आयल निगमले गर्यो चार दशकमा बैसट्ठी गुणा मूल्यवृद्धि

२७ फाल्गुन २०६९, आईतवार १९:३१ मा प्रकाशित

काठमाडौं, २७ फागुन । पेट्रोलयमलगायतका इन्धन बेच्ने मुलुकको एक मात्र आधिकारिक निकाय नेपाल आयल निगमले तेल आपूर्ति गर्न नसकी उपभोक्ता अत्यन्त मारमा परिरहेका छन् । यही निकायले आफ्नो स्थापनाको ३९ वर्षमा पेट्रोलियम पदार्थमा ६२ गुणाभन्दा बढी मूल्य वृद्धि गरेर ‘कीर्तिमान’ कायम गर्न सफल भएको छ । निगमले ३९ वर्षको अवधिमा जनतालाई राहत दिने नाममा ७८ पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर यस्तो रेकर्ड राखेको हो । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै जनताले उपभोग गर्ने सबै उपभोग्य वस्तुको भाउ सोही अनुपातमा वृद्धि हुँदै गएको छ ।
नेपाल आयल निगमका अनुसार ०२७ साल पुस २६ मा बर्मा सेल डिलरको रूपमा नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्न सुरु गरिएको थियो । त्यतिबेला सरकारको स्वीकृतिअनुसार निजी क्षेत्रबाट पेट्रोलियम पदार्थको कारोबार सुरु गरिएको थियो । तर, पछि सरकार आफैँले एक निर्देशिका बनाई ०३० भदौ १ गतेदेखि सम्पूर्ण कारोबार आफ्नो हातमा लिएको थियो । सुरुमा यस कारोबारमा नाफा हुने देखेर सरकारले नै कारोबार थाले पनि अहिले सरकारलाई निगम घाँडो भएको छ र अब फेरि निजी क्षेत्रलाई पेट्रोलियम कारोबारको जिम्मा दिने निर्णय गरिएको छ ।
सरकारले पेट्रोलियम पदार्थको कारोबार सुरु गर्नु एक वर्षअघि ०२९ सालमा पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर कायम थियो । तर, सरकार आफैँले कारोबार गर्ने पक्कापक्की भएपछि निजी क्षेत्रका व्यापारीले घाटा देखाउँदै ०२९ फागुन ३० गते ५९ पैसा बढाएर दुई रुपैयाँ ५९ पैसा कायम गरिएको थियो । त्यस्तै, सोही वर्षको चैत १ मा फेरि अर्को मूल्य कामय गरी पेट्रोलको मूल्य दुई रुपैयाँ ७० पैसा गराइयो भने डिजल प्रतिलिटर एक रुपैयाँ ९० पैसा, मट्टीतेलको एक रुपैयाँ १९ पैसा कायम गरिएको थियो ।
निजी क्षेत्रको अधीनमा रहेको पेट्रोलियम पदार्थको कारोबार आफ्नो हातमा लिएलगत्तै सरकारले पनि मूल्यवृद्धि गरेको थियो । जसअनुसार प्रतिलिटर पेट्रोल दुई रुपैयाँ ८८ पैसा, डिजल एक सय ९४ कायम गरिएको थियो भने मट्टीतेलमा साविककै मूल्य कायम गर्र्दै एक रुपैयाँ १९ पैसा नै कायम गरिएको थियो । सरकारले यति थोरै मूल्यबाट कारोबार सुरु गरेको पेट्रोलियम पदार्थको मूल्यलाई बढाएर लोकतान्त्रिक गणतान्त्रिक सरकारसम्म आइपुग्दा एक सय २५ रुपैया प्रतिलिटर तथा डिजेल र मट्टीतेलमा ९७ रुपैयाँ पु¥याएको छ । तर, अहिले सरकारले एक सय २३ रुपैयाँमा पेट्रोल बिक्री–वितरण गर्दै आएको छ भने डिजेलमा ९९ रुपैयाँ पु¥याएको छ ।
२०३० देखि २०४६ को १६ वर्षे पञ्चायतकालीन अवधिमा २० पटक पेट्रोलियम पदार्थको मूल्य बढेको देखिन्छ । पञ्चायती शासन अन्त्यताका पेट्रोलको मूल्य प्रतिलिटर २०, डिजेलको १० र मट्टीतेलको ६ रुपैयाँ ९० पैसा थियो । तत्कालीन समयमा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य निकै बढे पनि पञ्चायत सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा जनतालाई प्रत्यक्ष असर गर्ने भन्दै निगमलाई सरकारले नै ‘राहत’ दिएर सञ्चालन गर्दै आएको थियो । ‘त्यस्तै, त्यतिबेला कमिशन तथा भत्ता अहिलेजस्तो दिनु नपर्ने भएकोले पनि त्यति धेरै घाटा परेको देखिँदैनथ्यो,’ निगम सञ्चालक समितिका एक पूर्वअध्यक्षले भने, ‘सुरुमा नाफामै रहेको निमग ०५० सालदेखि धराशायी बन्दै गएको देखिन्छ ।’
०४७ सालमा बहुदल प्राप्तिसँगै जनतालाई राहतका लागि भन्दै तत्कालीन सरकारले १० वैशाख ०४८ मा २० रुपैयाँमा सहजै पाइने पेट्रोलको मूल्यमा एकैपटक ५ रुपैयाँ बढाएर २५ कायम गरेको थियो भने त्यसको १५ दिनपछि २५ वैशाखमा थप तीन रुपैयाँ बढाएर २८ रुपैयाँ कायम गरिएको थियो । त्यस्तै, डिजेलमा डेढ रुपैयाँ बढाएर ११ रुपैयाँ ५० पैसा र मट्टीतेलमा १ रुपैयाँ ७५ पैसा बढाएर नौ रुपैयाँ ७५ पैसा पु¥याएको थियो ।
०४८ सालमा २८ रुपैयाँमा सहजै खरिद गर्न सकिने पेट्रोलको मूल्यमा ०६२/६३ को आन्दोलनपछि बनेको सरकारले प्रतिलिटर ७३ रुपैयाँ ५० पैसा पु¥यायो भने डिजेलमा ५६ रुपैयाँ २५ पैसा र मट्टीतेलमा ५१ रुपैयाँ २० पैसा पु¥याएको थियो । त्यसपछि बनेका सरकारले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्ने भन्दै वर्षका कम्तीमा तीनदेखि सातपटकसम्म भाउ बढाउँदै लगेका छन् । निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्यसूचीअनुसार सबैभन्दा धेरै लोकतान्त्रिक सरकारले वृद्धि गरेको देखिन्छ । सरकारको निर्णय भन्दै निगमले ०६५ सालमा सात, ०६६ सालमा तीन, ०६७ सालमा चार, ०६८ सालमा आठ, ०६९ को हालसम्म तीनपटक मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपालमा पनि मूल्य बढाउँछ तर, घट्दा भने कहिल्यै घटाएको पाइँदैन । उसले भारतीय आयल निगमबाट नेपाल आयल निगमलाई आपूर्ति गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि त्यति पारदर्शी र भरपर्दो बनाउन सकिरहेको छैन ।
सरकारले निगमलाई आफ्नो स्वामित्वमा लिएको पहिलो वर्ष ११ हजार दुई सय ६१ किलोलिटर पेट्रोल खरिद गरिएको थियो । तर, अहिले दुई लाख दुई हजार पाँच सय किलोलिटरभन्दा बढी पेट्रोल मात्र खरिद हुँदै आएको छ । त्यस्तै, २० हजार एक सय १४ किलोलिटर खरिद गरिने डिजेल अहिले ६ लाख ५३ हजार ६ सय किलोलिटरभन्दा बढी पुगेको छ । यस्तै, मट्टीतेल २९ हजार एक सय ५४ बाट बढेर ४३ हजार तीन सय ९९, हवाई इन्धन ६ हजार एक सय ६३ बाट एक लाख नौ हजार नौ सयभन्दा बढी किलोलिटर खरिद तथा बिक्री गर्दै आएको छ । त्यस्तै, एलपी ग्यास सुरुमा १४ मेट्रिक टनबाट एक लाख ८२ हजार पाँच सयभन्दा बढी मेट्रिक टन खरिद तथा बिक्री गरिन्छ । यस्तै, अहिले पेट्रोलियम पदार्थ तथा एलपी ग्यास मागअनुसार आपूर्ति हुन सकिरहेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस