न्युनतम तलवमान बृद्विको स्वागत, कार्यान्वयन हुन्छ: राजदुत शर्मा

२७ माघ २०६९, शनिबार १९:०९ मा प्रकाशित

दीपक पौडेल, दोहा । नेपाल सरकारले बैदेशिक रोजगारीका लागि कतार आउने कामदारको न्युनतम तलवमान बढाएकोमा कतारवासी नेपालीले स्वागत गरेका छन् । यद्यपि पुर्ण कार्यान्वयनमा उनीहरूको चिन्ता अभिब्यक्त भएको छ ।

राजदुत डा. माया कुमारी शर्माले तलव बृद्विको सरकारी निर्णयप्रति खुसी ब्यक्त गर्दै कठिनाईहरू पन्छाएर यो नयाँ तलवमान लागु भएरै छाड्ने बताइन् । ‘समय लाग्ला तर पुर्णरुपमा कार्यान्वयन भएरै छाड्नेछ, ढुक्क हुनोस् ।’ तलव बृद्विको योजना बनाउँदा ब्यवसायीहरूको हितलाई पनि मध्यनजर गरिएको राजदुतको तर्क थियो । ‘हामी कामदार चारलाखको संख्यामा छौं, ब्यवसायी त जम्मा १ सय जना छौं’ उनले भनिन्– ‘दिने स्वभाविकरुपमा दुखी होलान्, पाउने त खुसी है हुनेछन् । थोरै दुखी होलान्, धेरै खुसी हुनेछन् । महत्वपुर्ण कुरा यसले देशको हित हुनेछ ।’

दक्षिण एशियाली मुलुकका कुटनीतिहरूसंग तलवमान र कामदारको हित संरक्षणका सन्दर्भमा छलफल अघि बढाइसकेको राजदुतले जनाइन् । ८ सय रियाल तलव र २ सय रियाल खानाको लागि दिनुपर्ने भनेर कहिँ कतै कानुनमा नभएपनि रोजगारदाताहरूले दिँदै आएको सन्दर्भ उल्लेख गर्दै राजदुतले नयाँ तलवमानबाट नआत्तिन आग्रह गरिन् । ‘१ हजार पुगिसकेको थियो, अव केहि मात्रै बढेको हो, आत्तिनुपर्दैन, लागु हुन्छ’ उनले भनिन्– ‘नयाँको बढेपछि पुरानाको पनि अवश्य बढ्ने विश्वास राखौं ।’ चुनौति छन् भनेर भाग्न नहुने उनको तर्क थियो । ‘चुनौतिहरूको सामना गरेर नै सफलता पाइन्छ’ ब्यवसायी र श्रमिक दुवैको आम्दानी नेपाल जाने भएकोले फराकिलो मनले सोच्न उनले आग्रह गरिन्– ‘सरकारले न्युनतम तलवमान बढाएको एकदमै सहि छ, अझै कम होला तर अनुपयुक्त छैन ।’ कतारमा कार्यरत नेपाली संघसंस्थाहरूलाई ऐक्यबद्वताका लागि उनको अपिल थियो । ‘नेपालीका चिन्ताले संस्था खोल्नुभएको हो भने अहिले सहि समय आएको छ यो चिन्ता बोक्ने ’ राजदुतको अपिल थियो– ‘अगुवाहरू जुट्नोस् ।’

कामदारका हकहित संरक्षणका सन्दर्भमा कतारसंग द्विपक्षिय कुराकानी गर्न उच्चस्तरिय प्रतिनिधिमण्डल ल्याउने तयारी गरिरहेको उनले बताइन् । अव अदक्ष कामदारलाई पनि दक्ष बनाउन पहल गरिनुपर्ने समय आएको उनले बताइन् ।

गत शुक्रवार गैर आवासीय नेपाली संघ कतार च्याप्टरले न्युनतम तलवमान बृद्वि, पर्यटन प्रबद्र्वनका सम्भावित बाटाहरू र कतारमा खेलकुद गतिविधिमा नेपाली सहभागिता प्रभावकारी बनाउने विषयमा छलफल गर्न एक अनौपचारिक भेलाको आयोजना गरेको थियो । संघका अध्यक्ष अमृत गुरुङ र सचिव विनोद भट्टराईले सहजिकरण गरेको सो छलफलमा दुतावासमा आयोजित सो भेलामा दर्जन अधिक वक्ताहरूले आफ्ना धारणा प्रस्तुत गरे । ब्यवसायी बद्रि पाण्डेले तलव बृद्विको स्वागत गर्दै विवेकी ढंगले बढाउनुपर्ने थियो भन्ने सुझाव राखे । ‘६ सय प्लस २ सयको तलवमान लागु हुन सकिरहेको छैन, १२ सय बनाउने तर्फ हतारियौं’ पाण्डेले भने– ‘स्वागत गर्दछु तर प्रकृया मिलाएर गर्नुपथ्र्यो भन्ने सुझाव दिन चाहन्छु ।’ अगुवा ब्यवसायी डा. देवकाजी डंगोलले पनि त्यस्तै विचार राखे । ‘हामीले मागेर मात्रै पनि हुँदैन, सम्बन्धित ठाउँमै पहल गर्नुपथ्र्यो ।’ लागु हुन सकेमा यो निकै सुखद हुने उनको विश्लेषण छ ।

सामाजिक अगुवा सागर नेपालले न्युनतम तलवमान बृद्वि, पर्यटन प्रबद्र्वनका सम्भावित बाटाहरू र कतारमा खेलकुद गतिविधिवारे विस्तृत मन्तब्यका क्रममा समाजिक ऐक्यबद्वता मुख्य पक्ष रहेको बताए । ‘हामी सवैमा सकारात्मक सोच र बलियो सामाजिक ऐक्यबद्वता कायम हुनसके सफल भइन्छ’ उनले भने ।

गैर आवासीय नेपाली संघका सचिव टि.वि. कार्की र सदस्य अजिजुर रहमान शेष, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष विनेश तामाङ, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष दिल किरण खजुम, कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, स्याङजाका टुकराज अर्याल, बाग्लुङका मदन श्रीष, पाल्पाका भुपराज दवाडी, पाँचथर सेवा समाजका प्रतिनिधि, प्रवासी युवा सेवा समाजका छम परियार, क्षेत्री सेवा समाजका हंसराज ढकाल लगायतले तलव बृद्विको स्वागत गर्दै कार्यान्वयनका कठिनाईहरूको सामना गर्न आवश्यक विभिन्न सुझाव प्रस्तुत गरे । वक्ताहरूले सो अवसरमा न्युनतम तलवमान लागु गर्नका लागि र नेपालमा पर्यटक लैजानका लागि ब्यवहारिक पक्षबाट हुनुपर्ने पहलहरूवारे सुझाव दिए । अन्य दक्षिण एशियाली मुलुकहरूका कुटनीतिक नियोगसंग छलफल गरेर अघि बढ्नुपर्ने सुझाव पनि वक्ताहरूले राखे । एक्कासी ठुला माग राख्दा नेपाली श्रम बजार खुस्किने हो कि भन्ने चिन्ता पनि उनीहरूको थियो । बर्र्षौंदेखि काम गर्दै आएका श्रमिकहरूको तलव नबढ्ने र नयाँलाई एक्कासी झण्डै ५० प्रतिशत बढि तलव माग्दा जटिलता थपिन सक्नेवारे पनि उनीहरूले सचेत गराए ।

गत २१ जनवरी (८ माघ) मा नेपाल राजपत्रमा सुचना प्रकाशन गरी नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले परिमार्जित न्युनतम तलवमान तोकेको हो । २८ जनवरी (१५ माघ)बाट लागु हुने गरी बढाइएको नयाँ तलवमान अनुसार अव अदक्ष कामदारको न्युनतम मासिक बेतन ९ सय कतारी रियाल र खानावापत ३ सय कतारी रियालसहित १ हजार २ सय कतारी रियाल हुनेछ । अर्धदक्ष कामदारको न्युनतम मासिक बेतन १ हजार १ सय कतारी रियाल र खानावापत ३ सय कतारी रियालसहित १ हजार ४ सय कतारी रियाल हुनेछ भने दक्ष कामदारलाई न्युनतम मासिक बेतन १ हजार ५ सय कतारी रियाल र खानावापत ३ सय कतारी रियालसहित १ हजार ८ सय कतारी रियाल दिनुपर्नेछ । सरकारले कामदारलाई अध्यक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष÷ब्यवसायीक गरी चार तहमा बर्गिकरण गरेको छ । परिमार्जित तलव तालिका अनुसार उच्च दक्ष वा ब्यवसायीक कामदारलाई न्युनतम ४ हजार २ सय र खानावापत ५ सय कतारी रियाल गरी कुल ४ हजार ७ सर कतारी रियाल मासिक तलव दिइनुपर्नेछ ।

खाना निशुल्क उपलब्ध गराउने वा खानावापत पनि रकम नै उपलब्ध गराउने भन्ने निर्णय रोजगारवाला स्वयंले लिन सक्नेछन् । खाना निशुल्क उपलब्ध गराएको खण्डमा प्रतिमहिना अदक्षलाई न्युनतम ९ सय कतारी रियाल, अर्धदक्षलाई न्युनतम १ हजार १ सय कतारी रियाल, दक्षलाई न्युनतम १ हजार ५ सय कतारी रियाल र उच्चदक्षलाई न्युनतम ९ सय कतारी रियाल पारिश्रमिक दिनुपर्नेछ । कामदारलाई आवास, औधोपचार, दुर्घटना बीमा, काममा जाने र फकिर्ने यातायात खर्च र कतारको श्रम कानुन बमोजिम रोजगारदाताले ब्यहोर्न पर्ने अन्य खर्चहरूलाई रोजगारदाताले ब्यहोर्नु पर्ने किटानी पनि राजपत्रमा गरिएको छ ।

दोहास्थित नेपाली दुतावासले कतारमा विभिन्न कामका लागि नेपालीहरूको न्युनतम तलवमान सिफारिस गरी स्विकृतका लागि नेपाल सरकारसमक्ष गत २८ साउनमा नै पठाएको थियो । सरकारले बैदेशिक रोजगार ऐन २०६४ को दफा २३ ले दिएको अधिकार प्रयोग गरी कतारमा काम गर्ने कामदारहरुको लागि न्यूनतम पारिश्रमिक तोकेको हो । दुतावासले कतारमा नेपालीहरूले काम गर्ने ८८ वटा पदको सुची बनाई कामको प्रकृति अनुसार परिमार्जित तलवमान सिफारिस गरि पठाएकोमा न्युनतम तलवमानको सवैभन्दा तल्लो सिमामा झण्डै ५० प्रतिशतसम्म र सवैभन्दा माथिल्लोस्तरको मानिएको तलवमानमानमा १० प्रतिशतसम्म बृद्विको सिफारिस भएको छ । कतारमा हाल अनुमानित ३ लाख ५० हजारभन्दा बढी नेपालीमध्ये सवैभन्दा ठुलो हिस्सा १ हजार कतारी रियालभन्दा तलको पारिश्रमिकमा रहेको थियो । खाडीमा नेपाली दूतावास भएका अन्य २ मुलुकहरू साउदी अरेविया, संयुक्त अरव इमिरेट्स (युएई) र कुवेतमा भने सरकारले यसअघि नै न्युनतम तलवमान बृद्वि गरिसकेको छ ।

सन् २०२२ को विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माणमा लागिरहेको मध्यपुर्वको सम्पन्न राष्ट्र कतारमा जीवनगुजारा खर्च पनि आकासिँदै गएकोले सरकारी र निजी क्षेत्र दुवैले कर्मचारीको तलवबृद्वि गरिरहेको अवस्थामा नेपाल सरकारको निर्णय उपयुक्त रहेको धेरैको विश्लेषण छ । यद्यपि ब्यवसाय गरिरहेकाहरूको समुहभने पुर्णरुपमा विश्वस्त हुन नसकिरहेको तर्क गर्नेहरू पनि प्रशस्तै भेटिएका छन् ।
यसअघि गत २०१० को १ जनवरीबाट लागु हुने गरी सन् २००९ को डिसेम्बरमा नेपाली दुतावासले नेपाली कामदारको न्युनतम मासिक पारिश्रमिकको नयाँ सिमा तोकेको थियो । शुरुमा विवाद भएपनि ब्यापक छलफलकाविच अन्ततः नेपाल सरकारले सो न्युनतम तलवमान बृद्विलाई सदर गरेको थियो । सो बृद्विमा नेपाली श्रमिकको न्युनतम मासिक पारिश्रमिकको सिमा त्यसअघि खानाखर्चसहित कतारी रियाल ६ सय रहेकोमा २ सय बढाएर ८ सय कतारी रियाल बनाइएको थियो । ६ सय रियाल नै मासिक पारिश्रमिक राख्न चाहेको खण्डमा पनि खानपिनको खर्च अनिवार्यरुपमा कम्पनी वा स्पोन्सरले नै उपलब्ध गराउनुपर्ने निर्णय त्यसबखत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा