पार्टीपंक्ति र विश्वसमुदायलाई यसरी छल गर्दैछन् प्रचण्ड

२७ माघ २०६९, शनिबार ०९:३६ मा प्रकाशित

काठमाडौं, २७ माघ । प्रचण्ड या एमाओवादी नेतृत्व देशलाई संकटबाट निकास दिन नभई सबैलाई भुलभुलैयामा पारेर क्रान्तियात्रामा उद्यत् हुन चाहन्छन् भन्ने आभास भइरहेको सन्दर्भमा छलकपटमा माहिर मानिएका प्रचण्डले एकपटक फेरि छल गरेका छन् । तर, यसपटकको छल आफ्नै पार्टीका नेता–कार्यकर्तालाई हो या अन्तर्राष्ट्रिय समुदाय र अन्य राजनीतिक दलहरूलाई हो भन्ने स्पष्ट हुन सकेको छैन । प्रचण्ड एकातिर छिमेकी राष्ट्र भारत र अमेरिकालाई आफू बदलिएर प्रजातन्त्रवादी भइसकेको देखाउन चाहन्छन् भने अर्कोतिर पार्टीभित्र सबभन्दा क्रान्तिकारी एवम् राष्ट्रवादी नेताको छवि बनाइराख्न चाहन्छन् । त्यसैले प्रचण्डले सातौँ महाधिवेशनमा पुँजीवादी जनवादी क्रान्तिलाई पार्टीको गन्तव्य बनाउने व्यहोरा उल्लेख गरे । वास्तवमा नयाँ जनवादी क्रान्तिलाई पुँजीवादी जनवादी क्रान्तिकै रूपमा बुझिन्छ भन्ने ज्ञान नभएकाहरूका लागि यो ठूलो घटना हुनसक्छ र तिनलाई प्रचण्डहरू बदलिएको भान पनि हुनसक्छ । जनवादीको अघिल्तिर जोडिएको ‘नयाँ’ शब्द ‘एक्स्पोज’ भइसकेकोले ‘पुँजिवादी’ शब्दको विशेषण जोडेर प्रचण्डले भारत, अमेरिकालगायत विश्व समुदायलाई भुलभुलैयामा राख्ने प्रयत्न गरेका छन् भने नयाँ जनवाद भनेको पुँजीवाद हो भनेर कार्यकर्तापङ्क्तिलाई थामथुम पार्ने प्रयास पनि उनले गरिरहेका छन् । यसबाट प्रचण्डले अन्तर्राष्ट्रिय समुदाय या आफ्नै पार्टी दुईमध्ये एउटालाई कालान्तरमा धोखा दिने निश्चित भएको स्पष्ट बुझ्न सकिन्छ । त्यसैगरी प्रचण्डको दस्तावेजमा विभिन्न राजनीतिक दलहरूप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने महल नै हटाइएको छ । कुनै पनि कम्युनिस्ट पार्टीले आफ्ना महाधिवेशनमा विभिन्न विषयमा छलफल गरी दृष्टिकोण बनाउने गर्दछ र त्यसमा विभिन्न राजनीतिक दल तथा अन्य शक्तिहरूबारे पनि स्पष्ट धारणा प्रस्तुत गरिएको हुन्छ । एमाओवादीको पालुङटार बैठकमा पनि दलहरूप्रतिको स्पष्ट दृष्टिकोणसहितको प्रतिवेदन पेस गरिएको थियो । 
पालुङटार बैठकमा ‘अमेरिकी राम्राज्यवाद र भारतीय विस्तारवाद तथा स्वदेशमा उनीहरूद्वारा संरक्षित नेपाली काङ्गे्रसलगायतसँग प्रधान अन्तरविरोध रहने’ व्यहोराको प्रतिवेदन पारित गरिएको थियो । त्यसबेला डा. बाबुराम भट्टराईले चाहिँ भारत र अमेरिकाको नाम उल्लेख नगरी ‘साम्राज्यवाद र विस्तारवाद संरक्षित’ शब्द मात्र राख्नुपर्ने विचार प्रस्तुत गरेका थिए । सातौँ महाधिवेशनमा प्रचण्डले आफ्नो प्रतिवेदनमा भारत र अमेरिकाको नाम कहीँ–कतै नकारात्मक रूपमा उल्लेख गरेका छैनन् । केवल एक ठाउँमा साम्राज्यवाद र विस्तारवाद भन्ने शब्दको चयन गरेका छन् । दलहरूप्रतिको दृष्टिकोणको महल नै प्रचण्डले आफ्नो प्रतिवेदनबाट हटाएका छन् । यदि दलहरूप्रति उनको दृष्टिकोण बदलिएको हो भने प्रतिवेदनमा स्पष्ट रूपमा खुलाइनुपर्दथ्यो, प्रतिवेदनमा दृष्टिकोण नखुलाइनुको अर्थ हुन्छ– उनले दलहरूप्रतिको धारणा लुकाएर ‘केमोफ्ल्यास’ मात्र गर्न चाहेका छन् ।
महाधिवेशनका लागि हेटौँडा प्रस्थान गर्नुभन्दा अघिल्लो दिन नै प्रचण्डनिकटका केही नेताहरूले प्रचण्डको निवासस्थान पुगी प्रतिवेदनमा दलहरूप्रतिको दृष्टिकोणको महल हटाइएकोबारेमा धारणा मागेका थिए । नेताहरूको जिज्ञाशा मेट्ने क्रममा उनले हाँस्दै भनेका थिए, ‘हेर्नुस्, परिस्थिति बुझेर काम गर्नुपर्छ, हामीले विगतमा जुन धारणा बनाएका थियौँ फेरि तिनै कुराहरूलाई दोहो¥याइरहनु उचित हुन्न र त्यसले राम्रो पनि गर्दैन । बरु महाधिवेशनमा कसैले प्रश्न उठाए भने यो छुटेको या लेख्न नभ्याएको भन्नुपर्छ र सुझावहरू सामेल गरेर प्रतिवेदनलाई पूर्णता दिने जवाफ दिनुपर्छ ।’ प्रचण्डको यस अभिव्यक्तिले पनि उनी छल गर्दै छन् र अन्तर्राष्ट्रिय समुदायलाई ‘केमोफ्ल्यास’ गर्दै छन् भन्ने स्पष्ट गरेको छ । यदि अन्तर्राष्ट्रिय समुदायलाई झुक्याइएको होइन भने पार्टीपङ्क्तिलाई झुक्याएको भनेर बुझ्नुपर्ने हुन्छ ।
अर्कोतिर एमाओवादीले मधेसी मोर्चाको वैशाखी टेकेर सत्ता–राजनीतिमा आफ्नो अस्तित्व जोगाइरहेको छ । मधेसी मोर्चाप्रतिको एमाओवादी दृष्टिकोण सकारात्मक छैन । प्रचण्डहरू मोर्चामा आबद्ध समूहहरूलाई विदेशी दलाल शक्तिका रूपमा हेर्ने गर्दछन् । तर, वर्तमान परिस्थितिमा मोर्चालाई विदेशी दलाल करार दिने सामथ्र्य एमाओवादीमा छैन । त्यसैले पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा दलहरूप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने महल हटाएको बुझ्न सकिन्छ । प्रचण्डहरू आगामी चुनावमा समेत मधेसी मोर्चासँग तालमेल गरेर अघि बढ्न चाहन्छन् र चुनावी परिणाम पूर्णरूपले आफ्नो पक्षमा नआए मधेसी मोर्चासँग गठबन्धन गरेर सरकार बनाउने योजना प्रचण्डहरूको छ । प्रतिवेदनमा मोर्चालाई शक्तिका रूपमा उल्लेख गर्न नहुने, दुश्मनका रूपमा उल्लेख गर्दा त्यसको बहुआयामिक असर पर्ने भएकोले प्रचण्डले जानाजान दलहरूप्रतिको दृष्टिकोणको महल नै गायव गरेको देखिन्छ । समग्रमा बुझ्दा प्रचण्ड अहिले पनि बदलिएका छैनन् उनले अभिव्यक्ति र व्यवहारको कार्यगत शैलीमा मात्र परिवर्तन ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा