दिवंगत कोइरालालाई अघिसारेर प्रचण्डले यसरी गरे कर्णेलको वार्गेनिङ

३ चैत्र २०६९, शनिबार ०६:३५ मा प्रकाशित

काठमाडौं, ३ चैत । माओवादीको सशस्त्र युद्ध उत्कर्षमा रहेको समय अर्थात् २०६१ सालमा कृष्णभीरमा माओवादीले गरेको एम्बुस आक्रमण अहिले पनि बेलाबेलामा चर्चामा रहने गर्छ । अत्यन्त व्यस्त र चहलपहल भइरहने पृथ्वीराजमार्गको सो स्थानमा दिनदहाडै नेपाली सेनामाथि धावा बोल्ने दुस्साहस भएको थियो तत्कालीन माओवादीका एक कमाण्डर यामबहादुर अधिकारी ‘प्रतीक्षा’को कमाण्डमा रहेका माओवादी लडाकाबाट । यामबहादुर यतिबेला सेनासमायोजन प्रक्रियामा छिरेर नेपाली सेनामातहत तालिम लिइरहेका छन् । यति मात्र होइन, अब उनी नेपाली सेनाका कर्णेल बन्ने भएका छन् । यामबहादुरबाहेक अन्य दर्जनजति पूर्वमाओवादी कमाण्डरहरुलाई मेजरलगायतका ओहदा प्रदान गरिँदै छ । यसरी पूर्वलडाकाहरुलाई नेपाली सेनाको उच्चअधिकृत तहमा स्थान दिलाउन लागिएको सन्दर्भमा नयाँ सरकार बन्नुअघि प्रचण्ड दलीय बैठकमा कसरी प्रस्तुत भएका थिए भन्ने विषय यतिबेला प्रासंगिक बन्न पुगेको छ ।
विभिन्न समयमा अनपेक्षित बखेडा झिक्दै विपक्षीहरूलाई कायल पार्न अभ्यस्त एमाओवादी अध्यक्ष प्रचण्डले यसपटक ‘फुल’ कर्णेल मागेर काङ्गे्रस–एमालेलगायतका नेताहरूलाई हैरान बनाइदिए । बाबुराम भट्टराईबाट प्रधानन्यायाधीश खिलराज रेग्मीमा सत्ता हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएपछि कुनै न कुनै अर्घेल्याइँ गरेर त्यसलाई प्रचण्डले अवरुद्ध तुल्याउने अनुमान गरिएको भए पनि सुरुमै उनले त्यस्तो अप्ठ्यारो पर्ने कुनै प्रस्ताव राखेका थिएनन् । काङ्गे्रस र एमालेका नेताहरूले प्रधानन्यायाधीशलाई सरकारप्रमुख बनाउन नसकिने बताइरहेकाले हुनसक्छ प्रचण्डले सहमति भाँड्न थप कसरतको आवश्यकता बोध गरेका थिएनन् । तर, जब काङ्गे्रस–एमालेसहितका दलहरू सहमतिमा आउने सम्भावना बढ्यो, तब उनले सत्ता छोड्न ‘फुल’ कर्णेल एक र लेफ्टिनेन्ट कर्णेल दुई पद आफ्ना लडाकुहरूलाई दिइनुपर्ने प्रस्ताव राख्न थाले । मेजर पदसम्म दिइने सहमतिको आधारमा लडाकु व्यवस्थापनको कुरा गत वर्ष नै टुङ्गिएको स्मरण गराउँदा प्रचण्डको भनाइ रह्यो– उच्चस्तरमा हामीसँग ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको थियो । काङ्ग्रेस र एमालेका नेताहरूले त्यस्तो ‘एग्रिमेन्ट’ कहिले कोसँग भएको थियो त भन्ने प्रश्न गर्दा सम्झौता कोसँग भएको थियो भन्नेबारेमा केही दिनसम्म उनले बताएनन् । कोसँग, कहिले सम्झौता भएको थियो भन्नेबारेमा नबताएसम्म ‘फुल’ कर्णेलसहितको तीन कर्णेल पद दिन नसकिने भनाइ काङ्गे्रस–एमालेका नेताहरूको भएपछि प्रचण्डले भने, ‘मेरो गिरिजाप्रसाद कोइरालासँग ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको थियो । प्रचण्डका कुराले सबैलाई हँसायो, मरिसकेका मानिससँग सम्झौता भएको बताएर आफ्ना लडाकुलाई राष्ट्रिय सेनाको कर्णेल पद हत्याउने घृष्टता गरेपछि सुन्नेहरू नहाँस्ने कुरा पनि भएन । ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ हुँदाका केही लिखत छैनन् भने साक्षी त होलान् नि भन्ने जिज्ञाशा विपक्षी नेताहरूबाट राखिएपछि मधुरो आवाजमा प्रचण्डले भने, ‘काङ्गे्रस महामन्त्री सिटौलाजी पनि हुनुहुन्थ्यो, उहाँलाई थाहा छ ।’ प्रचण्डको यस्तो भनाइपछि काङ्गे्रस नेताहरूले झापाका सिटौलालाई सोधे, ‘के तपाईंको रोहवरमा गिरिजाबाबुसँग माओवादी लडाकुलाई ‘फुल’ कर्णेलसहित तीन कर्णेल दिने भन्ने सहमति भएको थियो ?’ काङ्गे्रस नेताहरूको त्यस्तो प्रश्नमा सिटौलाले खुलस्त जवाफ दिएनन् । हुन त उनी खोलेर या खुलेर कुरा गर्ने नेताको कोटिमा पर्दैनन् । सिटौलाले काङ्गे्रस नेताहरूलाई जवाफ दिए, ‘त्यस्तो भन्दा पनि कुनै न कुनै तरिकाले मिलाउनुपर्छ भन्नेचाहिँ भएको थियो ।’ सिटौलाको यस्तो जवाफलाई काङ्ग्रेस नेताहरूले आफ्नै तरिकाले बुझे । तर, यसैबीच मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले काङ्गे्रस नेताहरूसँग भेटी माओवादी लडाकुलाई मेजरभन्दा माथिल्लो तह दिइन हुन्न र त्यसमा अडान राख्नुपर्छ भने । गच्छदारले सेनापति गौरवशमशेर जबरालाई भेटेर पनि सेनाले अडान राख्नुप¥यो भन्न भ्याएछन् । तर, यिनै गच्छदारले उच्चस्तरीय बैठकमा भने कर्णेल पद लडाकुलाई दिने विचार राखेका थिए । उता प्रचण्ड र बाबुराम भट्टराईलाई भने ‘हातमा भएको सत्ता छोडेर तपार्इंहरू किन गल्ती गर्दै हुनुहुन्छ’ भनी प्रधानन्यायाधीशमा सत्ता हस्तान्तरण हुनबाट रोक्ने प्रयास गच्छदारले गरेका थिए । काङ्गे्रस–एमालेले कर्णेल दिन नमानेको अवस्थामा प्रचण्ड–बाबुराम सहमतिमा नआउने निश्चित भइसकेको थियो । सरकार छोड्ने र प्रधानन्यायाधीशलाई चुनावी सरकारप्रमुख बनाउने प्रस्तावमा भित्रभित्रै अड्चन पैदा गर्दै आएका प्रचण्डले आफ्ना लडाकुलाई कर्णेल नबनाए शान्तिप्रक्रिया पूर्ण नहुने मात्र बताएनन्, ‘जनयुद्ध’ गर्नुको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने बताएर आफू यस अडानबाट पछि नहट्ने स्पष्ट गरे । प्रचण्डको भनाइबाट काङ्गे्रस–एमालेका नेताहरूले बुझे– ‘जनयुद्ध नै नेपाली सेनामा कर्णेल पद पाउनका लागि गरिएको रहेछ ।’ यता प्रचण्डको यसप्रकारको अडान, उता गच्छदारको त्यसप्रकारको षडयन्त्र, यी दुवै पक्षलाई हेरी काङ्गे्रस माओवादी लडाकुलाई कर्णेल दिन सहमत भएका छन् । यो सहमतिसँगै सरकार परिवर्तन प्रक्रियाले तीव्र गति लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने