अमेरिकाको न्यु-जर्सीस्थित ग्याँस स्टेशनमा कार्यरत एक नेपालीको हत्या

५ फाल्गुन २०६९, शनिबार ०४:२१ मा प्रकाशित

न्यूजर्सी, अमेरिका । न्युजर्सी राज्यको बर्लिङटन काउन्टीस्थित ग्याँस स्टेशनमा कार्यरत एक नेपाली मृत अवस्थामा फेला परेका छन् । यहाँको रुट १३० र चार्ल्सटन रोड, विलिङबरोस्थित लुकोइल ग्याँस स्टेसनमा रात्रीकालीन सिफ्टमा कार्यरत ४६ वर्षीय बालकृष्ण कार्कीको मृत शरीर सोमवार बिहान सोही ग्याँस स्टेशनको बाथरुममा फेला परेको उनका जेठान सुरेश पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार रातीको समय एक्लै काम गर्ने कार्कीको खुट्टामा गोली लागेको र बाथरुमभित्र टाउकोमा चोट लागेर लडिरहेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी गराएको छ । बाथरुममा गाडीमा प्रयोग हुने ब्याट्रीले आक्रमण गरेको प्रहरीले बताएको पनि मृतकका जेठान पोखरेलले जनाए ।’ म पनि फिलाडेल्फियामा रातीकै सिफ्टमा काम गर्ने हुनाले हरेक रात जस्तो हाम्रो कुरा हुन्थ्यो,शनिवार पनि रातभरि कुरा भएको थियो । तर आइतवार चाहिं सधैं जस्तो नियमित समयमा कुरा नभएपछि मैले सोमवार बिहानै करीब ४.३० तिर ज्वाईंको मोबाइल फोन र स्टोरको फोनमा समेत सम्पर्क गर्ने प्रयास गरें, तर मोबाइल फोन स्वीच अफ थियो, ब्याट्री सकियो होला भन्ने लाग्यो अनि स्टोरको फोन पनि उठेन, सोचें शायद व्यस्त हुनुहुन्छ होला । त्यसपछि सोमवार दिनभर सुतियो, साँझ नेपालबाट बहिनीले फोन गरेर यहाँ (अमेरिका) बाट कसैले फोन गरेर केही सोधखोज गरेको भन्दै ज्वाईंको बारे बुझ्नु न दाई भनेर निकै चिन्ता व्यक्त गरिन् | अनि मैले पनि के भएछ भनेर फेरि ज्वाईंको सेलफोनमा सम्पर्क गरें तर फोन अफ थियो । अनि स्टोरमा फोन गरें र घटना बारे थाहा पाएँ, सुन्ने क्षमता नै गुमाएछु मैले, होस नै हराएछ । अनि मंगलवार बिहानै पाँच बजेतिर म फिलाडेल्फियाबाट हानिएर घटनास्थलतर्फ पुगें, त्यसपछि मात्र यो दुर्भाग्यका बारे सबै जानकारी मिल्यो ।’ अमेरिकामा रहेका मृतक कार्कीका नजिकका एक मात्र नातेदार जेठान सुरेश पोखरेलले भावविव्हल हुँदै टेलिफोनमा भने । ४६ वर्षीय मृतक कार्की सन् २००८ मा पहिलोपटक अमेरिका आएका थिए | फेरि फर्केर नेपाल गएका उनी आफूसंगै २०१० मा अमेरिका आएको र ज्वाईं जेठानभन्दा पनि साथीसाथीको रुपमा नै घनिष्ठ सम्बन्ध रहेको भन्दै सुरेशले ज्वाईं पछिल्लो विगत पाँच महिनादेखि सोही ग्याँस स्टेशनमा रातीको सिफ्टमा एक्लै काम गर्दै आएको जानकारी दिए ।’यसअघि राती एक जना बाहिर र एकजना भित्र गरेर दुई जना काम गर्ने रहेछन् तर ज्वाईं गएपछि राती १ बजेपछि उहाँले एक्लै नै बाहिर र भित्र काम गर्दै आउनु भएको रहेछ । त्यो थाहा पाएपछि मैले त्यस्तो ठाउँमा राती एक्लै काम नगर्नुस्, बरु यतै फिलाडेल्फियातिर आउनुस् काम पाई हालिन्छ भनेर सम्झाएको थिएँ । उहाँले ‘आखिर जहाँ गएपनि हुने हार दैव नटार भई हाल्छ, यहाँ पनि काम ठीकै छ, पछि विस्तार सोचौंला नि’ भनेर जवाफ दिएको स्मरण गर्दै जेठान सुरेशले भने, ज्वाईं साह्रै भद्र हुनुहुन्थ्यो । तर के गर्नु यस्तो दुर्भाग्य भयो ।’ मृतक कार्कीको हत्या कसले ग-यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । स्थानीय एबीसी टिभीले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार रातीको समय काम गरिरहेको अवस्थामा लुट्न आएको एक अज्ञात व्यक्तिले कार्कीको हत्या गरे । घटनाको विवरण अनुमानमा राती बाहिर काम गर्दै गरेको बेला उनलाई गोली प्रहार गरिएको र उनी छलेर भाग्न खोज्दा खुट्टामा गोली लागेको त्यसपछि दौडदै स्टोरभित्र छिरेको तर गोली प्रहार गर्नेले कार्कीलाई पिछा गर्दै स्टोरभित्र प्रवेश गरेपछि उनी ज्यान बचाउन बाथरुमभित्र छिरेपछि ब्याट्री प्रहार गरेर उनको टाउकोमा आक्रमण गरी हत्या गरिएको आशंका गरिएको छ । मृतक कार्की हेटौंडाका हुन् | तर अहिले उनको सबै परिवार राजधानीको जावलाखेलमा बस्दै आएको छ | कार्कीकी श्रीमती सुनिता र २० वर्षीया एक छोरी काजल र १८ वर्षीय छोरा आभाष अहिले पनि नेपालमै छन् । मृतक कार्कीको शव आइतवार राती करीब २.४५ बजे स्टोरको बाथरुममा फेला परेको प्रहरीले जनाएको छ । अहिले कार्कीको शव अनुसन्धानका लागि प्रहरीले अस्पतालमा पु-याएको छ । कार्की कार्यरत ग्याँस स्टेशनका मालिक अजमेर जयटवालले कार्कीका जेठान सुरेशलाई घटनाबाट आफु अत्यन्त दु:खित भएको भन्दै उनको परिवारलाई सक्दो सहयोग गर्ने जानकारी गराएका छन् | यसैबीच सोही स्टोरमा बिहीवार साँझ ग्लोब नेपाल डट कमले जयटवालसंग सम्पर्क प्रयास गर्दा त्यहाँ कार्यरत श्याम सिंह नामक व्यक्तिले उनीसंग भोलीमात्र कुरा हुन सक्ने भन्दै मृतक कार्की अत्यन्त इमान्दार र सज्जन थिए भन्दै घटनाबाट आफु निकै दु:खित भएको बताए । उनले भने ‘म कार्कीका परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’ प्रहरीले अनुसन्धान जारी राखेकोले घटनाको बारे अहिले नै केही बताउन नसकिने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

आजको प्रमुख समाचार