०४७ को संविधान नै सर्वोत्कृष्ट विकल्प :: रमेश ग्रहण सिलवाल

२९ फाल्गुन २०६९, मंगलवार १८:५३ मा प्रकाशित

नेपालका स्वघोषित नेताहरू भन्छन्, राजनीति सम्भावना नै सम्भावनाको खेल हो । उनीहरू यो पनि भन्छन् कि राजनीतिमा असम्भव भन्ने केही हुँदैन । जगजाहेर छ हरेक विषयका दुई पाटा हुन्छन्, पहिलो सकारात्मक र दोस्रो नकारात्मक । वर्तमान हाम्रा स्वघोषित नेतागणलाई सोध्न ढिला भइसकेको छ कि अबको नेपालको राजनीतिक सम्भावना सकारात्मक हो कि नकारात्मक । जसरी आफ्नो घरको फोहोर, ढलको निकास पवित्र बागमती र विष्णुमतीले धान्नु परिरहेको छ । त्यसैगरी बागमती सभ्यता र पर्यावरणको ‘स्वच्छ’ गफ हाँक्न पनि परिरहेकै छ । नदीनाला स्वच्छ, सफा, हराभरा पार्नका लागि सर्वप्रथम आफैँले फोहोर गर्न बन्द गर्नुपर्छ । राजनीति पनि त्यस्तै हो । एकजना मात्र नेताको त्याग र तपस्या पनि लाखौंलाख जनताका लागि पे्ररणाको विषय बन्छ, उदाहरणको विषय बन्छ । तर, नेपालमा राजनीति आ–आफ्नो दुनो सोझ्याउने माध्यम बनेको छ । सेवा, समर्पण र त्याग, नेता भनिनेहरूको मन–मस्तिष्कमा फिटिक्कै छैन । राजनीति यति गन्धपुरी बनाइएको छ कि त्यसले सान, शौकत, अहम्, आडम्बर र पैसा मात्र चिन्दछ । समग्रमा राजनीति पूर्णरूपेण व्यापारमा परिणत भइसकेको छ । त्यसकारणले पनि नेपाली राजनीतिमा क्रियाशील कुनै पनि नेतासँग कुनै सहयोग वा सहायताको माग गर्नोस् उसले सबैभन्दा पहिलो फाइदा हुन्छ कि हुँदैन त्यो हेर्दछ । जनता र मुलुकलाई फाइदा हुन्छ कि हुँदैन भन्दा पनि आफू र आफ्नो दललाई कति फाइदा हुन्छ भन्ने आधारमा नेता अग्रसर हुन्छ ।
विश्वका धेरै ठूलाठूला मुलुकमा दुई÷चारवटा दलले काम चलेको छ, विकास भइरहेकै छ तर हाम्रो मुलुकमा सयौँ रङ्गी–बिरङ्गी, फिरङ्गी दल खुलेका छन् । दलीय व्यवस्था भनेको दलीय भद्रगोल होइन । कसैले कसैको अस्तित्व स्वीकार नगर्ने, सबै दललाई आफू निर्णायक हुनुपर्ने र जुनसुकै हथकण्डा अपनाएर होस् आफैँ सर्वाधिक प्रभावशाली र ठूलो हुनुपर्ने अन्तर्निहित महत्वाकाङ्क्षा एवम् अहंकारका कारण आज बहुदलको नाममा दलदल थोपरिएको अवस्था छ । कोही जातको नाममा, कोही धर्म–सम्प्रदायको नाममा, कोही क्षेत्रको नाममा त कोही कथित सिद्धान्तको नाममा गोलबन्ध भइरहेका देखिन्छन् । वास्तविकतामा मुलुकको खोजेको गन्तव्य के हो, जनताले भोगेको समस्या के हो, कसरी सङ्क्रमणकालको सुरक्षित अवतरण गर्न सकिन्छ भन्ने रामै्रसँग जानेर बुझेर पनि गलत उद्देश्यका कारण वर्तमान राजनीतिक नेतृत्वले मुलुक र मुलुकवासीलाई गुमराहमा पारेका छन् ।
एमाओवादी
विघटित संविधानसभाको दाहसंस्कार भइसके तापनि अझै पनि सबैभन्दा ठूलो दल आफूलाई दाबी गरिरहेको एमाओवादीको स्पष्ट सैद्धान्तिक धरातल छैन । एक अर्थमा एमाओवादी भित्र रहेको चिचिन्डोजस्तो भएको छ । आठौँ महाधिवेशनबाट उसले ल्याएको नीतिले गरिबको पक्षमा लड्ने पार्टी भनेर पछि लाग्ने जमात नराम्रोसँग जिल्लिएको छ । त्यसमाथि नेपालको अतिक्रमित सिमानामा जनमतसङ्ग्रह गर्नुपर्छ भनेर उसले प्रस्ताव ल्याएपछि नेपाली जनता एमाओवादीको वास्तविक हेडक्वार्टर कहाँ रहेछ भन्ने भ्रमबाट शतप्रतिशत मुक्त भएका छन् । हुँदाखाँदाको विश्वमै एक मात्र हिन्दू राष्ट्रको पहिचान समाप्त पार्न प्रमुख भूमिका खेलेको एमाओवादीले सम्भ्रान्त वर्गका जनजातिहरूलाई मात्र पहिचान दिने सङ्घीयताको वकालत गर्न भने अझै छाडेको छैन । नेपालका सम्पूर्ण जनजातिले बुझिराखे हुन्छ यो उसको भोटको राजनीतिसिवाय अरू केही पनि होइन । जातीय राजनीति संसारकै सबैभन्दा तुच्छ राजनीति हो । अझ कम्युनिस्टले जातीय सेन्टिमेन्टमा खेल्नु महापाखण्ड हो । नेपालका उत्पीडित जाति–जनजाति वा महिला–मधेसी सबै पिछडिएका समुदायले क्रमशः समक्ष हुँदै गएर आफ्नो हैसियत देखाउँदै आएका छन्, विकास हुने क्रम जारी छ र नेपालको राज्य व्यवस्थामा समयानुकूल रूपले समावेशिता अगाडि बढिरहेको छ, बढ्दै जानेछ, त्यो कसैले रोकेर रोकिन्न ।
प्रतिस्पर्धात्मक प्रजातान्त्रिक व्यवस्थामा कुनै नेपाली नागरिकले आफ्नो क्षमता देखाउन पाउँछ । सक्षम मानिस योग्य नागरिकले कुनै पनि सानाठूला स्थान सुरक्षित गर्न जातपातले छेक्दैन । विद्यमान समस्याहरूलाई किनारा लगाउँदै जान साम्प्रदायिकता फैलाउनुपर्दैन, आग्रह(पूर्वाग्रह र इष्र्या पनि गर्नुपर्दैन, अति राजनीति गर्नुपर्दैन । त्यसकारण एमाओवादीले नेपाली–नेपालीबीच वैमनस्यता जन्माउने र घृणा उत्पन्न गराउने खालका नीति बनाएर हिँड्नु हुँदैन । सत्य–सफा राजनीति गरेर पनि जनताको मन जित्न सकिन्छ । ठूलो पार्टी बनाउन सकिन्छ । सकारात्मक उद्देश्यका साथ समस्या समाधानार्थ यो संसारमा जसले जसलाई सहयोग गरे पनि हुन्छ । तर, राजनीति गर्ने नाममा होस् वा अग्रगामी छलाङ मार्ने नाममा आफ्नै देशलाई परदेश बनाउन लागिपर्नुचाहिँ हुँदैन । त्यसकारण पारदर्शिता र सकारात्मक प्रतिबद्धता नै एमाओवादीबाट अपेक्षित छ । यसका खातिर एमाओवादीको नेतृत्वले सीमित व्यक्ति र अँध्यारो कोठाहरूमा गरिने वार्तालाई सूत्रबद्ध गरेर सञ्जीवनीको डिङ हाँक्नुहुँदैन ।
‘बी’माओवादी
महाभारतमा द्रोणाचार्यले अर्जुनलाई धनुषविद्या सिकाए तर अर्जुन नायक बने चेला भएर पनि । मोहन वैद्यले पनि द्रोणाचार्यकै नियति भोगिरहेका छन् । प्रचण्डलाई चेला बनाए, कुर्सी सुम्पने तर नायक बन्न सकेनन् । अन्ततः आरोप–प्रत्यारोपमा पार्टी टुक्रियो र बीमाओवादी अर्थात् वैद्य माओवादी जन्मियो । जनयुद्धमा साथसाथ लडेका योद्धाहरू अहिले पानी बाराबारको स्थिति पुगेका छन् । अंश वण्डाको स्थितिमा पुगेका छन् । राष्ट्रिय स्वाधीनताको आवाज अलि चर्को स्वरमा सुनिनुबाहेक जातीय राजनीतिमा एमाओवादी र बीमाओवादीबीच तात्विक भिन्नता पाइँदैन । एमाओवादी नेतृत्वको वर्तमान सरकारले अनेकौँ राष्ट्रघाती कार्यहरू ग¥यौँ भन्ने बीमाओवादीको सिलसिलेवार आरोपको एमाओवादी पङ्क्तिबाट खासै खण्डन भएको देखिँदैन । प्रधानन्यायाधीशलाई चुनावी सरकार प्रमुख बनाउने प्रचण्डको प्रस्तावको ऊ उग्र विरोधी हो । बादललाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने बीमाओवादीको निष्कर्ष रहेको छ । अन्य प्रतिपक्षी दलहरूसँग खासै गठजोड गर्न नचाहिरहेको बीमाओवादी आगामी चुनाव दलहरूकै नेतृत्वमा बन्नुपर्छ भन्ने मत राखिरहेको छ जसलाई नाजायज भन्न मिल्दैन । खिलराजकृत चुनावी सरकारले गराउने चुनाव भएमा बहिष्कार गर्नेसम्म चेतावनी उसले दिइसकेको छ । दलीय व्यवस्थामा गैरराजनीतिक चरित्रको सरकार बन्नु दलहरूको असफलता त हो नै र न्यायालयमा पनि राजनीतिक हस्तक्षेपको वातावरण बन्नु दुर्भाग्यपूर्ण अवस्था हो ।
नेपाली काङ्गे्रस
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रणी भूमिका निर्वाह गरेको नेपाली काङ्गे्रस अहिलेको जस्तो निरीह इतिहासमा सायद कहिल्यै पनि थिएन । बीपी कोइरालाको बटमलाइनबाट च्यूत हुनु नै नेपाली काङ्गे्रसका लागि अभिशापसिद्ध भयो । राजतन्त्र उन्मूलन नै गर्नु थियो भने बीपीले अनेक हण्डरठक्कर खानुपर्ने थिएन । अर्थात् आफ्नो अडान र मूल्यामान्यतालाई तिलाञ्जली दिन तयार भएको भए उनी आजीवन प्रधानमन्त्री हुन सक्ने थिएनन् । तर, नेता भनेको अवसरवादी होइन मार्गदर्शक हो जुन गुण बीपीमा थियो । आज लोकतन्त्र भन्नुबाहेक नेपाली काङ्गे्रससँग कुनै ठोस एजेण्डा छैन । एमाओवादीले जसरी घिसा¥यो त्यसरी घिस्रिँदै जाने हो भने अब सेनापतिकै नेतृत्वमा चुनावी सरकार बनाऔँ भन्लान्, के त्यसमा पनि वातावरण र बहस गर्न अग्रसर हुने ? सहमति भन्दैमा आफ्ना आदर्शहरूलाई उसले भुल्नुहुँदैन । बीपी नेपाली काङ्गे्रसका मात्र नेता थिएनन् । उनी नेपालका दूरदर्शी नेता थिए । त्यसकारण सच्चा काङ्गे्रसी नेपालको परिपे्रक्ष्यमा कहिले पनि अन्धो गणतन्त्रवादी हुन सक्दैन ।
एमाले
राजतन्त्र र बहुदलमा पनि कम्युनिज्म फस्टाउन सक्छ भन्ने उदाहरण पुष्पलाल र मदन भण्डारीले दिएर गए । मूलतः नेपाली कम्युनिस्ट आन्दोलन मदन भण्डारीको हत्यापश्चात् दिशाहीन र दिग्भ्रमित बन्न पुग्यो । आजको एमालेभित्र बाहुनहरूको भद्रगोल छ । भित्तामा टाँगिएका महान् कम्युनिस्ट नेताहरूका तस्बिर पश्चिमा राजदूतहरूको आगमनमा हटाइन्छ । तरिका यस्तो छ तर उनीहरू प्रचण्डभन्दा पनि उग्र गणतन्त्रवादी छन् । देशको अवस्था भयावह छ, इतिहासकै जोखिममा छ भनेर राजा ज्ञानेन्द्रले भन्दा जेल हाल्ने धम्की दिइयो । अहिलेको अवस्था जारी रहे मुलुक कहाँ पुग्छ, आफूले राजनीति गर्ने जमिन पनि बाँकी रहला–नरहला त्यसको चिन्ता उनीहरू गरिरहेका छैनन् । आफ्ना मञ्चमा कति सहभागी छन्, कति श्रोतामा वा दर्शक छन् त्यसको आधारमा आफ्नो अस्तित्व र मुलुकको भविष्य खोजिरहेका छन् । जब कि पूर्वमेचीदेखि महाकालीसम्म, संसारभर फैलिएका नेपाली गणतन्त्रभन्दा राजतन्त्र धेरै उचित थियो, राजतन्त्र नरहे नेपाल नरहने पक्का भो भन्न थालेका छन् । एमालेका नेताहरू प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने सवालमा स्पष्ट र एकमत हुन सकेनन् । आज हुँदैहुँदैन भन्छन्, एक रातबितेपछि बाध्यता प¥यो अब नभई हुँदैन भन्छन् । हेक्का रहोस्, खिलराजको नेतृत्वमा चुनावी सरकार बनाउनुभन्दा सबै कथाव्यथा बिर्सेर, मुलुक र जनताको दीर्घकालीन शान्तिहेतु ०४७ को संविधान ब्युँताएर चुनावमा जानु नै सबैको हितमा छ ।
राप्रपा नेपाल र साना दलहरू
‘अरू बेला पर्चा, खाने बेलामा मोर्चा’ भनिने मधेसकेन्द्रित दलहरू सबैभन्दा विचित्रका छन् । उनीहरू कहिले फुट्छन् वा जुट्छन् त्यो उनीहरू आफैँलाई थाहा हुँदैन । परिचालित शक्ति बन्न खोज्दा यस्तो परिणाम आउँछन् । विजय गच्छदार थारू हुन् कि मधेसी हुन्, छुट्याउन मुस्किल छ । महन्थ ठाकुर अहिले नै मुख्यमन्त्रीको हाउभाउमा प्रकट हुन थालिसकेका छन् । पूर्वमहापञ्चहरू दुई हात अगाडि सरेर राजतन्त्रको विरोध गर्छन् । राप्रपा नेपालबाहेक अन्य साना दलहरूको स्पष्ट अडान देखिँदैन । राजतन्त्र पाखा लगाइएदेखि नै अनेक आरोह–अवरोहहरू झेल्दै कमल थापाहरू स्पष्ट अडानका साथ आजका दिनसम्म आइपुग्दा र गणतन्त्रवादी भन्नेहरूले चरम असफलता भोग्दा राजतन्त्र अपरिहार्य छ मुलुकको राजनीतिक स्थिरताका लागि भनी ठान्नेहरूको सङ्ख्या अधिक रूपमा बढिरहेको प्रस्ट छ । मुलुकको धरातलीय यथार्थलाई मध्यनजर राख्ने हो भने सुरुमा मुलुकको धरातलीय यथार्थलाई मध्यनजर राख्ने हो भने सुरुमा केही अस्वाभाविकजस्तो लागे पनि अन्ततः कमल थापाहरूको नैतिक विजय भइसकेको छ । यो राजावादीको मात्र भनाइ होइन आमनेपालीको बुझाइ हो । निश्चित रूपमा प्रजातान्त्रिक मुलुकमा दलहरूले नै शासन चलाउने हो । राजाले शासन चलाउनु प्रतिगमन मान्न सकिएला तर राजसंस्थाको पुनस्र्थापना हुनु आज सबैको आवश्यकता हो जसलाई किमार्थ प्रतिगमन ठान्न सकिँदैन । राजतन्त्र आफैँमा प्रतिगमन हो भन्नु सफेद झुट अर्थात् कुतर्क हो । पुलमुनिबाट खर्बौं क्युसेक पानी बगिसकेको छ । प्रतिगामी सोचले बर्बादी मात्र हुँदोरहेछ भन्ने ज्ञान के राजा ज्ञानेन्द्रमा पलाएन होला र ? गल्ती नगर्ने दुनियाँमा कोही हुँदैन । मानिस जन्मेकै गल्तीबाट पाठ सिक्नका लागि हो । राजाले गल्ती गरे राजतन्त्र फालिएला अनि नेताहरूले गल्ती गरे के फ्याँक्ने हो ? स्मरण रहोस्, राजतन्त्रबिनाको राष्ट्रिय सहमति फेरि पनि धोका नै हुनेछ । नेताहरू खराब भए देश बेच्छन् तर राजाहरू जति नै खराब भए पनि देशचाहिँ बेच्दैनन् ।
अन्त्यमा, को सफल र को असफल भन्ने दिनचर्यामा लाग्नुभन्दा अब आइन्दा सबै राजनीतिक दल, नेता, कार्यकर्ता, जनता सबका सब कसरी सफल हुने र विद्यमान सङ्क्रमणकालको अन्त्य गरी निर्वाचनमा जाने भन्ने विषयमा ठण्डा दिमागले चिन्तनमनन गर्नु अत्यावश्यक छ । नेपालमा स्वतन्त्र व्यक्तिहरू लाखौँलाख छन् । स्वतन्त्र व्यक्तिको नाममा न्यायालयलाई राजनीतिक घानमा हाल्नु अपराध हो । त्यसैले पनि दलहरूका कारण सिर्जित आमसमस्या दलहरूले नै समाधान गर्नुपर्छ । प्रधानन्यायाधीशलाई राजनीतिमा अग्रसर नहुन हामी आग्रह गर्दछौँ । साथै सर्वोच्च अदालतले पनि जसका कारणले मुलुक सङ्कटग्रस्त भएको हो उनीहरूकै पहलले समस्याहरूको समाधान खोज्नुपर्छ भन्ने आसयको फैसला सुनाओस्, शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको

हङकङ । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने