प्रेतात्माको बस्तीबाट शान्तिधामको शरणमा :: वीरेन्द्रमणि पौडेल

२ चैत्र २०६९, शुक्रबार २२:४३ मा प्रकाशित

शरीर आत्माको खोल मात्रै हो भन्ने कुरा मैले धेरै पछि मात्र थाहा पाएँ । कसैले विश्वास मान्ने नमान्ने भन्ने कुरा प्राथमिकताको पछिल्लो विषय हो । विश्वास मान्न पाइन्छ नमान्न पनि पाइन्छ । आत्मा थरीथरीका हुँदा रहेछन् । पाप आत्मा, पुन्यआत्मा, धर्मात्मा, देवात्मा, परमात्मा आदि । यी आत्माहरूको विशेषताअनुसार नामाकरण भएको रहेछ । आत्माहरूलाई शुद्ध र पवित्र बन्न परमात्माद्वारा निर्देशन प्राप्त हुँदोरहेछ तर आत्माको उत्पत्ति परमात्माले गर्ने होइन रहेछ सिर्फ शुद्ध बनाउने काम मात्रै हुँदोरहेछ । थरीथरीका आत्माको उत्पत्ति त आदि–अनादिकालदेखि नै भएको रहेछ । यी थरीथरीका आत्माहरूमध्ये प्रेतआत्माचाहिँ यस्तो आत्मा रहेछ जो शरीर मरेपछि कुकर्मका कारण अरूलाई दुःख दिने र नमर्दै अरूको शोषण गर्ने, आफ्नो फाइदाका लागि जे–जस्तो नकारात्मक काम गर्न पनि पछि नहट्ने हुँदा रहेछन् । मैले जीवनमा कालो, गोह्रो, होचो, अग्लो, रङ्गीबिरङ्गी प्रेतात्माहरूसँग सङ्गत गरेँ । यो प्रकारको आत्मासँग सङ्गत गर्नु मेरा लागि एकप्रकारको बाध्यता थियो । बाध्यता महसुस गरुञ्जेल सङ्गत गरेँ । जब बाध्यता समाप्त भयो, जब मैले परीहरूबाट ज्ञान पाउन थालेँ तबदेखि मैले प्रेतात्माहरूसँगको सङ्गत र नाता जरैदेखि उखेलेर फालिदिएँ ।
परीहरूबारे पनि मैले यहाँ उल्लेख गर्नुपर्छ । तिनको पवित्रताबारे पनि मैले पाठकहरूलाई जानकारी गराउनैपर्छ तर त्यसअघि कस्ताकस्ता खालका प्रेतात्माहरूसँग मैले सङ्गत गरेको थिएँ र किन मोबाइलमा सेभ गरेको ती सबैका नम्बर मैले डिलिट गरेँ त्यसबारे उल्लेख गर्न सान्दर्भिक हुने हुँदा कलम त्यसतर्फ मोड्न लागेको छु ।
चितवनबाट चौध वर्षअघिदेखि मेरो नेतृत्वमा सञ्चालित ‘नारायणी टुडे’ राष्ट्रिय मासिकलाई जीवित राख्न विज्ञापन स्वाभाविक रूपमा आवश्यक्ता पर्ने हुँदा यसकै खोजीको सिलसिलामा भरतपुर नगरपालिकाभित्र सञ्चालित एउटा दाना उद्योगमा कार्यरत एक कर्मचारीसँग सङ्गत हुन पुग्यो । विज्ञापनको सिलसिलाभन्दा अघि पनि उनीसँग मेरो लामै चिनाजानी थियो । मैले विज्ञापनसम्बन्धी कुरा अघि बढाउँदा उनले विज्ञापनबापतको आधा रकम आफू र आफ्नो मुख्य लेखापाललाई दिनुपर्ने आशय व्यक्त गरेँ । पत्रिकालाई बचाउनै मुस्किल भएको अवस्थामा मैले मुटुमाथि ढुङ्गा राखेर प्रस्ताव स्वीकार गरेँ । मैले लगातार ती प्रेतात्माहरूलाई कमिसन दिइरहेँ । आधा कमिसन मात्रै दिएर पुगेन । पे्रतात्माहरूलाई नारायणगढ र भरतपुरका भट्टीमा पेटभरि रक्सी र मासुसमेत खुवाउनुप¥यो । उसै त आधा रकम कमिसनमा दिइसकेको छु त्यसमाथि रक्सी र मासु पेटभरि खुवाउनुपर्ने । प्रेतात्माहरूले दिनसम्म दुःख दिए । प्रेतात्मारूपी लेखापाल रक्सी नखाने तर खसीको मासु फोकटमा खान पाएपछि आठ प्लेटसम्म खाने रहेछ । रक्सीको सट्टा जुस खाँदोरहेछ । एक दुई होइन चार–पाँचवटा बट्टासम्म ढ्याउढ्याउ गर्दै खाँदोरहेछ । कुरा निकै ठूलाठूला गर्ने, संसारका सबै ज्ञान प्राप्त गरेझैं गर्ने, पोखरातिर घर बताउने ती प्रेतात्मा अर्का स्थानीय प्रेतात्माको इसारामा चल्दा रहेछन् । लामो समय प्रेतात्माहरूलाई खुवाउनसम्म खुवाएपछि म थाकेँ । कति खुवाउनु, कतिञ्जेल खुवाउनु ? एक दिन मनमा आयो, ‘अब यी प्रेतात्माहरूसँग सङ्गत गर्न हुँदैन ।’ मनको इच्छालाई आत्माले स्वीकृति दिएपछि सबै प्रेतात्माहरूको मोबाइल नम्बर डिलिट गरिदिएँ । हिजोआज म ती प्रेतात्माहरूलाई फोन गर्दिनँ । तिनको कल पनि रिसिभ गर्दिनँ । एक दिन यो शरीरलाई आत्माले छाडिदिन्छ । आत्मालाई नै तड्पाई–तड्पाई किन ती प्रेतात्माहरूसँग सङ्गत गरिरहुँ ? छाडिदिए“ सङ्गत । कोही धर्मात्मा उद्योगी–व्यवसायी भेटेँ भने विज्ञापन मागौँला । बढी से बढी के नै पो होला र ? पत्रिका प्रकाशनमा अलिअलि अवरोध न हुने हो, त्योभन्दा बढी के होला र ?
दाना फ्याक्ट्रीका प्रेतात्माहरूले मात्रै मलाई दुःख दिएका होइनन् । थुप्रैखाले प्रेतआत्माले मलाई दुःख दिए । कुनै प्र्रेतात्माले मलाई मोटरसाइकल बेचेर पूरै पैसा असुलेर बिलबुक दिएनन् । मैले केही भनिनँ । ‘बेट एन्ड सी’ भन्ने प्रसिद्ध अङ्ग्रेजी वाक्य मैले ख्याल गरेको छु, अर्थात् पर्ख र हेरको नीति अवलम्बन गर्ने विचारमा छु म पनि । एक दिन त्यस्तो आउँछ ती प्रेतात्माहरूको शरीर बूढो हुन्छ, हल न चलको अवस्थामा ती पुग्छन् । दिसापिसाब पनि तिनले ओछ्यानमै गर्नुपर्नेछ । अरूलाई दुःख दिनेलाई परात्माले त्यस्तै फल दिनेछन् । मैले प्रेतात्माहरूलाई क्षमा दिएको छु तर भगवान्ले क्षमा दि“दैनन् । किनकि, परमात्माको नियमै त्यस्तै हुन्छ राम्रो कामको राम्रो फल नराम्रो कामको नराम्रै फल ।
अब चर्चा परीहरूको । परी अर्थात् ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र र उपकेन्द्रका ब्रह्मकुमारी बहिनीहरू । ती असाध्यै सुन्दर छन् । शरीरको छालाको दृष्टिकोणले होइन, ज्ञानका हिसाबले । सकारात्मक चिन्तनका हिसाबले । उनीहरू ज्ञान बाँड्छन्, विवेक बाँड्छन् । काम, क्रोध, लोभ, मोह, अहंकार जो मानव जीवनका सबैभन्दा डरलाग्दा दुश्मन हुन्– उनीहरू ती सबैबाट मुक्त छन् र अज्ञानीहरूलाई त्यस्ता घातक तत्वबाट टाढा रहन सिकाउँछन् । तिनलाई लाली–पाउडर चाहिँदैन । हिलवाला जुत्ता चाहिँदैन, औंठी, सिक्री र अनेकथरीका शृङ्गार सामग्री चाहिँदैन । एउटा मात्रै पुरुषको वासना सुँघेर जीवन बिताउन सक्ने स्त्रीलाई पनि ‘उच्चकोटीको स्त्री’ मानिने गरिएको अवस्थामा उनीहरू त कुनै पनि पुरुषको वासना त परै जाओस् पुरुष नामको तत्वसँग नजिकै पर्न चाहँदैनन् र पूराका पूरा ज्ञानमा मात्रै डुब्न चाहन्छन् । अब तिनलाई कतिसम्मका पवित्र मनका भन्ने ? अचम्मलाग्दा र अति सम्मानलायक छन् तिनीहरू । मैनबत्तीजस्ता छन्, आफू जलेर अरूलाई उज्यालो दिने । फ्लोरेन्स नाइटिङ्गेल र मदर टेरेसाभन्दा कम सम्मानयोग्य छैनन् यिनीहरू । हिजोआज म तिनीहरूको आश्रममा जान्छु । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नारायणगढ जो ब्रह्मकुमारी लक्ष्मीको नेतृत्वमा सञ्चालित छ । ब्रह्मकुमारी अम्बिका, रीता, अञ्जु र ब्रह्मकुमार अर्जुनले मलाई त्यहाँ जीवन र जगत्बारे ज्ञान दिन्छन् । गैंडाकोटको पिसपार्कमा छन् ब्रह्मकुमार मणि अर्थात् मेरा बाल्यकालका साथी मणिकुमार गुरुङ । तिनले पनि मलाई ज्ञान मार्गमा चल्न मद्दत गरेका छन् । कृष्णपुरको उपसेवाकेन्द्र र लङ्कु उपसेवा केन्द्रमा पनि म जान्छु बेलाबखत । सेवा केन्द्र र उपसेवा केन्द्रमा म करिब एक घन्टाजति बस्छु । ज्ञान सुन्छु र मेडिटेसन गर्छु । आफू बोेल्ने, अरूको कुरा सुन्ने, पढ्ने वा लेख्ने कार्यमा समय बिताउने मलाई मेडिटेसन गर्दा असाध्यै गाह्रो भयो । खुब हाँस्न मन लाग्छ । बिस्तारै बानी पर्ला भन्नेमा विश्वस्त छु । म परिवर्तन हुने बाटोमा छु । परिवर्तन भएको छैन । यतिबेला पेन्डुलमजस्तो भएको छु । एक घन्टा ओमशान्तिमा २३ घन्टा प्रेतात्माको बाहुल्य भएको बस्तीमा । यता आउँछु उता जान्छु । यता आउने र उता जाने । पुन्यआत्माको घरमा र प्रेतात्माको बस्तीमा । सबैमा प्रेतात्मा घुसेको छैन बहुसङ्ख्यामा प्रेतात्माले वास गरेको छ । प्रेतात्माको बस्तीमा प्रेम छैन, विश्वास, दया र सहयोगी भावना छैन । कोही चोर्न दाउ हेरेर बसेको छ, कोही अरूलाई हेप्न तयार छ, कोही ठग्न तयार छ, कोही अर्काकी स्वास्नीलाई उछिट्याउन मौका ढुकेर बसेको छ, कोही अरूलाई मार्न खुर्पा खोज्दै छ, कोही कसैको गर्दनमा छप्काउन तरबार खोज्दै छ, कोही कसैलाई पैसा नदिए तोडफोड गर्ने धम्की दिँदै छ, कोही कसैको गोजी ताकेर हेरिरहेको छ, जताततै भद्रगोल छ, हाहाकार र कोलाहल छ । त्यो भद्रगोल, त्यो कोलाहल र त्यो हाहाकारका बीचमा मेरो उपस्थिति २३ घन्टा र शान्त, सभ्य र अनुशासित क्षेत्र अर्थात् ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा जम्माजम्मी एक घन्टा । अब कसरी मेल खाने ? प्रेतआत्माको बस्तीमा १२ घन्टा र पुन्यक्षेत्रमा १२ घन्टा बिताउन पाए म चाँडै परिवर्तन हुने थिएँ होला यतिबेला त्यो सम्भव छैन । यसको अर्थ मैले मानव जीवनको यथार्थ रहस्य बुझ्न धेरै समय लाग्ने पक्का छ । बसाइ र सङ्गतको डोज मिलेन । पाँच सय लिटरको पानीले भरिएको ट्याङ्कीमा एक चम्चा चिनी हाल्दा पानी गुलियो हुँदैन तर चिनीचाहिँ बिलाउँछ । त्यस्तै प्रकारले मेरो एक घन्टा र २३ घन्टाबीच बसाइको डोज नमिल्दा शान्तिधामबाट ज्ञान सिकेर प्रेतात्माको बस्तीमा छिर्नेबित्तिकै कमाएको ज्ञान र विवेकजति सबै स्वाहा । ‘ओमशान्ति भनुन्जेल र एक घन्टा पवित्र आश्रममा बसुञ्जेल मनमा एकप्रकारको शान्ति र प्रेतात्माको बस्ती प्रवेश गर्नासाथ हजारौँहजार खालका तनाव र अशान्ति ।

प्रतिक्रिया
सम्बन्धित खवर

समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई

विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ ।

काठमाडौँ । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। दा भिन्चीले १८ औँ

नयाँ पुस्ताका लागि मोबाइल फोनको लत समस्या बन्दै गएको छ । मानिसहरु प्रायः हिँड्दा र सवारी चलाइरहँदा पनि मोबाइल फोनको

आजको प्रमुख समाचार