकाश त्रिपाठी

१४ चैत्र २०६९, बुधबार ०८:०५ मा प्रकाशित

कसैले महिला या पुरुषको कृत्रिम हाउभाउ प्रस्तुत गर्ने कला पक्षलाई छोडेर भन्नुपर्दा कुनै पनि मानिस एकैपटकमा पुरुष र महिला बन्न सक्दैनन्, प्रकृतिको यो नियमलाई चुनौती दिन कसैले सक्छ भने त्यो प्रकृतिले मात्र भन्ने हामीले बुझेका छौँ । तर, नेपाली राजनीतिमा केही कालअघि प्रकट भएका प्रचण्डले भने एउटा मान्छे एकैपटकमा नारी र पुरुष भएझैँ बाघ र मृगको भूमिका एकसाथ निर्वाह गरेर बुझ्नेहरू सबैलाई चकित पारिरहेका हुन् । हुन त कम्युनिस्टहरूमा दोहोरो–तेहेरो चारित्रिक भूमिका हुन्छ भन्ने मान्यता अन्तर्राष्ट्रिय रूपमै स्थापित छ । सत्तालाई परमधाम, स्वर्ग या अन्तिम गन्तव्य ठान्ने खाँटी कम्युनिस्टमा आफ्नो उद्देश्य पूर्तिका निम्ति जुनसुकै साधन अवलम्बन गर्न पनि तत्पर रहने प्रवृत्ति हुन्छ भन्ने तथ्यबारे पनि हामी स्पष्ट नै छौँ । आफूलाई अन्तर्राष्ट्रियवादी (साम्यवादी) दाबी गर्ने उनीहरूले राष्ट्रवादको चर्को बयानबाजी गर्ने गरेको पनि हामीले सुनिरहनै परेको छ । तर, कम्युनिस्टहरूले एकैपटकमा बाघ र मृगको भूमिका निर्वाह गरेको देख्नचाहिँ पाइएको थिएन, देखिँदै छ । एउटा खाँटी कम्युनिस्टमा विपरीत विचारका मानिसलाई समेत लठ््याएर आफ्नै पछिपछि कुदाउन सक्ने क्षमता हुन्छ भन्ने दाबी कम्युनिस्ट ग्रन्थहरूमा पढ्न पाइन्थ्यो, अहिले देखिँदै छ, भोगिँदै छ । रसियामा लेनिनले चाइनामा माओ त्से तुङले, भियतनाममा होची मिन्हले, क्युवामा फिडेल क्यास्त्रो र उत्तर कोरियामा किम इल सुङले दर्शाएकै स्तरको क्षमता नेपालमा प्रचण्डले प्रस्तुत गर्दै छन्, हेर्न पाइएको छ । माओले प्रतिक्रियावादीहरू कागजी बाघ हुन्, यिनलाई सहजै झुक्याउन सकिन्छ भनेको माओशास्त्रमा पढिरहँदा किञ्चित विश्वास गर्न सकिँदैनथ्यो, प्रचण्डले विश्वासका निम्ति बाध्य बनाइदिएका छन् । आफूलाई नेपाली प्रजातान्त्रिक आन्दोलनको ‘पायोनिएर’ ठान्ने नेपाली काङ्गे्रसको नेतृत्व, समाजवादसहितको
पूर्ण प्रजातान्त्रिक शक्ति दाबी गर्ने एमाले, जन्मजात प्रजातन्त्रवादी ठान्ने तराईकेन्द्रित नेता र कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूलाई समेत प्रचण्डले मदारीले बाँदर र सपेराले सर्प लठ्याएर आफ्नो इसारामा नचाएझैँ नचाएपछि माओका कुरामा विश्वास गर्न कर लागेको छ । वास्तवमा ‘असली कम्युनिस्ट’ नभेटेर मात्र हो संसारका सबै ‘बुर्जुवा’ चाबीस घन्टामा चौबीसैपटक कम्युनिस्टहरूबाट झुक्किन तयार रहेको पुष्टि नेपाली प्रजातान्त्रिक आन्दोलनका वर्तमान अगुवाहरूले गरिदिएका छन् । हजारौँ जनसाधारणले ज्यान गुमाउनुपरेको ‘जनयुद्ध’को दर्मियानमा प्रचण्डले कसलाई प्रयोग गरेनन् ? निजामती कर्मचारी, प्रहरी, सेना, दरबार र राजनीतिक दलभित्र मात्र उनले आफ्नो सुँड घुसाएका थिएनन्, कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई समेत उपयोग–प्रयोग गर्ने सामथ्र्य यिनले दर्शाएका थिए । हिंसात्मक युद्धकालमा प्रचण्डले कस–कसलाई कसरी प्रयोग गरेका थिए त्यसको बेग्लै सन्दर्भमा चर्चा गर्न सकिन्छ, यहाँ प्रचण्डद्वारा हालैका दिनमा कथित विपक्षीहरू कसरी प्रयोग–उपयोग हुँदै छन्, त्यसबारे सङ्क्षिप्त वर्णन गर्न खोजिएको छ ।
प्रचण्ड यतिबेला भूतपूर्व सत्तापक्ष र पूर्वविपक्षी दुवै गठबन्धनको नेतृत्व गर्दै छन् । पक्ष र प्रतिपक्षी दुवैको नेता आफैँ बनेर प्रचण्डले विश्व राजनीतिक इहिासमा ‘कीर्तिमान’ रचेका छन् । त्यसो त कुनै पनि अधिनायकवादी शासन या शासकले विपक्षीको कल्पना गर्दैनन् । विश्वमा प्रचलित प्रजातन्त्रमा पक्ष र प्रतिपक्षी दुवैको अस्तित्व र उपस्थितिलाई बराबरी अनिवार्य र महत्वको मानिन्छ । दुई पक्षको भूमिकामा अन्तर भए पनि उपयोगिता र उपादेयताका दृष्टिले खासै अन्तर मान्दैन प्रजातान्त्रिक मूल्य–मान्यताले । तर, अधिनायकवाद चाहे सैन्य होस् या साम्यवादी या अन्य कुनै प्रकारको, ती सबैले विपरीत विचार र प्रतिपक्षलाई निषेध या नियन्त्रणको प्रयास गर्ने गर्दछन् । प्रजातान्त्रिक सोच र संरचना निर्मूलीकरणका निम्ति अधिनायकवादले कुनै कसर बाँकी राख्दैन । क्रमबद्ध या आकस्मिक दुवै प्रकारले प्रजातान्त्रिक मूल्य र संरचनामाथि प्रहार गर्ने कार्य अधिनायकवादीहरूबाट भएको हुन्छ । प्रचण्डको नेतृत्वमा विगत करिब दुई दशकदेखि प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार जारी छ । ०५२ सालदेखि ०६२ सम्म प्रजातन्त्रविरुद्ध हिंसात्मक युद्धको अगुवाइ गर्ने प्रचण्डले ०६३ को परिवर्तनयता आकस्मिक नभई क्रमबद्ध र वैधानिक प्रक्रियाद्वारा नै प्रजातान्त्रिक पद्धति एवम् मूल्य र मान्यतालाई बिथोल्न योजनाबद्ध ढङ्गले प्रयास गरिरहेका छन् । पक्ष र प्रतिपक्षीबीचको सम्बन्धलाई शत्रुतापूर्ण तुल्याउँदै एउटा पक्षलाई निर्मूल गर्नु ‘जनवादी’ क्रान्तिको मूल उद्देश्य हो । आफूहरू विपक्षीमा रहँदा र सत्तामा पुग्दा पनि विपक्षी उन्मूलनप्रति माओवादीहरू केन्द्रित हुन्छन् । ठीक यतिबेलाचाहिँ प्रचण्डले परस्पर विपरीत धु्रवको नेतृत्व गरेर पक्ष–प्रतिपक्ष दुवैलाई आफ्नो इसारामा नचाउने सामथ्र्य प्रस्तुत गरेका छन् । नेपाली काङ्गे्रस र एमालेलगायतका राजनीतिक दलहरू विगत केही वर्षयता जातीय एवम् क्षेत्रीय सङ्कीर्णतावादी सोचका विरुद्ध सङ्घर्ष गर्दै छन् भने अर्कोतिर अधिनायकवादीहरूसँग भिडेर प्रजातन्त्र रक्षाको निम्ति समेत थोरै भए पनि प्रयास गर्दै छन् । यसर्थमा जातीय एवम् क्षेत्रीयतावादी मधेसी मोर्चा र सर्वहाराको नाममा एकदलीय अधिनायकवाद स्थापना निम्ति यत्नशील माओवादीसँग प्रजातन्त्रवादी शक्तिको अन्तरविरोध फराकिलो हुँदै गएको छ भन्नुपर्ने हुन्छ । एकातिर काङ्गे्रस–एमाले र अर्कोतिर एमाओवादी तथा मधेसी मोर्चाबीच धुव्रीकरणको क्रम बढ्नुको कारण पनि सोही अन्तरविरोधलाई मान्न सकिन्छ । यसरी दुईधु्रवीय राजनीतिक क्रियाकलापले गति लिँदै गर्दा प्रचण्डले दुवै धु्रवको नेतृत्व आफ्नो हातमा लिएर आफूलाई शक्तिशाली र सर्वमान्य प्रमाणित गर्ने प्रयास मात्र गरेका छैनन्, पक्ष र प्रतिपक्ष अनिवार्य मानिने प्रजातान्त्रिक अवधारणालाई भ्रमित–दिग्भ्रमित तुल्याउँदै राजनीतिलाई आफ्नो नेतृत्वमा एकधु्रवीय तुल्याउने या अराजकता पैदा गराउने बाटो समातेका छन् । केही अघिसम्म सत्तामा रहेका एमाओवादी र मधेसी मोर्चालगायतका समूहहरू सामेल गठबन्धनको नेतृत्व प्रचण्डले गरिरहेका छन् र उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरेर काङ्गे्रस–एमालेलगायतको नेतृत्व पनि उनैले लिइरहेका छन् । दुवै मोर्चाको नेतृत्व लिने, अनि एउटा मोर्चालाई अर्को मोर्चाका सहयात्री दलहरूसँग भिड्न पनि उक्साउने काम जुन प्रचण्डले अहिले गरिरहेका छन् यसले उनको चामत्कारिक क्षमता र काङ्गे्रस–एमालेका नेताहरूको निरीहता राम्ररी उजागर गरिरहेको छ । यसलाई प्रचण्डले एकैपटक बाघ र मृगको भूमिका निर्वाह गरेको अर्थमा बुझ्न सकिन्छ । दस्तावेज र बोली–व्यवहारमा प्रचण्डले काङ्गे्रसलाई प्रमुख दुश्मनको कोटिबाट तल ओर्लन दिएका छैनन् । तैपनि काङ्गे्रसका नेताहरू प्रचण्डलाई नै अगुवा बनाएर यात्रा तय गर्न खोज्दै छन् । बाघसँगको सहयात्रा र सहवासमा आफ्नो जीवन सुरक्षित ठान्ने जुन रोगी एवम् भ्रामक सोच काङ्गे्रस–एमालेका नेताहरूले पालिरहेका छन् यो सोच नै दुष्परिणामको कारण बन्ने अन्ततः निश्चित छ ।
नयाँ सरकार गठन भएको एक महिनाभित्र दीर्घकालीन महत्वका र आगामी निर्वाचनसँग सम्बन्धित तथा विगत चार वर्षदेखि हुन नसकेका संवैधानिक नियुक्तिहरू सम्पन्न भइसक्ने छन् । यही अवधिका निम्ति प्रचण्ड उच्चस्तरीय राजनीतिक समितिका संयोजक बनेका छन् । आउँदो महिना जब अर्को दलका नेताले संयोजकको जिम्मेवारी लिनेछन् त्यसबेलासम्म राजनीतिक समितिले गर्नुपर्ने प्रमुख कामहरू सम्पन्न भइसकेका हुनेछन् । त्यसपछि राजनीतिक समितिको खासै औचित्य रहने छैन, त्यसपश्चात् प्रचण्ड संयन्त्रमा होइन काङ्गे्रस–एमालेविरुद्ध निर्माण भएको गठबन्धन नेताको रूपमा मात्र केन्द्रित र क्रियाशील रहन थाले भने कुनै आश्चर्य हुने छैन । संयन्त्रभित्रै पनि प्रचण्डको भूमिका पूर्णरूपेण विपक्षी कमान्डरको मात्र हुनेमा शङ्का गरिरहनुपर्ने छैन । यसरी दुवै धु्रवको कमान सम्हाल्ने सफलता प्रचण्डलाई प्राप्त हुनुले काङ्गे्रस र एमालेको ‘नेतृत्व क्षमता’ पुनः उजागर गरेको छ । दशकअघिदेखि प्रचण्ड निसृत एजेण्डामा रम्दै आएका काङ्गे्रस–एमालेका नेताहरू सर्कसको हात्तीजस्ता ‘दिएको खाने अह्राएको गर्ने’ भूमिकामा हर्षोल्लास प्रकट गर्दै छन् । काङ्गे्रस र एमालेका निम्ति ०६३ यताको वर्तमान चुनौतीपूर्ण रहँदै आएको महसुस धेरैले गरेका छन् । प्रचण्डकै साथ लिएर प्रचण्डसिर्जित चुनौतीहरूको सामना गर्ने व्यर्थ प्रयास जुन काङ्गे्रस–एमालेले गर्दै आएका छन् मुलुकका यावत् समस्याको जड त्यहीँनेर देखिएको छ । प्रजातन्त्र, प्रजातान्त्रिक मूल्य–मान्यता, राष्ट्र र जनताको पक्षमा दर्बिलो अडान कायम राख्न सकिन्न भने इतिहासमा कोमिन्ताङको नियति काङ्गे्रस–एमालेले भोग्ने दिन टाढा नरहेको स्पष्ट बुझ्दा हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको

हङकङ । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने