सर्वोच्चको फैसला नआउँदै दलहरु किन हतारिए ?

२१ फाल्गुन २०६९, सोमबार ०७:४२ मा प्रकाशित

काठमाडौं, २१ फागुन । चुनावी सरकार गठनअघि मुख्य दलहरुबीच अहिलेसम्म मिल्न नसकेका मतदाता नामावली, सत्यनिरुपण तथा मेलमिलाप आयोगलगायतका विषयमा आइतबार साँझ सकारात्मक प्रगति भएको नेताहरुले बताएका छन् । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकार प्रमुख बनाउने दलीय प्रयत्नविरुद्ध दायर भएको रिट किनारा नलाग्दै रेग्मी नेतृत्वको नयाँ सरकार गठन गर्ने प्रयत्न जारी रहेको एमाले अध्यक्ष झलनाथ खनालले बताए ।
चार प्रमुख राजनीतिक शक्तिका शीर्ष नेताहरुबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक सोमबार राजनीतिक कार्यदलसहित निरन्तर हुने र अन्तिम सहमतिमा लाग्ने तयारीमा आफूहरु रहेको नेताहरुले जनाएका छन् । एमाले अध्यक्ष खनालले आफूहरुबीच सकारात्मक छलफल भइरहेको उल्लेख गर्दै सहमति पत्र र बाधा अडचन फुकाउने दस्तावेज तयार भइरहेको जानकारी दिए । टुंगोमा पुगिनसकेको भए पनि धेरै सकारात्मक कुराकानी भइरहेको उनको कथन छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सक्रियतामा आइतबारको बैठक बसेको बुझिएको छ ।
खनालका अनुसार रेग्मी नेतृत्वको सरकार आगामी २२ गतेअगावै बनाउने प्रयत्न भइरहेको छ । तर, राष्ट्रपति र प्रधानन्यायाधीश दुबैले सर्वोच्चको फैसलालाई कुर्ने यसअघि नै बताइसकेका छन् । यस्तो अवस्थामा दलहरुले चाहँदैमा सरकार बन्ला त भन्ने सवालमा खनालले कोर्टको फैसला कुर्नैपर्छ भन्ने आफूहरुलाई नलागेको जवाफ दिए । सर्वोच्च अदालतको फैसलाको प्रतीक्षा नगरी तत्काल सरकार गठन गर्नुको औचित्यबारे एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेठमा चुनाव गराउन पाए हुन्थ्यो भन्ने भएकोले एक दिन पनि ढिला नगर्ने मनस्थिति आफूहरुले बनाएको तर्क गरे । दलहरुबीच मतदाता नामावलीलगायतका विवादित मुद्दामा सहमति बनिनसकेको अवस्थामा उनीहरु २४ गतेअगावै सरकार गठन गर्न हतारिनु त्यति स्वाभाविक भने मानिएको छैन । दलहरुको प्रस्तावमा धेरै दिन मौन रहेर गत सोमबार चुनाबी सरकारको नेतृत्व गर्न तयार रहेको अभिव्यक्ति सार्वजनिक गरेका प्रधानन्यायाधीश खिलराज रेग्मीले त्यसैदिन अदालतको फैसला पर्खने जनाउ दिएका थिए । सर्वोच्चमा परेको रिटको फैसला हुनुअघि नै दलहरुले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने गरेको हतारोलाई विश्लेषकहरुले सर्वोच्च अदालतको निर्णयलाई प्रभावित बनाउने चालको रुपमा पनि टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार