स्वामीको प्रवचनमा प्रहरी लठ्ठ

८ माघ २०६९, सोमबार २१:२५ मा प्रकाशित

काठमाडौं, ८ माघ । हरदम डण्डा, लाठी र अन्य हतियारका साथ कडा अनुशासनमा बाँधिएर कठोर प्रकृतिको ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरु सोमबार साँझ प्रहरी प्रधान कार्यालयमा अर्कै मनस्थितिमा देखिए । प्रहरीका लागि पनि आध्यात्मिक अनुभूतिको खाँचो उत्तिकै पर्ने र त्यसले प्रहरीको कर्तव्य निर्वाहमा थप निखारपन ल्याउने विश्वासका आधारमा श्यामाश्याम धाम ठिमी भक्तपुरका स्वामी श्री हरिदासजीद्वारा सोमबार साँझ प्रहरी प्रधान कार्यालयमा सेवापयोगी आध्यात्मिक प्रवचन आयोजना गरिएको थियो भने तनमनका साथ प्रहरीहरुले पनि आध्यात्मिक प्रवचन सुनेका थिए ।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको उपस्थितिमा सम्पन्न प्रवचनमा स्वामी श्री हरिदासजीले सेवा नै परम धर्म हो भन्ने भनाईलाई आत्मसात गर्दैै नेपाल प्रहरीका अधिकृतहरुसँग साक्षात्कार गर्न पाउँदा आफूलाई खुशी लागेको उल्लेख गर्नुभयो । हर समय तनावमा रहनुपर्ने प्रहरी कर्मचारीहरुका लागि आध्यत्मिक कार्यक्रमका विधिहरुले भावनात्मक र व्यवहारमा सुधार गरी मनदेखि नै शान्तभावले जनसेवा गर्न सहयोग पु¥याउने उहाँको धारणा थियो । मानिस जति सक्रिय हुन्छ त्यति प्रसन्न हुन्छ भन्नुहुँदै स्वामी हरिदासजीले हरेक व्यक्तिले आफ्नो जीवनलाई सफल र सुखी राख्न सक्रिय रहनुपर्ने बताउनुभयो । तनावलाई अभ्यासद्वारा हटाउन सकिने उल्लेख गर्दै उहाँले उपस्थित प्रहरी अधिकृतहरुलाई तनाव व्यवस्थापनका लागि अभ्यास समेत गराउनुभएको थियो ।
प्रवचन कार्यक्रममा धन्यबाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले स्वामी हरिदासजीको सान्निध्यमा प्रवचन सुन्न पाउँदा अत्यन्तै खुशी लागेको र उपयोगी दर्शनका लागि उहाँप्रति आभार समेत व्यक्त गर्नुभयो । सरल ढंगबाट वेदवेदान्त तथा अन्तरआत्माका ज्ञानोपयोगी कुरा एवं प्रहरीको जिम्मेवारीका सन्दर्भमा दिनुभएको विशेष ज्ञान नेपाल प्रहरीका लागि लाभप्रद रहेको उहाँले बताउनुभयो ।
प्रहरी सेवा चुनौतीपूर्ण हुनुको साथै शारीरिक सबलता र मानसिक शुद्धता अपरिहार्य हुने उल्लेख गर्नुहुँदै प्रहरी महानिरीक्षक रानाले यसका लागि स्वामीजीले गराउनुभएको दिशावोध र कर्तव्यवोधले आफूहरुलाई प्रभावित पारेको बताउनुभयो । मानवीय जीवन सुन्दर बनाउन योग विज्ञान अपरिहार्य रहेको र स्वामीजीका निर्देशलाई अनुशरण गरिने उल्लेख गर्नुहुँदै प्रहरी महानिरीक्षक रानाले आगामी दिनमा समेत उहाँबाट यस्ता प्रवचन पाउने नेपाल प्रहरीको अपेक्षा रहेको बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पन्न प्रवचनका क्रममा आध्यात्मिक बृत्तचित्र समेत प्रस्तुत गरिएको थियो भने प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी तथा मातहतसमेतका प्रहरी अधिकृतहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति