चारदलीय सिण्डिकेटले रेग्मी सरकारलाई गोटी बनाउँदै छ :: कमल थापा

१२ चैत्र २०६९, सोमबार ०९:३६ मा प्रकाशित

० तपाईं र तपाईंको पार्टीले उहिल्यैदेखि माग गरेअनुरुप प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएको छ, मुलुक अब चुनावतिर गयो पनि भनिएको छ, के यो सरकारले असारसम्ममा चुनाव गराउन सक्ला ?
– अहिलेको सरकारलाई स्वतन्त्र ढङ्गबाट काम गर्न दिने हो भने निर्धारित समयमै चुनाव हुन सक्छ भन्ने मलाई लाग्छ । तर चार राजनीतिक दलको सिण्डिकेटले खिलराज रेग्ीको चुनावी मन्त्रिपरिषद्लाई आफ्नो लाचार छायाका रुपमा रुपान्तरण गर्न खोजेको अनुभूति हामीलाई भएको छ । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु भनेको त तटस्थ या स्वतन्त्र चुनावी सरकार बनेर सोहीअनुसारको चुनावी प्रक्रिया सम्पन्न भई नेपाली जनताले लोकतन्त्रको वास्तविक चरित्रसँग रमाउन पाउँछन् भन्ने सदासयतासँग जोडिएको मुद्दा हो । यहाँ त आफूहरुबाट काम हुन नसकेपछि खिलराजजीलाई अघिसारेर उहाँलाई एउटा गोटीको रुपमा प्रयोग गरी आफ्नो स्वार्थ सिद्ध गर्न खोजेजस्तो पो देखिँदैछ । यसरी रिमोट आफूले लिने अनि रेग्मीजीलाई बुख्याँचामा परिणत गरेर प्रयोग गर्न खोजे भने त चुनावको वातावरण मात्र होइन अरु कुरा पनि धमिलिन सक्छ ।
० चुनाव गर्न सबै दलको समर्थन र सहयोग चाहिन्छ, तर तपाईंहरुले सुरुमै यसरी असमझदारी दर्शाउन थाल्नुभयो भने कसरी सम्भव होला त ?
– त्यही त ! चुनाव गराउन सबै दलको साथ–समर्थन आवश्यक पर्छ भने सबैलाई चित्त बुझ्ने व्यवहार हुनुप¥यो नि, हामीले भन्न खोजेकै यही हो । चुनावका लागि जनतामा पो जाने त केन्द्रमा बसेर सरकारको काम–कारवाहीमा दखल दिएर बस्ने त ? जनतालाई परिचालन गर्ने काम नगरी सरकारको काममा हस्तक्षेप गर्नतिर लागेर प्रमुख भनिएका दलहरुले के चुनावी वातावरण निर्माण गर्लान् त ? निर्वाचन आयोगमा आयुक्तहरुको नियुक्तिबाहेक अन्य निकायमा कसलाई नियुक्ति गर्ने भन्नेमा टाउको दुखाइरहनु जरुरी नै छैन, तर किन आख्तियार प्रमुख, राजदूत एवम् अन्य निकायहरुको नियुक्तिमा टाउको फोडाफोड गर्न थालिएको छ ? ठूला भनेकाहरु नै यस्तो गतिविधिमा उत्रन्छन् भने निर्वाचनको वातावरण हामीले खल्बल्याउन खोजेको ठहर्छ कि उनीहरुले ? तीन वर्षदेखि आफूहरुले नियुक्त गर्न नसकेको अख्तियारमा खिलराजलाई अघिल्तिर सारेर हत्तपत्त नियुक्त गर्न खोज्नुको मकसद के होला ? यतिका समयदेखि खाली रहेका राजदूत नियुक्तिमा अब तीन महिना पर्खंदा केचाहिँ फरक पथ्र्यो होला त ? यस्ता कुरामा सबैले छ्यानबिचार गर्न सक्नुपर्छ । तीन महिनापछि नयाँ निर्वाचित सरकारले गर्ने काममा यसरी हतारोपन प्रकट गर्नुले प्रमुख राजनीतिक दलहरुको मति अझै सुध्रिएको रहेनछ भन्ने सङ्केत गर्छ ।
० तपाईं खिलराज रेग्मीलाई चार दलले गोटी बनाउन खोज्यो भन्नुहुन्छ, के प्रधानन्यायाधीशको ओहदामा बसेका रेग्मीज्यूलाई आफ्नो पोजिशन र गर्नुपर्ने काम–कर्तव्यको हेक्का छैन होला र ?
– निश्चय पनि उहाँलाई आफू कुन अवस्थामा यो अहम् जिम्मेवारी निर्वाह गर्ने ठाउँमा पुगिएको हो र के गर्नुपर्छ भन्ने सन्दर्भमा राम्रो हेक्का रहेको हुनुपर्छ । रेग्मीजीको नेतृत्वमा सरकार गठन भएबाट धेरैले खुशी नै प्रकट गरेका छन् र हामी सबै आशावादी बनेका छौँ । उहाँको शालिन व्यक्तित्व, निश्पक्षता हेरेर सबैले विश्वास पनि गरेका छन् । तर चारदलीय सिण्डिकेटले उहाँलाई जसरी प्रयोग गर्न खोजिरहेको छ, कथम् उहाँ त्यसरी प्रयोग हुँदै जानुभयो भने त मुलुकले निकास पाउनेमा सन्देह नै रहला । निमित्तनायक मात्र बन्न पुग्नुभयो भने त अरु राजनीतिक दलको विश्वास उहाँले गुमाउनुहुनेछ । त्यसैले उहाँको काम निश्पक्ष निर्वाचन सम्पन्न गराउने भएकोले राजनीतिक दलहरुलाई भन्नुप¥यो सरकारको काममा हस्तक्षेप नगर भनेर । चार दलले पनि आफ्नो महत्व दर्शाउने नै हो भने सडकमा भएका दलहरुलाई वार्तामा ल्याएर परिस्थिति सम्झाएर निर्वाचनतिर लैजाने पहल पो गर्ने हो त । आफूले गरेका भ्रष्टाचार र काला कर्तुतहरुलाई लुकाउन अख्तियारमा आफ्ना मान्छे नियुक्त गर्ने होडबाजी किन गर्नुप¥यो अहिले ?
० तपाईंको पार्टी त चुनावमा होमियो होला अब होइन ?
– तीन वर्षदेखि चुनावको माग गर्ने हाम्रो पार्टी त नहोमिने कुरै भएन नि ! आवश्यक तयारी गरिरहेका छौँ, चुनावीसभाको सुरुवात गरिसकेका छौँ । देशभरका कार्यकर्ता परिचालन गरिसकेका छौँ हामीले त । तर, चारदलीय सिण्डिकेटको स्वार्थका कारण चुनावी वातावरण धमिलिने हो कि भन्ने त्रासमा परिरहेका छौँ हामी । वैद्यजीको पार्टीलगायतका केही दलहरु सडकमा उत्रेका छन्, यस्तै परिस्थितिलाई बढावा दिनखोजे अझै अरु पनि चुनावको कुरा गर्न छोडेर सडकमै ओर्लने खतरा छ । यस्तो भएमा सम्पूर्ण जिम्मेवारी चार दलको नेतृत्वले लिनुपर्छ ।
० तपाईंको पार्टी एक्लै चुनावमा जान्छ कि गठबन्धनको सोच पनि बनाउनुभएको छ ?
– समान विचारधारा भएकाहरुसँग एकता र सहिकार्यको प्रयास त हाम्रो यसै पनि निरन्तर जारी छ । चुनावी गठबन्धनको ढोका पनि त्यही मूल्य–मान्यतामा उभिएर सबैका लागि खुला छ । अहिले नै सबै कुरा टुङ्गिएको छैन, भर्खर त चुनावी माहोलमा मुलुक अघि बढ्दै छ । हाम्रो पार्टीको अलग पहिचान छ, अलग बिचार छ, सात वर्षको दर्मियानमा जुन गलत बाटो अपनाएर देश आज जसरी चक्रब्युहमा फसेको अवस्थामा छ, त्यसबाट मुक्त तुल्याउन वैकल्पिक मार्गचित्र, वैकल्पिक भिजनका साथ राप्रपा नेपाल अघि बढिरहेको अवस्था हो । यही कुरा लिएर हामी जनतामा जाँदैछौँ । यो मुद्दामा सहमति जनाएर आउनेहरुसँग हातेमालो गर्दा हामीलाई गर्व नै हुनेछ ।
० राप्रपा, राजपाहरुसँग तपाईंको पार्टीको एकीकरणको सम्भावना के छ नि ?
– उहाँहरुको बाटो अलग देखिएकोले पार्टी एकीकरणको सम्भावना तत्काल देखिएको छैन । सैद्धान्तिक, वैचारिक रुपमा उहाँहरु कहाँ उभिनुभएको छ भन्ने कुराले यस मुद्दामा महत्वपूर्ण अर्थ राख्छ । सैद्धान्तिक या वैचारिक रुपमा एकता नभई केवल व्यक्तिहरु एक भएर पार्टीमा शक्ति प्रवाहित हुन सक्दैन । यसरी हेर्दा एकताको सम्भावना विल्कुलै छैन भन्दा पनि हुन्छ । तर, उहाँहरुसँग निर्वाचनमा सिट तालमेल हुन सक्दछ । उहाँहरुसँग मात्र नभई सबै दलहरुसँग समन्वयकारी नीति लिएर नै हामी अघि बढ्नेछौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ

भिएना । ‘चुज टु च्यालेन्ज’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा

‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ