‘सर्वहारा पार्टी’को महाधिवेशन खर्च साढे ६ करोड

१७ माघ २०६९, बुधबार २०:४३ मा प्रकाशित

काठमाडौं, १७ माघ । आफूलाई अझै सर्वहाराको पार्टीका रुपमा चिनाउन चाहने सतारुढ एमाओवादीले पार्टीको सातौँ महाधिवेशनमा साढे ६ करोडभन्दा बढी रुपैयाँ खर्च गर्ने व्यवस्था मिलाएको बुझिएको छ । सुरक्षाकर्मी, वाईसीएल तथा महाधिवेशन प्रतिनिधिहरू गरी करिब पाँच हजार नेता तथा कार्यकर्र्ता सहभागी हुने बताइएको छ । ‘क्रान्तिकारी कार्यदिशालाई नयाँ उचाइमा विकास गरौँ एकताको पाटो रच्ने सातौँ महाधिवेशनलाई भव्य रूपमा सफल बनाऊँ’ भन्ने नारा तय गरिएको महाधिवेशनमा पैंतीस सय प्रतिनिधिको सहभागिता रहने बताइएको छ । महाधिवेशन माघ २० देखि २५ गतेसम्म चल्नेछ भने महाधिवेशनको उद्घाटन हेटौँडाको हुप्राचौरमा हुने र बन्द सत्र हेटौँडाको औद्योगिक क्षेत्रभित्र हुने बताइएको छ ।
एमाओवादीले राष्ट्रिय राजनीतिलाई दिशानिर्देश गर्ने ‘ऐतिहासिक उत्सव’को रूपमा लिएको महाधिवेशनको सबैखाले तयारी तीव्र गतिमा अघि बढेको बताएको छ । स्रोतका अनुसार महाधिवेशनका लागि आर्थिक सङ्कलन गर्ने कार्य पनि अन्तिम चरणमा पु¥याइसकेको छ । साढे ६ करोड लाग्ने भनिए पनि उसले त्यसभन्दा दोब्बर बढी आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
एमाओवादीले आर्थिक सङ्कलनका लागि कृष्णबहादुर महराको संयोजकत्वमा ३४ सदस्यीय आर्थिक समिति गठन गरे पनि प्रधानमन्त्रीपत्नी हिसिला यमीलाई विशेष जिम्मेवारी दिएको छ । पार्टीको जिम्मेवारीअनुसार उनले उद्योगी तथा व्यापारीहरूलाई प्रधानमन्त्रीनिवासमै बोलाएर आर्थिक सहयोग गर्न भन्दै आएकी छिन् । उनले साना तथा ठूला सबै व्यापारीलाई भेट गरेर पार्टीको महाधिवेशनलाई आर्थिक सहयोग गर्न भनिसकेकी छिन् । स्रोतका अनुसार महराको समितिले नेपालका उद्योगी तथा व्यापारीलाई विभिन्न तहमा वर्गीकरण गरिएको छ । त्यसअन्तर्गत केन्द्र, राज्य, जिल्ला र क्षेत्र रहेका छन् । केन्द्रमा भने करिब पाँच सय उद्योगीलाई नाम र सहयोग गर्नुपर्ने रकम लेखिएको पत्र पठाएको समितिका एक सदस्यले जानकारी दिए ।
एमाओवादीले आर्थिक सहयोग गर्न भन्दै सरकारी कार्यालयका विभिन्न विभाग तथा संस्थानलाई चिठी नै पठाएर रकम माग गरेको थियो । समारोह व्यवस्थापन समितिका संयोजक देवेन्द्र पौडेलले सदस्यता शुल्क तथा चन्दा उठाएर महाधिवेशनको खर्च धान्ने बताए । उनका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि र पर्यवेक्षकहरूको खानामा मात्र साढे दुईदेखि तीन करोडसम्म खर्च हुनेछ । त्यस्तै महाधिवेशन तयारी, प्रचारप्रसार, मञ्च व्यवस्थापनदेखि महाधिवेशन घोषणासभालगायतका कार्यका लागि तीनदेखि साढे तीन करोडसम्म लाग्ने अनुमान गरेको छ । अन्य विविधि शीर्षकमा १५ देखि २५ लाखसम्म खर्च हुने अनुमान गरिएको छ ।
पौडेलका अनुसार खर्च कम गर्न भन्दै पार्टीले महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकलाई होटलमा नराखी औद्योगिक क्षेत्र, हेटौँडा बजार र आसपास क्षेत्रमा टहरा बनाएर राखिनेछ । केहीलाई भने, कार्यकर्ता, शुभेच्छुकको घरमा राख्ने तयारी गरेको छ । स्रोतका अनुसार एमाओवादीले हेटौ“डा र त्यस आसपासका क्षेत्रका प्रत्येक घरमा तीनदेखि सातजनासम्मलाई पाहुनाको रूपमा अनिवार्य राख्नुपर्ने उर्दी जारी गरेको छ । तर, विदेशी पाहुनालाई भने होटलमा बस्ने व्यवस्था मिलाइएको पौडेलले जानकारी दिए । केन्द्रीय कमिटीका नेताहरूलाई पनि होटलमै बस्ने व्यवस्था मिलाइएको छ । होटलमा बस्न पाउने भाग्यमानी नेताहरूमा पार्टी अध्यक्ष, प्रधानमन्त्री, मन्त्री भएका नेता तथा उनीहरूको सुरक्षाकर्मी, पूर्वकेन्द्रीय सदस्य, राज्य समितिका संयोजकहरू रहेका छन् । प्रधानमन्त्री, मन्त्री तथा तिनका सुरक्षाकर्मी बस्दा लागेको खर्च भने उसले सरकारकै कोषबाट भराउने योजना बनाएको छ ।
यसैगरी महाधिवेशनका लागि अध्यक्ष प्रचण्डको संयोजकत्वमा निरीक्षण तथा अनुगमन समिति, अमिक शेरचनको संयोजकत्वमा अनुशासन, गिरिराजमणि पोखरेलको संयोजकत्वमा स्वास्थ्य, लीलामणि पोखरेलको संयोकजत्वमा अथिति सत्कार, अग्निप्रसाद सापकोटाको संयोजकत्वमा प्रचारप्रसार, जनार्दन शर्माको संयोजकत्वमा यातायात व्यवस्था, नन्दकिशोर पुनको संयोजकत्वमा सुरक्षा तथा स्वयम्सेवक, निनु चापागाईंको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन, हिसिला यमीको संयोजकत्वमा बालबालिका तथा अपाङ्ग रेखदेख, हितराज पाण्डेको संयोजकत्वमा व्यवस्थापन र राम कार्कीको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति गठन गरिएको छ । सबै समिति सक्रिय रूपमा लागिरहेको नेता लीलामणि पोखरेलले जानकारी दिए । एमाओवादीले विदेश विभागका प्रमुख राम कार्कीका अनुसार महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन भारत, चीन, कोरिया, क्युवालगायत विभिन्न ३० देशका राजनीतिक दललाई निमन्त्रणा पठाइएको छ । उसले मुलुकभित्रका सबै दललाई उद्घाटन सत्रमा आमन्त्रण गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने