सरकारको कार्यकाल लम्बिने भएपछि बाबुरामलाई फकाएर प्रधानमन्त्री बन्ने प्रचण्डको दाउ

३ माघ २०६९, बुधबार ०८:३३ मा प्रकाशित

काठमाडौं, ३ माघ । सहमतीय सरकार गठनका निम्ति राष्ट्रपति डा. रामवरण यादवद्वारा पटक–पटक उपलब्ध गराइएको समयसीमा बिनाउपलब्धि गुज्रिएपछि देशको राजनीतिक भविष्य थप अन्योलग्रस्त हुन पुगेको छ । पछिल्लोपटक माघ एक गतेसम्मको समयसीमा दिइएकोमा दलहरूबीच कुनै सामान्य छलफलसम्म नभई समय गुज्रियो । विपक्षी दलहरूले संविधानको धारा ३८(२) अनुसार बहुपक्षीय सरकार गठनका लागि राष्ट्रपतिमाथि दबाब दिइरहँदा सत्तापक्षले भने अब ३८(१) को हवाला दिँदै राष्ट्रपतिले म्याद थप गरिरहन आवश्यक नभएको ठहर गरेका छन् । निश्चित समय दिने र समयावधि सकिएलगत्तै राष्ट्रपतिले दलहरूलाई बोलाएर छलफल गरी पुनः अर्को समयावधि थप गर्ने क्रमबाट आजित हुनुभएका काङ्गे्रस सभापति सुशील कोइराला मंगलबार बिहान राष्ट्रपतिद्वारा आयोजित बैठकमा सहभागी हुन जानुभएन ।
राष्टपतिबाट सहमतिका निम्ति म्याद थप मात्र भइरहने, तर दलहरूबीच सहमतिचाहिँ बन्नै नसक्ने क्रम–उपक्रम जारी रहेपछि नेपाली काङ्गे्रस र एमाले आन्दोलन गर्नैपर्ने निष्कर्षमा पुगेका छन् । उता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनका लागि ‘लबिङ’ सुरु गर्नुभएको छ । काङ्गे्रस सभापति सुशील कोइरालालाई कुनै हालतमा पनि प्रधानमन्त्री बनाउन नसकिने ठहर नेता नेपालको छ । नेपाल यस किसिमको निष्कर्षमा पुग्नुको कारण एमाओवादी अध्यक्ष प्रचण्ड तथा काङ्गे्रसको तर्फबाट वार्तामा खटिएका मनोनीत महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल भएको बुझिएको छ । माधव नेपालसँग प्रचण्डले सुशील कोइरालालाई कुनै हालतमा पनि प्रधानमन्त्री बन्न नदिने भनी पटकपटक भन्दै आएका र केही दिनअघि नेपालले सिटौला र रिजाललाई बोलाएर ‘के सुशीलजीलाई प्रधानमन्त्री बनाउन सम्भव छ जस्तो तपाईंहरूलाई लाग्छ ?’ भनी जिज्ञाशा राख्दा वार्ताकारद्वयले ‘त्यो त हामीलाई पनि लाग्दैन’ भनेपछि माधव नेपाल भड्किएको बताइन्छ । नेपालले सिटौला र रिजाललाई ‘तपाईंहरू आफैँलाई विश्वास नभएको कुरामा हामी किन लाग्ने भनी प्रतिप्रश्न गर्नुभएको थियो । सिटौला र रिजालसँगको संवादपश्चात् माधव नेपाल सुशील कोइरालाको विकल्पमा कोही स्वतन्त्र व्यक्तिको खोजीमा लाग्नुभएको छ । नेपालले पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता नेता केपी शर्मा ओलीलाई पनि स्वतन्त्र व्यक्तिको पक्षमा सहमत गराउन प्रयास गरिरहनुभएको छ । यद्यपि नेकपा एमालेले अहिलेसम्म औपचारिक रूपमा भने कोइरालाकै पक्षमा अडान प्रस्तुत गरिरहेको छ ।
कोइरालालाई प्रधानमन्त्री बनाइछाड्न कटिबद्ध रहनुभएका राष्ट्रपति डा. रामवरण यादवले पनि केही दिनयता निराशा प्रकट गर्न थाल्नुभएको छ । कोइरालालाई समर्थन गर्छु भनी आफैँले दिएको वचनबाट प्रचण्ड पछि हटेको, नेपाली सेनाले पनि आफ्नो सम्भावित कदमका पक्षमा खुलेर समर्थन एवम् सहयोग गर्ने अवस्था नरहेको र सर्वोच्च अदालतसमेत आफ्नो सम्भावित कदमका पक्षमा सहमत नहुने सङ्केतहरू बुझेपछि राष्ट्रपति यादव किंकर्तव्यविमुढ बन्नुभएको छ । यसैबीचमा माधव नेपालसमेत बाङ्गिँदा राष्ट्रपतिलाई ठूलै धक्का पुगेको बुझिन्छ । यतिबेला प्रचण्ड पुनः आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गुप्त प्रयासमा रहनुभएको बुझिएको छ । बाबुराम भट्टराई पदत्याग नगर्न दृढ हुनुभएपछि भट्टराईलाई गलाएर होइन फकाएर आफूमा सत्ता हस्तान्तरण गराउने चाल प्रचण्ड चल्दै हुनुहुन्छ । मधेसी मोर्चाको समर्थन आफैँलाई प्राप्त हुने विश्वास पनि प्रचण्डमा देखिएको छ । मोर्चासहित अन्य केही दलहरूको समर्थन आफूलाई प्राप्त हुने र अन्ततः बाबुरामलाई विस्थापित गर्ने नाममा काङ्गे्रससमेत आफ्नै पक्षमा आउने विश्लेषण प्रचण्डको छ । एक समय बाबुरामलाई विस्थापित गरी सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन ‘राजी’ भएका प्रचण्डले सोच र योजना बदलेको, माधव नेपाल तेस्रो विकल्पको खोजी गर्न क्रियाशील भएको बाबुरामको प्रस्ताव स्वीकार गर्दै वर्तमान सरकारमा सहभागी भएर नेतृत्व हस्तान्तरण गराई सरकार परिवर्तन गराउने पक्षमा काङ्गे्रस नरहेको तथा दलहरूबीच सहमतिको सम्भावना टाढिएकोले तत्काल बाबुराम भट्टराई नेतृत्वकै सरकारले निरन्तरता पाउने अवस्था उत्पन्न भएको छ । भट्टराई स्वयम्ले पद त्याग नगरेको या नगर्ने यस स्थितिमा दलहरूबीच कुनै तेस्रो व्यक्तिका नाममा सहमति बन्न पनि असम्भव छ । सबै प्रमुख राजनीतिक दलहरू एकमत भई कसैलाई ‘स्वतन्त्र’ ठहर नगरेसम्म स्वतन्त्र सरकार गठन हुने कल्पना गर्न सकिँदैन । नेपाली काङ्गे्रसलगायत केही दलहरू दलको नेतृत्वमा दलहरूकै सहभागिताको सरकार गठन हुनुपर्नेमा सैद्धान्तिक रूपले प्रतिबद्ध छन् । काङ्गे्रस मात्र असहमत रह्यो भने पनि स्वतन्त्र सरकार गठन असम्भव ठानिन्छ, काङ्गे्रसले सुशील कोइरालाको उम्मेदवारी फिर्ता लिई कुनै स्वतन्त्रको नाममा सहमति जनाउने कुनै सम्भावना देखिएको छैन । सरकार परिवर्तनमा सहमति बन्न नसकेकोले आगामी वैशाख–जेठमा गराउने भनिएको संविधानसभा निर्वाचन पनि अब अनिश्चित हुन पुगेको छ । जेठभित्र पनि निर्वाचन हुन नसके नेपालको मौसमका कारण आगामी मङ्सिर या अर्को चैत–वैशाखमा मात्र निर्वाचन गराउन सम्भव हुनेछ ।
सहमतिबाट सरकार परिवर्तन गर्न नसकिने भएपछि काङ्गे्रस–एमालेलगायत विपक्षी दलहरू निकै गह्रौँ मनले सङ्घर्षमा उत्रन तयार भएका छन् । प्रमुख विपक्षी दलहरू सङ्घर्षमा जाने भएकोले पनि वैशाखमा चुनावको सम्भावना टरेको छ । अब डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले अनिश्चितकालसम्म निरन्तरता पाउने अवस्था सिर्जना भएको हुँदा ‘सरकार कहिलेसम्म टिक्न सक्ला’ भन्ने प्रश्न महत्वपूर्ण बन्न पुगेको छ । संवाद या सहमतिबाट सरकार परिवर्तन गर्न नसकेपछि काङ्गे्रस–एमालेलगायत दलहरूले सङ्घर्षमा जाने बताएका त छन्, तर सङ्घर्षले पनि बाबुरामलाई विस्थापित गर्न सकेन भने त्यसपछि कुन विकल्पमा जाने हो विपक्षीहरूका लागि चुनौतीपूर्ण प्रश्न खडा भएको छ । २०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारविरुद्ध राजधानीमा माओवादीले घेराबन्दीको ‘निर्णायक सङ्घर्ष’ गरेको थियो । तर, उक्त आन्दोलन बिनाउपलब्धि तुहिएपछि माओवादीको ‘बार्गेनिङ पावर’ घटेको र माधव नेपालको मनोबल बढेको तथ्य पुनः स्मरण गर्नु उपयुक्त हुनेछ । विपक्षीहरू सङ्घर्षमै जाने हो भने निकै सोचविचार गरी तयारीका साथ जानुपर्ने अवस्था छ । तर, सङ्घर्षको मैदानबाट सरकार बदल्ने अभ्यास सुरु भएपछि कथित शान्तिप्रक्रिया थप सङ्कटमा पर्ने र देशमा द्वन्द्व एवम् तनाव बढेर जाने सम्भावना भने प्रबल हुने देखिएको छ । राष्ट्रपति पनि टुलुटुलु हेरेर मात्र बस्न बाध्य भएकोले तत्काल कुनै सकारात्मक परिवर्तनको सम्भावना टाढिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो