जालो -गोमा देवी शर्मा

१९ चैत्र २०६८, आईतवार २३:४१ मा प्रकाशित

धनमायाले बल्ल–तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार–चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै भएन । अदृश्य आत्मालाई काल्पनिक स्वर्गको आनन्द दिने क्रममा आँखाअघिका चार–चारवटा आत्माको जीवन डढेको थाहै भएन ।

मनबहादुर — धनमायाको लोग्ने — सोझो, मिहिनेत, मजदूरी गरेरै भए पनि आफ्नो परिवार पाल्दै थियो । चार छोराछोरी र घर जहान । पैसा नकमाए पनि खान लाउन कमी थिएन । परिवारको गाढी सम्यमित रुपमा चल्दैथियो तर दैबको लीला कसले बुझ्ने ! सेना र उग्रवादीहरूको हानाहान पर्दा बीचमा परेछ बिचरो, चुराचाँदपुरको घनघोर जङ्गलमा । दुइवटा गोलीले जङ्गलमा घास काट्दै गरेको मनबहादुरलाई आफ्नो निशाना बनाएछन । अरुपनि परे दुर्घटनामा, तर त्यस विपत्तिमा कसले कसको गणना गर्ने ?
धनमायामाथि बज्रपात प-यो । अरू घाइतेहरूकासाथ मनबहादुरलाई पनि अस्पताल पु-याइयो । माइतीले दिएको एक तोलाभरको माडवारी बन्दक राखेर उसले आफ्नो लोग्नेको अपरेशनका निम्ति पैसा जोड्ने अठोट गरी । ऊ एकाबिहानै आफ्नो दुखेसो महानन्द पण्डितजीकहाँ पोख्न पुगी ।
पण्डितजीले माडवारी हातमा लिएर तौलेझैँ गर्दै भने – “दुइ पटक ढाल परेको सुन, त्यति राम्रो छैन, तर धर्म–अइनले परेका घरी गरीबको मदत गर्नु भन्छ ….. अहिले भाउ पनि त्यति छैन ….”
धनमायाले गुरुजीका वचन बीचैमा काट्दै भनी — “आठहजार छ अरे, दया गरेर मलाई त्यही हिसाब दिनुहोस् ।”
“तिम्रा कुरा त ठीकै हुन् तर, माल ‘सेकेण्ड हेण्ड’ परेको हुँदा चार हजार लैजाऊ ।” धनमायाको उत्तरको प्रतीक्षै नगरी गुरुजीले खल्तीबाट झिकेर पाँच–पाँच सयका नोट चार हजार गनी दिए ।
उसको विवाद गर्ने समय थिएन, त्यही पनि दैबले जुराएको सम्झी, रुमालमा पोको पारेर अस्पतालतिर लागी । यता पण्डितजीले आज विहान–विहानै लक्ष्मीमाता खुशी भएको कुरा आफ्नी सहधर्मिणीलाई सुनाए ।
मनबहादुरको अपरेशन भयो । छातीको गोली निकालियो । दुइवटा अपरेशन एकैचोटी हुँदा ज्यानको खतरा हुने डरले डाक्टरहरूले पेटको अपरेशन तीन दिन पछाडि गर्ने सल्लाह दिए ।
धनमाया सोझी भए पनि हिम्मतीली । उसको अर्को अपरेशनका निम्ति आफ्नो माइतीले दिएको नौगेडी बन्दक राखी पैसाको बन्दोबस्त गर्ने निर्णय गरी । भोलिपल्ट महानन्द गुरुजीले डेढतोलाको नौगेडी पाँचहजारमा राखिदिएर ऊमाथि ठूलो उपकार गर्नुभयो ।
अपरेशन भयो, सफलताको कुरा डाक्टरहरूले जनाए । दुई दिन, तीन दिन गर्दै दस दिन बिते, मनबहादुरको होश फर्केन । सहरको बसाई, चर्को महँगाई । औषधि, धर्मशालाको खान–पीनको प्रबन्ध, डाक्टरी आदेश – “एक्सरे करना ह, इ.सी.जी. करना है, सीटी स्क्यान ……” अन्य कति हो कति, मानौ प्रत्येक पल प्रत्येक बोली पैसा मै निवास गर्छ ।
दुई महिना बिते, तर मनेको होश फर्केन । हल गोरु गए, खेती गयो । धनमायाले हिम्मत हारिन । ऊ गर्दा हुनेसम्म गर्दै गई, तर डाक्टरहरू पनि बिकाउ हुँदारहेछन् । जेब भरिदिए रोगीको इलाज राम्रोसँग हुने, नत्र केही भन्नै नसकिने । त्यसैले होला डाक्टरहरू अब मनबहादुरततर्फ कम ध्यान दिन लागे । सोधे – “ठीक हो जाएगा, इन्तजार करो” भन्छन् । अन्त्यमा उनीहरूले भगवानको भरोसा दिलाउँदै घर लैजाने सल्लाह दिई मनबहादुर नामको रोगीबाट छुटकारा लिए ।
मृत्युको प्रतीक्षामा परेको आफ्नो लोग्नेको स्थिति देख्दा आज धनमाया पहिलो चोटी हिक्का छाडेर रोई । घरमा रोगी हेर्न आउने–जानेहरूको ताँती । “कठैबरी बिचरा”, “सोझो थियो”, “दैबको खेल”, आदि शब्दहरू सुनिन्छन् । भीडमा कसैले मृत्युञ्जय जाप गर्नुपर्छ, भन्ने जनायो । धनमायाले फर्केर हेरी, पण्डित लक्ष्मीनारायण उभिनुभएको थियो । प्रश्नवाचक दृष्टिले उसले पण्डितजीततर्फ हेरीरही ।
“मृत्युञ्जय जाप अति शक्तिशाली हुन्छ । त्यसले कालका मुखमा परेकालाई जीवन दान दिन्छ” । धनमायाले मानौ अँध्यारोमा ज्योति पाई । आँसु पुछ्दै भनी — “त्यसको विधि के हो गुरुजी ?”
“एक लाख जाप गर्नुपर्छ । एकजना पुरोहितले भ्याउँदैन । पाँचजना चाहिन्छन् । त्यसको चिन्ता तिमीले नलेऊ । परेका घरी म मद्दत गर्छु । तिमीले भोलि आवश्यक सामग्रीहरू तयार पार्नु ,” भन्दै गुरुजीको प्रस्थान भयो ।
दुईदिने जाप सिद्धियो । ब्राम्हणहरू पण्डितजीलगायत उहाँको तेह्र, दश र पन्ध्र वर्षे छोरा र एघारवर्षे भतिज । क, ख, पूर्ण रूपमा छुट्याउन नसक्ने, झन् संस्कृतको त के गति होला ? तर भनाई छ — ब्राम्हण वाक्य अशुद्ध हुँदैन ।
कर्म सिद्धिएपछि गुरुजीको निर्देशन अनुसार प्रत्येक ब्राम्हण देउताहरूले फल–पूmल, दूध, मेवा–मिठाईको फलाहार साथै प्रतिदिनको दक्षिणा डेढ–डेढ सय रुपियाँ पाए । चाँडै रोगीको होश फर्कने आश्वासन दिँदै गुरुजी र उहाँको टोलीको प्रस्थान भयो ।
मनबहादुर तेल सिद्धिएको बत्तीसरह आजभन्दा भोलि, भोलि भन्दा पर्सी झन् क्षीण हुँदै गयो । धनमायाका मनमा निराशाको बादल अझै कालो हुँदै गयो । उसको आशामा बेमौसम तुषारो प-यो । उसले अनेक पटक ईश्वरलाई याद गरी । गोविन्दजीको भाकल गरी, तर ईश्वर पनि बहिरो भएछ क्यार …… ।
हल्चल बन्द भएपछि सबैले बैतरणी गर्ने सुझाव दिए । महानन्द गुरुजी अघि सर्नुभयो । उहाँ बाहेक त्यस नाउलाई किराना लगाउने को ?
“के के चाहिन्छ गुरुजी ?” बलिन्द्र आँशु झार्दै धनमायले सोधी ।
“चामल, टपरी, भेटी आदि त चाहिन्छ नै, एउटा दुहुना गाई पनि चाहिन्छ ।”
“दुहुना गाई ?!” धनमायाले केही विस्मत नजरले गुरुजीतर्फ हेरी ।
“नत्र कसरी मानिस वैतरणी नदी पार हुन्छ त ? ती नदी अति विशाल छन् । आत्मा गौमाताको बलिष्ठ पुच्छरको सहायताले मात्रै नदी पार हुन्छ । स्वर्गलोक जान नदी तर्नुपर्छ । गाई दान नगरेसम्म आत्माले कहिल्यै पार पाउँदैन । ” गुरुजीले मानौ आफ्नै आँखाले देखेर आएको झैँ “वैतरणीको आँखोदेखी” व्याख्या गर्नुभयो ।
आफ्नु स्थिति प्रस्ट्याउँदै धनमायाले भनी – “घरमा त एउटा मात्रै दुहुना गाई छ । त्यो पनि दानमा दिए मेरा दूधमुखे बालकहरूलाई के खुवाउनु ?”
स्थिति बुझेर केहीबेरसम्म सोचेपश्चात गुरुजीले समस्याको समाधान प्रस्तुत गर्दै भन्नुभयो — “त्यसको इन्तजाम म आफैँ मिलाउँला ।”
उसले ठूलो सास फेरी र गुरुजीतर्पm प्रश्नवाचक दृष्टिले हेरी रही ।
“एउटा दुहुना गाई मेरै घरमा छ । अस्ती गाहाकी आउँदा पाँच हजार दिन्छौं भन्दा दिइनँ । मनवहादुरलाई पार लगाउन दैबले त्यसैलाई जुराएको रहेछ । भैगो चारहजार दाम गरौं अरू …….
“चार हजार ……..!!!”
“तिम्रा निम्ति एकहजार कम !”
त्यस बाध्यताबाट उम्कने बाटो खोज्दै धनमायाले विन्ती चढाइ, – “बाछीले हुँदैन गुरुजी ?”
गुरुजीले शान्त भावमा भन्नुभयो – “वैतरणी पार गराउन बाछीले कहाँ सक्छ र ? यो लोक पनि सुध्रेन, परलोक त सुधार्नु पर्छ । हाम्रो धर्मले आत्माको मुक्तिका लागि यसै गर्नुभन्छ । धर्मबाट मुख मोड्नु हुँदैन ।”
मनबहादुरको वैतरणी कर्म भयो । चारहजार कबोलमा ल्याएको गाई कार्य सिद्धिएपश्चात् गुरुजीलाई नै सुम्पिइयो ।
वैतरणी गरेका पाँच दिनपश्चात् रोगीले यसलोकबाट छुट्कारा पायो । धनमायाको आशाको त्यान्द्रो निर्दयतापूर्वक चुँडियो । उसको मानसिक स्थिति कस्तो भयो होला भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ ।
धर्मको कानून सवैले मान्नै प-यो । तेह्रवर्षे छोराको कपाल मुडियो । जसलाई पितृश्राद्ध के हो भन्ने ज्ञानै छैन, उसले पितृलाई तर्पण दियो । समाधान रुपी भनाई छ, “उल्टो–सुल्टो जस्तो जपे पूरा हुन्छ काम ।”
दशौंको कोरो ढिकुरो फुट्यो । गुरुजीले धनमायालाई आपूmसामु बोलाउँदै भन्नुभयो – “भोलि बाह्रौं हो । शास्त्रका वचनअनुसार मृत आत्माको नाउँमा नारायणबलीको कर्म हुनुपर्छ ।”
“नारायणबली …..?”
“अँ, अनि त्यसका लागि अलि सामग्रीहरू चाहिन्छ ।”
“गुरुजी, आजसम्म मैले जान्दा, हाम्रो घरपरिवारमा त कसैको पनि यो कर्म गरेको बुझिन नी” – धनमायले कातर स्वरमा भनी । अबुझहरूलाई शान्त भावमा बुझाई लोकहित गर्नुनै पुरोहित, पण्डितहरूको धर्म हो । गुरुजी धनमायालाई बुझाउँदै भन्नुहुन्छ, – “नारायणबली सबै मृतात्माको हुनुपर्छ । उहिले नजान्दा गरेनन् होला । तर धर्मशास्त्रको वचन उल्लङ्घन गर्नु सय गाई मारेको पाप बराबर हो । शरीरमा जनै लगाईलगाई मर्नु आत्महत्या गर्नु बराबर हो । मने पनि जनैमै मरेको हुँदा उसको आत्माको मुक्तिका लागि नारायणबली गर्नु अनिवार्य छ ।”
एघार दिन, गरुड्पुराणका काल्पनिक बासले आत्तिएकी धनमायालाई आखिरकार महानन्द गुरुजीका सन्धिपत्रमा हस्ताक्षर गर्न करै लाग्यो । बाह्र हात नाघेर भित्तामा कसरी हार्ने ? तर छ–छवटा तामाका गाग्री, पाँचवटा अरु ब्राम्ह्णहरू ! दानदक्षिणा, अन्य आवश्यक सामग्री ……. गुरुजीले धनमायाको मन अनुहारमा पढेपश्चात् जनाउनुभयो – “ब्राम्हण पुरोहितहरूको चिन्ता तिमीले लिनुपर्दैन । सामान भने तयार गर्नु ।”
भोलिपल्ट बिहानै गुरुजी पुरोहितहरूलाई लिई कर्मस्थलमा आउनुभयो । आफ्ना पाँच र छ वर्षे छोरा, तीनवर्षे भतिजो चार र पाँचवर्षे दुई भान्जाहरू धोती कुर्तामा सजिएर मनबहादुरलाई वैतरणी नदी पार गराई इन्द्रासन दिलाउन खटिए ।
बालपुरोहितहरूलाई केही विस्मित नेत्रले धनमायाले हेरी रही ।
“हेर न, गुरु पुरोहितहरू सबै व्यस्त, कोही नभ्याउने । गर्ने कर्म म गरी हाल्छु । भरे दानदक्षिणा यिनीहरूलाई दिने, ” भन्दै गुरुजीले बालपुरोहिततर्पm इशारा गर्नुभयो । कार्यारम्भ भयो । पुरोहितहरू कसैलाई तिर्खा लाग्छ, कसैलाई भोक, कसैलाई पिसाब, त कसैलाई दिशा ……. । एउटा लाठेलाई दिनभरीको काम पुग्यो । साँझ एउटा–एउटा तामाका च्याट्ट परेका गाग्री लिई खल्तीभरी पैसा अनि भरपेट खाएर रमाउँदै ती फुच्चे पुरोहितहरू घर फर्किए ।
यसै गरी तेह्रौंको कार्य सिद्धियो । एउटा भएको गाई पनि महानन्द गुरुजीलाई नै भेटी चढाइयो ।
पतिशोकको घाउ अलिकति पनि नथामी महानन्द गुरुजी र गाउँका साहूहरूले आ–आफ्ना हर हिसाब धनमाया सामु राखी उसको घाउमा नून–चूक हाल्न कति पनि हिच्किचाएनन् ।
सित्तैको तमाशा हेर्न कोही पछि पर्दैन । महानन्दजीले गाउँले बुज्रुकहरूलाई पनि बोलाउनुभयो । पञ्चायतमाझ हिसाब–किताब भयो । उसको भएको जेथोदेखि बढी ऋण पुगेछ । पञ्चायतको केही प्रतिवाद नगरी उसले घर जग्गा र खेती डीक राखेको कागजमा सही छाप लगाई दिए पश्चात मुर्छा भएर लडी । भित्र स–साना बालबच्चाहरू “भोक लाग्यो, भोक लाग्या” भन्दै रोइरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो