एमाओवादी मच्चिन्छ–मच्चिन्छ र थच्चिन्छ :: झलनाथ खनाल

२७ माघ २०६९, शनिबार ०९:२४ मा प्रकाशित

० महाधिवेशनपछि मुलुकमा सहमति र सहकार्यको वातावरण निर्माण हुने दाबी एमाओवादी नेतृत्वले गरेको छ, तपाईंलाई के लाग्छ ?
– एमाओवादीको महाधिवेशन हुनु राम्रो कुरा हो । तर महाधिवेशनपछि पनि एमाओवादीले राम्रो नीति, विचार र कार्यक्रम लिएर आउने छाँट देखिएन । अग्रगति, प्रगति, सहमति र सहकार्यको एजेण्डा लिएर आउने विश्वास गर्न सकिएन । उही विमति, अविश्वास या मुलुकलाई अझ बर्बादीको खाडलमा हाल्ने नीति नै अंगाल्न खोजेको देखिएकोले एमाओवादीको दाबी बेकार बनेको छ ।
० प्रचण्डले कांग्रेस र एमालेलाई स्वीकार्य हुने फर्मुला तयार गरेको उद्घोष गरेका छन्, अब त कांग्रेस–एमालेले माओवादीसँग मुख बटार्न नमिल्ला नि ?
– माओवादीले त्यस्ता फर्मुला अहिले मात्र होइन दर्जनौँपटक अगाडि सारेको हो । उसका सबै फर्मुला झुट ठहरिइसके । महाधिवेशनबाट अर्को झुटको पुलिन्दा नै आयो । एमाओवादीको यो झुटको शृङ्खलामा अर्को झुट मात्र सावित भयो । इमानदार भई साँच्चै शान्ति र सहमतिमा जाने प्रस्ताव आएन । यसले उनीहरुको पनि कल्याण भएन र देश तथा जनताले पनि राहत महसुस गर्न पाएनन् ।
० प्रचण्डले स्वतन्त्र व्यक्ति (प्रधानन्यायाधीश)को नेतृत्वमा सरकार गठन हुनुपर्छ र आगामी जेठ १५ भित्र निर्वाचन गरिनुपर्छ भनेका छन्, यसमा एमाले के भन्छ ?
– एमाओवादीमा आएको यो गम्भीर दक्षिणपन्थी भडकाव हो । राजनीतिक पार्टीहरूलाई छोडेर, बहुदलीय लोकतान्त्रिक पद्धतिलाई उपेक्षा गरेर स्वतन्त्र व्यक्तिको खोजी गर्ने कुरा आफैँमा एउटा दक्षिणपन्थी भडकाव हो भन्न मेरो ठहर छ । यस्तो भडकावमा उहाँहरू कसरी भासिनुभयो भन्ने कुराको कारण खोतल्नुपर्ने भएको छ । कमसेकम यस्ता भडकावपूर्ण र गलत रवैयालाई सच्याएर राजनीतिक दलहरूबाटै सरकार निर्माण गरी अघि बढ्ने सद्बुद्धि एमाओवादीलाई प्राप्त होस् ।
० दलहरूबीच असहमति चुलिएको सन्दर्भमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्दा तपाईंहरूको टाउको दुख्नुपर्ने किन ?
– दलीय सरकार गठन गर्ने कुरामा एमाओवादीको टाउको दुख्नुपर्नेचाहिँ किन रहेछ नि ? दलीय लोकतन्त्रमा दलको नेतृत्वलाई अस्वीकार गर्ने कुरा कति गम्भीर छ भन्ने विश्लेषण हुनुपर्छ कि पर्दैन ? यो निर्दलीय पञ्चायत हो कि अन्य राजाको उदय हुन थालेको हो ? यसमा समस्तजन गम्भीर र सचेत हुनुपर्छ ।
० तपाईंहरूलाई बाबुराम भट्टराई स्वीकार्य नहुने अनि एमाओवादीलाई सुशील कोइराला अस्वीकार्य हुने भएपछि बीचको बाटो खोज्नु ठीकै हो नि, होइन र ?
– उनीहरूको फर्मुला मात्रै लागू गर्न खोजेर हुन्छ र भनेको ? उनीहरूलाई जे–जे इच्छा लाग्छ त्यही–त्यही गर्न अरू सबैले तयार भइदिनुपर्ने भए किन चाहियो दलीय व्यवस्था, निरङ्कुश एकदलीय एमाओवादी शासन–सत्ता मानेर सबै उसका पाउमा नतमस्तक भइदिनुपर्ने हो ? नेपाली जनताको इच्छा, नेपालका लोकतान्त्रिक शक्तिहरूको इच्छा सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने कसैले नबिर्सौं । जबसम्म लोकतान्त्रिक शक्तिले भनेको कुरालाई मानिँदैन तबसम्म देश अगाडि बढ्ने आधार निर्माण हुँदैन । दश–दश वर्षसम्म जनयुद्धका उट्पट्याङ काम–कुरा गरेर आज आएर फेरि शान्तिपूर्ण बाटोमा हिँड्नुपर्ने रहेछ भनी स्वीकार गर्नुप¥यो कि परेर उसले ? हाम्रो पार्टीले त ०४६ सालमा नै भनेको थियो अबको हाम्रो कार्यदिशा भनेको क्रान्तिको कुरा मात्र होइन आर्थिक क्रान्ति र उत्पादनको काम गर्नुपर्छ भनेर । आखिर दश–दश वर्ष मुलुकलाई रगतको आहालमा डुबाएर अहिले फेरि हामीले २०–३० वर्षअघि नै ठह¥याएको बाटोमा माओवादीले आउनुप¥यो कि परेन ? त्यसैले हामी यतिबेला जे भनिरहेका छौँ माओवादी भोलि नाकमा नत्थी लगाएर हामीले भनेकै ठाउँमा आउनुपर्ने हुन्छ, यो लेखेर राख्नुहोस् ।
० त्यसो भए तपाईंहरू एमाओवादी अध्यक्षको फर्मुलालाई स्वीकार गर्ने पक्षमा हुनुहुन्न ?
– असल शक्तिले गलत कुरालाई कदापि स्वीकार गर्दैन । उनका अन्टसन्ट कुराहरूलाई हामीले किन स्वीकार गर्ने ? नेकपा एमाले फेरि पनि दृढताका साथ भन्छ कि दलीय व्यवस्थाको मर्मका आधारमा दलहरूबाटै सरकार बन्नुपर्छ, दलहरूको सिद्धान्तका आधारमा मुलुक अगाडि बढ्नुपर्छ । यो मुलुक अब प्रतिगमनतर्फ जान सक्दैन ३० वर्षे निर्दलीय तानाशाही व्यवस्थालाई हामीले चिहानमा गाडिसकेका छौँ । आज एमाओवादी त्यो चिहानबाट त्यसको भूतप्रेतलाई निकाल्न खोज्दै छ । यो किन र कसरी स्वीकार गर्ने हामीले ?
० तपाईंहरूले त्यो प्रस्ताव नमाने तपाईंहरूमाथि सङ्कट आउँछ, तपाईंहरू समाप्त हुनुहुन्छ भन्ने दाबी गरेका छन् प्रचण्डले, हेक्का राख्नुभएको छ कि छैन ?
– कागले ‘काग–काग’ भनेर आफ्नो नाम काडेजस्तै कुरा हो यो । माओवादीले एमाले र कांग्रेस सिद्धिन्छ भनेर भनेको कुरा ‘आफैँ सिद्धिन्छु, सिद्धिने बाटोमा छु’ भनेको हो भनी बुझ्दा सही होला । महाधिवेशनपछि पनि आफूलाई सच्याएर अगाडि बढ्ने मति एमाओवादीमा फिर्दैन भने नेपालको कम्युनिस्ट आन्दोलनबाट माओवादी सदाका लागि बढारिनेछ, नेपालको लोकतान्त्रिक आन्दोलनबाट सदाका लागि ऊ किनारा लाग्छ ।
० अहिलेको स्थितिमा माओवादीलाई निषेध गरेर तपाईंहरू अगाडि जान सक्नुहोला र ?
– हामीले निषेधको कुरा कहाँ ग¥यौँ ? हरदम सहमतिको कुरा गरिरहेका छौँ हामी । सही कार्यदिशा लिएर कोही आउँछ भने सहकार्य गर्न हामीलाई आपत्ति किन हुन्छ
र ? तर, सर्वसत्तावाद कसले लागू गरिरहेको छ, निषेधको राजनीति व्यवहारतः कसले गरिरहेको छ, एमाओवादीले नै होइन र ? एमाले र कांग्रेसलाई एमाओवादी निषेध नै गर्न खोज्छ भने हामी पनि जस्तालाई तस्तै ढिँडालाई निस्तै बनाउन कुनै कसर छोड्ने छैनौँ । हेटौँडा महाधिवेशनबाट एमाओवादीले आफूलाई गम्भीर भई नियालेर, आत्मसमीक्षा गरीकन सर्वसत्तावादको जालोबाट बाहिर निस्कन प्रयत्न गर्नुपर्छ भन्ने हाम्रो सुझाव र सद्भाव छ । अन्य लोकतान्त्रिक शक्तिसँग ऐक्यबद्धताका साथ हिँड्नु अपरिहार्य छ भन्ने उसले मनन गर्नैपर्छ । ताजा जनादेश लिन चाँडोभन्दा चाँडो तत्परताका साथ चुनाव गर्ने सङ्कल्प लिन ऊ तयार हुँदैन भने एकाध ठाउँमा मौका हेरेर उनीहरू मच्चिएलान्, तर मच्चिन्छन्– मच्चिन्छन् र आफैं थच्चिन्छन्, हेर्नुहोला ।
० आगामी जेठमा चुनाव हुन सक्ला कि नसक्ला त अब ?
– त्यो सम्भावनालाई त एमाओवादीले तुहाइसक्यो नि । समय बाँकी रहँदासम्म बखेडा गर्ने अनि समय घर्किएपछि ‘जेठमै चुनाव गर्नैपर्छ’ भन्दै कुर्लिएर एमाओवादी नेतृत्वले नौटङ्की देखाइरहेको छ । यस्तो प्रवृत्तिबाट ऊ मुक्त हुनुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्