पहाड अग्लिएपछि -स्वप्निल नीरव

२५ माघ २०६९, बिहीबार २२:१६ मा प्रकाशित

म नराम्री छु, अरु झैँ हिस्सी परेकी छैन, यस्तो म सोच्छु । म कमजोर भएर, निरीह भएर बकिरहेको छैन कि,म नराम्री छु, काली छु । मान्छेले देख्ने गरेको बाहिरी रङ्ग, आवरणलाई लक्षित गरेर भन्दैछु–म नराम्री छु, काली छु, अलिकति आँखा केचो परेको छु ।यद्यपि,यी नराम्रैलाई स्विकारेर भन्दैछु–म पूर्ण छु राम्री छु । आम मान्छेको जस्तै मेरो पनि कथा छ, । नपत्याउनुस् तर मभित्र दन्दनी आगो छ । असार छ, तुषारे शिशिर छ र पनि मेरो जीवन मलाई प्यारोे छ । हान्नेहरुले वचनको झटारो हाने, यति भएर पनि मर्न नसकेकी भने, लोग्ने त्यागेर बसेकी छँडुली भने, बेश्या भने । त्यस्तो कुन चाहि नाम बाँकी छ, जो मसँग जोडिन बाँकी रहेको होस् ।

 
म घरिघरि असार उरालेर रुन्छु, घरिघरि साउन बर्र्साएर रुन्छु । म पनि चिन्तामा डुब्छु, अतित सम्झी सम्झी दुख्छु, मान्छेका थरिथरिका वचनले दुखेर चिच्याउछु, कराउछु र पनि म खुसी छु । खसी रहनु र हुनका लागि त्यस्तो कुनै बिशेष छैन । र पनि म खुसी छु ।

शनिबार छाडेर म दिनमा १३घण्टा काममा दलिन्छु ।आरामले खाने, श्रृङ्गार गर्ने, साथीभाई सँग छिल्लिदै मस्किदै चोक गल्ली चहार्ने फुर्सद मसँग छैन । बाँच्नका लागि यति सँघर्ष त गर्नै पर्छ । त्यसो त थाकिस्, भोकाइस् तँलाई सञ्चो भएन भनेर शीरमा हात राखेर माया दर्साउने, खाना छेऊमा राखिदिने त्यस्ता कोही छैनन् । साथी सँगी दाजूभाई, आफन्तको अनिकालै पनि होइन । तर आफ्नो भन्ने कोही छैन । मेरो मन नबुझ्ने, भावना नबुझ्ने आफन्त सँगी साथीको जमातलाई म आफ्नो भन्दिन । त्यसैले मान्छे मलाई अराजक भन्छन्, हृदयहिन भन्छन् ।

३/३ दाईहरु प्रध्यापक छन् । त्यही दाईहरुको छत्रछायामा हुर्केकी म स्मृति के.सी. त्यही दाईहरुको भनसुन र कृपाले विगत २ वर्षदेखि अँग्रेजी प्रध्यापक छु । एउटा सरकारी स्कूलमा मा.वि. शिक्षकपनि हुँ अँग्रेजीको ।त्यसका अलावा २/२ ठाउँमा ट्युसन कोचिङ कक्षाहरु पनि भ्याउछु । उमेरै हिसा गर्ने हो भने ३०को उकालो चढिसके । एक युग बाँचे जस्तो लाग्छ । तर औँलै भाँच्दा एक युग हैन आधा जीवन पनि बाँचेको छैन ।

२९ वर्षमै प्रध्यापन सुरु गरे । ठूलो दाजूले किनिदिनु भएको रातो स्कुटरमा चढेर क्याम्पस जाँदै गर्दा मलाई आफू भर्खर १८/१९ की सानी नानी भए झैँ लाग्थ्यो । तर जब म कक्षामा पवेश गर्थे, आला काँचा विद्यार्थीहरु ‘म त काली सुन्दरी’ गाउथे । म सेता दाँत देखाएर हाँसी दिन्थे । उनीहरु झनै मोहित हुँदै हल्ल हाँस्थे ।

करियर सुरु गरेको ठ्याक्कै ४ महिनामा म कसैको प्रेममा फसे । प्रेममा फस्नु जति सहज थियो, ब्यक्तिन त्यति नै गाह्रो । १००/ १५० मै हुँ भनाउदा विद्यार्थीको अगाडि बडे बडे सिद्घान्त र विश्व हाँक्ने मान्छे प्रेम अभिव्यक्तिको मामिलामा भने कुँजी नै ठहरिए । तर एकदिन अलिकति लाज र अलिकति हिम्मत बोकेर भनिदिए– सर मलाई हजूर मनपर्छ ।

नेपाली प्रध्यापक विनय कुमार प्रधान, (जो सँग मेरो मन साटियो) फिस्स हाँसेर बोले–म्या’म मन परेकै हो भने डोली लिइ आउँ त?
म जहीँको तहीँ गडिइरहे, लाजले । यति भैसकेर पनि उसलाई सहज भै हेर्न सकिन ।

परिवारकै सहमतीमा बिहे भयो । बिहे मैले सोचेभन्दा अलि नै भड्किलो र खर्चिलो भयो । तर पनि म खुसी थिए । आफूले रोजेको, माया गरेको मान्छे पाउनु पनि त एक प्रकारले मेरो जीत हो ।

विनय अलि बढी ठाँटिएर हिँड्न, साजसज्जा श्रृङ्गार गर्न मन पराउथ्यो ।म विहानै ३ बजे उठेर उसका टाइ पाइन्ट कोटमा आइरन गरिदिन्थे । नुहाउन सावुन तौलिया तातोपानी ठिक्क पारिदिन्थे । र आफू तयार हुन्थे । चिया नास्ता हामी क्यान्टिनमै गथ्र्यौ । बिहान ३ बजे उठ्र्ने बानी छैन, यद्यपि विनयको जिन्दगीसँग समाहित हुनका लागि मैले छिटो उठ्ने बानी गर्नुपर्थ्यो।

बिहेको ३ महिना पछि मैले अर्का नयाँ स्कूलमा पढाउन सुरु गरे । त्यसपछि भने विनयलाई दिनुपर्ने समयमा अलिकति कटौटी भयो । अझ ट्यसन कोचिङ सुरु गरेपछि त झन् व्यस्त रहन थाले । विनयलाई कराइ तातो गर्न पनि आउदैनथ्यो । म अलिकति ढिलो गरेर आए भने ऊ खानै नखाइ निदाइसकेको हुन्थ्यो ।

एक साँझ अलि अबेर गरी कोठा फर्के । कोठा ह्वाङ्गै छाडेर जुत्तैसँग लम्पसार परिरहेको थियो । उसकै छेऊमा बसेर निधार छामे, कतै बिसञ्चो पो हो कि भनेर । मेरो हातको स्पर्श चाल पाएर उसले आँखा खोल्यो ।

‘किन जुत्तै नखोली सुत्नु भा’को ?’
‘अनि तिमी चाँहि यो कुरुप चेहरा कसलाई देखाएर बसेथ्यौ त?यहीँ हो कोठा फर्कने समय?’उल्टै प्रश्नको झटारो तेर्सियो मतिर ।
‘आज अलि अबेरसम्म पढाए नि त्यसैले ।’
‘अनि के जरुरी थियो बेला कुबेलासम्म पढाउन ?’
‘बच्चाहरुको फाइनल Exam नजिकैदैछ, त्यसैले पढाइ अलि कसेर लैजानुछ ।’

‘तिमी अचेल मलाई बढी नै बेवास्ता गर्दैछौ । म पनि तिमीले झै्र स्कूल भ्याउछु, कलेज पढाउछु । तर पनि म समयमै कोठामा फर्कन भ्याउछु त तिमी किन भ्याउदैनौ ? मलाई पनि त रहर हुन्छ तिमीसँगै बस्ने, समय मिलाएर बाहिर फेर डुल्ने ।’
‘ब्यस्तताका बावजुद पुरै सिङ्गो रात हजुरलाई सुम्पेकी छु नि। यी वीच हामी एक अर्कालाई माया गर्न सक्छौ, मन भावना साट्न सक्छौ, जिन्दगीका उपलब्धी, घाटा नाफा, सवै सवै हिसाव किताव गर्न सक्छौ । भविष्यका रेखाहरु कोर्न सक्छौ ।बाहिरका दुनियाँ प्रकृति देख्नका लागि, झिलिमिली भौतिक बस्तु देख्नका लागि हप्तामा एक दिन आउने शनिबारै पर्याप्त छ।’

मेरा यी चिल्ला र मायावी कुराले उसको रिस मत्थर भएन । अरु बढी तातियो । सर्लक्कै निलुला झैँ बडे बडे आँखा तन्काएर बोल्यो–तिमी जस्तो चिसो र भद्रगोल मान्छे मैले आजसम्म देखेको छैन । न त्यो थुतुनो राम्रो, न अलिकति राम्री भएर हिँड्न जानेको छ । साढे सातकै दशा लागेर भेटेछु नि ।’
थुतुनो र चेहेराका कुरा चलेपछि मेरो कन्सिरी तातिहाल्छ । न तातोस् पनि किन? उसलाई कति चोटी भनिसके–रुप सुन्दरता र भौतिकताको कुरा मसँग गर्दै न नगर भनेर।

‘कुरुपताको कुरा गर्दै हुुनुहुन्छ? तपाई पनि कुन्ताको ह्याण्डसम हुनुहुन्छ र? चुस्स परेको दाह्री, खपटे हड्याहा अनुहार, सिकुटे ज्यान त होे । त्यसै माथि फुलो परे जस्ता त्यो खैरे आँखाले त झन् सवैलाई तर्साउछ ।’
म तातिएपछि ऊ चुप लाग्यो । रिसकै आवेगमा ड्रेस चेञ्ज गरे, नुहाए अनि विछ्यौनामा लम्पसार परे । ऊ पनि मेरै छेऊमा घोप्टिएर सुतेको थियो । रिसले मुर्मुरिदै विछ्यौनामा पल्टिए पनि भोकले दुवैका पेट कुइकिन थालिसकेका थिए । पेट कराउन थालेपछि भने मेरा सवै सवै रिस गायव भए । उसको पेट पनि बिना लाज कुइ कुइ गर्दै थियो ।

निसँवाद लम्पसार पल्टिइरह्यौ । तर ऊ र म बीच थोरै दूरी कायमै थियो । त्यो दूरी अनि मौनताका बीच पनि म प्रतिक्षा गर्दै थिए उसको गहिरो आलिँगनको, र सम्भवतः तातो तातो चुम्वनको पनि ।दिनभरिको थकान, भोको पेट, आँखा लोलाउदै थिए । यद्यपि थोरै थोरै होश र अलिकति बेहोशमै पनि पेटको कुइकुइ आवाज सुन्दै थिए । हो त्यही तन्द्राको अवस्थामै तातो आलिँगनको स्पर्श महशुस भयो । मेरो तन्द्रा सवै भागे, गायब भए । मेरो मन एक स्पर्शमे निकै निकै रोमाञ्चित भयो, तनमा एक प्रकारको आनन्दको सञ्चार भयो । अहो ! त्यही परिचित स्पर्श, परिचित आलिँगन । एके झट्कामा म ऊ तिर फर्केर उसको आलिँगनमा समेटिए । तर अचम्म, आत्मियताका बीच पनि थाहै नपाइ म सकसुकाउन पो थालिसकेछु ।
यस्तै यस्तै गरी जीवन चल्दै गयो । रिसाउनु, घुर्काउनु फेरि आफै फकिनुलाई त्यति गम्भीर रुपमा लिइन । लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै लाग्थ्यो । तर हाम्रो झगडा परालको आगो हैन, भुसको आगो सावित भयो ।
मँसिरको एक साँझ हामी बाझिइरहेका थियौ । त्यही बेला ठूलो दाई आउनु भो, यद्यपि झगडा रोकिएन । वरिपरिका कोठामा डेरा गरी बस्नेहरु हाम्रो झगडा सुल्झउने कोशिस गर्दै थिए । नसकेपछि उनीहरु गए । दाईले अत्यधिक लज्जित हुँदै भन्नुभयो–स्मृति तँले यो नभुल, उहाँ तेरो लोग्ने हो ।
‘मैले भुलेकी छैन दाई । लोग्नेले पनि त अलिकति लगाम लाउनु पर्‍यो नि आफ्नो जिब्रोलाई ।मेरो कुरुपतालाई लिएर ऊ किन जहिल्यै तनावग्रस्त रहन्छ ? किन तिमी कुरुप छौ भनेर मलाई चिढाउने कोशिस गर्छ ?’
‘लोग्नेले त्यति कुरा भन्दा पनि मन दुखाउनु पर्छ ?’

‘तपाईलाई त्यति कुरा लाग्छ हैन? तर त्यही त्यति कुरा ममा शुल झैँ बिझाउछ । मलाई थाह छैन मैले राम्री बन्न के गर्नुपर्छ ? यदि लाली पाउडर टीका गाजलले राम्री बनिने हो भने, त्यो त म पनि लाउछु । तर म उसलाई राम्री लाग्दिन ।’
धेरै बेरको बाझाबाझपछि दाईले मलाई घर लिएर जानुभयो । त्यसरात म साँच्चै चैनले निदाए । बिहान ७ बजे मात्र ब्युँझिए । म उठेपछि मलाई घेरेर सम्झाउन थाल्नुभयो–लोग्नेले हानेको २/४ लात, गाली, लान्छना सहनुपर्छ आदि इत्यादि।
मैले भनिदिए–बिना गल्तीको सजाय म सहन्न । चाहे त्यो लोग्ने, दाई या भाउजूले दिएको किन नहोस् ।

माइला दाई अलि झक्की मान्छे औला ठड्याएर भन्नुभयो–तँले आफुले आफुलाई खुब भरिपूर्ण ठान्छेस् हैन तर त्यो एउटा भ्रम हो । २९/३० वर्षको हुँदा पनि एउटा गतिलो लोग्ने नपाएर बसेकी थिइस् । धन्न कताबाट सोझो नेवार भेटाइस् र पो ।
मन मर्नका लागि यो भन्दा धारिलो वचन किन चाहियो? म अत्यन्त आहत बने । दाई प्रतिको मेरो श्रद्धा आस्थाका सवै सवै शिखरहरु पग्लिएर माटोमा मिले । आँखा चिम्लेर रिस क्रोध पिएर भने–मेरो आदरणीय दाजू हजूर, मलाई थाहा थिएन हजूरको नजरमा म त्यति कुरुप छु भनेर ।
ठूलो दाई पड्किनु भयो–चुप लाग, कसले नराम्रो भनेको छ र?
म निसँवाद शीर झुकाईरहे । मुटु गाँठो पर्दै थियो, दाजूहरु प्रतिको आस्था, र बिश्वास झन् झन् ढल्दै थियो । र म आँखा चिम्लेर क्रोधहरु पिउने कोशिस गर्दै थिए, ता कि आवेगमा आएर न पोखिउ आफ्नै दाई भाउजुको अगाडि ।
कान्छो दाईले विस्तारै उठाएर आफ्नो कोठामा लिएर जानुभयो र आफ्नो छातीमा टाँस्नुभयो । मेरो रिस आँसु बनेर पोखिन थाल्यो दाईको छातीमा ।
‘नरो हँ तेरो दाई छ नि ।’

कान्छा दाईले आफ्नै बाइकमा राखेर कोठामा पुर्‍याउनु भयो । विनय कोठामै थियो । दाइले हामी दुवैलाई राखेर सम्झाउनु भयो—ज्वाइ साहेव, यति धेरै सँकुचित नहुनुस् बिहे गरेकी स्वास्नीलाई तल्याएर (तल पारेर) कुरा गर्नु राम्रो होइन । बिहे गर्नुभएको छ, त्यो पनि अन्तरजातिय । मिलेको राम्रो ।
दाई बाहिरिने बित्तिकै विनय मतिर खनियो–यदि तेरा दाईहरु हुन्थेनन् भने तँलाई उहिल्यै छाडिसक्थे । ठूलो घरको ज्वाइ हुनु यही त घाटा ।
‘ए त्यसो भा तपाई मेरो दाईहरुको डरले पो मलाई नछोड्नु भाको ? म नै तपाईलाई छोडेर जान्छु।’
‘जा जा कहाँ जान्छेस् जा । तेरो घुर्कीसँग म डराउन्न जहाँ गएपनि तँ मेरै पाउमा पछारिन आउने त होस् ।’
फेरि अर्को पटक आहत बने । विनयको जिन्दगीमा मेरो कुनै इज्जतिलो स्थान छैन, यो बुझेर म निकै हैरान भए । दाया बाया सोचिन, चुपचाप कोठाबाट बाहिरिए ।

तीन वर्ष अघि अलग्गिएका हामी, कानुनी रुपमा अझै एक छौ । एउटै कलेजमा छौ, तर हाम्रो जिन्दगी अलग छ । आक्कल झुक्कल भेट हुन्छ, दाईहरुसँग पनि त्यस्तै हुन्छ ।कुनै दिन ऊ मेरो जिन्दगीमा थियो, पछुतो लाग्दैन । ऊ मेरो जिन्दगीबाट गयो र पनि पछुतो लाग्दैन । सँगी साथी बुढेस्काललाई जोडेर भन्ने गर्छन्–तैँले विनयलाई छाडेर भुल गर्दैछस् । एक्लो जिन्दगी यसै बित्दैन ।
था छ जीवन लामो छ, र यो पनि था छ पुरुष बिनाको जीवन बिरसिलो र बिरक्तिलो पनि छ । तर अपूर्ण भने होइन । माया र प्रेम एकातिर छ, तर मेरा सँगी साथीले भनेको जीवन त पुरुष बिनाको जीवन हो, अझ भनुँ पुरुषको स्पर्श बिनाको जीवन हो । पुरुषको प्यास ममा नहोला म भन्न सक्दिन । तर यसैका लागि बिनयलाई अँगाल्न म सक्दिन । ऊ एउटा इज्जतिलो प्रध्यापक हो, त्यसैले ऊ गलत हुन सक्दैन भन्ने आम मान्छेको धारणालाई स्विकार्दै म उसलाई इज्जत दिन सक्दिन । कुल्चिएर दबिएर हेपिएर चेपिएर हारेर नै प्रेम हुन्छ, म स्विकार्दिन । यसो भनिरहँदा म अभिमानी ठहरिन सक्छु ,अभिमानले चुलिएर धुले गफ हाँके जस्तो लाग्न सक्छ ।तर बन्धु जसले जेसुकै भनुन् प्रेममा हार्नै पर्ने सिद्धान्तलाई म अँगाल्दिन । प्रेममा हराएर आफू उठ्ने सँस्कारलाई परित्याग गर्छु, । अरे! मलाई त प्रेममा समानता मन पर्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत