नेकपा–माओवादी चैत १ बाट आन्दोलनमा

३० फाल्गुन २०६९, बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वाधीनताको मुद्दामा सशक्त आन्दोलन गर्ने उद्घोष गर्दै आएको नेकपा–माओवादी भोली चैत १ बाट औपचारिक रूपमै सङ्गठित आन्दोलनमा उत्रने भएको छ । पार्टीले अघि सारेका आन्दोलनका एजेण्डामा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्यपरिषद्ले पनि सहमति जनाएपछि माओवादीले चैत १ बाट आन्दोलनका कार्यक्रम सुरु गर्न लागेका हो ।
नयाँ परिस्थितिमा मिलेर आन्दोलन गर्नुको विकल्प नभएको भन्दै नेकपा–माओवादीले सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मोर्चासँग मिलेर आन्दोलन गर्न लागिएको नेता देव गुरुङले जानकारी दिए । उनका अनुसार आन्दोलनको सुरुवात सिंहदरबारबाट हुनेछ । गुरुङले १ चैतमा सिंहदरबार घेराउ गरी प्रशासनिक काम ठप्प पार्ने जानकारी दिए । उनले भने, ‘हामीले उठाएका मुद्दालाई स्थापित गराएर मात्र आन्दोलन रोक्छौँ । सुरुमा हामी सिंहदरबार घेर्छौं, त्यसपछि विस्तारै राजाधानी घेर्नेसम्मका आन्दोलनका कार्यक्रम तय गरी अघि बढ्नेछौँ ।’
उनले सिंहदरबार घेराउ आन्दोलनका सबै तयारी पनि पूरा भइसकेको जानकारी दिए । गुरुङले भने, ‘हामी शान्तिपूर्ण तरिकाबाट सिंहदरबार घेराउ गर्छौं, यदि सरकारले प्रतिकार गर्न खोज्यो र स्थितिले अर्कै रूप लियो भने त्यसको परिणाम सरकारले भोग्नुपर्छ ।’ उनका अनुसार आन्दोलनमा नेकपा (एकीकृत), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्यपरिषद्ले साथ दिनेछन् । त्यस्तै, आदिवासी जनजाति मधेसी मुस्लिम दलित गण्ँतान्त्रिक मोर्चा, खम्बुवान राष्ट्रिय मोर्चा, आदिवासी जनजाति पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) र मंगोल मूलवासी पार्टीले पनि आन्दोलनमा सहभागिता जनाउनेछन् ।
राजनीतिक र संवैधानिक सङ्कटको निकासका लागि वर्तमान सरकारले पदत्याग गरी सहमतिको मार्ग प्रशस्त गरी दलहरूबाटै राष्ट्रिय संयुक्त सरकार गठन गर्ने मागसमेत उनीहरूले गरेका छन् । अन्तरिम संविधान २०६३ ले परिकल्पनासम्म नगरेको न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको प्रमुख बनाउने भन्दै तीन दल र मधेसी मोर्चाबीचको छलफलप्रति कडा आपति जनाउँदै गुरुङले भने, ‘त्यसले राष्ट्रिय स्वाधीनतामा गम्भीर आँच पु¥याउने, अन्तरिम संविधानलाई विस्थापित गर्दै असंवैधानिक दिशामा लैजाने, विगतका आन्दोलनका उपलब्धि गुमाउने तथा दलहरूको भूमिकालाई विस्थापित गर्दै निर्दलीयता र निरङ्कुशताको दिशातर्फ लैजाने देखिएकाले पनि आन्दोलनको विकल्प देखिएन । अर्को आन्दोलनका कार्यक्रम पनि तत्कालै संयुक्त बैठक बसी सार्वजनिक गर्ने जानकारी दिँदै गुरुङले भने, ‘अब आन्दोलनको शृङ्खला सुरु भयो, यसले वारपारको स्थिति निम्त्याउँछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत