लोकमान विवादमा परेपछि अब अख्तियारमा को ?

१४ चैत्र २०६९, बुधबार ०७:४९ मा प्रकाशित

काठमाडौं, १४ चैत । सर्वोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा नियुक्ति रोकिएको छ । चार राजनीतिक पक्ष सम्मिलित उच्चस्तरीय संयन्त्रले अख्तियार प्रमुखमा पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको सिफारिस गर्नेबित्तिकै एक दैनिक पत्रिका त्यसका विरुद्ध नियोजित रूपमा उत्रिएपछि सर्वोच्च अदालतमा कार्कीका विरुद्ध उजुरी परेको थियो । अदालतको अर्को आदेश नआएसम्म अख्तियारमा पदपूर्ति प्रक्रिया अघि नबढ्ने भएको छ । कार्कीलाई रोक्न अख्तियारका पूर्वसचिव भगवती काफ्ले सक्रिय भएका थिए र उनले कार्कीविरुद्ध व्यापक मिडियाबाजी गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ ।
अख्तियारमा कार्कीको प्रवेश भएमा त्यहाँ रहँदा आफूबाट भएका त्रुटिहरूको खोजी गरी कारबाहीको दायरामा ल्याइने त्रासका कारण काफ्ले कार्कीलाई रोक्न सक्रिय रहेको बताइन्छ । काफ्लेले एकातिर कार्कीविरुद्ध प्रचारबाजी गर्दै अर्कोतिर दलका नेताहरूको ढोका–ढोकामा धाउन थालेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रसम्बद्ध नेताहरू गम्भीर बनेको बुझिएको छ । काङ्ग्रेस, एमालेलगायतका दलहरूभित्र यस विषयलाई लिएर असन्तुष्टि प्रकट भएको भए पनि
शीर्षस्थ नेताहरूले उक्त असन्तुष्टिलाई गम्भीर रूपमा लिएका छैनन् । प्रधानमन्त्री खिलराज रेग्मी राजनीतिक संयन्त्रको सिफारिसलाई तोडमरोड नगर्ने पक्षमा रहनुभएको र चारपक्षीय संयन्त्रले पनि अहिलेसम्म कार्कीको नाममा पुनर्विचार गर्ने सङ्केत दिएको छैन । त्यसैले अदालतको निर्णयपछि कुनै थप अड्चन नआएमा नियुक्तिका लागि कार्कीकै नाम अघि बढाइने निश्चित मानिएको छ । फेरि पनि कार्कीलाई रोक्न खोजियो भने तत्काल अख्तियारमा पदपूर्ति हुन मुस्किल पर्ने जानकारहरूको भनाइ छ । कदाचित कार्कीको नाम अघि बढ्न नसक्ने भएमा भने पूर्वसचिव या वरिष्ठ कानुनविद्हरूमध्येबाट प्रमुख आयुक्त चयन गरिने बुझिएको छ । पूर्वसचिवहरू श्रीकान्त रेग्मी, बाबुराम आचार्य, उमेश मैनाली, उदय नेपाली श्रेष्ठ तथा कानुनविद् राजनारायण पाठक आदिको नाम प्रमुख आयुक्तका रूपमा लिइए पनि यसअघि बाबुराम आचार्यका नाममा एकप्रकारको सहमति भएको थियो । तर, लोकमानसिंह कार्कीको सिफारिससँगै आचार्यको नाम काटिएको छ । कार्की नहुने अवस्थामा उक्त अवसर कसले पाउने हुन् सोको स्पष्ट जानकारी पाउन सकिएको छैन ।
अख्तियारमा नियुक्ति पाउन सक्ने सम्भावित व्यक्तिहरूमा राजनारायण पाठक, डिल्लीरमण आचार्य, चण्डी श्रेष्ठ, सूर्य कोइराला, युवराज पाण्डे, सनत बस्नेत आदिको चर्चा सुरु भएको छ । वरिष्ठ कानुनविद् राजनारायण पाठकलाई प्रमुख आयुक्त बनाइनु उपयुक्त हुने धारणा केही शक्तिकेन्द्रहरूले अघिसारेका छन् । अर्का वरिष्ठ कानुनवेत्ता सूर्य कोइरालाको नाम यसअघि सम्भाव्य महान्यायाधिवक्ताको रूपमा लिइएको थियो । तर, उक्त स्थानमा द्रोणराज रेग्मीको नियुक्तिपछि कोइरालाले संवैधानिक नियुक्ति पाउने विश्वास गरिएको छ । अख्तियारको आयुक्तमा यसपटक एकजना महिलालाई पनि नियुक्त गर्ने सोच बनेको छ । प्रधानमन्त्री खिलराज रेग्मी चारदलीय संयन्त्रको सिफारिसबमोजिम संवैधानिक निकायका प्रमुख तथा अन्य केही सदस्यहरूको नियुक्ति गर्न मानसिक रूपमा तयार हुनुभएको बताइन्छ । तर, उहाँले दलीय निकटता या सिफारिसभन्दा बाहिरका केही व्यावसायिक एवम् निष्पक्ष व्यक्तिलाई पनि अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्त गर्नु उपयुक्त हुने धारणा बनाउनुभएको निकटवर्ती सूत्रले जनाएको छ । रेग्मीको रोजाइमा को–को पर्ने हुन् अहिलेसम्म सोको जानकारी पाउन सकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति