नेपाली साहित्यलाई विश्व बजारमा पुर्याउने बेला आएको छ: गीता थापा “दोषी”

१३ माघ २०६९, शनिबार २२:४२ मा प्रकाशित

गीताजी ! आफ्नो परिचय दिनुस् न ?
धन्यवाद ! मेरो नाम गीता थापा, उपनाम (दोषी), घर बेलबारी-२ मोरङ, हाल-इजरायल ।
लेख्न कसरी थाल्नुभयो ?
सानैबाट मेरो रुचि साहित्यप्रति थियो । गाउँघरमा देखिएका घटना, बिकृतिहरूलाई म गीत कवितामा कोरकार गर्थें । म लेखेर आफ्नो मनले खाएका साथीलाई सुनाउँथें । तर म थोरै अन्तर्मुखी स्वभावकी हुनाले मेरा रचना धेरै वर्षसम्म आम पाठक माझ पुग्न सकेको थिएन । जब विदेशिनुपर्ने वाध्यता आयो तव फुर्सतको समय र एक्लोपनको साथी मैले साहित्यलाई बनाएँ । लेख्दै जाँदा पाठकहरूको स्नेह र प्रेरणादायी प्रतिक्रियाले मभित्र ऊर्जा थपियो । र अर्को कुरा यसमा सामाजिक सञ्जाल

फेसबूकले पनि अहम भूमिका खेलेको छ ।
मझेरीमा तपाईँका कविता, कथा, गीत, गजलहरू पढ्न पाइन्छ । आफूलाई चाहिँ कस्तो लेखक भनेर परिभाषित गर्न चाहनुहुन्छ ?
म सबै जसो विधाकी अनुरागी, प्यासी हुँ । तर मुलरुपमा म आफूलाई साहित्य क्षेत्रकि अनुरागी र एक शिकारु छात्रा ठान्छु ।
मनपर्ने लेखकहरूको नाम लिनुपर्दा कसलाई सम्झनुहुन्छ ?
महाकवि लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वर प्रसाद कोइराला बिष्णु कुमारी वाईबा । पछिल्लो समयका युवाहरूमा चाहिँ ददी सापकोटा, झमक घिमिरे लगायत केही छन् ।
अहिलेसम्म केही कृति निकाल्नु भएको छ ? या त्यस्तो योजना बनाउँदै हुनुहुन्छ ?
अहिलेसम्म मेरा कृति धेरै नै आए । ती फुटकर रुपमा विभिन्न अनलाइन मिडियामा देखिए । तर पुस्तकका रुपमा भने आएका छैनन् । हाल विदेशमा छु । त्यसैले नेपालको परिस्थिति, बजार, र प्रकाशकसम्म मेरो पहुँच पुगेको छैन । बाहिर भएकाले आफैंले त्यो मिलाउन र खोज्न पनि भ्याएकी छैन । तर मैले कथा र लघु कथाका एक एक पुस्तक निकाल्न पुग्ने रचना बनाएर बसेकी छु । प्रकाशक पाए म तिनलाई पुस्तकको रुप दिउँ भन्ने सोचमा छु । हतारिएकी भने छैन । त्यसै गरि मेरा गीत, गजल र मुक्तकपनि निकै कोरिएका छन् । तिनलाईपनि पुस्तकको रुप दिन पाए हुन्थ्यो भन्ने त लाग्छ नै ।
बिदेशमा रहनुले तपाईँको लेखन र जीवनलाई कसरी फरक पारेको छ ?
बिदेशमा रहँदा एउटा कुरा के हो भने यहाँ ईन्टरनेट र बत्तीको पहुँच सहज छ । जसले गर्दा लेख्न पढ्न सहज छ । तर अर्को कठिनाई के भने नेपालको साहित्यिक परिवेश बुझ्न कठिन हुन्छ । पुस्तकहरूको प्राप्ति सहज छैन । हाम्रा स्रष्टाका गहकिला पुस्तकभन्दा नेटमा मात्रै भर पर्नु परेको छ । त्यसले गर्दा ज्ञानको दायरा सोचे जसरी फराकिलो पार्न नसकिने रहेछ । त्यसै गरी गाउँ ठाउँ घुमेर, देखेर, पात्रका प्रवृत्ति र भोगाई देखेरै लेख्न नपाइने हुनाले सोचे जस्तो सिर्जना गर्न सहज नहुने रहेछ भन्ने लाग्छ । जीवन त स्वदेशमै रमाउँछ । तर केही समय विदेशको अनुभव लिन पाउनुपनि राम्रो हो । किनकि आफ्नो देशको परिवेशसित तुलना गर्न, जान्न बुझ्न पाइन्छ ।
तपाईका रचनाहरूमा देशप्रेमदेखि लिएर माया-प्रीति र बिदेशिनुको पीडासम्म पढ्न पाइन्छ । कस्तो समयमा लेख्नुहुन्छ र कस्ता विषयमा लेख्न रुचाउनुहुन्छ ?
मैले लेख्ने भनेको कि साँझ कि विहानको समय हुन्छ । राति निद्रा माया मारेर मैले कहिल्यै पनि लेखेकी छैन । किनकि मलाई निद्रा असाध्यै प्यारो लाग्छ । रचनाको बिषयमा भन्नुपर्दा सबैका आ-आफ्ना चाख, चासो र सिल्पका विषय होलान् । म सस्ता, यौनका फितला कुरा र मजाककालागि भन्दा केही सन्देश दिने, अन्याय अत्याचार बिरुद्द बोल्न साहस दिने, केही शिक्षा दिने उपयोगी रचना गर्न रुचाउँछु । हाम्रो देश र समाजको लागि अहिले यस्तै उपयोगि रचनाहरूको खाँचो छ जस्तो लाग्छ ।
लेखेर भविष्यमा यस्तो बनुँ र यस्तो गरूँ भने केही त्यस्तो सपना देख्नुभएको छ ?
असल लेखिका बनौं, नाम कमाउँ, सेवा गरौं भन्ने सानो इच्क्षा त सायद सबैको होला । म मात्रै अलग नहुँला त्यो सोचाईबाट । तर मैले त्यस्तो ठूलो महत्वाकांक्षा भने पालेकी छैन । साहियलाई बुझौं, जानौं, अलि गहिराईमा पुगौं र केही सिर्जना गरौं भन्नेसम्म छ ।
आफ्नो लेखनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टनै छु भन्नु पर्छ मैले । मैले कस्सिएर लेख्न थालेकै धेरै भएको छैन । त्यसैले आफ्नो मेहनत, समय र साहित्यलाई सिर्जना गर्न जे जति वस्तु, सामाग्रि चाहिन्छन् त्यसको पहुँच अनुसार सकारात्मकनै मान्छु म । तर स्वदेशमै बसेर, घटना र प्रवृत्ति अनि पात्रहरू नियाल्दै लेख्न पाएको भए सायद अलि परिस्कृत हुँदो हो कि भन्ने लाग्छ ।
दोषी उपनाम किन ?
विदेशिने नारीलाई हाम्रो समाजको हेर्ने दृष्‍टिकोण र मुल्याङ्कन गर्ने गलत धारणामा अझैं सम्म सुधार भैनसकेको अवस्था छ । त्यसकारणले पनि मलाई लाग्यो, एउटी नारी जन्मशिद्ध दोषी हुँदिरहिछे । त्यसैको आधारमा मैले मेरो नामको पछाडि दोषी झुन्ड्याएकी हुँ ।
फुर्सदमा के-कस्ता कुराहरू गरेर दिन बिताउनुहुन्छ ?
म स्वदेशी विदेशी लेखक, पत्रकारका सिर्जना पढेर, लेखेर र ज्ञानवर्दक भिडियो हेरेर, सुनेर बिताउँछु ।
इजरायलमा बस्नुहुँदो रहेछ । त्यहाँ त निकै ठुलो साहित्यिक माहोल छ क्यार ! त्यहाँको साहित्यिक भीडमा कत्तिको सरिक हुनुहुन्छ ?
म पनि सुन्छु जमघटहरू भएको । तर म उति सरिक हुने गर्दिन । एउटा कुरो साहित्यिक फाँटमा सिकाउन सक्ने, आफूले सिक्न पाउने स्तरका स्रष्टाहरू उति भए झैं लाग्दैन । ईजरायलमा । वा मैले नदेखेकि पो हुँ कि ! अर्को कुरा त्यस्ता जमघट इजरायलका मुख्य ठूला शहरमा हुन्छन् । म अलि गाउँमा बस्छु र पनि मलाई सहज हुन्न । त्यस्तै, म अहिले सिक्नतिरै धेरै समय दिन्छु र आफ्नै दुनियाँमा रमाउने खाले छु । त्यसैले मेरो सहभागिता खासै हुन्न भने पनि हुन्छ ।
फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूको पयोग गरिरहनुभएको छ नी ?
ट्विटर त मैले प्रयोग गरेकी नै छैन । फेसबुकलाई भने मैले भरपुर उपयोग गरेकी छु । कथा, कविता, गजल र लघुकथा सम्प्रेषण गर्ने मुख्य थलो नै फेसबुक भएको छ मेरो अहिले ।
युवाहरुलाई साहित्यमा अरू आकर्षित गर्न के हुनु पर्थ्यो जस्तो लाग्छ ?
साहित्यका रुची हुने, सिकारुहरूका लागि सहज तरिकाले सामाग्री उपलब्ध होउन् । बाटो देखाउने सर्जकहरूले नेटबाटपनि साहित्यका जटिलता, भाव, बिधा, गल्ति कमजोरी औंल्याउने माध्यम होस् । नाम चलेका लेखक र साहित्यकारका सिर्जना मात्रै होइन कि नाम नचलेकाकोपनि सिर्जनाहरू हेरेर तिनले स्थान पाउन् । चाहे मेडिया होस् कि पुस्तकको रुपमा । जाने बुझेका सर्जकहरूले सिकारुका सिर्जना पनि हेरिदिउन्, सुझाव दिने गरुन् । युवाहरू जहाँ अल्मलिन्छन् त्यहाँ स्वच्छ मनले सहजीकरण गरिदिने अग्रजहरू उपलब्ध भैदिए हुन्थ्यो जस्तो लाग्छ ।
तपाईँ गत साँढे तीन बर्ष यता लगातार लेख्दै हुनहुन्छ । आफ्नो लेखनको कस्तो मूल्यांकन गर्नुभएको छ ? यति लामो समयसम्म निरन्तरता दिन सक्नुको कारण के होला ?
निरन्तरता दिनुको मुख्य कारण भनेकै साहित्यप्रतिको रुचि र प्रेम हो । मझेरीले मजस्ता सिकारुलाई ठाउँ दिएको छ । रचनाको स्तर खस्किँदा सुझाव सल्लाह पनि दिएको छ । मझेरीले लगाएको गुण म जीवनमा कहिल्यै बिर्सिन सक्तिन । निस्वार्थ भावना, सरल सहज पहुँच, चिनेको आधारमा भन्दा पनि राम्रा रचनाको आधारमा नयाँ पुराना सिकारु स्रष्टालाई स्थान दिनुनै मझेरीको विशेषता हो भन्ने मलाई लाग्छ । त्यसैकारणले पनि म मझेरीमा मेरा रचना सम्प्रेषण गर्छु । र धेरै पटक मैले मझेरीमा रचना सम्प्रेषण गरिसकेपछि सन्तुष्ट अनुभूति गरेकी छु । खासमा भन्नुपर्दा म एउटी मझेरीकी नियमित पाठक पनि हुँ ।
यी तीन वर्षमा तपाईँको लेखन निखारीदै गएको छ । तपाईँलाई कस्तो लाग्छ ? यो कसरी सम्भव भयो ?
तपाईले जे मूल्यांकन गर्नु भो त्यस्तो त मलाई लाग्दैन । तर सुधारिएको भने पक्कै हो कि ! खारिन त निकै वर्ष लाग्ला । मैले गएका दुई तिन वर्षदेखि अलि बढिनै साधना गरेकी छु । म समय पाउनासाथ सकभर लेख्ने पढ्ने नै गर्छु । यो साहियभित्रको सागरभित्र पसेर हेर्ने कोसिस गरिरहेकी छु । सोचे जस्तो भएको त छैन । तर केही सुधारिएको हो कि त्यसैको प्रतिफलले ।
तपाइको प्रकाशित रचना १२० भन्दा बढी छन् । यिनलाई भविष्यमा किताबको रुपमा निकाल्ने बारे सोच्नुभएको छ ?
मैले अघि पनि भनिसकें । भविष्यको योजना भनौं कि रहर भनौं, छ । तर प्रकाशक पाए म अहिलेनैपनि तयार छु । पुस्तकलाई पुग्ने रचना झण्डै झण्डै तयार पारेरै बसेकी छु । प्रकाशक खोज्दै हिँड्कि चाहिँ छैन । तर पाए हुन्थ्यो भन्ने चाहिँ सोचिरहेकी छु ।
अन्य साइटहरू पनि प्रयोग गर्नुहुन्छ ?
पहिला पहिला सबैजसो अन्लाइन पत्रिकामा पठाउँथें । साथीहरूले माग्नु भयो भने नाईनास्ति गरिहाल्दिन । कतिले फेसबुकबाटपनि साभार गर्नुहुन्छ र लिन्क पठाइदिनुहुन्छ । खुसी लाग्छ । अचेल त मझेरी र सामाजिक सञ्जाल फेसबुकनै हुन् मैले बढी मात्रामा प्रयोग गर्ने ।
मझेरी र अन्य साहित्यिक साइटमा देखा पर्ने लेखकहरूको नाम लिनु पर्दा कसलाई सम्झिनुहुन्छ ?
नामै लिनु पर्दा कुनै एकको नाम लिन सक्तिन म । स्रष्टाको साधना र मेहनतमा भर पर्ने कुरा भएको हुँदा आ-आफ्नो मेहनत, साधना र लगाव, अनुसार सबैका रचना राम्रा छन् । र आशा लाग्दा अनुहार देखा परिरहेका छन् ।
संसारभरि छरिएर रहनुभएका लेखक-पाठकलाई के सन्देश दिन चाहनुहुन्छ ?
अरुको रचना पनि पढ्ने बानी बसालौ । चिनेजानेको भरमा जस्ता रचनालाई पनि उत्तम ठान्ने, नचिनेको स्रस्टाको छ भने वास्तै नगर्ने नगरौं । साहित्य भनेको जीवन र जगत बुझाउने सुन्दर माध्यम हो । तपाईहरूले राम्रा रचनालाई पक्षपात नगरिकन सुझाव सल्लाह दिनुभएको खन्डमा आगामी दिनमा हाम्रो देशमा पनि राम्रा स्तरिय रचना लेख्ने स्रष्टाको आभाव खट्किने छैन । अहिलेसम्म हामी विदेशी लेखकको प्रशंसक भएर बाँचेका छौ । अब हामीले आफ्नै कला र साहित्यलाई माया गर्नुपर्छ र विश्व बजारमा पुर्याउन सहयोग गर्नुपर्छ भन्न चाहन्छु ।
स्रोत: मझेरी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

आजको प्रमुख समाचार