राष्ट्रको अस्मितामा आघातका केही सिलसिला :: दामोदर पौडेल

१० माघ २०६९, बुधबार ०८:०७ मा प्रकाशित

राष्ट्रको एकताको सबलताले नै राष्ट्रको पहिचानलाई सार्थक बनाउँछ र राष्ट्रियता बलियो पनि हुन्छ । नेपाल पृथ्वीनारायण शाहको एकीकरणको अभियानबाटै एकतामा बाँधिएको हो । पृथ्वीनारायण शाहको सम्झनामा समेत राष्ट्रिय एकता दिवस पुस २७ गते मनाइँदै आइएको थियो । यो सरकारले राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय दिवसको रूपमा मान्ने परम्परालाई तोड्यो । देशको निर्माणमा बलिदान गरेका पृथ्वीनारायण शाह मात्र होइन धेरै सपुतको नाम जोडिएको यो दिवसको अन्त्य हुनु राष्ट्रिय एकतालाई ध्यान नदिनु हो र यो क्रमशः राष्ट्रियतालाई उपेक्षा गरेको पनि हुन जान्छ ।
एकीकरणको प्रयासमा युद्धसमेत हुँदा केही गल्ती एकीकरणकर्ताहरूबाट भएका छन् । ती गल्तीलाई महसुस गर्दै मूलभूत रूपमा एकताको पक्षमा हामी रहनुपर्ने हो र राष्ट्र रहनुपर्ने हो । राम्रो लक्ष्यका लागि भएका काममा भएका गल्तीको तुलना पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको घटनासँग तुलना गर्न सकिँदैन । यो अपराधमाथिको महाअपराध थियो भने पृथ्वीनारायणका समयमा भएका केही कमजोरी राम्रो लक्ष्यमा गरिएको गलत कार्यनीति मात्र थियो । तर, यो अहिलेको सरकारबाट राष्ट्रिय एकताको सम्मान भएन र जनताको एकताको भावनाको पनि सम्मान भएन । डेकेन्द्रको हत्यालाई जायज मान्ने सरकारले एकीकरणको अभियानलाई जायज मानेन ।
त्यस्तै २००७ सात सालमा प्रजातन्त्रको स्थापना भयो । अहिले पनि राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै आएकोमा सहिद गेटमा भएको त्रिभुवनसमेतका प्रजातन्त्रका योद्धा र सहिदहरूको सम्मान गर्ने थलो र प्रतीकको रूपमा रहेको स्थानलाई यो सरकारले हटाउन चाहेको थियो । पछि विभिन्न प्रयासपछि रोकियो । अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बनेपछि पहिलाको चलनअनुसार सहिदगेटमा गएर सहिदको सम्मान गर्ने परम्परालाई पनि ब्रेक गरे । यसको अर्थ उनी प्रजातन्त्रको पक्षमा भन्दा राणाशाहीको वा अर्को तानाशाहीको पक्षमा नै थिए र छन् भन्ने अर्थ लाग्न सक्छ । त्यो नलागे पनि प्रजातन्त्र हुँदै लोकतन्त्रको अवस्थामा हामी पुगेकोमा उनी यसको पक्षपाती होइनन् भन्ने प्रस्ट भएको छ ।
लोकतन्त्र र राष्ट्रिय एकतासँग नै बेखबर सरकार राष्ट्रियताप्रति सजग रहन सक्दैन । राष्ट्रिय एकताको पक्षमा नदेखिनु र लोकतन्त्रको विपक्षमा रहनुले नेपाली हुनु र लोकतन्त्रको पक्षमा हुनुको औचित्यमा पनि सरकारबाट प्रश्नचिह्न लगाइएको छ । सायद यही तथ्यको कास्टिङ प्रचण्डले गरेका थिए । उनले दक्षिण एसियायी सोभियत बनाउने भनेकै हुन् । यसको अर्थ सोभियत सङ्घका बाँकी राष्ट्रलाई रुसले कम्युनिस्ट व्यवस्था हुँदा थिचेको र मिचेकोजस्तै दक्षिण एसियायी सोभियतमा कसले कसलाई पेल्ने हो भन्ने उजागर गरिरहन पर्दैन । अहिलेका प्रधानमन्त्रीले त प्रस्टै नेपालमा प्रधानमन्त्री बनाउने अरू देशका नै हुन् भनेर आफू विदेशीको आशीर्वादबाट प्रधानमन्त्री बनेको प्रस्टै पारेका हुन् । तर, हामीले उनीहरूलाई स्वीकार गरेका छौँ वा थाकेर वा डराएर उनीहरूको विरोध गर्न सकिरहेका छैनौँ ।
बाबुरामले देशको आर्थिक अवस्था बिग्रेमा यो देश सव–मर्ज (अरू देशको उपनिवेशजस्तो हुने) हुने बताएका हुन् । यति मात्र होइन आर्थिक अवस्था बिगार्ने कार्य पनि उनीहरूबाटै भएका हुन् । उनीहरूले हिंसात्मक गतिविधि चाल्नभन्दा पहिला नेपालको प्रतिवर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा बढी थियो । माओवादीको कारणले त्यो करिब शून्यमा झरेको हो । विदेशीले नेपाली युवालाई रोजगारी नदिएको भए आर्थिक वृद्धिदर ऋणात्मक हुने थियो नै । माओवादीकै कारणले देशका उद्योगसमेत धराशायी भएका हुन् । यसप्रकार माओवादी नै विकास अवरुद्ध गर्ने र यस्तै रहेमा देश ‘सवमर्ज’ हुन्छ भनी आफैँले भन्दै राष्ट्रघातको तयारी गर्नु जनतालाई चुनौती दिनु हो ।
अर्कोतर्फ माओवादीले भारतसँग बिप्पा सम्झौता आफ्नै सक्रियतामा गरेको हो तर चीनसमेतका देशहरूसँग त्यहीप्रकारको सम्झौता गर्न यो सरकार चाहेको छैन भन्ने देखिएकै छ । बाबुराम सरकारले देशको विमानस्थल विदेशीलाई जिम्मा लगाउने तयारी गरेको त सबैले सुनेकै विषय हो । त्यसमा पूर्ण सफलता नभएपछि माओवादी अब अध्यागमनको कार्य विदेशीलाई जिम्मा लगाउने पक्षमा लागेकोबारे सञ्चारमाध्यममा आएका छन् ।
विख्यात समाचारमाध्यम विकिलिक्सले माओवादी लडाकुलाई भारतमा राज्य पक्षबाट तालिम दिने कार्य गरेकोलाई प्रस्ट गर्दै अमेरिकी राजदूतले भारतसँग भारतको दोहोरो कार्यबारे सोधेको जानकारीलाई ओपन गरेको थियो । यो तथ्यलाई विवेक शाहले लेखेको पुस्तकले पनि पुष्टि गर्दछ ।
हामीले सुनेकै छौँ– सर्पको खुट्टा सर्पले नै देख्छ । माओवादी (जसलाई अहिले एमाओवादी भनिन्छ) लाई वैद्य माओवादीका नेता सीपी गजुरेलले बाक्कै भएर बारम्बार भन्ने गर्नुभएको छ कि बाबुराम सरकार र प्रचण्डहरू विदेशी दलाल र सिद्धान्तहीन भएको र उनीहरू सत्ताका लागि जे पनि गर्न तयार भएको र अवसरवादी भएकोले यो दलबाट अलग्गिनुपरेको हो । माओवादी वैद्यकी प्रवक्ता पम्फा भुसालले ०६९ साल पुस २५ गते सञ्चारमाध्यममा दिल्लीले यो सरकारको माध्यमबाट परराष्ट्रनीति, आर्थिक र रणनीतिक अधिकार लिन लागेको, दिल्लीले नै गर्दा यो सरकारलाई वैधानिक माध्यमबाट हटाउन नसकिने बनाइएको, भारतको चाबीमा चलेकोसमेत तथ्यलाई उल्लेख गर्नुभएको छ । माओवादी हिंसा ठीक थिएन, तर त्यसमा इमानदारीका साथ यो कार्यले देशलाई राम्रो गर्दछ भन्ने भ्रममा परेर लागेकाहरू सबैजसो वैद्य माओवादीमा छन् । एमाओवादीमा अहिले क्रमशः हिंसापछि प्रवेश गरेका चैतेहरू छन् । उनीहरूले सिद्धान्तका लागि काम गरेका छन् कि पैसा र शक्तिका लागि गरेका छन् भन्ने प्रस्ट देखिइरहेको छ ।
मोहन वैद्य र सीपी गजुरेललाई भारतमा थुन्न लगाउने कार्य भएकै हो । त्यतिबेला अहिलेका एमाओवादीका नेताहरू भारतमा नै कथित रूपमा राज्यसंरक्षित भूमिगत जीवन विलासिताका साथ बिताएको अनुभव भएको वैद्य माओवादीहरूले महसुस गरिरहेका छन् । एउटै दलभित्र अर्को देशले देखिनसहनेहरू र त्यही देशले माया गर्नेहरू हुनु पनि विडम्बनापूर्ण नै हो । यी तथ्यहरूले गर्दा एमाओवादी विदेशीको इसारामा चलेको देखिन्छ र राष्ट्रको अस्मिताको विपक्षमा रहेको छ भन्ने प्रस्ट आधारहरू छन् । यसमा भारतलाई दोष किन दिने ? भारत त आफ्नो देशको हित चाहन्छ नै, नेपालको हित त नेपालीले चाहनुपर्ने हो ।
यो अवस्थामा विदेशी मित्रहरूले पनि सोच्नुपर्छ भन्ने तथ्य यो हो कि कम्युनिस्टबाहेकको तानाशाही व्यवस्थाले विदेशमा आफ्नो प्रभाव त्यति पार्न सक्दैन, त्यो भुटान वा अरू नै किन नहोस् । तर, कम्युनिस्ट तानाशाहीले माया गर्नेलाई पनि सर्पले जस्तै टोक्नेछ ।
ठूलो दल एमाओवादी भएकाले यसमा प्रवेश गर्नेहरूले ठूलो हुनुको फाइदा लिइरहेको धेरैले महसुस गरिरहेका छन् । जे भए पनि माओवादीको माथिको परिदृश्यले यो दल र यसका नेताहरू कसको हित र पक्षमा काम गरिरहेका छन् भन्ने देखिएको सत्य हो । समयमा नै जनताले सजगता नअपनाएमा हामीले सिक्किम र तिब्बतको अवस्था व्यहोर्नु नपरे पनि भुटानको जस्तो संरक्षित राष्ट्रको रूपमा रहनुपरेमा पनि राम्रो त हुँदैन । यसको अर्थ हामी तिब्बत र सिक्किमको अहिलेको अवस्था र त्यहा“का जनताले चाहेको विषयलाई हामीले आदर गर्नुपर्छ । भारत र चीनको विपक्षमा हामी छैनौँ तर नेपालको बारेमा अब पनि नसोच्ने हो भने कहिले सोच्ने ? एमाले नेता भीम रावलले बारम्बार भन्ने गर्नुभएको छ कि माओवादीले संविधानसभाको समितिमा नेपालको नाम र झन्डा नै बदल्न चाहेको थियो । यस्ता कार्यले के सन्देश दिन्छ ? माधव घिमिरेको राष्ट्रिय गानको सानो अंश– रहौँला हामी नेपाली कहाँ नेपालै नरहे ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल जस्तो मुलुकमा राष्ट्रिय समाचार समिति (रासस)को भावी दिनमा पनि अन्यत्रभन्दा महत्व बढ्छ । पहिलो कुरा, समाचार समिति राष्ट्रको ‘प्रेष्टिज

आरोन थापा मेरो सबैभन्दा सानो साथी जो एल केजीमा पढछन्, उनले आज बिहान मलाई नेपालबाट भोइस मेसेज पठाए, ”म आज

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको

हङकङ । बेलायत सरकारले हङकङ निवासी लाखौं बेलायती नागरिक (विदेश)लाई भिसा उपलब्ध गराउने घोषणा गरेको छ । हङकङ छाड्न चाहने