राष्ट्रपति किन बने दुःखी ?

३ फाल्गुन २०६९, बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौं, ३ फागुन । एक महिनाअघि ‘उच्च’ तहमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारप्रमुख बनाउने सहमति बने पनि यस कुराको जानकारीराष्ट्रपति डा. रामवरण यादवलाई गराइँदा उहाँले त्यसमा तत्काल सहमति जनाउनुभएन । उहाँले दलहरूको सहमतिबाट मात्रै सरकारप्रमुखको टुङ्गो लगाइनुपर्ने अडान अन्तिम क्षणसम्म राखिरहनुभयो । बरु सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइनु उपयुक्त हुने धारणा राष्ट्रपतिको थियो । तर, उहाँको प्रस्तावलाई ‘कसैले पनि’ सकारात्मक रूपमा लिएनन्, उहाँमाथि प्रधानन्यायाधीशलाई स्वीकार गर्न दबाब परिरह्यो । आफूले नचाहँदानचाहँदै पनि रेग्मीलाई सरकारप्रमुख बनाउन राष्ट्रपति यादव अहिले बाध्य हुने स्थिति बन्दै छ । प्रधानन्यायाधीश रेग्मी र राष्ट्रपति यादवबीच सुमधुर सम्बन्ध नरहेको र बहालवाला न्यायाधीश नै सरकारप्रमुख बनेको अवस्थामा आफू भूमिकाविहीन हुने भएकोले पनि राष्ट्रपतिले रेग्मीलाई स्वीकार गर्न आनाकानी गर्नुभएको बताइन्छ । आफ्नो सिफारिसमा कसैलाई मन्त्री बनाउनसमेत नपाइने भएपछि राष्ट्रपति यादव झन् दुःखी बन्नुभएको बुझिन्छ । तर, उहाँ जति दुःखी भए पनि ‘उच्च तहमा’ त्यसको कुनै पर्वाह गरिएको छैन ।
राष्ट्रपति यादवले नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन निकै कसरत गर्नुभएको थियो । प्रधानन्यायाधीशको नाम प्रस्तुत भइसकेपछि पनि उहाँले कोइरालालाई बनाउनु उपयुक्त हुने धारणा छोड्नुभएको छैन । कोइरालालाई प्रधानमन्त्री बनाउन कुनै हालतमा पनि नसकिने भएपछि प्रमुख राजनीतिक दलका अन्य कुनै नेताको नाममा सहमति बन्नु उचित हुने धारणा राख्नुभयो, त्यसमा पनि राष्ट्रपतिलाई सफलता प्राप्त भएन । त्यसपछि उहाँले सूर्यबहादुर थापाको नाम प्रस्ताव गर्नुभयो, थापाको नाम पनि अघि बढ्न सकेन । थापा पनि अमान्य भएपछि राष्ट्रपति कुनै पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने टुङ्गोमा पुग्नुभयो, तर त्यो पनि कार्यान्वयन हुने स्थिति बनेन । त्यसपश्चात् राष्ट्रपतिले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरे पनि आफ्नो सिफारिसका केही व्यक्तिलाई मन्त्री बनाउने इच्छा प्रकट गर्नुभयो, त्यसमा पनि उहाँलाई सकारात्मक जवाफ मिलेन । त्यसैले पछिल्लोपटक विकसित घटनाक्रमबाट राष्ट्रपति यादव अत्यन्त दुःखी बन्नुभएको बुझिएको छ । तर, उहाँको दुःखमा सान्त्वना दिन भने कुनै पनि शक्ति तत्पर भएका छैनन् । किनकि उहाँको भूमिकाले कुनै पनि राजनीतिक पक्षलाई खुसी तुल्याउन सकेको मानिँदैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले