बाँदरमुढे घटना र प्रचण्डको झुठो राहत :: श्रीधर शर्मा

२२ फाल्गुन २०६९, मंगलवार २२:३१ मा प्रकाशित

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माडीमा ‘माडी महोत्सव’को उद्घाटन गर्दै शशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढेमा भएको घटनालाई आफूले दुखद घटनाको रुपमा लिएको बताए । यसअघि पटक-पटक कार्यक्रम बने पनि माडी नगएका उनले आफू कुनै प्याकेज नलिइकन माडी नजाने अठोट गरेको र सोही अनुरुप अहिले बाँदरमुढे पीडितलाई ६० लाख रुपियाँको सहयोगको निर्णय गरेर आएको बताए । उनले उक्त घटनाका पीडित परिवारलाई सो रकम ‘केकेमा खर्च गर्ने इच्छा छ गर्नु’ भन्ने निर्देशन पनि दिए । उनको भनाइले उनी तत्कालै त्यो राहत बाँडदैछन् भन्ने लागेपनि वास्तविकता भने त्यस्तो थिएन । त्यतिखेर सरकारले औपचारिक रुपमा सो राहतको निर्णय गरेको थिएन ।
सशस्त्र द्वन्द्वका क्रममा २०६२ जेठ २३ गते माडीको बाँदरमुढेमा एउटा यात्रुबाहक बसमा माओवादी कार्यकर्ताले विस्फोट  गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने उक्त घटनामा परी ७० भन्दा बढी घाइते भएका थिए । सोही जिल्ला र माडीको छिमेकका निवासी प्रचण्ड घटनाको ८ वर्ष पछि माडी पुगेर त्यस्तो राहतको घोषणा मात्र गरेनन् उक्त घटनाप्रति माडीबासीसँग माफी पनि मागे । माडी घटना घटेको समय आफू रोल्पाको पहाडमा ओरालो झर्दै गरेको र घटना बारे सुन्नासाथ ‘गल्ती भएको’ र ‘यो पार्टीको केन्द्रीय नीति भन्दा फरक भयो’ भनेर प्रतिक्रिया जनाउनुको साथै  तत्काल बक्तव्य पनि निकालेको उनले स्मरण गरे । उनले पहिले चितवन आउँदा बाँदरमुढे घटनाका पीडित परिवारहरुसँग भेटेर राहतको विषयमा आफूले गरेको बाचा अहिले पूरा गरेको र पीडितहरुसँग क्षमायाचना गर्न यसपटक माडी आएको पनि बताए ।
त्यसो त माओवादीले द्वन्द्वकालमा गरेका अमानवीय कार्यको उल्लेख गरेर साध्य छैन । तर यो घटना अमानवीयताको पराकाष्ठा थियो । माओवादीले आफूलाई चित्त नबुझेका धेरै निर्दोषलाई प्रतिशोधकै भावनाले क्रूर एवं अमानवीय तरिकाले हत्या गरेको थियो । कक्षा कोठामा पढाउँदै गरेको शिक्षक, घरमा आफ्ना परिवारसँग वसिरहेको अभिभावक, घरविदामा गएको सुरक्षाकर्मी होस् वा राष्ट्रसेवक नै माओवादीले धेरैको नृशंश तरिकाले हत्या गरेको थियो । विभिन्न बहानामा थुप्रै निर्दोषको अमानवीय ढंगले हत्या गरेको माओवादीले घटाएका घटनामध्ये बाँदरमुढे घटना युद्ध अपराधको चरम नमुना हो ।
यस्तो जघन्य घटनाको आठ वर्ष पछि घटनास्थल पुगेका उक्त पार्टीका सो घटना हुँदाका बखतदेखि अहिलेसम्मका कमाण्डरले सो घटनाको जिम्मेवारी लिंदै उक्त घटनाका दोषीलाई कारबाही गराउने प्रतिबद्धता जनाउनु पर्नेमा त्यसो नगरी ‘यो पार्टीको नीति अनुरुप घटाइएको घटना नभएको ,घटना घट्ने वित्तीकै आफूले प्रतिक्रिया जनाउँदै घटनाप्रति दुःख व्यक्त गरेको’ भन्दै घटनाको जिम्मेवारी लिनुको सट्टा यसलाई सामान्य बनाएर उम्कने प्रयास गरे जुन अत्यन्त ठूलो विडम्बना हो ।
माओवादी जिम्मेवार पार्टी थियो र घटना यदी साँच्चै पार्टीको नीति विपरीत थियो भने संलग्नहरुलाई तत्काल कारबाही हुनुपथ्र्यो, तर भएन । त्यसो भएको भए यो पार्टीको नीति विपरीत थियो भन्ने स्वीकार गर्न सकिन्थ्यो । तर त्यसो भएन । त्यतिखेर कारबाही नभएको र अहिले केही हुँदै भए त्यसको जानकारी दिनुपर्ने थियो । तर त्यसो गरिएको पनि जानकारी भएन । यसैले घटना पार्टीको नीति विपरीत नै भएको थियो भन्ने मान्न सकिँदैन । प्रचण्डका अभिव्यक्तिमा दोषीलाई कारबाही गरिने कुरा उल्लेख नहुनु बरु घटनालाई सशस्त्र द्वन्द्वकालमा भएका घटनाहरुको श्रृंखलामा भएको एउटा घटनाको रुपमा लिएर त्यसलाई विर्सन आग्रह हुनुले उनको भनाइमा विश्वस्त हुने आधार छैन । यसैले यसो गरेर उनले ६० लाखको मौखिक राहतले उक्त घटनाका पीडित सय भन्दा बढीको अपमान गरेको छ । निर्दोष नागरिकको पीडालाई रुपैयाँसँग साट्ने जुन प्रयत्न जिम्मेवार नेताले गरे जुन अत्यन्त ठूलो विडम्बना हो ।
कुनै पनि घटनामा पीडितलाई राहतको कुरा भिन्नै हो दोषीलाई कारबाही होस् भन्ने अपेक्षा गरिन्छ । तर प्रचण्डले  सरकारले औपचारिक निर्णय नै नगरेको राहतमा सबै कुरा टार्ने प्रयत्न गरे । मानवीय मूल्य र मान्यता विपरीतको उक्त घटनाका पीडितहरुको पीडा कम गर्ने भन्दा त्यसलाई बल्झाउने काम गरे । उनले राहतको कुरा गर्दैगर्दा पीडितहरु जसले प्रचण्ड आगमनको विरोधमा प्रदर्शन गर्दै थिए उनीहरुलाई राज्यको तर्फबाट लखेट्न लगाएर अर्को गल्ती गरे ।
माडी महोत्सव उद्घाटनको उक्त कार्यक्रममा अन्य दलको सहभागिता हुने भनिए पनि प्रमुख दलहरु नेपाली कांग्रेस र एमालेलगायत अन्य दलको सहभागिता रहेन । सहमतिको खोजी भइरहेको समय अन्य दलहरुलाई कार्यक्रममा सहभागी हुने वातावरण बनाई आम जनतामा सकारात्मक सन्देश दिने प्रयत्न हुनुपर्नेमा त्यसो पनि गरिएन । कार्यक्रममा प्रचण्डले जसरी राहतको घोषणा गरे त्यसले पीडितहरुलाई राहतको अनुभूति गराउन सकेन बरु उनीहरुलाई थप आहत बनायो । जिम्मेवार नेताबाट जिम्मेवार व्यवहारको अपेक्षा गरिएको हुन्छ । तर प्रचण्डबाट माडीवासीको त्यो अपेक्षा त पूरा भएन नै उनीहरुलाई पीडा थप्ने काम मात्र भयो जसको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कमै हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

आजको प्रमुख समाचार