भू–अतिक्रमणले सन्धिखर्कको सौन्दर्य चकनाचुर

३ फाल्गुन २०६९, बिहीबार १०:१० मा प्रकाशित

मुक्तिनाथ भुसाल,/ अर्घाखाँची, ३ फागुन । बढ्दो जनसङ्ख्या र गाउँबाट बसाइँसराइ गरी सहरमा बसोबास गर्ने क्रम तीव्र रूपमा अघि बढेपछि अर्घाखाँची सदरमुकाम सन्धिखर्कको सौन्दर्य दिनप्रतिदिन गुम्दै गएको छ । सन्धिखर्कमा रहेका अधिकांंश राम्रा र आकर्षक स्थानमा बिनामापदण्ड घर बनेका कारण यसको सौन्दर्यमा गिरावट आएको हो । विगतमा कमसल र कामै नलाग्ने ठानिएका यहाँका स्थान अहिले महत्वपूर्ण बनेका छन् र घडेरीको रूपमा धमाधम बिक्री भइरहेका छन् । ४–५ वर्षअघि एक्लै हिँड्न डर लाग्ने गुण्टिखोलामा अहिले सुन्दर भवनहरू निर्माण गरिएको छ र बाँकी जमिनमा पनि प्लटिङ गरी घडेरीहरू बिक्री–वितरणको काम अगाडि बढाइएको छ ।
हुन त आफ्नो जमिनको सदुपयोग गर्ने अधिकार मुलुकी ऐनमा पनि उल्लेख गरिएको छ । तर, सडक र माटोको स्थितिलाई अध्ययन नगरी बिक्री गरिएका घडेरी र त्यसमा निर्माण गरिएका भवन कति चिरस्थायी र योग्य भन्ने सवाल हरदम उठ्छ । माओवादी द्वन्द्वकालमा सदरमुकाम आक्रमणसँगै सम्पूर्ण नक्सा जलेका कारण सार्वजनिक जग्गामा पनि मनपरी भइरहेको र जथाभावी ढङ्गबाट घरहरू निर्माण भइरहेको कुरा शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझी पनि स्वीकार गर्छन् । तर, उनले सार्वजनिक रूपमै बोलेको विषयप्रति यहाँको प्रशासन मौन रहेको छ र भविष्यमा सर्वसाधारणले व्यहोर्नुपर्ने समस्यालाई टुलुटुलु हेरिरहेको छ ।
लुम्बिनी अञ्चलमै सबैभन्दा महँगो दरमा सन्धिखर्कमा घडेरी बिक्री हुने हुँदा प्लटिङ व्यापार फस्टाउँदै गएको छ । बसपार्क, बागीखोलालगायतका थुप्रै स्थान दिनहुँ साँघुरिँदै गएका छन् । सन्धिखर्क आसपाससम्म एक हातको ८० हजारदेखि सात लाखसम्ममा घडेरी बिक्री भइरहेका छन् । त्यसो त यहाँ निश्चित कुनै दर नराखिएको हुँदा मनपरी भएको छ । प्रायजसो श्रीमान्लाई विदेश पठाएर आफ्ना नानीबाबुहरूलाई बोर्डिङ पढाउन सदरमुकाममा कोठा भाडा लिई बसोबास गरेका महिलाले बढी मात्रामा विगतको समयमा घडेरी खरिद गर्ने गरेको र श्रीमान् विदेशबाट आउँदा घडेरीकै कारण धेरै पति–पत्नीको सम्बन्धसमेत बिग्रिने गरेको स्थानीयवासीहरू बताउँछन् । अर्कातर्फ घडेरी बिक्री गरेबापत राम्रो कमिसन पाइने कारण जमिनका मालिकले आफ्नो मान्छेलाई गाउँगाउँमा पठाउने र एउटा ग्राहक पाउनासाथ उसलाई फकाइफुल्याई सदरमुकाम सन्धिखर्कमा ल्याई उसबाट बैना रकम बुझ्ने काम हुने गरेको बुझिएको छ ।
उता, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समिति, जिल्ला शिक्षा कार्यालयलगायतका कार्यालयबाट सजिलै देखिने र पैदलबाट दुई मिनेटमा पुग्न सकिने हटारीनेटा जाने मोटरबाटो, प्लटिङकै कारण सामान्य वर्षासँगै नष्ट भएको छ । बाटोमुनि लगाइएका जालीहरू र ह्युमपाइप यत्रतत्र छरिएका छन् । जसको कारण हटारीलगायतका बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ । हिउँदको समयमा डोजरद्वारा माटो पुरी बनाइएको प्लटिङ समाप्त त भयो नै, मानिस र यातायातका साधन चल्ने बाटो पनि समाप्त हुनु स्थानीयका लागि समस्या नै देखिन्छ । जथाभावी डोजर सञ्चालन गरी बनाइएका ह्युमपाइपहरू सामान्य वर्षात्ले पनि अलग–अलग बनाइदिएको छ भने साथमा जोडिएका घरहरूको पनि गुन्टीखोलामा कन्तविजोग भएको छ । विडम्बना † यहाँको प्रशासनले आफ्नो तलब र सुविधा लिनेबाहेक अरू केही गर्न नसकेको सन्धिखर्कको दृश्यले आफैँ बताउँछ ।
सन्धिखर्क हुँदै बसपार्क, चुत्राबेसी बजार, पाणिनी बहुमुखी क्याम्पसलगायतको स्थानमा पुग्नका लागि गुन्टीखोला उपयुक्त मानिन्छ, तर वर्षेनी वर्षाको समयमा यो स्थानमा हिँडडुल गर्न कठिनाइ हुनुको साथै यातायातका साधन वारपार गर्न नसकिरहेको अवस्था छ । सन्धिखर्कको मुटु मानिने गुन्टीखोलाको दुर्दशा व्याख्या गरिसाध्य छैन । तर, जिल्ला विकास समितिको कार्यालय भने वर्षौैंदेखि चुपचाप बसिरहेको छ र स्थानीयले दुःख पाएको टुलुटुलु हेरिरहेको छ । गुन्टीखोलाको समस्यालाई समाधान गर्न र कज्वे निर्माणका लागि गत साल पनि यहाँका स्थानीयवासीले पटकपटक सरोकारवालाहरूसँग हारगुहार मागेकै हुन्, तर सुनिदिने जिल्लामा कोही पनि भएन ।
गुन्टीखोलाको समस्यालाई सामान्य भन्न पक्कै पनि मिल्दैन किनकि बसपार्क, इसारा लाइनलगायतका नानीबाबुहरूलाई बोर्डिङ जान यही बाटो भएर हिँड्नुपर्छ भने ढिकुरा, डिहीडाँडा, गच्छे, सन्धिखर्क बजार, अस्पताल लाइनलगायतका ठाउँबाट पाणिनी बहुमुखी क्याम्पसमा जानका लागि दैनिक रूपमा सयाँै विद्यार्थीले यो बाटो ओहोर–दोहोर गर्नुपर्छ । सदरमुकामबाट नयाँ बसपार्क, चुत्राबेसी बजार, बल्कोट हुँदै गुल्मी तम्घास, रिडी हुँदै पाल्पा तानसेन जानका लागि पनि यो सडकखण्ड उपयुक्त मानिन्छ । सन्धिखर्कका महिलाले ६–७ महिनाअघि गुन्टीखोलाको बीचबाटोमा जम्मा भई रोपाइँजात्रा गरी सरोकारवालाको ध्यानाकर्षण पनि गराएका थिए । तर, अब यो बाटो बन्ला र यात्रुलाई सजिलो होला भन्ने आशा उनीहरूमा सेलाएको छ । हालै घोषण गरिएको नगरपालिकाको मुटु मानिने गुन्टीखोलाजस्तो ठाउ“मा वर्षौंदेखि यो हालत ह“ुदा जिल्लामा रहेका सरोकारवालाले आवाज नउठाउनु लाजमर्दो भएको स्थानीयको भनाइ छ । यस्तै द्वन्द्वकालमा सदरमुकाम आक्रमण हुँदा नापी–नक्सा जलेको कारण सन्धिखर्कभित्र सार्वजनिक जग्गासमेत आफ्नो हो भनी खरिद–बिक्री गर्ने गरिएको स्थानीय बूढापाकाहरू बताउँछन् । जसबाट भविष्यमा सन्धिखर्कमा समेत एउटा द्वन्द्वको स्थिति नआउला भन्न सकिँदैन ।
जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी गोविन्दमणि भुर्तेलले पहिलो पत्रकार भेटघाट कार्यक्रममा आफूले सार्वजनिक जग्गा हडप्नेहरूलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए । करिब एक लाख ६० हजार जनसङ्ख्या रहेको अर्घाखाँचीमा ४–५ सयले सार्वजनिक जग्गा हडप्दैमा आफू नडराउने अनि काठमाडौंबाट नक्सा मगाएर भए पनि सार्वजनिक जग्गा अलग्याउने वचन भुर्तेलले दिएका थिए । तर, उनले प्रतिबद्धता जाहेर गरेको पनि थुप्रै समय बितिसक्यो, त्यो लागू हुने हो वा प्रतिबद्धतामै सीमित रहने हो, प्रतीक्षाकै विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार