अग्रगमनका नयाँ ठेकेदार :: अधिवक्ता दामोदर पौडेल

२४ माघ २०६९, बुधबार ०७:१९ मा प्रकाशित

दलको जिल्ला अधिवेशनका लागि प्रचण्ड र बाबुरामहरू रोल्पा पुगेछन् । ०६९ माघ ४ गते भाषणको क्रममा उनीहरूले भनेछन्, ‘अग्रगमनको पक्षधर एक मात्र दृढ दल एनेकपा माओवादी मात्र हो, यसबाट फुटेर एकथरीले ठूलो गल्ती गरेका छन् र क्रान्तिलाई धोका दिएका छन् ।’ बाबुराम र प्रचण्डबाट दिइएको यो अभिव्यक्ति एकप्रकारले ठीकै हुन् । किनकि, अभिव्यक्ति सही होस् या नहोस् हरेक दललाई आफ्नो दलको विचार या बाटो नै राम्रो हो भन्ने अधिकार छ । तर, कम्युनिस्टहरू आफ्नो विचारलाई मात्र राम्रो भनेर अरूलाई प्रतिबन्धित नै गर्नुपर्छ भन्छन् भने लोकतन्त्रवादीहरू आफ्नो विचार राम्रो भनिरहँदा पनि अरूको विचारलाई वैचारिक रूपमा निषेध नै गर्न भने खोज्दैनन् । नयाँ सम्भावनालाई कम्युनिस्टहरूले जस्तै स्वीकार गर्दछौँ भन्ने तर बाटो नै बन्द गर्नेजस्तो कार्य लोकतन्त्रवादीले गर्दैनन् । नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवादी दल नेपाली कांग्रेसको लक्ष्य पनि यही हो । बीपीले त भनेकै थिए कि नेपाली कांग्रेस लोकतान्त्रिक किसिमले साम्यवादको स्थापना गर्न चाहन्छ ।
उनले प्रस्टैसँग साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद अर्थात् हामीले बुझ्ने गरेको लोकतान्त्रिक समाजवाद हुन्छ भनेका हुन् । हुनत कांग्रेस सरकारमा हुँदा साम्यवादका लागि केही नगरेकाले यसले साम्यवादी भन्नु हास्यास्पद हो कि ? जस्तो पनि लाग्ला । वास्तवमा त्यसो होइन, कम्युनिस्टहरू र सबैभन्दा परम्परावादी कम्युनिस्ट माओवादी सरकारमा हुँदासमेत यसले कुन काम साम्यवादका लागि ग¥यो ? के आफ्ना लडाकुहरू र घाइतेहरूमध्ये केहीलाई पैसा बाँडेर साम्यवाद आउँछ ? भ्रमणमा पैसा खर्च गरेर, धेरै सल्लाहकार र मन्त्री राखेर साम्यवाद आउन सहयोग हुने हो कि ? विरोधी दलका कार्यकर्तालाई मारेर वा जिउँदै सञ्चारकर्मीलाई मार्नेलाई आममाफी दिएर साम्यवाद आउने हो ? या विरोधीहरूलाई मारेर आतङ्कको शासन कायम गरेर आफूद्वारा नियन्त्रित सञ्चारमाध्यमबाट समानता र साम्यवाद भने पछि साम्यवाद आउने हो ? यसको जवाफ जनतालाई दिए कल्याण हुने थियो ।
कांग्रेसले साम्यवादका लागि धेरै काम गरेको छ र कम्युनिस्टहरूले गर्न नसकेको काम गरेको छ तर हामी साम्यवादी र गरिबका मानिस भनेर बढी प्रचार गर्न सकेको छैन । यो दलसँग प्रचार गर्ने लुटेराहरूले त्रास देखाएर जनतालाई भ्रम पार्ने संयन्त्र पनि छैन । माओवादी हिंसाभन्दा पहिला यो दलको सरकार हुँदा देशको आर्थिक विकास दर पाँच प्रतिशतभन्दा बढी भएको साम्यवादतर्फको पाइलो हो । उद्योगहरू खुल्नु, जनताले मजदुरी गर्न पाउनु, यातायातको विकास हुनुसमेत साम्यवादका पाइला हुन् अर्थात् विकासले साम्यवाद ल्याउन सहयोग गर्दछ भन्ने कांग्रेसको मान्यता हो । कम्युनिस्टहरूको साम्यवाद अनौठो छ । उनीहरूका अनुसार सत्ता कब्जा गर्ने, सेना समेतमा पकड राखेर जनताले उनीहरूको विरोध गन नसक्ने बनाउने र साम्यवाद आउन थालेको घोषणा गर्ने अनि साम्यवाद आइसक्यो भने पनि कसले विरोध गर्ने ? तर, त्यहाँ साम्यवाद विकासबाट होइन, कागजमा मात्र आएको हुन्छ । रुसमा समाजवाद वास्तवमा आएको भए त्यो भत्किने थिएन । चीनमा समाजवाद आएको भए पुँजीवादी अर्थतन्त्र आउने थिएन । समाज विकासक्रम नागवेलीजस्तो हुन सक्दछ तर यो पछि भने फर्कंदैन भन्ने मान्यता कम्युनिस्टहरूकै अनुसार ती देशमा पूरा भएन । यो तथ्यलाई साम्यवादीहरूले स्वीकार गर्नभन्दा कमजोरी सतही रूपमा खोज्ने गर्दछन् वा विभिन्न उट्पट्याङ तर्क दिएर जनतालाई दिग्भ्रमित पार्दछन् । साम्यवाद त विरोधीहरू हुँदा पनि उनीहरूले पनि विरोध गर्न नसक्ने गरेर आउँछ र विकासको माध्यमबाट आउँछ । बन्दुकबाट होइन भन्ने कांग्रेसले राम्रोसँग बुझेको छ ।
लेनिनले एक देशमा सच्चा कम्युनिस्ट पार्टी एक मात्र हुने बताएका थिए । माओले एउटा मात्र कम्युनिस्ट पार्टीको मातहतमा अन्य दलहरू रहन सक्ने तर तिनीहरूले साम्यवादी विचारको विरोध गर्न नपाउने व्यवस्था गरेका थिए । तिनै दुईवटा कम्युनिस्ट नेताहरूको विचारबाट समेत हाम्रा कम्युनिस्टहरू सञ्चालित छन् । कम्युनिस्टहरू नीतिप्रधान हो नेता होइन भन्ने गर्दछन् तर नेताको आधारमा नै कम्युनिस्ट पार्टीहरू फुट्छन् । नेपालमा अहिलेसम्म सयभन्दा बढी कम्युनिस्ट पार्टीहरू गठन भएका छन् । के ती सबै नीतिका भिन्नताको कारणले गठन भएका थिए ? थिएनन् । थिए भने कम्युनिस्टहरूका कतिथरी नीति हुन्छन् र कुनचाहिँ पक्का नीति हो भन्नेबारेमा सबैका आ–आफ्नै डम्फु भएकाले कसलाई विश्वास गर्ने ? विश्वमा अहिले त उत्तर कोरियामा तीन पुस्ता नै राजासरह भए, क्युवामा दाइपछि भाइ राष्ट्रपति बनेका छन् । कम्युनिस्ट नेताहरूको रतिक्रिया नै सबैभन्दा क्रान्तिकारी हुने हुँदा स्वाभावैले उनीहरूका सन्तानहरू देशका अमूल्य निधि हुन् भन्नुपर्ने भयो । अब मानुषी र प्रकाश नै हामीहरूका सन्ततीका नेता हुने कल्पना गर्ने कि ? दुवैजना नेता बन्न नसक्नेमा उनीहरूलाई दुई सदस्यीय जनयुद्ध गर्न लगाउने र जसले जित्छ उसैलाई क्रान्तिकारी सर्वोच्च नेता मान्ने कि ?
बाबुराम आफ्नो कार्य जति अग्रगमन भन्दै छन् । केही वर्ष पहिलाको गोरखापत्रमा उनले कम्युनिस्ट पार्टीको सत्ता आएपछि विदेशी दलाल, दलाल पुँजीपति आदिलाई दल खोल्न नदिने भन्ने उल्लेख गरेका थिए । उनले प्रधानमन्त्री नै विदेशीको कारणले बनेको आसय व्यक्त गरेपछि उनले विदेशी दलाल आदि घोषणा गर्न पाएमा त्यो गरेकाहरूमा राष्ट्रिय एकता दिवस मनाउन पाउनुपर्छ भन्नेहरू हुन्छन् होला । विदेशी दलाल विदेशको सेल्टरमा विदेशीले लुकाएर राखेको ठाउँमा होइन पहाडका कन्दरामा नेपाल जपेर दुःख गरेर बस्ने पाइनेछन् । राष्ट्रविरोधी चस्मा लगाएपछि त्यसो हुन्छ नै ।
उता देशकी प्रथम महिला अर्थात् हिसिला यमी महिला अधिकारकर्मीले आन्दोलन गरेको ठाउ“मा रत्यौलीको जस्तो गरेर नाचिछिन् । त्यहाँका कर्मीहरूलाई प्रधानमन्त्रीलाई दबाब दिएर तुरुन्त समस्या समाधान गर्ने बताउने र काम गर्नेतिर उनको ध्यान गएन । उनलाई नाच्न नै रमाइलो लागेछ, महिलाका पीडा नाचेर अन्त्य गर्ने माहत्म्य उनले बनाएको हुनुपर्छ । प्रथम महिलालाई आफ्ना माइतीतिरकालाई जागिर दिएका आरोप पनि लाग्ने गरेको छ । जनताले यो पनि बुझ्नुपर्ने हो कि जन्मेदेखि नै बसेको ठाउँकाहरूको इमानदारी थाहा भएर उनले यसो गरेकी हुन् । उता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल पहिला रातो पदार्थमा विवादित हुन् । उनका आफन्त अस्वाभाविक रूपमा सम्पन्न बनेको मानिसले महसुस गरेका छन् ।
देशमा समावेशीको सबैभन्दा चर्को नारा दिने पनि माओवादी नै हो । तर, यसले गठन गरेका धेरै जातीय मोर्चाहरूमा बाहुन–क्षेत्रीहरूको बहुमत छ । कतै अरू थर राखे पनि अर्को थरमा विवाह गरेका महिला बाहुन–क्षेत्री नै छन् । बाबुरामले अब सबैलाई अचम्मित गरेर नेवारलाई प्रधानमन्त्री दिएर सरकार परिवर्तन गर्न सक्नेछन्, यो महिलामाथिको सम्मान पनि हुनेछ । अर्थात् हिसिला यमीको थरमा बाबुरामले आफूलाई परिवर्तन गरेर बाबुराम यमी अर्थात् कोष्ठभित्र नेवार राख्नु साह्रै क्रान्तिकारी हुने थियो । आखिर विकास गरेर र जनताको हित गरेर होइन जनतालाई डर र भ्रम दिएर नै हामी क्रान्तिकारी बनेको हो ।
अन्त्यमा, यो पङ्क्तिकारको थर पौडेल हो । थर सच्याएर पोडे थरको नेवार बनाएर मुक्ति प्रधानको स्थानमा महान्यायाधिवक्ता बनाइदिए ठूलो कल्याण हुने थियो । बाहुन–क्षेत्रीहरूका लागि बाहुन नै प्रधानमन्त्रीका कानुनी र राजनीतिक सल्लाहकार र त्यसमा पनि पौडेल नै, जनजातिका लागि प्रधानमन्त्री पनि यो पङ्क्तिकार पनि जनजाति हुने अवसर प्राप्त हुने थियो । युद्धअपराधको डर नभएकाले यो पङ्क्तिकार विदेशमा कार्यक्रममा भाग लिन पनि जान सक्ने थियो । पहिला अख्तियारको आयुक्तका लागि यो पङ्क्तिकारले दरखास्त हालेको थियो । त्यो पदमा काम गर्नेले भ्रष्टाचारको परिभाषामा आफ्नो परिवार र दलका लागि काम गरेकोमा भ्रष्टाचार नमानिने कानुनमा नगरेसम्म ठीक नहुने महसुस गरेकोले यो पङ्क्तिकार महान्यायाधिवक्तामा दरखास्त दिन उचित सम्झन्छ ।

[email protected]

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको