पराजयको भासमा नेपाली फुटबल, थापाले जिम्मेवारी लिने कि नलिने ?

३ फाल्गुन २०६९, बिहीबार १०:४१ मा प्रकाशित

श्रीविक्रम भण्डारी/ काठमाडौं, ३ फागुन । हेर्दै लाज, सुन्दै लाज, पढ्दै लाज, यतिबेला लाजैलाज र पराजयै पराजयको थुप्रोमा पुरिएको छ– नेपाली फुटबल । पराजयमाथिको पराजयले नेपाली फुटबल यति आलोचित बनेको छ कि छ कि सायदै कसैले खुलारूपमा फुटबलको प्रशंसा गर्न सक्ला ? अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीको फितलो प्रदर्शनले फुटबलमा अहिले जुन उकुसमुकुसको वातावरण पैदा भएको छ, यसको समयमै उपचार भएन भने भोलि त्यो सहभागितामै सीमित नरहला भन्न सकिँदैन । तसर्थ गणेश थापा आफू मात्रै ‘हिरो’ हुने कि फुटबलमाथि लागेको ‘जिरो’लाई पनि हटाउने त्यो अहिले अहम् अनि गम्भीर प्रश्न बनेको छ ।
फुटबलमा नेपालको प्रदर्शनको चर्चा गर्दा अहिले …लाईभन्दा पनि देख्नेलाई लाज भइसकेको छ । तर, पनि एन्फाका पदाधिकारीहरूको होस् खुलेको छैन । उनीहरू अहिले पनि बाँझो खेतमा बूढो गोरुलाई जोतेर उत्तम फसल काट्ने सपना देखिरहेका छन् । परम्परागत र तानाशाही प्रवृत्ति हावी गराउँदै फुटबललाई ‘बिचरा’ बनाउँदै आएका छन् । जुन २१औं शताब्दीमा कत्तिको जायज कुरा हो त्यसको चिरफार हुन अति आवश्यक भइसकेको छ । फुटबलमा दुई दशकअघिदेखि मडारिँदै गरेको कालो बादलले अहिले पूर्ण आकार देखाउँदै छपक्क छोप्दासमेत एन्फा पदाधिकारीको चेत खुलेको छैन । जसले गर्दा नेपाली फुटबलको स्तर दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको छ भने नेपाली खेलाडी घरेलु र विदेश मैदानमा हास्यपात्रका रूपमा चित्रित हुन थालेका छन् । त्यति मात्र होइन, अहिले फुटबल खेलाडी दर्शकहरूको माझमा छीःछीः र दुरदुरका पात्रसमेत बन्न पुगेका छन् ।
‘गोल’ नगरी जित्न नसक्ने खेलमा नेपाली फुटबल खेलाडीले गोल गर्न बिर्सिएको अहिले लामो समय भइसकेको छ । तसर्थ कुनै बेलाको दक्षिण एसियाकै नम्बर एक नेपाली टिम अहिले पुछारको भुटानको बराबरीमा पुगेको छ । जुन कल्पनाभन्दा बाहिरको कुरा हो । विडम्बना नेपालको प्रदर्शन यसरी खस्खिँदासमेत एन्फाले अनदेखी र अनसुनी गर्नाले अहिलेको भयावह स्थिति उत्पन्न भएको हो । फुटबलको विगत तीन वर्षको अन्तर्राष्ट्रिय प्रदर्शनलाई आत्मसात् गर्दा पनि त्यो घामजस्तै छर्लङ्ग देखिन्छ । नेपालले यो अवधिमा खेलेका आठ खेलमा मात्र एक गोल गर्न सफल भएको छ । जसले नेपाली टिममा गोल गर्ने खेलाडी अर्थात् स्ट्राइकर छैन भन्ने प्रमाणित गरेको छ । लामो समयदेखि गोलको खडेरी पर्दासमेत त्यसको विकल्प खोज्न नसक्नु एन्फाको ठूलो कमजोरी देखिएको छ । पाकिस्तानसँग भोगेको पराजयबाट पनि एन्फा यो कुराप्रति गम्भीर नदेखिएको प्रस्ट भएको छ ।
विदेशी प्रशिक्षकको प्रशिक्षणबाट मात्र नेपाली फुटबलले फड्को मार्न सक्ने कुरालाई नेपाली खेलाडीले गलत सावित गरिदिएका छन् । पछिल्लो समयमा पाकिस्तानसँगको मैत्रीपूर्ण खेल यसको प्रमाण हो । आफ्नै भूमि र दर्शकसामु नेपाली खेलाडीको प्रदर्शन निराशाजनक र सर्मनाक रह्यो । उनीहरू दुवै खेलमा हारे । जितको त कुरै छोडौँ, पुनः पुरानै पुनरावृत्तिलाई दोहो¥याउँदै एक गोल गर्न पनि असमर्थ भए । गोल गर्न बिर्सिएर जितको कल्पना गर्नु आफ्नैमा मूर्खता हो । तर, एन्फाले हरेक खेलमा यही कुरालाई दोहो¥याइराखेको छ, जुन राष्ट्रको प्रतिष्ठाका लागि निकै प्रत्युत्पादक बन्दै गएको छ । यसको समाधानका लागि एन्फाले फुटबलमा पैसाको खोलो बगाए पनि त्यो सार्थक र परिणमामुखी हुन सकेको छैन । तसर्थ सधैँ यही अक्षमताका कारणले आलोचनाको सिकार भइरहेको एन्फाले नयाँ सूत्रको खोजी गर्नुपर्ने जरुरी भइसकेको छ ।
अहिले नयाँ सूत्रको रूपमा विदेशी प्रशिक्षकको रूपमा ज्याक स्टेफानोस्की देखिए पनि छोटो समयका कारणले उनले नेपाली खेलाडीको प्रतिभा कहाँ लुकेको छ त्यसबारेमा अनविज्ञ छन् भन्दा हुन्छ । उनले अझै खेलाडीको नाडी छाम्न पाएका छैनन् । तसर्थ अहिल्यै उनलाई असफलताको आरोप लगाएर विवादमा तान्न पनि छिटो हुने देखिन्छ । र पनि, यहाँ बिर्सनै नसक्ने कुरा के छ भने एक जुहारीले एकै नजरमा सक्कली–नक्कली छुट्याउन काफी हुन्छ, यसमा उनी अवश्य चुकेका हुन् । स्टेफानोस्कीेकै चुक कारणले नेपाल पाकिस्तानसँग पराजित भएको हो । जसले गर्दा उनको प्रशिक्षणप्रति पनि शङ्का उत्पन्न हुनु स्वाभाविकै हो । पाकिस्तानसँगको खेलमा उनले प्रयोगकर्ताको रूपमा आफूलाई प्रस्तुत गरे पनि अब वास्तविक कमजोरी कहाँ छ त्यो थाहा पाउन जरुरी भइसकेको छ । नयाँ र पुराना खेलाडीको खेल र उनीहरूको प्रदर्शन स्टेफानोस्कीेले देखिसकेका छन् तसर्थ अबको प्रदर्शन अर्थात् हारजितको जिम्मेवारी उनले लिनुपर्नेछ । अन्यथा उनीमाथि पनि तरबार लट्किने प्रायः निश्चित छ ।
सन् २०११ को च्यालेन्ज कपदेखि ०१३ सम्म आइपुग्दा नेपालले बंगलादेशविरुद्ध मात्र एक गोल गर्न सफल भएको छ । यसैबाट के प्रस्ट हुन्छ भने पछिल्लो समयमा अन्तर्राष्ट्रिय खेलमा नेपालको उत्कृष्टता । हालै सम्पन्न मैत्रीपूर्ण खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपालको साख ह्वात्तै घटेको छ । नेपाल फुटबल खेल्न जानेको तर जित्न नजानेको राष्ट्रका रूपमा चिनिएको छ । यसरी विदेशी भूमिमा नभई आफनै भूमिमा पटकपटक मुसो सावित भएको नेपाली टोलीबाट आउ“दो एसीसी च्यालेन्ज कपमा कस्तो प्रदर्शनको आश गर्न सकिन्छ त्यो सोझै अनुमान लगाउन सकिन्छ । खेलाडी तिनै हुन्, पदाधिकारी तिनै हुन्, एउटा विदेश प्रशिक्षकले च्यालेन्ज कपमा च्यालेन्ज त गर्ला तर वैतरणी तराउने कुराचाहिँ सतप्रतिशत असम्भव छ ।
यसपछि नेपाली फुटबलको इतिहासमा अर्को कालो अध्याय थपिने प्रायः निश्चित छ । यसका लागि सम्पूर्ण फुटबलप्रेमीहरूले अहिल्यैदेखि मानसिक रूपमा तयार भएर बस्नु जरुरी भइसकेको छ । किनकि नेपाली दर्शक खेलाडीले जस्तोसुकै झुर खेलेको प्रदर्शन गरे पनि फुटबल हेर्न त रंगशाला पुग्छन् नि । नकचरोको औषधि हुँदैन भनेझैँ नेपाली खेलाडीको पनि कुनै औषधि छैन । तसर्थ यी ओसीएका श्रीकृष्ण पटका कहिले पटकिन्छन् प्रतीक्षा गर्नु नै वेश होला ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।यस वर्षको आइपिएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ गते हुने भएको छ। शनिबार भारतीय क्रिकेट नियन्त्रण बाेर्ड बिसिसिआइले एक

काठमाडौँ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग खेलेर

काठमाडौँ । स्पेनिस ला लिगाको तेस्रो स्थानमा आसिन रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा