किर्ते कागज बनाएर बेलायतको भीसा लिनखोज्ने सुजातानिकटका खेलाडी कालो सूचिमा

२८ फाल्गुन २०६९, सोमबार १७:५४ मा प्रकाशित

श्रीविक्रम भण्डारी/ काठमाडौं, २८ फागुन । नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठको हस्ताक्षर किर्ते गरेर प्रवेशाज्ञाका लागि आदेवन दिएका नेपालका चर्चित कराते खेलाडी र अन्य पदाधिकारीहरूको कालो कर्तुतको पर्दाफास भएको छ । ती खेलाडी तथा पदाधिकारीले नेपाल ओलम्पिक कमिटीको नक्कली लेटरप्याड प्रयोग गरी त्यसमा महासचिव जीवनराम श्रेष्ठको हस्ताक्षर गरी बेलायती राजदूतावासमा भिसाका लागि आवेदन दिएका थिए । गत फेब्रुअरी १६ देखि १७ तारिकसम्म बेलायतको सेफ स्ट्रिट, सेफिल्डमा आयोजना भएको ‘अमा ओपन इन्टरनेसनल कराते च्याम्पियनसिप’मा सहभागिता जनाउन ओलम्पिक कमिटीको लेटरप्याड चोरी गरी महासचिवको किर्ते दस्तखतसहित आवेदन दिएका थिए ।
नेपाल कराते महासङ्घको नाम बेचेर उक्त प्रतियोगिताका लागि आवेदन दिने खेलाडीहरूमा सुनिल लामा (५५केजी), कुशल श्रेष्ठ (७५केजी) र तारा गुरुङ (६१ केजी) रहेका छन् । त्यस्तै वरिष्ठ प्रशिक्षकमा नेपाल कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामा र टिम म्यानेजरको रूपमा रामकृष्ण श्रेष्ठ रहेका छन् । लामा कबड्डी सङ्घको अध्यक्ष भए पनि उनलाई करातेको वरिष्ठ प्रशिक्षकको रूपमा आवेदनमा प्रस्तुत गरिएको छ । स्मरणीय छ, सुनिल र कुशल दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्ने खेलाडी हुन् भने तारा राष्ट्रियस्तरमै सीमित खेलाडी हुन् ।
कराते च्याम्पियनसिपमा सहभागिता जनाउन प्रवेशाज्ञाका लागि बेलायती राजदूतावासमा आवेदन परेपछि राजदूतावासले नेपाल ओलम्पिक कमिटीसँग सत्यतथ्य बुझ्न सम्पर्क गरेको थियो । जवाफमा एनओसीले आफूले उक्त समयमा बेलायतमा हुने कुनै पनि प्रतियोगिताका लागि खेलाडीहरूको सिफारिस नगरेको भन्दै अनविज्ञता प्रकट गरेको थियो । यसपछि शङ्काको घेरामा परेको यो टोलीलाई राजदूतावासले प्रवेशाज्ञा दिएको थिएन भने एनओसीले यस्तो नक्कली काम गर्ने र चोर बाटो अपनाएर बद्मासी गर्नेहरूको पर्दाफास गर्नेपट्टि लागेको थियो । यसरी विभिन्न छानबिन गरेको एनओसीले वास्तविकता बुझेपछि एनओसीको नक्कली लेटरप्याड, महासचिवको किर्ते हस्ताक्षर प्रयोग गरिएको भेटिएको थियो । अहिले यस्तो घिनौनो कार्य कसले गरेको हो त्यो पत्ता लगाउन र दोषीहरूलाई कारबाही गर्न एनओसी सक्रिय भएर लागेको बुझिएको छ ।
‘यो नक्कली र घिनौनो कार्य कसले गरेका होला ?’ त्यसको बारेमा थुप्रै सवाल उठे पनि निशाना भने कराते खेलाडीद्वय अर्थात् पतिपत्नी कुशल श्रेष्ठ र तारा गुरुङतर्फ सोझिएको छ । उनीहरूकै षडयन्त्रको सिकार अन्य खेलाडी र पदाधिकारी भएको सूत्रले दाबी गरेको छ । कुशल र ताराकै लहलहैमा लागेर वा बहकाउमा आएर अन्य खेलाडी र पदाधिकारीले आफ्नो नाम सुझाएको अनुमान गरिएको छ । अर्को कुरा यी दुईको चर्चिकला र फट्याइबारेमा अन्यलाई थाहा नभएको हुनसक्ने पनि स्रोतको दावी छ । सुनील लामा करातेको जल्दोबल्दो खेलाडी भएकाले उसलाई यस्तो हर्कत गर्न आवश्यक नभएको पनि बुझिएको छ । उसलाई फसाउन र मानमर्दन गर्न कुशल र ताराले उनीलाई बलिको बोका बनाएको पनि सूत्रले बताएको छ । आखिर कुरा जेभए पनि यो किर्ते अभियानमा उनको नाम पनि जोडिएकोले सत्यतथ्य बाहिर नआइन्जेलसम्म सुनीलले प्रतीक्षा गर्नुपर्ने नै छ । सुनील दोषी छन् कि छैनन् यसबारेमा कुशल र ताराको वयान नै महत्वपूर्ण हुनेछ ।
राजदूतावासमा आवेदन दिएपछि कुशल र ताराको जोडी विभिन्न युरोपका देशहरूको भ्रमणमा निस्कन लागेको खेलकुदमा गाइँगुइँ चलेको थियो । फेब्रुअरी १३ तारिकमा बेलायत जाने चर्चा चले पनि अहिलेसम्म यो जोडी काठमाडौं रहनुले पनि यसको प्रत्यक्ष सम्बन्ध त्यही ‘अमा ओपन इन्टरनेसनल कराते च्याम्पियनसिप’ १६ देखि १७ ताखिरसम्म सञ्चालन हुनेसँग जोडिएको छ । त्यही प्रतियोगितामा सहभागिता जनाउन कुशल र ताराले सम्पूर्ण बन्दोबस्त गरे पनि बेलायती राजदूतावासले भिसा नदिएपछि उनीहरू काठमाडौंमै थन्किएको स्रोतको दाबी छ । आफ्नो योजना असफल भएपछि भ्यागुतोझैं उत्तानो पल्टिएको यो जोडीले किर्ते कागजातबारे अहिलेसम्म सोच्ने फुर्सद पाएको छैन । उनीहरूलाई भिसा सतप्रतिशत लाग्ने ग्यारेन्टी थियो । अहिले किन लागेन भन्नेबारेमा मात्र चिन्ता रहेको उनीहरूको निकट स्रोतले बताएको छ ।
बेलायत आवतजावत गर्ने लालकुमार लामासँगको घनिष्ट सम्बन्ध र सुनील करातेका चर्चित खेलाडी भएकाले उनीहरूको नाम भजाएर आफ्नो दुनो सोझ्याउन यो जोडीले यस्तो कुटिल चाल चलेको पनि स्रोतको दाबी छ । अहिले यो जोडी आफूले खनेको खाल्डोमा आफैँ परे पनि किर्ते हस्ताक्षरको पर्दाफासपछि मात्र उनीहरूको होस खुल्ने भएको छ । अहिले अनविज्ञताका साथ खेलकुदमा परेवाको जोडी जसरी घुम्दै आएको यो जोडीको कुकृत्य सार्वजनिक भएपछि कुन दुलोमा पस्ने हुन् त्यो आमखेलप्रेमीका लागि चासोको विषय बनेको छ । काङ्ग्रेस पार्टी कार्यालय सानेपादेखि बुढानीलकण्ठ र महाराजगञ्जसम्म आफ्नो चर्चिकला देखाउँदै आएको यो जोडी काङ्ग्रेस नेतृ सुजाता कोइरालाको निकै निकट मानिन्छ । केही महिनादेखि ओलम्पिक कमिटीमा विशेष उपस्थिति जनाइरहेको यो जोडीले त्यहीबेला ओलम्पिकको लेटरप्याड उम्काउन सफल भएको स्रोतको दाबी गरेको छ ।
किर्ते हस्ताक्षरको सम्बन्धमा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठ जसको किर्ते हस्ताक्षर भएको थियो उनीसँग यस घटनाबारे सम्पर्क गर्दा उनले ‘यो किर्ते काम भएको सही हो’ भने । उनले यो घटनाको यथार्थ जानकारी एम्बेसीलाई गराइसकेको भन्दै यो नक्कली काम कसले गरेको हो त्यसबारे छानबिन भइरहेको बताए । कोबाट र के उद्देश्यबाट प्रेरित भएर एनओसीको नक्कली लेटरप्याड र मेरो किर्ते हस्ताक्षर गरिएको हो त्यो अहिले छानबिनको दायरामा रहेको सुनाए । यो घटनाले आफूलाई कुठाराघात भएको बताउने श्रेष्ठले अब गहन छानबिनपछि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रस्ट पारे । श्रेष्ठले गल्ती गर्ने जोकोही पनि सजायको भागीदार हुनुपर्ने भन्दै आगामी दिनमा पुनः यस्तो घटना दोहोरिन नदिन कानुनी उपचार गर्नुपर्ने जरुरी भएको वताए ।
‘सही डकुमेन्ट प्रस्तुत गर्ने खेलाडी र सबै खेलकुद पदाधिकारीहरूलाई एनओसीले सधैँ सहयोग गर्दै आएको स्मरण गराउँदै उनीहरूले पनि सही बाटो अपनाएको भए सहयोग गरिन्थ्यो,’ श्रेष्ठले भने । यहाँ एनओसीको मूल ढोका खुला हुँदाहुँदै पनि चोरबाटो प्रयोग गरेर एनओसीको मानमर्दन गर्ने कार्य भएको छ । जुन आफैँमा गलत छ । श्रेष्ठले यस्तो नक्कली र गैरकानुनी कार्य गर्न एक–दुईजनाबाट मात्र सम्भव नहुने बताउँदै यसको पछाडि ठूलै गिरोह भएको सङ्केत गरेका थिए । जबसम्म यो गिरोहको पर्दाफास गर्न सकिँदैन तबसम्म खेलकुदमा यस्ता घटना पुनः दोहोरिने ठोकुवा गरे । ‘तसर्थ उनीहरूको मनसाय के हो ? उनीहरूले यो गर्न खोजेका हुन् ? त्यसको गहिराइसम्म पुग्न जरुरी भइसकेको छ,’ श्रेष्ठले भने ।
खेलकुदलाई मागिखाने भाँडोको रूपमा प्रयोग गर्दै आफ्नो दुनो सोझ्याउँदै आएकाहरूले खेलकुदलाई बारम्बार बद्नाम र विवादमा ल्याउने गरेका छन् । अहिले केही खेलाडी पदाधिकारी र प्रशिक्षकहरूले पनि यही बाटो अपनाएर खेलकुदको मुहारमा कालो पोत्ने कार्य गरेका छन् । यसरी आफ्नो व्यक्तिगत स्वार्थसिद्ध गर्न मुलुकको प्रतिष्ठामाथि आघात गर्ने यस्ता व्यक्तिहरूलाई कानुनी उपचार गर्नुपर्ने जरुरी भइसकेको छ । यसका लागि सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घ र नेपाल कराते डोे महासङ्घले उचित कदम उठाई दोषीमाथि कारबाही गर्नुको अर्को विकल्प देखिँदैन । अन्यथा यस्ता ठग र अवसरवादीले खेलकुदको मानसम्मान र प्रतिष्ठालाई अझ कलङ्कित नगर्लान् भन्न सकिँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री