दलित संघको अधिवेशनमा अन्तर्घात भएपछि…

६ चैत्र २०६९, मंगलवार १७:०७ मा प्रकाशित

काठमाडौं, ६ चैत । नेपाली काङ्ग्रेसको भोट बैंकका रुपमा समेत चिनिने भातृ संगठन नेपाल दलित सङ्घको चौथो महाधिवेशन गत फागुन २२ गते झापाको विर्तामोडमा सम्पन्न भए पनि महाधिवेशनमा भएका घात–अन्तरघातका चर्चा भने यतिखेर पनि जारी नै रहेको छ । सभापति सुशील कोइरालाले उद्घाटन गर्नुभएको उक्त चारदिने महाधिवेशनमा संस्थापन पक्षका उम्मेद्वार पराजित हुन पुगेको सन्दर्भ अहिलेसम्म पनि काङ्ग्रेसवृत्तमा चर्चाको विषय बनिरहेको छ । संस्थापन पक्षलाई सघाउन भनी केन्द्रबाट खटिएका काङ्ग्रेस प्रवक्ता दिलेन्द्र बडु, आनन्द ढुंगाना, दिलबहादुर घर्ति र गगन थापालगायतका केन्द्रीय नेताहरू मानबहादुर विश्वकर्माको द्वैध चरित्र, अन्तर्घाती प्रवृत्ति र अकर्मन्यताका कारण संस्थापन पक्षको पराजय हुन पुगेको, साथै खड्गबहादुर बस्याल र जीवन परियारको ‘विश्वकर्मा बहिष्कार नीति’ले पनि पराजयलाई पुट दिएको निचोड निकाल्दै महाधिवेशनस्थलबाट फर्केका बुझिएको छ ।
महाधिवेशनमा संस्थापन पक्षबाट खड्गबहादुर बस्याल सार्की र देउवा खेमाबाट मीन विश्वकर्माको प्यानल नेतृत्वका लागि निर्वाचनमा भिडेको थियो । एक हप्ताअघि नै केन्द्रिय सदस्य मानबहादुर विश्वकर्माले कृष्ण रसाइलीलाई अनधिकृत रुपमा संस्थापन पक्षको उम्मेदवारका रुपमा डङ्का पिटाएर सभापति कोइराला र संस्थापन पक्षका अन्य नेताहरूलाई उनका नाममा जबर्जस्ती सहमत गराउन खोजेका थिए । तर संस्थापन पक्षले कृष्ण रसाइलीको बारेमा सत्य–तथ्य बुझ्दा उनी उत्पीडित–दलित उत्थान विकास समितिमा निर्देशक रहँदा ४५ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारको कारबाहीमा परेको, उक्त पदमा नियुक्ति गराइदिएका कारण मानबहादुरलाई १५ लाख रुपैयाँ नजराना दिनुका साथै उनलाई सूरा र सुन्दरीको जोहो गर्ने गरेको आरोप काङ्ग्रेसवृत्तबाटै लगाइएको र सो कारणले नै मानबहादुरले काँध थापेको रहस्य खुलेपछि रसाइलीलाई उम्मेदवार हुनबाट वञ्चित गराइएको थियो । तसर्थ, कृष्ण रसाइली उम्मेदवार भए जित्ने संभावना पनि नरहेको र संगठन धरासायी हुने डरले सोझा र इमानदार खड्गबहादुर बस्याललाई संस्थापन पक्षले उम्मेदवार बनाएको थियो जसलाई केन्द्रिय सदस्य जीवन परियारको भरमग्दुर साथ र समर्थन पनि थियो ।
महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ५, अञ्चल सदस्य १४, खुल्ला सदस्य १५, महिला सदस्य ८, मधेसी पुरुष ५, मधेसी महिला ४, हुम्लाबाट ३, अपाङ्ग १, उपत्यकाबाट १, अल्पसंख्यक ३ र महावेशन प्रतिनिधि ४ गरी ६४ सदस्यका लागि दुवै पक्ष र स्वतन्त्र उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा भएको थियो । फलतः बन्दसत्रमा मानबहादुर विश्वकर्माले ‘हाम्रा उम्मेदवार खडगबहादुर बस्याल नै हुनुहुन्छ’ भने पनि जातीय लबिङ गरी विश्वकर्मा जातिका प्रतिनिधि मतदाताहरूसँग जुन पक्षलाई मत हाले पनि विश्वकर्मालाई नै मत हाल्नु भनी प्रचार–प्रसार गरेका थिए । साथै खड्गबहादुर बस्याल र जीवन परियारले पनि उम्मेदवार चयन गर्दा धेरैजसो सार्की र दमाई जातिकालाई च्यापेर उम्मेदवार बनाएका कारण विश्वकर्मा मतदाताको बर्चस्व भएको दलित सङ्घमा अर्को पक्षका मीन विश्वकर्मालाई सजिलो परेको थियो । विजुल विश्वकर्मालाई उम्मेदवार नबनाएका कारण संस्थापन पक्षकाले  नचाहेरै पनि मीन विश्वकर्मालाई मत हालेका थिए ।
महाधिवेशनबाट फर्किएका नेताहरूले सुशील कोइरालासमक्ष मानबहादुर विश्वकर्माको अन्तर्घाती तथा बस्याल र परियारको जातिवादी नीतिले संस्थापन पक्ष पराजय हुन पुगेको जानकारी गराएका बुझिएको छ । साथै विश्वकर्माले स्वयम् उम्मेदवार हुँदैछु भनी काठमाडौं, पोखरा, सुर्खेत, धरान, दमक र विर्तामोडका सुनचाँदी पसलहरूमा लाखौँ चन्दा उठाएर महाधिवेशनमा खर्च नगरेको आरोप पनि लगाएका छन् । उनीहरुले मानबहादुर संस्थापन पक्षमा रहिरहे आगामी कुनै पनि अधिवेशनमा संस्थापन पक्षले विजय हासिल गर्न नसक्ने निश्कर्ष पनि निकालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर