पर्यटकीय महत्व बोकेको डम्मरु दह उपेक्षित

२७ माघ २०६९, शनिबार ११:०४ मा प्रकाशित

मुक्तिनाथ भुसाल, अर्घाखाँची, २७ माघ । अर्घाखाँचीको ठाडा गाविसमा रहेको डम्मरु दह आफैँमा रमणीय भए तापनि चर्चामा आउन सकेको छैन । मुलुकमा लामो समयदेखि बढ्दै गएको राजनीतिक अस्थिरताका कारण राज्यपक्ष र सरोकारवालालाई यसतर्फ सोच्ने समय पनि नभएको अवस्था छ । अर्घाखाँचीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेमा राज्यले मनग्य रूपमा आयआर्जन गर्न सक्छ, तर यसतर्फ ध्यान दिने कसले ? गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डबाट ६८.२ किमि यात्राको लगभग आधा बाटोमा ठाडा दह पर्दछ र जसलाई डम्मरु दहका रूपमा बढ्ता चिनिने गरिएको छ ।
सामुद्रिक सतहबाट तीन सय पाँच मिटरदेखि दुई हजार पाँच सय १५ मिटरसम्मको उचाइमा रहेको अर्घाखाँचीमा वार्षिक रूपमा औसत दुई हजार दुई सय मिलिमिटर वर्षा हुने गरे पनि करिब पाँच सय हात लम्बाइमा फैलिएको यो दह पूर्वपट्टि धेरै नै गहिरो रहेकाले मानिस जान सक्दैनन् । पश्चिमतर्फ आधा भाग ठीकै भए पनि आधाचाहिँ धेरै नै गहिरो रहेको छ । सुरुवातमा यहाँ घनाघोर जङ्गल र पहाड रहेको अनि त्रेतायुगमा लङ्कानरेश रावणले पहाड भत्काएपछि पहाडबाट मूल फुटेकोे र जमिनमा गहिरो बनी यो दहको उत्पत्ति भएको कुरा किंबदन्तीमा उल्लेख गरिएको छ । त्यसै समयमा बराहको उत्पत्ति भई कमलका बिरुवाहरू उम्रन सुरु गरेको जनविश्वास रहेको स्थानीय रेखा अधिकारी बताउँछिन् ।
पुराण शास्त्रका अनुसार यो दहको उत्पत्तिसँगै भगवान् राम, लक्ष्मण र सीता जनकपुरबाट आई स्नान गरेका थिए र सीताले सेतो कमलको फूल टिपी बराहको पूजा गरेकी थिइन् । अर्को अचम्मको कुरा यो दहमा रातिमा पाँचवटा सुनका कमल देखिन्छन् तर सबैले देख्न सक्दैनन् भन्ने कुरा पुराण र किंबदन्तीमा उल्लेख भएको ९३ वर्षका स्थानीय दामोदर गौतमको भनाइ छ । विश्वामित्र ऋषिको पालामा कोटिहोम र लक्ष्यहोम सम्पन्न भएको यो पवित्र स्थानमा वैशाखेपूर्णिमाको दिन भव्य मेला र बराहको पूजा गर्ने गरिन्छ । पानी नपरेको समयमा यो स्थानमा पूजा गर्ने हो भने आकाशबाट पानी पर्ने कुरामा ठाडाका स्थानीयहरू दरिलो विश्वास गर्दछन् ।
ललितजंग कँडेलले ठाडा गाविसमा राज्य गरेको समय, यो दहको वरिपरि आँप र बैंसका बिरुवाहरू लगाएका थिए । तीन वर्षअगाडिसम्म करिब ५–६ वर्षदेखि यो दहमा माछापालन गरिएको थियो । माछापालनको क्रममा एउटा माछा १८ किलोसम्म भएको बताइन्छ । यसरी माछापालन गर्दा कमलका बिरुवा नस्ट हुँदै गएका कारण हाल माछापालन बन्द गरिएको हो ।
यो दहलाई जगेर्ना गर्ने हो भने पर्यटकीय क्षेत्रको रूपमा अर्घाखाँची अगाडि नबढ्ला भन्न सकिँदैन । यस दहमा बाह्रै महिना पानी सुक्दैन । इलाका प्रहरी कार्यालय ठाडाको अघिल्तिर रहेको यो दह साँच्चिकै हेर्ने लायक देखिन्छ भने यो स्थानमा रहेको बराह मन्दिरको दर्शन गरेमा मनोइच्छा पूरा हुने जनविश्वास पनि रहेको छ । सम्पूर्ण जिल्लावासीको आँखाको नानी बन्न पुगेको यो दह सदरमुकामबाट बुटवल, कृष्णनगर, तौलिहवा र काठमाडौं आवतजावत गर्दा सडकबाटै देख्न सकिन्छ र इलाका प्रहरी कार्यालयमा गाडी चेकजाँच अनिवार्य गराउनुपर्ने कारण पनि सबैको नजर यहाँनिर पर्दैन भन्न कदापि मिल्दैन । जब राज्यपक्षका सरोकारवालादेखि मुलुकको आमूल परिवर्तनको नारा दिने राजनीतिक दलका नेता–कार्यकर्ता हिँड्ने यो सडकमा रहेको डम्मरु दह संरक्षणका लागि किन आवाज उठाउँदैनन् ? यो लज्जाजनक र चासोको विषय बनेको छ । अर्घाखाँचीमा सेङलेङ दह, पाणिनी दह, खन दहलगायत डम्मरु दह रहेका छन् । जुन आफैँमा महत्वपूर्ण कुरा हो ।
धेरैभन्दा धेरै धार्मिक महत्व बोकेको यो प्राकृतिक तथा पवित्र स्थानको राज्यले बेलैमा लगानी गरी सदुपयोग गर्ने हो भने सन्तुलित वातावरण भएको यो स्थान पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्नेछ । प्रकृतिले दिएका हाम्रा संरचनाहरूप्रति नेपाल सरकारसँग सम्बन्धित सरोकारवालाहरूको बेलैमा ध्यान पुग्नु अपरिहार्य छ । यसरी राज्यले बेवास्ता गर्दे जाने हो भने यो प्राकृतिक तथा धार्मिक महत्व बोकेको डम्मरु दह भविष्यमा पर्यटकको बदला स्थानीय भैंसी पौडी खेल्न मात्र प्रयोगमा नआउला भन्ने के ग्यारेन्टी ?

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।