सरकारीलाई बेवारिसे बनाउँदै चिकित्सक निजीतर्फ तानिए

७ चैत्र २०६९, बुधबार २०:२३ मा प्रकाशित

मुक्तिनाथ भुसाल, अर्घाखाँची, ७ चैत । आजको युगमा मानवजीवनसँग संवेदनशील रूपमा जोडिएको क्षेत्र हो चिकित्सा । यस्तो महत्वपूर्ण क्षेत्रको व्यवस्थापन तथा कामकारबाही पनि संवेदनशील रूपमा निर्वाह हुनुपर्छ भन्ने आमधारणा रहनु अस्वाभाविक हु“दैन । तर, यस कोणबाट हेर्दा अर्घाखाँचीको जिल्ला अस्पताल हालका दिनमा अस्तव्यस्त रूपमा सञ्चालन भएको पाइनु दुःखद् विषय बनेको छ ।
करिब तीन लाख जनताका लागि जिल्लामा रहेको यो एक मात्र सरकारी अस्पतालमा सर्वसाधारण हत्तपत्त जान रुचाउँदैनन् र एकपटक गइहाले पनि सकभर दोहो¥याएर जान रुचाउँदैनन् । यसको कारण हो– कार्यरत कर्मचारीको मनोमानी र जिल्ला स्वास्थ्यप्रमुखको असक्षमता । गएको फागुन २२ देखि २८ गतेसम्म अर्थात् एक हप्ताको अवधिमा यो अस्पतालमा इमर्जेन्सीमा ४५, इन्डोरमा ४४, डेलिभरीमा १२, भीसीटीमा १०५ र ओपीडीमा १२० जना बिमारीले कदम राखेको अस्पतालको रेकर्डबाट देखिन्छ । यो तथ्याङ्क आफैँमा लज्जास्पद छ, किनकि सदरमुकाम सन्धिखर्कका प्राइभेट क्लिनिकहरूलाई बिमारीको चापले भ्याइनभ्याई छ ।
जिल्लाका गरिब जनताको सहारा एक मात्र यो सरकारी अस्पतालबारे प्रजिअ गोविन्दमणि भुर्तेलसँग जिज्ञासा राख्दा अस्पतालभित्र बिमारीको सङ्ख्या घटेको र फोहोर बढेको जानकारी प्राप्त भएपछि आफूले अस्पताल अनुगमन गरेको र अस्पतालको जनशक्तिलाई नियमअनुसार परिचालन गरी अवस्थामा सुधार ल्याउन अस्पतालप्रमुखलाई सल्लाह दिएकाले क्रमिक सुधार आउनेमा आफू आशावादी रहेको बताए ।
एनेकपा माओवादी जिल्ला संयोजक गोविन्द केसीका अनुसार हालका प्रमुख डाक्टर अवकाश लिन धेरै समय नभएको कारण उनले हेलचेक्र्याइँ अपनाइरहेका र बिमारीहरूलाई कमिसनका लागि टाढाको अस्पतालमा पठाउने गरेका छन् । यस्तै धारणा छ एमाले जिल्ला सचिव रामबहादुर चौहानको पनि । उनका अनुसार असक्षम व्यक्ति अस्पतालको प्रमुख डाक्टर बनेर बसेका कारण जिल्लावासीले दुःख पाउनुपरेको छ । नेकपा माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसालका अनुसार आफ्नो मातहतका स्टाफहरूले अस्पतालप्रमुखको निर्देशन नमानेको र यो अस्पतालमा काम गर्ने डाक्टरहरू व्यक्तिगत फाइदाका लागि प्राइभेट मेडिकलमा व्यस्त बनेको कारण आमजनतामा अविश्वास सिर्जना भएको छ । सरकारी अस्पताललाई बेवारिसे बनाउँदै निजी क्षेत्रलाई प्रोत्साहन गर्नेतर्फ राज्य नै लागेको उदाहरण यो अस्पताल भएको भुक्तभोगीहरूको कथन छ ।
राम्रो काम गरेबापत यो अस्पतालका प्रमुख डाक्टर चित्रप्रसाद शर्मा वाग्लेलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले एमफिल अध्ययनका लागि २०६९ सालको जेठमा छात्रवृत्तिमा थाइल्याण्ड पठाएको भए पनि आफैँ क्यान्सरबाट थलिएकाले उनी भारतको राजीव गान्धी मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रहेको बुझिन्छ । उनको पद सम्हाल्न राज्यले डाक्टर यमबहादुर बस्नेतलाई यो अस्पतालमा पठाएपछि उनी यहाँ कार्यरत छन् । जिल्लाका गरिब जनताका लागि यही नै दुर्भाग्य बन्न पुगेको छ । करिब १२ वर्ष यो अस्पतालमा प्रमुख डाक्टर रहेका वाग्ले रातको समयमा पनि दुई–तीनपटक बिमारीको उपचारमा आफैँ संलग्न रहन्थे । १५ बेडको लावारिस जिल्ला अस्पताललाई उनले ३२ बेडमा रूपान्तरण गरे । अस्पतालको प्यासेजमा समेत बिरामी राखेर रातदिन सेवा गरी सबैको मन जितेका वाग्लेको अभावमा अहिले अस्पताल मियोब्निाको दाइ“जस्तो सुनसान र फोहोरैफोहोरको जक्सन बनेको छ । वाग्लेको देन त एकादेशको कथाजस्तो बनेको छ ।
डाक्टर वाग्लेको पालामा झिँगा धपाएर बस्ने प्राइभेट अस्पतालहरूलाई अहिले भ्याइनभ्याई बनेको छ र सर्वसाधारण जनता उपचारका लागि चर्को शुल्क तिर्न बाध्य बनेका छन् । बिमारी आउन छाडेपछि सरकारी अस्पतालवरपर भाडामा बसेका पसले र होटलहरू पलायन भइसकेका छन् । आफ्नो डयुटी र आफूमातहतका कर्मचारीलाई परिचालन गर्न असक्षम डाक्टर बस्नेत आफ्नो जिम्मेवारी निभाउन नसकेको कुरा अब लुकाउन मिल्दैन । यदि उनको असक्षमताको फाइदा अस्पतालभित्र खेल वा राजनीतिमा परिणत गरी सर्वसाधारणलाई कष्ट दिने दुस्प्रयास भएको छ भने राज्यले चुनी–चुनी कारबाही पनि गर्नुपर्छ र डाक्टर बस्नेतलाई अस्पतालभित्रबाट असहयोग छ भने पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्छ । जुन एउटा गरिमामय पदको दायित्व हो । सीधा हेर्दा डाक्टर बस्नेतको जिल्ला अस्पताल र उनले काम गर्ने प्राइभेट अस्पताल महादेव फार्मेसीबाहेक अन्य प्राइभेट क्लिनिकमा बिमारीहरूको घुइँचो लागिरहेको सन्दर्भमा म जिल्लाको प्रमुख डाक्टर हुँ भन्दै राज्यको सुविधा लिने असक्षम डाक्टर बस्नेतलाई राज्यले किन निगरानी राख्न सकेको छैन ? आशङ्काको विषय बनेको छ ।
१५ शैयाको एक मात्र जिल्ला अस्पतालका प्रमुख डाक्टर यमबहादुर बस्नेतको मातहतमा डाक्टर विष्णुप्रसाद आचार्यले काम गर्छन् । अस्पतालको जागिरभन्दा उनलाई अर्घाखाँची अस्पताल प्रालिको काम प्यारो छ । डाक्टर आचार्यको साथसाथै डाक्टर निवास बुढाथोकी पनि यो अस्पतालमा छन् तर अस्पतालको जागिरको साथै उनी पनि अमृत मेडिकलमा काम गर्छन् । डाक्टर बुढाथोकीसँगै डाक्टर सुदर्शन कोइराला यो अस्पतालमा जागिर गर्छन् र अस्पतालको जागिरसँगै उनले कामना मेडिकलमा काम गर्छन् । डाक्टर कोइरालासँगै डाक्टर नवीन दर्नाल पनि यो अस्पतालमा काम गर्छन् र उनी राम क्लिनिकमा काम गर्छन् । डाक्टर दर्नालसँगै डाक्टर लक्ष्मण शर्मा पनि यो अस्पतालमा काम गर्छन् तर यो समाचार तयार पारुन्जेलसम्म उनी कुनै प्राइभेट मेडिकलमा काम नगरेको बुझिएको भए पनि केही महिना अगाडि उनी लुहेस्कोमा काम गर्दथे । हुनसक्छ कोही डाक्टर आफनो ड्युटीमा इमानदार भएको भए पनि एक्लो प्रयासले केही पनि हुन सक्दैन । एक घरमुलियाले सय घरलाई असर पार्छ भन्ने नेपाली उखानसँगै अहिलेको स्थितिमा सरकारी अस्पताल धराशयी बन्दै गएको छ ।
प्रमुख डाक्टर बस्नेतले तलबस्केल, ग्रेड कर्मचारी सञ्चय कोष, बिमा कोष गरी जम्मा तलब २८,१७३ रुपैयाँ र दुर्गमभत्ता, चियाभत्ता गरी ७,६९५ रुपैयाँसहित जम्मा तलब–भत्ता ३५,६८६ रुपैयाँ लिने गर्छन् भने यो अस्पतालको अलावा महादेव फार्मेसीमा उनी काम गर्ने गर्छन् । विडम्बना † उनी भएको फार्मेसीमा बिमारीको सङ्ख्या अत्यन्तै न्यून देखिन्छ । उनीसँग काम गर्ने पाँचजना डाक्टर साहेवहरूले पनि तलब २१,०८० र भत्ता ६,४०५ गरी जम्मा तलब र–भत्ता २७,४८५ रुपैयाँ प्रतिमहिना कुम्ल्याइरहेका छन् । त्यसैगरी यो अस्पतालमा कार्यरत २२ जना दरबन्दी रहेका स्टाफलाई प्रत्येक महिना राज्यले चार लाख ५६ हजार पाँच सय ६७ रुपैयाँ भुक्तानी गर्नुपरे पनि डाक्टर भनौँदाहरू आफ्नो ड्युटी समयमा आफ्नो खुसीमा जाने र हिँड्ने गरेको दलका नेताहरूले पनि स्वीकार गरेका छन् । प्रमुखसहित ६ जना डाक्टरको जत्था भएको १५ शैयाको अस्पतालमा बिमारी जानसक्ने वातावरणको सिर्जना नहुनुको वास्तविकता सार्वजनिक नगरुन्जेल डाक्टर बस्नेतकै कमजोरी भएको स्वतः प्रमाणित हुन्छ ।
यहाँनिर सवाल के आउँछ भने ६ जना डाक्टरले ननप्राक्टिस भत्ता लिएका छन् र ननप्राक्टिस भत्ता लिएपछि प्राइभेट क्लिनिकमा काम गर्न पाउने वा नपाउने र नियमित रूपमा आफ्नो समय तालिकाअनुसार अस्पतालमा बस्ने वा नबस्ने ? यसतर्फ राज्यको ध्यान जानु आवश्यक देखिन्छ । अस्पतालको दरबन्दीमा वा करारमा वा राष्ट्रिय योजना आयोगबाट वा जिविसबाट वा अस्पताल विकास समितिको नामबाट अर्थात् नातागोता आदि गरी यो अस्पतालमा ३६ जना कर्मचारीले थोरै–धेरै तलब सुविधा लिए पनि जब अस्पतालप्रमुख र अन्य डाक्टर नै बिमारीप्रति इमानदार बन्न नसकेपछि जिल्लाका गरिब जनताको कन्तविजोग बन्नु कुनै नौलो कुरा होइन । सरकारी काम कहिले जाला घाम भनेजस्तो बिचरा तल्लो तहका कर्मचारीको के पो दोष भयो र ? यो अस्पतालमा रहेको एउटा एक्स रे मेसिन करिब १२ वर्ष सञ्चालन हुँदा कमसेकम १२ लाख कमाएको होला । हाल उक्त मेसिन बिग्रिएको छ तर यहाँको व्यवस्थापनले पाँच वा ६ लाख खर्च गरेर नयाँ मेसिन ल्याउन नसकेको नेपाल स्वास्थ्यकर्मी सङ्घका जिल्ला अध्यक्ष ताराप्रसाद खनाल बताउँछन् । खनालका अनुसार गर्भवती जाँच गर्दा उल्टो रिपोर्ट दिने मेसिन रहेकाले ल्याबका कर्मचारी नै भयाक्रान्त छन् । अस्पतालको एक्स रे वा ल्याब रिपोर्ट बिमारीको हातमा परेपछि डाक्टर खोज्नका लागि प्राइभेट क्लिनिकतर्फ जानुपर्ने र प्राइभेट क्लिनिकबाट भर्नाका लागि यो अस्पतालमा आउनुपरेमा प्राइभेट क्लिनिकबाटै अग्रिम औषधि बोकेर आउनुपर्ने बाध्यता छ र पनि सरोकारवाला मौन बसेका छन् । राज्यको निगरानी अनुगमनको कमजोरीका कारण सर्र्वसाधारणले यसरी सास्ती व्यहोर्नुपरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी