क्यासिनो सञ्चालनमा ठगी गर्नेहरु धरौटीमा रिहा

११ माघ २०६९, बिहीबार ०६:३६ मा प्रकाशित

काठमाडौं, ११ माघ । फूलबारी रिसोर्टमा चार वर्षअघि क्यासिनो सञ्चालन गर्दा करोडौं रुपैयाँ ठगी गरेको आरोपसहित प्रहरीद्वारा पक्राउ गरिएका आलोक रौनियार र दीपबहादुर बस्नेत ५० लाख धरौटीमा रिहा भएका छन्। उनीहरु तत्कालीन क्यासिनो सञ्चालक कम्पनी फिस्टेल गेमिङ प्रालिका निर्देशक थिए । गत पुस ९ गते राजधानीमा पक्राउ गरी पोखरा पुर्याइएका उनीहरुलाई कास्की प्रहरीको अनुसन्धानपछि माघ ५ गते कुल ४ करोड ९ लाख ७३ हजार ४ सय ४२ रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालतमा ठगी मुद्दा पेस गरिएको थियो। जिल्ला अदालतका न्यायाधीश हेमराज पन्तको इजलासले बस्नेतसँग ३० लाख र रौनियारसँग २० लाख रुपैयाँ धरौटी लिने आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । फूलबारी रिसोर्टले ठगीको आरोपमा फिस्टेल गेमिङका चारजनाविरुद्ध प्रहरीमा उजुरी गरेको थियो। त्यसमध्ये दुई जना पक्राउ परे पनि फिस्टेल गेमिङका सञ्चालकद्वय रजत गुर्वाचार्य र सञ्जीव तुलाधर भने अझै फरार छन्। फिस्टेल गेमिङ प्रालि रजत र सञ्जीवको नाममा उद्योगमा दर्ता भएको कम्पनी हो।
बताइएअनुसार २०६५ सालमा फूलबारी रिसोर्टमा क्यासिनो सञ्चालन गर्दा चार करोड ५७ रुपैयाँ बराबरको दायित्व छोडेर उनीहरु भागेका थिए। उनीहरुविरुद्ध होटलका तर्फबाट गत वैशाखमा कास्की प्रहरीमा उजुरी परेको हो। प्रहरीका अनुसार फूलबारीका तर्फबाट चारै जनामाथि ४ करोड ५७ लाख १८ हजार रुपैयाँ बिगो दाबीसहित ठगीको उजुरी परेको थियो।
उनीहरुको कम्पनीले करिब ५ महिना क्यासिनो चलाउँदा कर्मचारीको तबल, स्थानीय व्यापारीको खाद्यान्न, पेयपदार्थ लगायत सामानको उधारो र होटलको भाडासमेत तिरेको थिएन। त्यसविरुद्व होटल फूलबारीले पुनरावेदन अदालत पोखरमा मुद्दा दायर गरेको हो। सोही मुद्दामा पुनरावेदनले गत वैशाख पहिलो साता फिस्टेल गेमिङ प्रालिका चारै सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गर्न आदेश दिएको थियो। अदालतको उक्त आदेश गत वैशाख २१ गते पाएपछि प्रहरीले होटलका तर्फबाट प्राप्त उजुरीका आधारमा उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको हो।

 

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत