‘चौतारी’ कब्जा गर्न ‘एमाले-पत्रकार’हरु दौडधुपमा

१८ फाल्गुन २०६९, शुक्रबार १३:५५ मा प्रकाशित

काठमाडौं, १८ फागुन । युवा सङ्घमा महेश बस्नेत प्यानलले विजय प्राप्त गरेलगत्तै एमालेसम्बद्ध पत्रकार संगठन प्रेस चौतारी नेपालको नयाँ केन्द्रीय नेतृत्वका लागि तँछाड्मछाड् शुरु भएको छ । विराटनगरमा यही फागुन २५ र २६ मा सातौं महाधिवेशनबाट चौतारीको नयाँ नेतृत्व चयन हुँदैछ ।
चौतारीको अध्यक्षमा अहिलेसम्म तीन प्रतिस्पर्धी मैदानमा देखिएका छन् । तर, दोहोरिन चाहेका वर्तमान अध्यक्ष गगन विष्ट सर्वसम्मत नेतृत्व चयनका लागि पार्टीले हस्तक्षेप गर्नुपर्ने र आफूलाई नै दोहो¥याउनुपर्ने नीति कार्यान्वयनको पक्षमा रहेका बताइन्छ । यही नीतिअनुसार अघिल्लोपटक अध्यक्षमा पराजित भएका प्रमोद दाहाल आफूमा सहमति बनाउनुपर्ने पक्षमा छन् भने पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, पत्रकार महासंघका पूर्वउपाध्यक्ष गोपाल बुढाथोकी वा वर्तमान वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यलाई सर्वसम्मत अध्यक्ष बनाउने विकल्पबारे पनि बल्खुमा चर्चा चलिरहेको बताइन्छ । अहिले मध्यमाञ्चल उपाध्यक्ष राजेन्द्र अर्याल र महासचिव विष्णु रिजाल अध्यक्षको रुपमा मैदानमा बढी देखिएका छन् । तर, अघिल्लोपटक दाहालको समर्थनमा उम्मेदवारी फिर्ता लिएका ओली खेमाका गणेश बस्नेतले यसपटकका लागि पनि उम्मेदवारी घोषणा गरेका छन् । केही दिनयता उनी सक्रियतासाथ प्रचारमा छन् । वरिष्ठ उपाध्यक्षका लागि बालकुमार नेपाल, प्रकाश खतिवडा र दुर्गाप्रसाद शर्माको नाम चर्चामा छ ।
यसबाहेक पाँच क्षेत्रीय उपाध्यक्षका लागि पनि उत्तिकै प्रतिस्पर्धा चलेको छ । पूर्वाञ्चलबाट माधव विद्रोही, कुशलबाबु बस्नेत, चेतन अधिकारी मैदानमा छन् । मध्यमाञ्चल उपाध्यक्षमा पूर्वकेन्द्रीय सदस्य देवराज रिमाल, शत्रुघन नेपालहरु देखिएका छन् । पश्चिमाञ्चलमा मुकेश पोखरेल र रामकृष्ण शर्माको प्रतिस्पर्धा हुने भएको छ । मध्यपश्चिममा सुदर्शन रिजाल, सुरेन्द्र काफ्लेसहितका उम्मेदवार छन् । सुदूरपश्चिमबाट राजेन्द्र विष्ट, प्रकाशविक्रम शाहलगायतले पतिस्पर्धा गर्ने भएका छन् । महासचिव पदमा वर्तमान सचिवहरु माधव नेपाल, लक्की चौधरी र अघिल्लो पटक कोषाध्यक्षमा पराजित रामहरि सिलवाल देखिएका छन् । सर्वसम्मत नेतृत्व चयन हुने स्थिति आएमा दृष्यमा देखिएका महासचिवका यी तीनै अनुहारलाई अन्य जिम्मेवारी दिने र बीचबाट अरु कसैलाई ल्याउने तयारी चलिरहेको चर्चा छ । सबैभन्दा बढी उम्मेदवारी सचिव पदका लागि छ । तीनवटा सचिव छानिनका लागि १५ भन्दा बढी पत्रकार सक्रिय छन् । अहिलेसम्म अगाडि आएकामा आदिवासी जनजाति तर्फका केन्द्रीय सदस्य राजेश राई, नारायणीका रामकुमार एलन, सुदूरपश्चिमका नरेन्द्र साउद, टीका विष्ट, शान्ति गुरुङ, रामकृष्ण बोहोरा, डिल्ली पोखरेल, शाहीकालमा गठित राजावादी पत्रकारहरुको राष्ट्रिय पत्रकार महासंघका सदस्य गणेश पाण्डेसम्म सक्रिय भएका छन् । कोषाध्यक्ष पदमा हालसम्म विश्वमणि सुवेदी र नवराज छत्कुली अगाडि आएका छन् । केन्द्रीय सदस्यमा उपत्यकाबाट शुरोजंग पाण्डे, विष्णु बेलबासे, अमृतनाथ तिमिल्सिना, सोम शर्मा बजगाईंहरु प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने