नेपाल-भारत संयुक्त जलश्रोत बैठक सुरु

११ माघ २०६९, बिहीबार १४:०८ मा प्रकाशित

रासस/ काठमाडौँ, ११ माघ । जलस्रोतसम्बन्धी नेपाल-भारत संयुक्त समितिको सातौं बैठक सुरु भयो । दुईदिने बैठकमा दुई वर्षअघि भारतको नयाँदिल्लीमा सम्पन्न छैटौँ बैठकमा सहमति भएका परियोजना कार्यान्वयनको अवस्था, भारतबाट थप बिजुली आयात, नेपाल-भारत विद्युत् खरिद सम्झौता, सीमापार प्रसारण लाइन निर्माण र भारतबाट अतिरिक्त विद्युत् आयात गर्नेबारे छलफल हुनेछ।
ऊर्जा मन्त्रालयका प्रवक्ता श्रीरञ्जन लाकौलका अनुसार महाकाली सन्धि कार्यान्वयन प्रगतिको पुनरवलोकन, पञ्चेश्वर बहुद्देश्यीय परियोजना, पञ्चेश्वर विकास प्राधिकरण स्थापना, टनकपुर(महेन्द्रनगर सम्पर्क सडक, चाँदनी-दोधारा क्षेत्रबाट सिँचाइका निम्ति नेपालतर्फ जलप्रवाह, सुनकोसी डाइभर्सन तथा स्टोरेज योजनासहित सप्तकोसी उच्चबाँध बहुद्देश्यीय परियोजना र गण्डक परियोजनाबारे बैठकमा छलफल हुनेछ।
त्यसैगरी नौमुरेका नामले परिचित पश्चिम राप्ती बहुद्देश्यीय परियोजना, मेची नदीमा तटबन्ध बनाउन संयुक्तरूपमा भएको सर्वेक्षणको प्रतिवेदन, संयुक्त समितिअन्तर्गतका द्विपक्षीय समितिका गतिविधि, जल तथा जलउत्पन्न प्रकोप नियन्त्रणका विषय पनि बैठकको कार्यसूचीमा रहेको जानकारी दिए।
नेपालबाट भारततर्फ बग्ने नदीको बाढीबारे पूर्वानुमान एवम् सूचनाप्रवाह, जलस्रोतसम्बन्धी संयुक्त मन्त्रिस्तरीय आयोगका निर्णय कार्यान्वयनको लेखाजोखा, नयाँ अन्तरसम्पर्क लाइन निर्माण, कटाइ(कुसाहा र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनका साथै ४०० केभी मुजफ्फरपुर-ढल्केबर डबल सर्किट प्रसारण लाइन निर्माणबारे छलफल हुने बताइएको छ।
बैठकमा २० सदस्यीय नेपाली पक्षको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइराला र ११ सदस्यीय भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको जलस्रोत मन्त्रालयका सचिव ध्रुवविजय सिंहले गरेका छन्।
बैठकमा परराष्ट्र, ऊर्जा, सिँचाइ मन्त्रालयका वरिष्ठ अधिकारीका साथै जल तथा ऊर्जा आयोग, विद्युत् विकास, जल तथा मौसम विज्ञान, सिँचाइ, जल उत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक सहभागी छन्।
त्यसैगरी, बैठकमा पञ्चेश्वर बहुद्देशीय परियोजनाका प्रमुख, सप्तकोसी उच्च बाँध बहुद्देशीय परियोजना र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकको सहभागिता रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।