प्रचण्ड ‘अव्वल जोकर’ हुन् : प्रदीप नेपाल (एमाले नेता)

२० माघ २०६९, शनिबार ०९:५६ मा प्रकाशित

० दैलेखका दुई दर्जनभन्दा बढी पत्रकारले सुरक्षाका कारण एकसाथ जिल्ला छोड्नुपरयो, यो त नेपालको इतिहासमै पहिलो होला, किन यस्तो अवस्था आयो होला ?
– जुन राजनीतिक परिवेशमा हामी बाँचिरहेका छौँ यसका आधारमा भन्नुपर्दा यो घटनालाई म त अस्वाभाविक ठानिरहेको छैन । हाम्रो टाउकामा अहिले सरकाररूपी जुन तत्व बसेको छ त्यो अझै पनि नौलो जनवादी क्रान्तिको पक्षमा छ । यो माओवादी भन्ने पार्टी जङ्गलबाट फर्केपछि धेरै मान्छेलाई माओवादी सप्रियो, लोकतान्त्रिक भयो भन्ने भ्रम प¥यो । उसले त्यही भ्रमलाई हतियार बनाएर बन्दुक छोडेजस्तो गरे पनि नौलो जनवादी क्रान्तिको दिशा सोझ्यायो । बर्बरतापूर्ण ढङ्गले यहाँसम्म आइपुगेको यो पार्टीले अझै कति ताण्डव नाच्नु छ भन्ने हामी सबैले यकिन गर्न सकेकै छैनौँ भने पत्रकारहरू ज्यान सुरक्षाका लागि गाउँ–जिल्ला छोड्ने अवस्थामा पुग्नु के अस्वाभाविक भयो र ?
० तपाईंको कुराका आधारमा त माओवादी पार्टी कहिल्यै लोकतान्त्रिक बन्न सक्दैन हो ?
– सक्दैन, सक्दैन, माओवादीहरू कहिल्यै लोकतान्त्रिक बन्ने छैनन्, कहिल्यै । उनीहरूको सोच, शैली र व्यवहारले यही देखाउँछ ।
० लोकतन्त्रको कुरा पनि गर्छन्
त उनीहरू ?
– कहाँ गरेका छन् लोकतन्त्रको पक्षमा कुरा ? मैले सुनेको छैन । प्रचण्डले हालै आफ्नो पार्टीको काठमाडौं जिल्ला अधिवेशनमा भने कि अब नौलो जनवादको दीर्घकालीन कार्यनीति होइन जनतालाई आर्थिक क्रान्तिमा लगाएर नौलो जनवादी क्रान्ति पूरा गर्छौं † नौलो जनवादको कुरा गर्दै एकतन्त्रीय निरङ्कुशता लाद्न छट्पटिएको शक्तिले लोकतन्त्रको कुरा गरेको छैन र गरे पनि पत्याउने कसरी ?
० अहिलेको युगमा सम्भव छ र नौलो जनवादी क्रान्ति ?
– त्यो त प्रचण्डजीहरूको सपना हो । उहाँ त बडा स्वप्निल हुनुहुन्छ नि त † सपना धेरै देख्नुहुन्छ अनि बरर्र–बरर्र बर्बराउनुहुन्छ । उहाँका प्रत्येक सपनाको पछिल्तिर एक–एकवटा बर्बराई आउने गरेको दुनियाँले देखिरहेको छ नि । यसैले गर्दा नै प्रचण्डजी रङ्ग न ढङ्गको जोकरजस्तो बनिरहनुभएको छ । उहाँको व्यवहार हेर्दा उहाँ एक अव्वल जोकर मात्र हो ।
० आजको परिवेशमा यसरी एउटा जिल्ला नै सञ्चारबाट विमुख र विच्छेदको अवस्थामा पुग्न विवश हुनु गम्भीर कुरा हो नि, होइन ?
– त्यही त म भन्दै छु । एउटा कुरा के बुझ्नुपर्छ भने यस्ता निरङ्कुश सरकार या शासकहरू जहिले पनि प्रेससँग थर्थरी काँपिरहेका हुन्छन् । आजको मात्र कुरा होइन यो, सय वर्षको विश्व इतिहास हेरे पनि यही देखिन्छ । हिटलर पनि प्रेससँग डराउँथ्यो, मुसोलिनी पनि प्रेससँग औधी डराउँथ्यो, पोलपोटको हालत पनि त्यही थियो । ख्याल राख्नुस्, यसरी प्रेससँग डराउने मानिस निरङ्कुश हुन्छन् । प्रचण्ड–बाबुराम या तिनका पार्टीका कार्यकर्ता पनि सबभन्दा बढी प्रेससँग नै डराउने गरेका छन् । अरूलाई त त्यत्तिकै पेलिहालिन्छ तर यो प्रेस भन्ने ज्याद्रोलाई त पेल्नै नसकिने रहेछ भन्ने पनि तिनले बुझेका छन् । प्रेसको पक्षमा सारा विश्व एक हुन्छ भन्ने पनि तिनीहरूलाई थाहा छ । तर, कुबुद्धिले फेरि उनीहरू प्रेसलाई पेल्नै खोज्छन् र मार खान्छन् । होसियार बन्न खोज्दाखोज्दै पनि सबभन्दा बढी डराउने, सबभन्दा बढी रिसाउने र सबभन्दा बढी तिनले दमन गर्ने ठाउँ फेरि प्रेस नै हो । अहिलेको घटनाचाहिँ प्रेसमाथिको दमनको एउटा ट्रेलर मात्र हो । प्रेसमाथि सरकारी दमन त रेडियो नेपालबाट आरम्भ भइसकेको थियो । बाबुरामले आफूमाथि टिप्पणी गरेर अन्तर्वार्ता दिनेलाई केही भन्न सकेनन् तर अन्तर्वार्ता लिनेलाई चाहि“ कारबाही गर्न निर्देशन जारी गरे । त्यहाँबाट सुरु भएको ट्रेलरको दैलेख प्रकरण एउटा रूप हो ।
० भनेपछि त प्रेसमाथि दमन अझ बढ्न बाँकी नै छ ? कहाँसम्म चल्ला त यो शृङ्खला ?
– हेर्दै जानुहोला, कस्ता–कस्ता दमन झेल्नुपर्नेछ भन्ने । पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी आदि सबै सञ्चार क्षेत्रका सङ्घ–संस्थाहरू संयुक्त भएर घनघोर विरोध गरेनन् र केही दिनकै लागि भए पनि प्रधानमन्त्रीलाई मिडियाबाट बहिष्कार गर्न सकेनन् भने यो दमन झन् बढ्दै जान्छ । सधैंका लागि भन्ने कुरा भएन केही दिन मात्र भए पनि बहिष्कार गरेर ‘हामी यस्तो पनि गर्न सक्छौँ है’ भन्ने सन्देश दिन जरुरी छ । धेरै पनि पर्दैन तीन दिन बन्द गर्दिनुस् माओवादी थरथर काँप्न थाल्नेछ ।
० भनेपछि माओवादीलाई लोकतान्त्रिक बनाउन त मिडियाले मात्र सक्ने रहेछ कि कसो ?
– मिडियाले मात्र सक्ने भन्ने त होइन सक्ने त जनताले नै हो । सबैभन्दा माथि त जनता नै हो नि । जनताले नै हामी कसैलाई पनि तह लगाउने हो । तर, फेरि मिडिया भनेको राज्यको चौथो अङ्ग हो, जनतापछिको शक्तिशाली अङ्ग हो यो । त्यसैले मैले भन्ने गरेको छु मिडिया जति–जति जनताप्रति समर्पित हुन्छन् त्यति–त्यति आफैंमा शक्तिशाली पनि बन्छन् । गलत काम गर्ने जोसुकैसँग पनि जुध्ने आत्मबल मिडियाले जनताबाटै पाएको हुन्छ । त्यसैले मैले यो पनि भन्ने गरेको छु कि पत्रकारको आचारसंहिता सरकार, संसद् या राज्यका यस्ता निकायले नभई पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ आफैंले बनाउनुपर्छ ।
० मुलुकको राजनीतिक समस्याको निकासचाहिँ कसरी होला त ?
– बल्ल–बल्ल नेताहरूमा अलि–अलि चेतना आउन थालेको छ आन्दोलनको विकल्प छैन भन्नेमा । म त्यही भन्छु, वर्तमान परिवेशमा आन्दोलनले मात्र समस्याको निकास दिन सक्छ ।
० आन्दोलनबाट प्रधानमन्त्री हटाउन सक्नुहुन्छ तपाईंहरू ?
– प्रधानमन्त्री हटाउने भन्ने सानो कुरा भयो । बाबुराम प्रधानमन्त्री हटाउँदैमा समस्या सिद्धिने होइन । मैले के बुझेको छु भने राज्यका यावत् निकायले यो निरङ्कुश शासन–सत्तासँग कि आत्मसमर्पण गर्नुप¥यो कि चाहिँ निरङ्कुशतन्त्रको विरुद्ध दुई–चार वर्ष सङ्घर्ष गर्ने हिम्मत गर्नुप¥यो । ०१७ सालपछि राजा महेन्द्रले सबैलाई एकप्रकारले नतमस्तक गराए, उनले पत्रकारलाई पनि अफ्नो पक्षमा ल्याए, कम्युनिस्टलाई पनि ल्याए, काङ्ग्रेसका त महामन्त्रीसमेतलाई झुकाए । सबैलाई ल्याए र २०–३० वर्षसम्म निरङ्कुश रजाइँ गर्ने तारतम्य बनाए । यही गर्नमा ज्ञानेन्द्रचाहिँ चुके र दुःख पाए । यो एउटा बाटो अहिले पनि छ जनताका लागि, त्वम् शरणम् भन्दै यही निरङ्कुश र नालायक सरकारसमक्ष आत्मसमर्पण गर्ने । होइन भने एउटा राम्रो अवसर पनि छ, यो नेकपा एमाओवादी भन्ने अहिले विश्व समुदायकै लागि चरम नकारात्मक पात्रका रूपमा उदाएकोले राजनीतिक दलहरूलाई फाइदा नै छ सङ्घर्षमा जाने सवालमा ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको