किन गरे दलहरुले आफ्नै खुट्टामा बन्चरो हान्ने अनौठो निर्णय ?

८ फाल्गुन २०६९, मंगलवार ०९:५८ मा प्रकाशित

– श्रीधर शर्मा/ काठमाडौं, ८ फागुन । देशका प्रमुख राजनीतिक शक्ति बीच प्रधानन्यायाधीशको अध्यक्षतामा राष्ट्रिय सहमतिको चुनावी सरकार गठन गर्न सहमति भएको छ । फागुन सात गतेको ऐतिहासिक दिनमा एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका बीच प्रधानन्यायाधीश नेतृत्वको चुनावी अन्तरिम परिषद गठन गर्ने सहमति भएको हो । तर यसरी बनेको सहमतिको विभिन्न दल र क्षेत्रबाट विरोध भएको छ ।

बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गर्ने कुरामा दलहरुबीच आरम्भमा सहमति थिएन । नेपाली कांग्रेस र एमालेका नेताले त्यसो गर्दा न्याय प्रभावित हुने भएकाले प्रधानन्यायाधीशले पदबाट राजीनामा गर्नुपर्ने अडान लिएका थिए । तर पछि उनीहरु बहालवालामै सहमत भए । राजनीतिक दलको सल्लाहमा अध्यक्षले मन्त्रिपरिषद गठन गर्ने र प्रधानन्यायाधीश कार्यकारी प्रमुख पदमा रहेसम्म उनले न्यायपालिका सम्बन्धी कुनै पनि काम गर्न नपाउने जस्ता विषयमा सहमति भएको छ । चार दलबीच एघार सदस्यीय अन्तरिम चुनावी सरकार गठन गर्ने, आगामी जेठ २२ गते नयाँ संविधानसभा निर्वाचन गर्ने लगायत सहमति भएको छ । मतदाता नामावली, नागरिकता समस्या, सत्यनिरुपण तथा मेलमिलाप आयोग, सेना समायोजनका बाँकी काम पूरा गर्ने आदि विषयमा पनि दलहरुबीच सहमति भएको छ ।

यसरी विद्यमान राजनीतिक गतिरोध समाप्त गर्न राजनीतिक दलहरु एक ठाउ“मा उंभिएको बताइँदै गर्दा यो सहमति बाह्य दबाबमा भएको भन्ने असन्तुष्टि एकातिर र अर्कोतिर आफूहरुलाई बेवास्ता गरी चार दलले मात्र सहमति गरेको भन्दै उनीहरु बाहेक अन्य दल त्यस्तो सहमतिको विरोधमा उत्रेका छन् । यस क्रममा नेकपा–माओवादी पहिलो भएको छ जसले यस अघि नै पत्रकार डेकेन्द्र थापा हत्याका आरोपी रिहाईको माग राख्दै फागुन ८ गते नेपाल बन्द घोषणा गरेकोमा त्यसलाई परिवर्तन गर्दै प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकार आफूले स्वीकार गर्न नसक्ने भनी ‘नेपाल बन्द’ समेत गरिसकेको छ ।
दलहरुको सहमतिमा सत्तारुढ गठबन्धन भित्र असन्तुष्टि छ । गठबन्धनका साना दल सहमति प्रति असन्तुष्ट छन् । विपक्षी कांग्रेस र एमालेभित्रै बहालवाला प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व सुम्पने विषयमा विवाद छ । ती दलका बरिष्ठ देखि कनिष्ठ नेतासम्मले यस सहमतिको विरोधमा अभिव्यक्ति दिएका छन् । सँगसँगै ‘राष्ट्रपति चार दलको नेता भएको, नेपाली जनताको संरक्षकको रुपमा नरही चार दलको संरक्षक र शीतल निवास पार्टी कार्यालयमा परिणत भएको’ भन्दै आफूहरुस“ग छलफल गर्ने नगरेकोप्रति सत्ता बाहिरका साना दलहरुले असन्तुष्टि जनाएका छन् । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा यसको विरोधमा उभिएका छन् । बहुदलीय व्यवस्था भन्ने, लोकतन्त्रका कुरा गर्ने अनि दलको विकल्पमा यस्तो उपाय खोज्ने गल्ती गरेको उनको भनाई छ । ठूला दलबीच सहमति नभए साना दलका तर्फबाट पनि प्रधानमन्त्री बनाउन सकिनेमा यस किसिमको उपाय खोजिनु उचित नभएको उनको धारणा छ ।
धेरैले यस किसिमको विकल्प रोजिँदा दलहरु असफल भएको सन्देश जाने विश्लेषण पनि गरेका छन् । लोकतन्त्रको कुरा गर्ने हाम्रा लागि दलहरुकै नेतृत्व उचित हुने हो । यस सन्दर्भमा निश्चय नै दलहरु चुकेका र असफल भएका हुन् । चार वर्षसम्म संविधान दिन नसक्नु देखि सहमति निर्विकल्प भएको भाषण गर्ने तर संविधानसभा विघटनको यति लामो अवधिसम्म सहमति सहकार्यको वातावरण बनाउन नसक्नु उनीहरुको कमजोरी हो । यतिन्जेल मुलुकलाई अल्मल्याएर, देश र जनतालाई निकास नदिई बन्धक बनाएर राख्नुका दोषी उनीहरु नै अहिले आएर निर्वाचनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा कार्यकारी गठन गर्ने कार्य आफैमा उदेकलाग्दो माात्र होइन विडम्बनापूर्ण अवस्था पनि हो ।
अहिले जुन किसिमको सरकार गठन हुने सहमति भएको छ त्यो आफै चल्न सक्ने होइन । दलीय संयन्त्रको सुझावबाट निर्देशित हुनुपर्नेछ । यो सहज एवं स्वाभाविक ढंगबाट चल्ने अवस्था रहने छैन । यसैले यहाँनेर पनि दलहरुबीच परस्पर विश्वास, सहमति र उनीहरुको इमानदार प्रयत्नको महत्वपूर्ण भूमिका रहनेछ । मुलुक र जनता अनुकूल नभई आआफ्ना स्वार्थ अनुकूल, आफू अनुकूल काम गराउने अहिलेसम्मकै प्रवृत्ति कायम रह्यो र त्यस्तै प्रयत्न भयो भने यो विकल्प पनि असफल हुनेछ र त्यतिखेर अब के गर्ने त भन्ने प्रश्न अझै टड्कारो भएर आउनेछ । आफूहरु मिल्न नसकि दलहरुभन्दा बाहिर गएर यस्तो विकल्प रोज्नेहरु सहमत भई यसलाई सहजै काम गर्ने मौका देलान् भन्नेमा भने आशंका नै छ । यदी त्यस्तो अवस्था आयो र समयमा निर्वाचन गराउने लगायतका जिम्मेवारी पूरा हुन सकेनन् भने तिनै राजनीतिक दलहरुले प्रस्तावित सरकारमा सामेल हुनेहरुलाई समेत असफल ठहर गर्ने हुँदा यसमा संलग्न हुनेहरुका लागि पनि यो जोखिमपूर्ण अवस्था छ । यसैले यस्तो जिम्मेवारी लिनेहरु पनि यसप्रति गम्भीर भई निर्णय लिनु जरुरी छ ।
यद्यपी के हुने र कसो हुने अझै कुनै निश्चितता छैन तर मुलुकले निकास पाउँछ भने, शान्ति सुव्यवस्था कायम हुन्छ र संक्रमणकालबाट मुक्तिको सुनिश्चितता हुन्छ भने यस्तो बाटो रोज्नुलाई पनि अन्यथा ठान्नुपर्ने छैन । दलहरु जिम्मेवार नभएका कारण यस किसिमको परिस्थिति उत्पन्न भएको हो । दलहरुको स्वार्थ र हठ बाधक बनेन र निष्पक्ष, निस्वार्थ रुपमा मुलुकलाई निकास दिने प्रयत्न भयो भने मात्र यो सफल हुने र यसरी गठन हुनुको औचित्य सावित हुनेछ । यसैले यही मानसिकता, यही प्रवृत्ति र आफूले निर्णय लिन नसकी अर्काको सहयोग खोज्नेहरुले यतिखेर आआफ्ना कमजोरीको आत्ममूल्यांकन गरी आआफ्नो चरित्रमा सुधार गर्नुसमेत जरुरी छ । जेजस्तो संयन्त्र निर्माण गरेपनि मुलुकलाई निकास दिने जिम्मेवारी दलहरुकै भएकाले उनीहरुनै जिम्मेवार हुनु जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा