जेठमै चुनाव हुनेगरी सहमतिको तयारी : प्रम भट्टराई

२५ फाल्गुन २०६९, शुक्रबार १८:१६ मा प्रकाशित

रासस/ काठमाडौं, २५फागुन । प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूबीच राजनीतिक निकासका लागि भइरहेको प्रयत्न सकारात्मक ढङ्गले अघि बढिरहेको बताउँदै शुक्रबार साँझसम्म एउटा सहमति हुने विश्वास व्यक्त गरेका छन् । उनले अर्को सरकार छिटोभन्दा छिटो गठन होस् भन्ने प्रयत्न भइरहेको बताउँदै राजनीतिक सहमतिमा हस्ताक्षर हुने बित्तिकै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने पनि बताए ।
“आज साँझसम्म एउटा सहमति हुनेछ, अर्को सरकार छिटोभन्दा छिटो होस् भन्ने प्रयत्न रहेकाले राजनीतिक सहमतिमा हस्ताक्षर हुने बित्तिकै नयाँ सरकार गठनको प्रक्रिया सुरु भइहाल्छ”– प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री डा भट्टराईले भने ।
सरकार गठनका सम्बन्धमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले केही बाधा पार्छकी भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले सुनवाइको प्रक्रिया अघि बढिराख्ने र त्यसले बाधा नपार्ने बताए ।
“सर्वोच्चको फैसलाले बाधा गर्दैन त्यो सुनुवाइको प्रक्रिया हो अघि बढिराख्छ, तत्कालीन प्रक्रिया अघि बढाउनमा त्यसले कुनै व्यवधान गर्दैन, हामी सबैले त्यही नै एउटा समझदारी बनाएका छौं, प्रधानमन्त्री डा भट्टराईले भने ।
आगामी जेठ मसान्तसमम्म अर्को संविधानसभाको निर्वाचनको निम्ति राजनीतिक निकासको लागि प्रयास भइरहेको र अन्तमा आएर बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर निर्वाचन सम्पन्न गर्नु सबैभन्दा उपयुक्त हुन्छ भन्ने निष्कर्षमा दलहरू पुगेको उनले बताए ।
“पहिले एउटा राजनीतिक सहमति हुन्छ जसमा जेठ मसान्तसम्ममा निर्वाचन गर्ने गरी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नेलगायतका कुराहरू समावेश हुन्छन्, अर्को बाधा अड्काउ फुकाउ आदेश जारी गर्नुपर्ने हुन्छ, त्यसमा अन्तरिम संविधानका बाधा अड्काउ फुकाउका लागि सहमतिमा नै विषयवस्तु टुङ्ग्याउने छौं,” प्रधानमन्त्री डा भट्टराईले भने ।
उनले केही राजनीतिक विषयहरू टुङ्गो लगाउन बाँकी रहेको र त्यसमा पनि करिब करिब सहमति भइसकेको बताउनुभयो । राजनीतिक विषय नागरिकता र मतदाता सूचीको प्रश्न, शान्ति प्रक्रियाका बाँकी रहेका काम सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग, माओवादी सेनाका लडाकुको दर्जा निर्धारणजस्ता कुरामा सहमति जुटाउन बाँकी रहेको र त्यसमा मोटामोटी सैद्धान्तिक सहमति बनेको पनि प्रधानमन्त्री डा भट्टराईले जानकारी दिए ।
“आज त्यसमा ठोस सहमति  गरेर टुङ्गो लगाउने र विधिसम्मत ढङ्गले मन्त्रिपरिषद्बाट त्यसलाई पारित गरेर अघि बढाउने प्रयत्न हुनेछ,” प्रधानमन्त्री डा भट्टराईले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस