प्रधानन्यायाधीशले प्रचण्डलाई एक्लै भेट नदिएपछि…

१६ फाल्गुन २०६९, बुधबार १८:२३ मा प्रकाशित

सन्देश शर्मा/ काठमाडौं, १६ फागुन । सधैं शान्त र चिसो देखिने, विवादमा पर्नबाट जोगिन नबोल्ने या कम बोल्ने र मानिसहरूसँग भेट गर्न पनि सचेत रहने प्रधानन्यायाधीश खिलराज रेग्मीले गत आइतबार एमाओवादी अध्यक्ष प्रचण्डले एक्लै भेट्न गरेको अनुरोधलाई लत्याइदिनुभयो । प्रधानन्यायाधीश रेग्मीसँग प्रचण्डले एक्लै भेट गर्ने उद्देश्यले आइतबार बिहान आठ बजेको समय लिनुभएको थियो । अघिल्लो दिन शनिबार नै तय भएअनुसार प्रचण्ड आइतबार बिहान प्रधानन्यायाधीशको निवासस्थान बालुवाटार पुग्नुभयो । तर, प्रचण्ड आफूलाई भेट्न एक्लै आएको बुझेपछि रेग्मीले भेट गर्न अस्वीकार गर्नुभयो । प्रचण्डले अघिल्लो दिन भेट्न चाहेको जानकारी गराउँदै समय माग गरेपछि रेग्मीले आफ्नै निवासमा बिहान आठ बजे आउन भन्नुभएको थियो । उहाँले समय प्रचण्डले लिए पनि सम्भवतः नेताहरूको समूह नै आउने अपेक्षा गर्नुभएको रहेछ । तर, अपेक्षाविपरीत प्रचण्ड एक्लै आउनुभएपछि रेग्मीले भेट गर्न उपयुक्त ठान्नुभएन र नभेटीकनै प्रचण्डलाई फर्काइदिनुभयो ।
त्यसरी समय दिएर भेट गर्न जाँदा पनि नभेटी फर्काइएपछि प्रचण्डले आफू अपमानित भएको महसुस गर्नुभएको बताइन्छ । कुनै बहानाबाजी गरेर रेग्मीलाई सरकारको जिम्मेवारी नदिने गुप्त कसरतमा रहनुभएका प्रचण्डलाई त्यस घटनापछि एउटा अर्को निहुँ मिलेको थियो । त्यसपछि प्रचण्डले सोमबारसम्मको समय–सीमा दिँदै प्रधानन्यायाधीशको विकल्पबाट पछि हट्ने तानाबाना बुन्नुभएको थियो र यस क्रममा आफ्नो पार्टीका शीर्षस्थ नेताहरूसँग छलफल पनि गरिसक्नुभएको थियो । सोमबार बिहान (फागुन १४) प्रधानमन्त्रीसहित चार दलका नेताहरूसँगको संयुक्त भेटमा प्रधानन्यायाधीश रेग्मीले आफू राष्ट्रिय दायित्व निर्वाह गर्न तयार भएको जनाउ दिएपछि प्रचण्ड चकित पर्नुभएको छ । आफूलाई प्रधानन्यायाधीशले एक्लै भेट गर्न किन नचाहनुभएको हो भन्ने कुराको जानकारी शायद अहिले पनि प्रचण्डलाई छैन । प्रचण्डले हेटौ“डामा सम्पन्न महाधिवेशनमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विकल्प प्रस्तुत गर्नुलाई रेग्मीले अस्वाभाविक र आपत्तिजनक ठान्नुभएको थियो । त्यसप्रकारको विकल्प प्रस्तुत गर्ने उपयुक्त ठाउँ कुनै पार्टीविशेषको महाधिवेशन नभई सर्वदलीय बैठक या त्यस्तै कतै हुनुपथ्र्यो भन्ने प्रधानन्यायाधीश रेग्मीको आसय थियो । प्रचण्डको प्रस्तावमा सरकारप्रमुखको जिम्मेवारी लिएको देखिँदा आफ्नो निष्पक्षतामा प्रश्न उठ्ने सम्भावना भएकाले पनि रेग्मी सचेत हुनुभएको थियो । त्यसमाथि प्रचण्डसँग एक्लै र बेग्लै बैठक गर्न थालेपछि झन् विवादमा परिने कुराले उहाँलाई चिन्तित तुल्याएको बताइन्छ । यस घटनाले रेग्मी आफ्नो निष्पक्ष एवम् निर्विवादित व्यक्तित्वप्रति कुन हदसम्म सचेत हुनुहुन्छ भन्ने स्पष्ट देखाएको छ । त्यसैले आगामी निर्वाचन (जहिले भए पनि) मा रेग्मी पूर्ण निष्पक्ष भूमिकामा रहनुहुने विश्वास बढाएको छ । न्याय सेवामा दशकौँ बिताउँदा पनि कहिल्यै कुनै प्रकारको विवादमा नपर्नुभएका रेग्मीलाई डीआईजीपी बढुवा प्रकरणमा एक नातेदार प्रहरीले दिएको मुद्दामा भने आफन्त र नातेदारहरूको प्रभावमा परेको टिप्पणी केही पत्रपत्रिकाले गरेका छन् । तर, त्यसको अन्तिम फैसला नआइसकेको परिप्रेक्ष्यमा उहाँमाथि त्यसप्रकार टिप्पणी गर्नुको कुनै अर्थ रहने देखिन्न । यदि जनता तथा दलहरूले निष्पक्ष निर्वाचन साँच्चै चाहेका हुन् भने प्रधानन्यायाधीश खिलराज रेग्मी त्यसका निम्ति सर्वाधिक उपयुक्त पात्र भएकोमा शङ्का गरिरहनुपर्ने छैन । जस–अपजस (यश–अपयश)का भागी स्वयम् बन्ने गरी रेग्मीलाई जिम्मेवारी दिन दलहरूले कञ्जुस्याइँ गरेनन् भने उहाँले निष्पक्ष निर्वाचन गराएर दलहरूलाई सत्ता हस्तान्तरण गर्ने पूर्ण विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय