रेग्मीको बाटो कठिन छ तर चुनाव हुन्छ :: बिहंगमराज तिमिल्सिना (ज्योतिषि)

७ चैत्र २०६९, बुधबार ०९:५७ मा प्रकाशित

० गत पुसमा तपाईंले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुहुन्न, बरु नयाँ मान्छे सरकारको नेतृत्वमा आउँछन् भन्नुभएको थियो, साँच्चै कसैले कल्पना नगरेका प्रधानन्यायाधीशले सत्ताको जिम्मेवारी सम्हाल्नुपर्यो । अब खिलराज रेग्मी नेतृत्वको सरकार सफल हुन सक्ने–नसक्ने या यो सरकार कहिलेसम्म अगाडि जान सक्ने देखिन्छ त ?
– प्रधानन्यायाधीश खिलराज रेग्मीले बिहीबारका दिन ९ बजेर २५ मिनेटको समयमा शपथ लिनुभएको थियो । उक्त समयको आकाशीय ग्रह, तारा, पिण्डहरूको अवस्थामा समयशुद्धि गर्न सकिएन । त्यसले यो सरकार पनि प्रमाणित तवरले समस्या निराकरणमा अग्रसर हुन अपेक्षाकृत नसक्ने देखिन्छ । विभिन्न बाधा–अड्चन र झन्झट आइलाग्ने तथा विभिन्न दलहरूबाट विरोध भइरहने देखिन्छ । उहाँले दश महाविद्याको एउटा बज्रशक्ति सूत्र सङ्कल्प साधना गरी कुनै काम गर्ने अठोट लिए मात्र अन्तिम अवस्था कार्यसिद्धि हुनेछ । नेपालआमा रोएकी छिन्, राजनीतिक आकाशमा कालो बादल मडारिएको छ । यस्तो परिवेशमा राशि, पिण्ड, ग्रहगोचरको उग्र अवस्थालाई साम्य पार्ने अर्थात् दश महाविद्याको बज्रशक्ति सूत्र कवच दश महासङ्कल्प गर्ने कुरालाई उपेक्षा गरे सफलतामा रोडा अड्किने निश्चित छ । यो कुरा मैले बारम्बार दोहो¥याउँदै आएको पनि छु, नेताहरूसँग पनि भनेको हुँ, तर उहाँहरूले ध्यान नदिँदा पार्टी–पार्टीमा बेमेल र अविश्वास बढिरहेको छ । सरकारप्रमुख खिलराज रेग्मीको हकमा पनि उपरोक्त सङ्कल्प सिद्ध गराउनैपर्ने देखिन्छ, अन्यथा जति सहजताका साथ उहाँलाई शासनाधिकार हात लागेको छ, त्यसका तुलनामा सफलता हात लाग्न भने उहाँलाई अत्यन्त कठिन पर्ने र सफलता मिले पनि आंशिक मात्र हासिल हुने निश्चितप्रायः छ । काम गरेर पनि जश नमिल्ने अवस्था हुन सक्छ । मुख्य कुरा उहाँले कुनै पनि व्यक्तिगत स्वार्थ नराखी राष्ट्र र जनताको सर्वोपरी हितमा कटिबद्ध हुने सोच राख्नु अपरिहार्य देखिन्छ । कुनै दलविशेषको चक्कर वा चपेटाबाट अछुतो रहने प्रयत्न गर्नुभएमा उहाँको भावी बाटो केही सहज हुन सक्छ ।
० उहाँ असफल हुनु भनेको त देशमा चुनाव नै नहुनु हो, के असारमा चुनाव हुन नसक्ने देखिन्छ ?
– राजनीतिक दृष्टिमा असार महिनाको तारा ग्रह होरा लग्न नवांश सबै हेर्दा असारमा चुनाव हुन अलिक कठिन देखिन्छ, तर नेपालमा चुनाव नै नहुने अवस्था भने अब टरेको छ । अर्थात्, चुनाव त खिलराज रेग्मीकै कार्यकालमा हुन्छ । तथापि, चुनाव हुनु नै उहाँको सफलता ठहरिनेछ भन्ने कुरा यतिबेलाको परिवेशका आधारमा भन्नुपर्दा त स्वाभाविक नै हो, तर भविष्यमा राजनीतिक घटनाक्रमले यस्तो रूप लिनसक्ने देखिन्छ कि निर्वाचन भए पनि विभिन्न कारणले सरकार असफल भएको अपजश रेग्मीज्यूलाई मिल्न सक्छ । व्यक्तिगत रूपले रेग्मी या अन्य नेताहरूलाई दोष दिनुभन्दा पनि नेपाल राष्ट्रलाई नै दशा लागेको अवस्था रहेकोले यो दशाको ज्योतिषीय उपचार आवश्यक छ ।
० नेपालको राजनीतिमा ब्वाँसो, सिंह, चितुवा, मृग, बाख्राजस्ता विविध प्रकृति र प्रवृत्तिका मानिस सक्रिय छन्, अब एकैसाथ यस्ता सबैलाई खुसी पार्न त कसरी सकिएला त ?
– ज–जसले जे–जे चिताएको छ त्यही–त्यही ट्वाक्क–ट्वाक्ट दिएर खुसी पार्न त अहिलेको भौतिकवादी संसारमा कसैले पनि सक्दैन । सरकारप्रमुखका नाताले रेग्मीज्यूले त्यसो गर्नुपर्छ भन्न खोजेको पनि होइन । यसरी विविध प्रकृति तथा सोचविचारका व्यक्ति समाजमा रहने र मुलुकको ग्रह–दशाचाहिँ खराब चलिरहेको अवस्थाले गर्दा यतिबेला विशेष सचेत भई विवेकपूर्ण कदम चाल्नु आवश्यक छ भन्न खोजेको हुँ । व्यक्तिविशेष वा दलविशेषको मुख नहेरी देशलाई नै आफ्नो आराध्य माता ठानेर काम गर्न खोजे उहाँलाई केही सहज हुनेछ भन्ने मेरो आशय हो ।
० मुलुकको जुन अवस्था छ, यसभन्दा अब सम्हालिने या सुध्रने स्थिति बन्छ कि बन्दैन त ?
– चुनाव हुने अवस्था रहेकोले आशावादी हुन सकिने आधार छ । तर दल–दलबीचको बेमेल, झैझगडा रहिरहने र त्यसले मुलुक तथा मुलुकवासीमा पीडा प्रदान गरिरहन सक्ने देखिन्छ । यसर्थ, संसारमा अति नै शक्तिशाली दश महाविद्याको बज्रशक्ति सूत्र दुर्लभ महायन्त्र गर्ने हो भने पार्टीमा भाइचारा बढ्छ, मेलमिलाप हुन्छ, बेग्लै शान्त र सुखकारी माहोल बन्ने म देखिरहेको छु । यो कुरा आजभन्दा तीन वर्षअघिदेखि म भनिरहेको छु, तर कतै सुनुवाइ भइरहेको छैन ।
० चुनाव हुन्छ नै भन्नुभयो, त्यसो भए नेपालमा सैनिक शासनको सम्भावना त रहेन होइन त ?
– मंगल अमृत स्थानमा बसेर शक्तिशाली बनेका भए त्यस्तो अवस्था निम्तिने थियो, खिलराज रेग्मी घोर असफल सावित भई क्षतविक्षत हुने अवस्था नरहेकाले सैनिक शासनको सम्भावना देखिन्न र नेपालका लागि अहिले सैनिक शासन लाभदायक हुने पनि देखिन्न ।
० भनेपछि अहिले लोकतान्त्रिक गणतन्त्र भनिएको यही व्यवस्था संस्थागत हुन्छ त नेपालमा ?
– यही व्यवस्था सुदृढ र सुसंस्कृत बन्दै जानुको विकल्प नेपालमा देखिन्न । अन्य राजनीतिक सोच लागू गर्न खोजिए पनि त्यो दिगो किसिमले टिक्न सक्दैन । तसर्थ यही शासन व्यवस्थालाई अब सबै मिलेर राम्रो र बलियो तुल्याउन लाग्नुमै सबैको कल्याण हुन्छ ।
० प्रसङ्ग बदलौँ, पूर्वयुवराज पारस झन्डै–झन्डै बितिसकेको अवस्थाबाट पनि पुनर्जीवन पाएझैँ भए, उनको गइसकेको प्राण फर्केझैँ राजसंस्था फर्कन सक्ने अवस्था पनि छ भन्छन् नि कतिपय त, तपाईंको दृष्टिले के देख्छ ?
– पूर्वराजा ज्ञानेन्द्रको दशाग्रह, नवांश हेर्दा तत्काल राजसंस्था फर्किने देखिन्न । तर, दलहरूको यस्तै रवैया रहिरहँदा जनतामा ‘बरु राजसंस्था रहेकै भए पो शान्ति हुन्थ्यो कि’ भन्ने भावनाचाहिँ स्वाभाविक रूपमा पैदा हुन्छ । तथापि, राजतन्त्र फर्कने अवस्था मुलुकको ग्रहगोचरले त दर्शाउँदैन ।
० माओवादी वैद्य समूहले पहिलेकै जस्तो युद्ध गर्ने कुरा पनि गरिरहेको छ, नेपालमा त्यस्तै युद्ध र अशान्तिको सम्भावना देखिन्छ कि देखिँदैन नि ?
– मोहन वैद्यजी या उहाँको पार्टीलाई उपेक्षा गर्नु एकदम प्रत्युत्पादक हुने देखिन्छ । तसर्थ, खिलराज रेग्मीज्यूले उहाँलाई पनि सम्झाएर साथमा लिने प्रयत्न गर्नैपर्छ, ‘मोहन वैद्य’को नामबाट हेर्दा उहाँको कारण देशमा झैझगडा उत्पन्न हुने, द्वन्द्व बढ्ने सम्भावना देखिन्न । तर सरकारले उहाँसँग समझदारी बढाएर काम गर्नु अत्यावश्यक देखिन्छ ।
० अबको चुनावपछि कस्तो या कसको नेतृत्वमा सरकार बन्ला भन्ने केही देख्नुभएको छ ?
– त्यसका लागि मैले विस्तृत रूपमा कुण्डलीहरू नियाल्दै छु, काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी सबैतिरका नेताहरूको जन्मकुण्डली मगाइरहेको छु । त्यो अध्ययन गरिसकेपछि मात्रै यकिनसाथ भन्न सकिन्छ, अहिले यस विषयमा यत्तिकै भन्ने
कुरा आएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा छन् । विश्वका

काठमाडौँ। डा.प्रकाशशरण महत नेपाली कांग्रेसका सहमहामन्त्री हुन् । उनी नेपाल विद्यार्थी संघको महामन्त्री, नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै पछिल्लो कार्यकाल

जगदिश्वर नरसिंह केसी, प्रदेश सभापती पदका उम्मेदवार, नेपाली कांग्रेस, बागमती प्रदेश नेपाली काङ्ग्रेस नुवाकोटको तीनपटक सभापति भइसकेका जगदीश्वरनरसिंह केसी पर्सि १८ गते

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।