राजनीतिक मूलधारबाट हटाउन मलाई जेल पठाइयो :: जेपी आनन्द गुप्ता

६ चैत्र २०६९, मंगलवार १३:२५ मा प्रकाशित

० तपाईं १३ महिनाको जेल बसाईपछि रिहा हुनुभएको छ, जेलबाट नेपालको राजनीतिलाई कसरी हेर्नुभयो तपाईंले ?
– एक वाक्यमा भन्नुपर्दा नेपालको राजनीति सबैले अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेन । राज्यको रुपान्तरण या राज्यको विद्यमान ढाँचालाई परिवर्तन गर्नेगरी जेजस्ता आन्दोलनहरु भए, संविधानसभाले जुन प्रतिवद्धता जनाएको थियो त्यो अगाडि बढ्नुको साटो त्यसलाई पछाडि धकेल्ने काम नै यसबीच भएको देखिन्छ ।
० कसरी पछि धकेलियो त मुलुकका एजेण्डा ?
– यो बुझ्न धेरै कठिन छैन । किनकि, संविधान बन्नु थियो र संविधानले पुराना मान्यताहरुलाई लिएर हिँड्ने एजेण्डा निश्चय पनि बोकेको थिएन । राज्यको रुपान्तरण, पुनर्संरचना, यस देशका विभिन्न क्षेत्र, वर्ग, भाषाभाषी, उत्पीडित–उपेक्षित समुदायका चाहनालाई नयाँ संविधानमा व्यवस्था गर्नु थियो, त्यो हुन सकेन । मुख्य असहमतिको विषयचाहिँ राज्यको रुपान्तरणको विषय नै हो । अन्य तपसिलका असंख्य विषयहरुमा विगतको संविधानसभामा सहमति हुँदाहुँदै पनि सोअनुरुप व्यवहारिक तवरमा काम हुन नसकेबाट मुलुक पछि प¥यो भन्ने नै त सावित हुन्छ ।
० विगतमा हुन नसकेका काम पूरा गर्नकै लागि भनेर फेरि संविधानसभाको चुनाव हुन लागेको छ नि त ?
– राज्यको रुपान्तरण या पुनर्संरचना गर्ने सन्दर्भमा यसअघि जे–जस्ता एजेण्डा तय गरिएको थियो त्यसमा अहिलेसम्म कुनै प्रतिवद्धता जनाइएको छैन भने चुनाव गर्ने भनेर मात्र के हुन्छ ? नर्या संविधानसभा गठनका लागि चुनावको प्रक्रिया मात्र सुरु भएको छ अहिले, तर कस्तो संविधान हुने, राज्यको पुनर्संरचना कुन रुपमा हुने भन्ने विषयहरु हिजोको दिनमा टुङ्गो नलागेकोले संविधानसभा फलदायी हुन नसकेको निश्कर्ष जो थियो, त्यही निश्कर्षको धरातल त अहिले पनि कायम नै छ नि ।
० मुलुकमा एउटा सहमतिको यात्रा त सुरु भएकै मान्नुपर्छ नि यसलाई, होइन र ?
– असहमति मात्रै देखिएको परिवेशमा यति हुनुलाई सकारात्मक नै मान्न सकिएला ।
० तपाईंको विचारमा मधेसमा अब मधेसी दलहरु के एजेण्डा लिएर जानुपर्ला र तपाईं के एजेण्डा लिएर जाने सोचमा हुनुहुन्छ ?
– अन्य दलहरु के एजेण्डा लिएर जान्छन् त्यो उनीहरुकै कुरा हो । मैले सुझाव दिइरहनु आवश्यक नहोला । मधेसले राज्यको अग्रगामी रुपान्तरणको सिलसिलामा मधेस एउटा प्रदेश बन्नुपर्ने, मधेसका भाषाहरुले मान्यता पाउनुपर्ने, समान जनसङ्ख्याको आधारमा निर्वाचन प्रणाली कायम हुनुपर्ने, समावेशिताको व्यवस्था हुनुपर्नेलगायतका एजेण्डाहरु जहाँसम्म मधेसले उठाएको थियो र वस्तुतः यी एजेण्डाहरु मधेसका मात्रै कहिल्यै पनि रहेन । यी विषयहरुको आज हामीले मूल्याङ्कन ग¥यौँ भने मलाई लाग्छ रत्ति पनि हामी अगाडि बढ्न सकेका छैनौँ । तसर्थ अब लैजाने भनेको एजेण्डा कुनै नयाँ नभई यिनै मुद्दा लिएर जाने हो ।
० तर मधेसले धेरै अधिकार प्राप्त गरिसक्यो भन्छन् मधेसी मोर्चाका कैयन नेताहरु त ?
– मधेसी मोर्चाका नेताहरुले चुनावमा आफ्नो सान्दर्भिकतालाई सिद्ध गर्नका लागि यतिबेला बढी कसरत गरिरहेका छन् भन्ने मलाई लाग्छ । जसरी यसबीचमा उहाँहरु राजपाटमा सरिक रहनुभयो, यो स्वाभाविक पनि हो कि मधेसमा आफ्नो उपस्थिति उपयोगी तुल्याउनका लागि उहाँहरु यस्तो कुरा गरिरहनुभएको छ । तर, आखिर मधेसको एजेण्डा के थियो त भन्ने प्रश्न म उठाइरहेको छु । मधेसको एजेण्डा सङ्घीयता थियो, सङघीयताभित्र मधेस एउटा स्वायत्त प्रदेश बनोस् भन्ने थियो, मधेसका भाषाहरुले मान्यता पाउनुपर्छ भन्ने थियो, समान जनसङ्ख्याको आधारमा निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्ने थियो । यी विषय या एजेण्डाहरु अहिले आएर मूल्याङ्कन गर्दा कत्ति पनि उपलब्धि हासिल भएको देखिँदैन । अब कसले के अधिकार पाएर के भने त्यो उहाँहरुले प्रस्ट्याउनुहोला नि त मधेसका जनतासमक्ष ।
० अहिले चार राजनीतिक शक्तिका बीचमा जुन ११ बुँदे सहमति भयो, यसका आधारमा विश्लेषण गर्नुपर्दा मधेसी मोर्चाले विजय हासिल ग¥यो कि केही गुमायो होला ?
– ११ बुँदे सम्झौताका आधारमा मलाई लाग्छ कि मधेसी मोर्चाले मधेसका लागि मात्र नभई सिङ्गो देशकै लागि जुन भूमिका निर्वाह गर्नुपर्दथ्यो त्यो सकेन । एक मात्र दृष्टान्त दिनुपर्दा ११ सुत्रीय सम्झौताको आठौँ बुँदामा भनिएको छ कि विघटित संविधानसभामा राजनीतिक दलदहरुको बीचमा जुन विषयहरुमा सहमति भएको छ ती विषयहरुको स्वामित्व लिने । विघटित संविधानसभाको सबैभन्दा अहम् विषय भनेको सङ्घीयता थियो । सङ्घीयताको बारेमा विघटित संविधानसभाको राज्यपुनर्संरचना समितिले जुन प्रस्ताव दिएको थियो त्यसको स्वामित्व लिएन । राजनीतिक दलहरुले त्यसलाई विवादित विषय बनाएका छन् । त्यसपछि राज्यपुनर्संरचना आयोग जुन बन्यो त्यसमा बहुमतको १४ प्रदेश र ११ प्रदेशको प्रस्ताव थियो । त्यसको स्वामित्व पनि यस सम्झौताका आधारमा लिइएको देखिएन । भनेपछि मधेसी मोर्चाले उपयुक्त भूमिका निर्वाह ग¥यो या मधेसले लाभ हासिल ग¥यो भन्न सकिने ठाउँ त रहेन ।
० हिजो बामे सर्न नसक्ने मोर्चालाई मैले हिँड्न सिकाएँ तर अहिले मधेसी मोर्चाले माओवादी र एमालेको भाषा बोल्न थाल्यो भन्ने प्रतिक्रिया तपाईंले दिनुभयो, यो भावनामा बगेर दिनुभएको प्रतिक्रिया हो कि के हो ?
– यो कुनै भावनामा बगेर व्यक्त गरेको प्रतिक्रिया होइन । सत्य कुरा त म भनि नै रहन्छु । अतीतमा मधेसी मोर्चाको भूमिका निस्क्रिय प्रकारको थियो, मधेसको एजेण्डाहरुमा भन्दा पनि सरकार गठन र विघटनमा मधेसी मोर्चाको सक्रियता देखिन्थ्यो । माधव नेपाल सरकारको बेला मोर्चाको भूमिकाले यो कुरा स्पष्ट पार्दछ । यस विषयमा म अहिले अरु धेरै टिप्पणी गरिरहन चाहन्न ।
० अबको राजनीतिमा तपाईं आफ्नो भूमिकाको खोजी कसरी गर्नुहुन्छ त ?
– मैले भनिहालेँ कि आजका दिनसम्म मधेसका हकमा कुनै नयाँ एजेण्डाको दरकार छैन, जो हिजो उठाइएका थिए त्यसैलाई बुलन्द ढङ्गमा उठाउनु अपरिहार्य देखिन्छ । राज्यको अग्रगमनकारी एजेण्डालाई मधेसले बोकेको थियो र म अहिले जेलबाट बाहिर आएको अवस्था होस् या जेलभित्रै रहँदाको अवस्थामा होस्, मधेसको अवस्थाको मूल्याङ्कन गर्दाखेरि मैले मधेस र राज्यपुनर्संरचनाको पक्षमा कामकुरा अगाडि बढेको देखेको छैन । त्यसकारण यिनै विषयलाई मधेसी जनतासमक्ष लिएर जाने सोचमा छु ।
० तपाईं नयाँ पार्टी पनि बनाउनुहुन्छ कि अब ?
– मधेसमा यसै पनि थुप्रै दलहरु खुलिसकेका छन्, त्यसैले तत्काल नयाँ राजनीतिक पार्टी निर्माण गर्ने पक्षमा म छैन । धेरै पार्टीहरुको सङ्ख्यामा एउटा पार्टी थप्नुभन्दा पनि एजेण्डाबाट विचलित भएको मधेसको राजनीतिलाई ट्र्याकमा ल्याउन व्यापक जनमत निर्माण गर्नु छ । सुभेच्छुक र सहयोगी साथीहरुसँग मिलेर यही अभियान अघि बढाउने सोचमा म रहेको छु । केही दिनमै परामर्श र छलफल गरी यसमा लागिपर्नेछु । उक्त अभियानले नै पछि राजनीतिक दलको स्वरुप लिएछ भने बेग्लै हुरा, होइन भने तत्काल म नयाँ दल गठन गर्ने पक्षमा छैन ।
० जेलमा रहँदा तपाईंले विर्सन नसक्ने कुनै घटना भएको छ कि ?
– सबभन्दा नरमाइलो कुरा त मुलुकको राजनीति अत्यन्त सङ्कटपूर्ण किसिमबाट बगिरहेको र त्यसमा आफ्नो भूमिका या योगदानको खोजी गरिरहेको परिवेशमा अत्यन्त षड्यन्त्रपूर्ण ढङ्गले मलाई जेल पठाइयो । म जुन सकारात्मक भूमिका निर्वाह गर्न चाहिरहेको थिएँ– त्यो सकिनँ । मलाई जेलमा रहँदा सबैभन्दा बढी बिझाएको कुरा यही हो । न्यायका सन्दर्भमा दोहोरो मापदण्ड प्रयोग गरेर मलाई अनाहक दुःख जो दिइयो, यसबाट मेरो हृदयमा खेद उत्पन्न हुनु स्वाभाविक थियो । राजनीतिमा मेरो भूमिका निस्तेज गर्न या मूलधारबाट मलाई हटाउनका लागि सर्वोच्च अदालतका ती न्यायाधीशहरु कसैको इशारामा वा कुनै धारणाको वसिभूत भएर मेरो निर्णय गरेको त जगजाहेर नै छ । यसले दिएको पीडाबाहेक अन्य त्यस्तो दुःखद सन्दर्भ मैले अनुभूत गरिनँ ।
० बितेको १३ महिनामा तपाईं सर्वाधिक खुशी भएको दिनचाहिँ कुन होला नि ?
– हरेक दिन नै खुशी थिएँ । दिनमा ७०–८० जना साथीभाई तथा सुभेच्छुकहरु भेट्न आउनुहुन्थ्यो । उहाँहरुसँग कुराकानी गर्दा पनि मन बहलिन्थ्यो । फुर्सदमा लेखपढ गर्थें । तर, सोमबार जब म बाहिर आएँ, हजारौँ साथीहरुले स्वागत गरे र मधेसको मुद्दाप्रति आफ्नो प्रतिवद्धता देखाए । मलाई साथीहरुले शुभकामना दिनुभयो, म अत्यन्त खुशी भएँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।