वास्तविक साम्यवादी वीपी कि प्रचण्ड ? :: अधिवक्ता दामोदर पौडेल

१६ फाल्गुन २०६९, बुधबार १८:४४ मा प्रकाशित

रोल्पामा समेत असफल भएको कम्युनको नयाँ ढाँचा ल्याउन माओवादीले आफ्नो सातौँ महाधिवेशनमा उत्पादन र निर्माण ब्रिगेड बनाउने घोषणा गरयो । यो ब्रिगेडले देशमा उत्पादन र उद्योग तथा निर्माणका लागि काम गर्ने हो भनिएको तर यसले त्यसो गर्ने हो कि देशभर नै सङ्गठन बनाएर सरकारी पैसा आफ्नो सरकार आएमा वा रहेमा मिलेर र अरूको सरकार भएमा धम्क्याएर कार्यकर्तालाई खुवाउने बाटो खोजिएको हो भविष्यले नै देखाउनेछ । यसो नभए अवश्य पनि यो जनता भ्रमबाट मुक्त भए पनि कार्यकर्तालाई अझै भ्रम पार्न गरिएको योजना हो । माओवादीले गठन गरेका कथित कम्युनहरू धाराशयी हुँदै अन्त्य भएको र सम्भवतः दुईवटा मात्र मुस्किलले चलेको र नेताहरूले बेवास्ता गरेको अवस्थामा कम्युनवादी यो नयाँ धारणा कागजमा मात्र उपयुक्त हुने उनीहरूकै व्यवहारले देखाएका छन् । सत्तामा नपुगेसम्म मात्र माओवादी नेताहरू कम्युनमा बस्ने हुन् र सत्तामा पुगेपछि त्यो कम्युन गनाउँछ र करोडौँ पर्ने आलिशान भवनहरू र चौरासी ब्यन्जन नै चाहिन्छन् भन्ने उनीहरूले देखाएका छन् । कम्युनहरू त जनतालाई देखाएर सत्तामा जानुभन्दा पहिला मूर्ख बनाउने माध्यम हुन् भन्ने विगतले देखाएको छ ।
यो फर्मुला चीनमा माओको समयमा लगाइएको थियो । सबै भ्रष्ट कम्युनिस्टहरूले गर्दा र यसमा रहेको स्वाभाविक कमजोरीले यो परिपाटी घृणित भयो र चकनाचुर भएर अन्त्य भयो । किसान र मजदुरलाई पीडा दिएर र किसान र मजदुरलाई काम गर्न भने लगाउने तर माम भने कम्युनिस्ट बलिया बाङ्गा र बाठाहरूले नै खाने भएकोले करिब पाँच करोड चिनियाँ त्यस समयमा मरेको अनुमान छ । यो त्यतिबेला अर्थात् सन् १९५८ पछिको दशकको जनसङ्ख्याको हिसाबले करिब देशको जनसङ्ख्याको १२ प्रतिशतभन्दा बढी हो । यही कार्य स्टालिनले लेनिनको मृत्युपछि १९३० को दशकमा केही फरक किसिमले गरेका थिए । पहिला उनले कम्युनको माध्यमद्वारा उत्पादनमा जोड दिए । त्यो सफल भएन र धेरै मानिस खान नपाएर मरे । त्यसपछि सम्पत्तिको जिम्मा किसानलाई दिने तर निश्चित हिस्सा सरकारलाई दिनुपर्ने व्यवस्था गरेपछि उत्पादन बढी भयो । तर, कामचोर र उत्पादन लुकाएको भनेर किसान र मजदुरलाई यातना दिइदिई कम्युनिस्ट तिघ्रेहरूले मारेका थिए । केही खान नपाएर मरेका थिए । सरकारले किसान र मजदुरबाट सस्तोमा किन्ने र त्यही सामान पछि उनीहरूलाई बेच्दा २० गुनासम्म बढी मूल्य लिने गरेको अवस्था थियो । त्यो समयमा पनि रुसमा करिब १० प्रतिशत किसान र मजदुर मरेका थिए ।
सत्तामा पुग्न भ¥याङको रूपमा प्रयोग भएका किसान–मजदुर कम्युनिस्टहरूका लागि सत्तामा पुग्नुभन्दा पहिला राम्रोसँग हात मिलाउन योग्य सहयोद्धाहरू थिए भने सत्तामा पुगेपछि उनीहरू कम्युनिस्टहरूका दास बन्न पुगे । स्टालिनकी छोरी श्वेतलानाले कलेज पढ्दा आफ्नी गरिब किसानपुत्री साथीलाई आफ्नो कारमा लगेको स्टालिनले थाहा पाएपछि साथीलाई छोड्नुपरेको थियो । पछि उनले कम्युनिस्ट नेता तथा श्वेतलानाका पिता स्टालिनको विरोध गर्दा देश नै छोड्नुपरेको थियो ।
रुसमा अहिले पनि भ्रम चिर्न नसकिएकाले केही मानिसमा स्टालिनले हिटलरलाई हराएको भ्रम छ । यो मिथ्या हुनु एक अर्थमा स्वाभाविक पनि हो । किनभने कम्युनिस्टहरूले आफ्ना विपक्षका प्रमाणहरू नास गरेका हुन्छन् र आफ्नो पक्षमा प्रयोग गर्न मिल्ने झुटा कुराहरू राखेका हुन्छन् । वास्तवमा हिटलर र स्टालिन मिलेर जर्मनीभन्दा पश्चिममा हिटलरले उपनिवेश चलाउने र स्टालिनले विरोध नगर्ने जमनीदेखि पूर्वमा स्टालिनले कम्युनिस्ट उपनिवेश चलाउने योजनाअनुसार द्वितीय विश्वयुद्धको सुरुवात भएको थियो । तर, हिटलरले बेइमान गरेर पूर्वमा पनि हमला गरेपछि मात्र स्टालिनले हिटलरको विरोध गरेका थिए र हिटलरको विरुद्धमा लडेका थिए । रुसी कम्युनिस्टहरूले चौधवटा राष्ट्रलाई कागजमा स्वेच्छिक युनियन बनाएर व्यवहारमा जबर्जस्ती रुसमा गाभेका थिए । पछि उनीहरूले स्वतन्त्रता लिए । जबर्जजस्ती नभएको भए कम्युनिस्ट व्यवस्था हुँदासम्म बोल्न नसक्नेहरू त्यो व्यवस्था अन्त्य भएपछि किन अलग भए ? यसको उत्तर कम्युनिस्टहरूसँग छैन । यद्यपि लोकतन्त्रको स्थापनापछि सोभियत सङ्घ एक हुन सकेको भए विश्वले धेरै सकारात्मक कुरा पनि पाउने थियो । त्यस्तै, लेनिनले जर्मन शासक हिटलरबाट पहिला भत्ता लिने गरेका तथ्यहरू पनि बारम्बार उल्लेख गरिन्छन् ।
के कम्युनिस्टको राष्ट्रवाद भनेको ठूलाले जे भन्यो सानाले त्यही मान्नु र ठूलाको अधीन स्वीकार गर्नु हो ? चीनको पनि कम्युनिस्ट भियतनामसमेतसँग सीमा–विवाद छ । यद्यपि चीन–नेपालको सम्बन्धमा जहिले पनि असल मित्र रहिआएको छ । विश्व नै एउटा समाज हो पनि भन्ने, सर्वहारा विश्वभरकै एक हुन् पनि भन्ने र ठूलो देशको सर्वहारा (?) ले साना देशका सर्वहारालाई जे पनि गर्न हुने ?
प्रचण्डले नेपालसमेत मिलाएर दक्षिण एसियायी सोभियत बनाउने योजना उनको हिंसात्मक समयमा उल्लेख गरेका थिए । त्यसपछि हिंसा सकिनासाथ जातीय राज्यको कल्पना गरेर जातिका बीच झगडा गराएर किस्तामा विदेशलाई देश बुझाउने भाका बोल्न थाले । अहिले आएर माओवादीले हेटौँडाको सातौँ महाधिवेशनसमेतमा सुगौलीको सन्धि र देशका सीमा–विवाद जनमतबाट मिलाउने भन्न थालेका छन् । प्रधानमन्त्री बाबुरामले यसको प्रशंसा गरेका छन् । यो कित्ता–कित्तामा होइन एकमुष्ट नै विदेशलाई बुझाउने नीति हो । नेहरूले भारतको सिमाना हिमालय हो भन्दा बीपीले विरोध गरेका थिए । अब त हिमालसम्म भारत हो कि होइन भनेर विवाद आएकाले जनमत गर्नुपर्छ भन्न पनि माओवादी तयार भएको देखियो । प्रस्ट नै छ, भारत र नेपाललाई एकै मतदानको हैसियतमा राखेर मतदान हुने हो भने नेपालको अस्तित्व रहँदैन । तर, हामी अहिले पनि वाल्ल परेर माओवादीहरूको कार्यको तमासा हेरिरहेका छौँ । यो माओवादीको कस्तो राष्ट्रवाद हो ? कम्युनिस्टहरूमा पनि कोही राष्ट्रवादी हुँदा रहेछन्, यसको विरोध गर्नेमध्ये वैद्य पक्षहरू पनि धन्यवादका पात्र छन् ।
सरकारमा नपुग्दासम्मको कालापानी, सुस्ता, १९५० को असमान सन्धि तथा सुगौलीको सन्धिसमेतका सम्बन्धमा नाराबाजी गर्ने र मित्रराष्ट्रलाई गाली गरेकोजस्तो गर्ने माओवादीले अहिले सीमा सम्बन्धमा जनमत गर्ने कुरा गरिसकेकाले पहिला भनिएका कुराहरू चुनावी नारा मात्र रहेछन् भन्ने प्रस्ट भएको छ । अब भारतका एक अर्ब तीस करोड र नेपालका अढाई करोड जनताको जनमतसङ्ग्रहले बहुमतको आधारमा निर्णय गर्ने माओवादी मनसुवा हो भने उनीहरूका नेतालाई सानो देशको प्रधानमन्त्री हुनुभन्दा ठूलो देशको मुख्यमन्त्री हुनै ठीक लागेको छ भन्ने मान्नुपर्ने हुन्छ ।
चुनाव जित्नका लागि विभिन्न चर्का नारा लगाउने र चुनाव जितेपछि सत्तामा बस्न विरोध गरिएकाहरूको समर्थन गरेपछि नै सजिलो हुँदा उनीहरूको ताबेदारी गर्ने कार्य भएको छ । राष्ट्रियताको नारालाई उल्टाएर सत्तासँग साट्ने कार्य गर्दा हामीहरूको हैसियतलाई उनीहरूले के गरेका छन् भन्ने प्रस्ट हुँदैन र ? अग्रगमनको पक्षधर एक मात्र दल एनेकपा माओवादी मात्र हो र अरूले क्रान्तिलाई धोका दिएका छन् भन्ने उनीहरूको अग्रगमन अहिलेसम्म जनताले पीडाको माध्यम रहेछ भनेर देखेकै छन् । राष्ट्रियता बलियो बन्दुक देखाएर जनतालाई तर्साउँदै सत्तामा जानेहरूबाट हुँदैन । यो त जनतालाई सजग, सक्रिय, चेतनशील, विकसित, क्षमतावान बनाएर मात्र हुन्छ भन्ने हामीले बुझेका छौँ, तर यसमा सङ्गठित हुन सकेका छैनौँ ।
लेनिनले देशमा सच्चा कम्युनिस्ट पार्टी एक मात्र हुने बताएका हुँदा नेपालमा पनि एउटा मात्र सच्चा कम्युनिस्ट पार्टी प्रचण्ड र बाबुरामहरूको माओवादी नै हो भन्ने हो भने चित्रबहादुरहरू, ओलीहरू, झलनाथ तथा वैद्यहरूले पनि जनतालाई उत्तर दिनैपर्छ कि वास्तवमा जोसँग बन्दुकको प्रयोग गर्ने कला बढी छ र बन्दुक बढी छन् उनीहरू नै वास्तविक साम्यवादी हुन् कि होइनन् ? माओवादी साम्यवादी हुन् भने उनीहरू आफूचाहिँ के हुन् ?
के हामी नेपाली जनता पढेकाहरू पनि यो अवस्थाबाट चेत्नुपर्दैन ? कम्युनिस्ट विचारमा लोभले लाग्नेहरू र भ्रमले लाग्नेहरू तथा त्रासले लाग्नेहरू लागेकै होलान् । तर, यो सबै बुझ्नेहरूले यो विचारको माध्यम रहेको भनिएको कम्युनिस्ट पार्टीप्रतिको मोह त्याग्नुपर्ने होइन र ? बहुलवादको माध्यमबाटै साम्यवाद आउन सक्दछ, त्यो विकासबाट आउन सक्दछ र त्यसका लागि पहिलो आधार जनजीविकाको ग्यारेन्टी र विकासको फ्युजन भएको सम्झने बीपीहरू साम्यवादी कि बन्दुक बोकेर जनतालाई साम्यवाद जिन्दावाद भन्न लगाउनेहरू साम्यवादी ? साम्यवाद त गल्ती गर्नेहरूलाई सजिलैसँग हटाएर राम्रो गर्नेहरूलाई ल्याउन पाउने जनताको अधिकार हुनुपर्छ भन्ने बीपीको सोच हो । यो सोच र व्यवहार पुँजीवादी हुन्छ भने नारा नै साम्यवादको मूलमन्त्र हो भन्ने मान्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको

हङकङ । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने