माइत गएकी चेली आमाको किरियामा

५ माघ २०६९, शुक्रबार १४:३५ मा प्रकाशित

काठमाडौं, ५ माघ । माघी पर्व मनाउन माइतीघर पुगेकी नमिता लोध यतिबेला काखेनानी च्यापेर आमाको किरियामा छिन् । माइती आएको बेला नैअज्ञात हत्याराले आमाको हत्या गरेपछि थारू संस्कार अनुसार उनी किरिया बस्नुपरेको हो । रूपन्देहीको हर्नैया–३, कुरमारकी अगुवा महिला ४५ वर्षीया बसन्ती थारू र उनकी छिमेकी २५ वर्षीया आरती लोधलाई तीन दिनअघि अज्ञात समूहले घरदेखि केही पर लगेर घाँटी रेटेर हत्या गरेको थियो । उनीहरूमध्ये वसन्ती घरमुली र गाउँकै अगुवा थिइन् । पति सत्यनारायण बिरामी परेदेखि उनले नै घरको सम्पूर्ण व्यवहार सम्हाल्दै आएकी थिइन् । अर्की महिला आरती जेठाजु र जेठानीसहित बस्दै आएकी गृहिणी हुन् । उनका पति दुई वर्षदेखि मलेसियामा छन् । उनको घरमा पनि माघी मनाउन आफन्त जुटेका थिए । तर, घटनासँगै माघी पर्व शोकमा परिणत भएको छ ।
‘के पर्व मान्नु यस्तो आपत आइलाग्यो,’ घटनास्थलमा पुगेका पत्रकार तथा अधिकारकर्मीसित आरतीकी नन्द विन्द्रावतीले भनिन् । उनी रूपन्देहीकै मर्चवार क्षेत्रस्थित पिप्रहियाबाट १० दिन अघि काखे नानी च्यापेर माइती आएकी थिइन् । आरतीको हत्यासँगै उनका तीन नाबालक बिचल्लीमा परेका छन् । अब यिनीहरूलाई कसरी सम्हाल्ने भन्ने चिन्ता थपिएको आरतीका जेठाजु गम्मी लोधले बताए ।
आरतीका दुई छोरी र एक छोरा छन् । जेठी छोरी नौ वर्षीया सपना एक कक्षामा पढ्छिन् । पाँच वर्षीय छोरा सोमनाथ भर्खर स्कुुल जान थालेका छन् । अर्की तीन वर्षीया छोरी तारा भर्खर हिँडडुल गर्न सक्छिन् । आमाको हत्यासँगै उनीहरू बिचल्लीमा परेका छन् । दुई वर्षदेखि मलेसियामा रहेका बाबु घटनापछि घर फर्किन लागेका छन् ।
अर्की महिला बसन्ती घरकी मुली र गाउँकै अगुवा थिइन् । उनको हत्यासँगै परिवार त बिचल्लीमा परेको छ नै गाउँ नै शोकमा छ । घरकी मुली र गाउँकै अगुवाको हत्या भएपछि परिवार र गाउँ नै शोकमा परेको हर्नैया–८ की अगुवा महिला मिनकला सुवेदीले बताइन् ।
माघी पर्वमा रमाएको हर्नैयाको कुरमार टोल यतिवेला शोकमा डुबेको छ । उनीहरूको हत्यासँगै दुवै परिवारमा रुवाबासी चलेको छ । खिचडी पर्व तथा माघी मान्न जुटेका नातेदार र आफन्त आत्तिएका छन् । शोकमा छन् । गाउँलेहरूमा घटना पछि डर र त्रास पनि बढेको छ ।
गाउँ नजिकैको खेतमा दुई महिलाको घाँटी रेटेर विभत्स हत्या भएपछि गाउँलेहरू त्रसित र भयवित भएका हुन् । घटनास्थल जिल्ला सदरमुकाम भैरहवादेखि करिब १८ किमी टाढा उत्तरमा पर्दछ । गाउँमा थारू, लोध, गुप्तालगायत मधेसी मूलका समुदायको बाहुल्यता छ ।
हत्याको तीन दिनसम्म पनि हत्याराबारेमा पत्ता लाग्न सकेको छैन । प्रहरीले दुई दिनदेखि अनुसन्धान जारी राखेको बताएको छ । शवको तीन दिनपछि भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टम गरी बिहीबार आफन्तले त्रिवेणीमा अन्त्येष्टि गरेका छन् ।
जिल्ला प्रहरी र मातहतका प्रहरी कार्यालयका अधिकारी घटनास्थलमा अनुसन्धान गरिरहे पनि हत्याराबारेमा सुराक पत्ता लगाउन सफल भएका छैनन् । परिवार र आफन्त हत्यारालाई छिटो खोजी गरी कारबाहीको माग गरिरहेका छन् ।
हत्या गरिएकी मध्ये थारू गाउँकी अगुवा महिला हुन् । उनी स्थानीय धैर्यता महिला बचत तथा ऋण सहकारीकी सदस्य हुन् । सहकारीमार्फत ऋण लिने र घर खर्च चलाउने तथा गाउँलेलाई पनि सहकारीमा पैसा जम्मा गर्नुपर्छ भन्दै बचतको बानी बसाल्न सुझाब दिने गर्थिन् । सहकारी र भैरहवास्थित एक बैंकबाट ऋण लिएर उनले ४ कोठाको पक्की घर बनाउन लागेकी थिइन् । तर, त्यो अझै पूरा भएको छैन् । पति, दुई छोरा र दुई छोरीको परिवारको हेरचाह र घरको जिम्मा उनमै थियो । घटनाको दिन बिहान उनी भैरहवामा बैंकमा ऋणको ब्याज बुझाएर फर्किएकी थिइन् । अपराह्न तीन बजेतिर खाना खाएर घरदेखि करिब ६० मिटर परको सुनसान खेतमा केराउको साग टिप्न गएदेखि उनी फर्किनन् । भोलिपल्ट गाउँलेले उनलाई घाँटी रेटिएको अवस्थामा खेतमा मृत अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन